यस अद्वितीय पुस्तकमा आफ्नो भित्री अनुभवमार्फत सद्‌गुरुले मृत्युका गहन पक्षहरूबारे विस्तारमा व्याख्या गर्नुभएको छ, जुन विरलै भनिएको छ । 'आफूलाई मृत्युको निम्ति कसरी तयार गर्न सकिन्छ', 'मृत्यु नजिकिँदै गरेको व्यक्तिका निम्ति के गरिनुपर्छ', 'मृत्युपछि हामी कसरी उनीहरूको यात्रालाई अझ सहज बनाउन सक्छौँ', साथै 'जन्म र मृत्युको चक्रबाट कसरी मुक्त हुन सकिन्छ' जस्ता विषयहरू पुस्तकमा समावेश गरिएका छन् ।

चाहे कोही आस्तिक हुन् वा नास्तिक, भक्त हुन् वा अज्ञानी, निपुण साधक हुन् वा साधारण व्यक्ति— यो पुस्तक वास्तवमै ती सबैका निम्ति हो, जो एकदिन मर्नु पर्नेछ !

यो ब्लगको अन्त्यमा 'मृत्यु' सम्बन्धी १४ वटा ब्लगहरू समावेश गरिएका छन् । नछुटाउनु होला !


सद्‌गुरु: प्रकाशित गर्नुअघि यो किताबलाई केही पटक पुनः पढेको थिएँ । यो किताबमा जीवनका गहन आयामहरूलाई समावेश गरिएको छ, जसको बारेमा बेतुक र मूर्खतापूर्ण कुराहरू गरिने छन्, किनकि मानिसहरूले कुनै सन्दर्भबिनै किताबबाट केही टुक्राटाक्री झिकेर अनेक विषयहरू उठाउने छन् ।

तर, ठीकै छ । म आफ्नो जीवनमा यस्तो अवस्थामा आइपुगेको छु, जहाँ अब म तर्कसङ्गत ढङ्गले सही हुनुपर्दैन— म त्यही भन्नेछु, जे म भन्न चाहन्छु ! सुरुवाती समयमा मैले ती कुराहरूलाई एकदमै प्रष्ट र खरो रूपमा भन्ने गर्थेँ । तर, ध्यानलिङ्गको निर्माण गर्नुपर्ने भएकोले म अलिकति सौम्य भएँ अनि तिनै कुराहरूलाई राम्रो पहिरन लगाइदिएर भन्न थालेँ । यहाँ सम्म कि म आफैँले पनि राम्ररी पहिरन लगाउन थालेँ ! नत्रभने, म हरेक किसिमले निकै खरो र रुखो थिएँ । यो किताबमा समावेश गरिएका अधिकांश विषयहरू त्यही समयमा बोलिएका कुराहरू हुन्, जुन निकै प्रखर र सिधा छन् ।

समाजको दृष्टिकोणमा जे यथार्थ हुन्छन्, ती परिवर्तन भइरहन्छन्— तर, कसै न कसैले त जे सत्य हो, त्यो भन्नैपर्छ !

एकपटक पुनः शिष्ट र सौम्य भइरहनु पर्ने समय सकिएको छ । सायद अर्को एक वर्षसम्म अझै कूटनीति जारी रहनेछ, तर त्यसपछि हामी पूरै सिधा कुरा गर्नेछौँ । किनकि, समाजको दृष्टिकोणमा जे यथार्थ हुन्छन्, ती परिवर्तन भइरहन्छन्— तर, कसै न कसैले त जे सत्य हो, त्यो भन्नैपर्छ ! यस धरतीमा जो मानिसहरूले आफूभित्र केही गहिरो र रहस्यमय आयामहरू अनुभव गरेका थिए, उनीहरू जीवित छँदा साधारणतया अरू मानिसहरूले उनीहरूलाई बुझ्न पनि सकेनन् । हाम्रो सन्दर्भमा त्यतिसम्म खराब स्थिति छैन । हामी राम्रै गरिरहेका छौँ । कम्तीमा पनि केही मानिसहरूले त बुझ्छन् । केहीले प्रेम गर्छन्, अनि केहीले घृणा गर्छन् । तर, अधिकांशलाई उनीहरू जीवितै छँदा अरू कसैले पनि बुझ्न सकेनन् । साधारणतया, उनीहरूलाई मार्ने प्रयास गरियो । मानिसहरूले उनीहरूलाई लखेटे, विष पिलाए वा सुलीमा चढाए । यो संसारको इतिहास यही रहेको छ । त्यो परिप्रेक्ष्यबाट हेर्ने हो भने, हामी एकदमै राम्रो गरिरहेका छौँ । इन्टरनेट सम्बन्धी केही विज्ञहरूले मलाई यो भनिरहेका छन् कि एक अर्बभन्दा पनि बढी मानिसहरूले हाम्रा भिडियोहरू हेरिरहनु भएको छ । तर, त्यो मेरो लक्ष्यको १६% मात्र हो !

प्रष्ट र प्रखर हुने समय

जब कोही बुद्ध-पुरुष वा आत्मज्ञानी आए, जो वास्तवमै ज्ञानी थिए, उनीहरूले कहिल्यै मुख खोलेनन् । जो म जस्तै अति उत्साही थिए, उनीहरूले मुख त खोले तर प्रायः मारिए । केही बुद्धिमानी थिए, जसले भन्नुपर्ने कुराहरूलाई विभिन्न तरिकाहरूले आभूषण पहिऱ्याए अनि सामाजिक प्रक्रियाको हिस्सा बनाउने प्रयास गरे । तर, केही समयपश्चात उनीहरूले भनेका कुराहरूलाई हजारौँ तरिकाले गलत व्याख्या गरियो अनि मानिसहरूले आफ्नो सुविधाको लागि ती सबैथोक बङ्ग्याउँदै लगे ।

अहिले मलाई यो महसुस भइरहेको छ कि यदि एक अर्ब मानिसहरूले हाम्रा भिडियोहरू हेरिरहनु भएको छ भने, अब पूरै विश्व नै नजिकको भइसकेको छ । अब यो आश्रममा बसिरहेका मानिसहरूसम्म मात्रै सीमित रहन सक्दैन ।

आज हामी जे-जति कुराहरू भन्छौँ, ती सबै रेकर्ड भएको हुन्छ । मानिसहरूले सजिलै गलत अर्थ लगाउन सक्दैनन्, किनकि हामी पहिलाको भिडियोलाई पुनः देखाउन सक्छौँ । विगतमा यी कुराहरू बोल्नको लागि हामी हिच्किचाएका होइनौँ, तर कहिलेकाहीँ हामीले केही विशेष कुराहरू नजिकका मानिसहरूसँग बाहेक अन्यत्र बोलेनौँ । तर, अहिले मलाई यो महसुस भइरहेको छ कि यदि एक अर्ब मानिसहरूले हाम्रा भिडियोहरू हेरिरहनु भएको छ भने, अब पूरै विश्व नै नजिकको भइसकेको छ । अब यो आश्रममा बसिरहेका मानिसहरूसम्म मात्रै सीमित रहन सक्दैन । विश्वभरि नै यस्ता थुप्रै मानिसहरू हुनुहुन्छ, जसले आफ्नो जीवनमा मलाई कहिल्यै प्रत्यक्ष देख्नुभएको छैन, तर उहाँहरू एकदमै निकट र घनिष्ठ हुनुहुन्छ ।

मेरो मन र मुटुमा उहाँहरू पहिल्यै नजिकको हुनुहुन्थ्यो, तर अब उहाँहरूको मन र मुटुमा समेत म नजिकको भएको छु । अब हामी आश्रममा बसिरहेका मानिसहरूका निम्ति मात्रै सिधा र खरो कुरा गर्न सक्दैनौँ । अब हामीले सबैजनासँग त्यसैअनुरूप कुरा गर्न थाल्नैपर्छ । जो-जसले यसलाई पचाउन सक्दैनन्, उनीहरू शौचालय जानुपर्ने हुन्छ !

अब म यो तरिका अपनाउने तरखरमा छु । किनकि, मलाई के लाग्छ भने अब यो विश्व नै सिधा कुराको लागि तयार भइसकेको छ, जुन पहिला कहिल्यै थिएन । सानै उमेरदेखि सबैथरीका कुराहरूको अनुभव भएको हुनाले मानिसहरू ज्याद्रो भएका छन् । चौध वर्ष पुगुन्जेल उनीहरू निकै ज्याद्रो भएका हुन्छन् । आज, आठ वर्षको बच्चा वा बच्चीलाई समेत ती सबैथोक थाहा हुन्छ, जुन तपाईं चौध वर्षको हुँदा पनि कल्पना गर्न सक्नुहुन्न थियो । साँच्चै, उनीहरू निकै ज्याद्रो भएका छन्, त्यसैले उनीहरूसँग चेपारो घसेर मिठामिठा कुरा गर्नुको कुनै अर्थ नै छैन ।

पहिले कहिल्यै यति सजिलै सबै मानिसहरूसम्म पुग्न सकिँदैनथ्यो । यो एउटा सुपर ओभर जस्तै हो र हामीले प्रत्येक बलमा छक्का प्रहार गर्नैपर्छ ।

'मृत्यु' माथि लेखिएको यो किताब निकै खरो अभिव्यक्ति हो । हामीले जानीबुझी नै त्यो भाषालाई परिमार्जन नगरी त्यत्तिकै राखेका छौँ, किनकि यो एउटा सच्चा साधकसँग भनिएको थियो, जसले त्यस क्षणमा इमानदार भई प्रश्न गरेका थिए । तर, अब हामी पूरै विश्वसँग त्यसैगरी कुरा गर्न गइरहेका छौँ, जसले निकै उथलपुथल मच्चाउनेछ ।

तर, पूरै मानवताको जीवनमा अहिलेको समय अत्यन्तै महत्त्वपूर्ण छ । पहिले कहिल्यै यति सजिलै सबै मानिसहरूसम्म पुग्न सकिँदैनथ्यो । यो एउटा सुपर ओभर जस्तै हो र हामीले प्रत्येक बलमा छक्का प्रहार गर्नैपर्छ । केही मानिसहरूले त्यो प्रहारलाई मन पराउने छैनन् । जो बेहोशीमा बाँचिरहेका छन्, उनीहरूलाई त्यो प्रहारले ढाल्न सक्छ । तर, बाँकी मानिसहरूको जमातले यसलाई मन पराउनेछन् ।

मानिसहरूलाई यो मन पर्छ कि मन पर्दैन भन्ने प्रश्न नै उठ्दैन । उनीहरूले के खोजिरहेका छन् भन्ने कुराले पनि कुनै अर्थ राख्दैन । उनीहरू प्रेम वा कामवासना खोजिरहेका हुन सक्छन् वा यत्तिकै अनलाइनमा केही किन्ने प्रयास गरिरहेका हुन सक्छन् अथवा बुद्धत्त्वको खोज गरिरहेका हुन सक्छन्— उनीहरूले जेसुकै खोजिरहेको भए तापनि, यसले उनीहरूलाई प्रहार गर्नैपर्छ । हाम्रो सङ्ख्या जुन हदसम्म बढेको छ साथै हामी जुन रूपमा सशक्त भएका छौँ, यदि हामी अहिले पनि आफूभित्र फर्किएनौँ भने, सम्पूर्ण मानवताको इतिहासमा हामी सबैभन्दा ठूलो दुर्दशा बन्ने पक्का छ ।

मृत्यु

एकमात्र समस्या— अचेतना र बाध्यात्मक प्रवृत्ति

विश्वमा एउटा मात्र समस्या छ— मानिसहरू ! र, मानिसहरूको सन्दर्भमा रहेको एकमात्र समस्या भनेको अचेतना र बाध्यात्मक प्रवृत्ति हो । यो अचेतना र बाध्यात्मकता चाहे युद्धको रूपमा प्रस्तुत होस् वा घरायसीको समस्याको रूपमा, यसले कुनै अर्थ राख्दैन । किनकि, यी सबै मूलतः मानिसहरूको बाध्यात्मक प्रवृत्तिको प्रतिफल हो, जुन विभिन्न रूपहरूमा प्रकट भइरहेको हुन्छ । तपाईं चेतनशील बन्नुहुन्छ भन्ने अपेक्षा राखेर नै प्रकृतिले तपाईंलाई यो स्तरको बुद्धिमत्ता, चेतना र सामर्थ्य प्रदान गरेकी थिइन् । तपाईंले सचेतनपूर्वक प्रयोग गर्नुहोला भनी विश्वास गरेर नै तपाईंलाई पूर्ण स्वरूपको मस्तिष्क दिइएको थियो । तर, तपाईं चाहे विज्ञानलाई हेर्नुहोस् वा प्रविधि, राजनीति, धर्म, उद्योग वा व्यवसाय— यस धरतीमा भएका सबै मुख्य शक्तिहरू बाध्यात्मक रूपमा अनि बेहोशीमा काम गरिरहेका छन् । त्यसैकारण, यो अत्यन्तै महत्त्वपूर्ण छ कि जे भनिँदै छ, त्यसले पनि एक प्रकारको झट्का दिनुपर्छ, अन्यथा त्यसलाई पनि कसरी बेवास्ता गर्ने भनेर मानिसहरूले राम्ररी जानेका छन् ।

यदि तपाईंले मानिसहरूलाई उनीहरूको बारेमा सत्य कुरा भनिदिनु भयो भने, उनीहरू भित्रैबाट आतङ्कित हुन्छन् । किनकि, तथाकथित सभ्यता र धर्महरूले मानिसहरूलाई सधैँ राम्रो बन्नु भनेर सिकाउँदै आएका छन् ।

यो प्रभाव पार्नको निम्ति मात्र भनिएको होइन । वास्तवमा, सत्य यस्तै नै हुन्छ । सत्यले सधैँ कँपाउँछ । मानिसहरूले आफूले प्रेम गरेको व्यक्तिसँग पनि झुठ बोलिरहेका हुन्छन्, किनकि स-सानो कुराको सत्यले पनि मानिसहरूलाई भित्रैबाट हल्लाउँछ । सत्यलाई सजिलै निल्ने अनि तबपनि सामान्य रहन सक्ने पाचन प्रणाली भएका मानिसहरू निकै कम हुन्छन् । यदि तपाईंले मानिसहरूलाई उनीहरूको बारेमा सत्य कुरा भनिदिनु भयो भने, उनीहरू भित्रैबाट आतङ्कित हुन्छन् । किनकि, तथाकथित सभ्यता र धर्महरूले मानिसहरूलाई सधैँ राम्रो बन्नु भनेर सिकाउँदै आएका छन् । यदि तपाईं पूर्ण-विकसित मनुष्यमा प्रस्फुरित हुनुभयो भने, तपाईं राम्रो बन्नुपर्दैन । यो यत्तिकै राम्रो हुन्छ । जब एउटा फूल फक्रिन्छ, यो तपाईंको निम्ति राम्रो हुन खोजिरहेको हुँदैन— यो यत्तिकै राम्रो हुन्छ; यो आफ्नै प्रकृतिले सुन्दर एवं अद्‌भुत हुन्छ ।

आफूलाई दह्रो बनाउनुहोस् !

तपाईंले आफूलाई दह्रो बनाउनुपर्छ, किनकि थुप्रै प्रक्रियाहरू भइरहेका छन् । हामीले थुप्रै स्थानहरूमा द्वीप प्रज्ज्वलन गरेका छौँ, जुन बिस्तारै सल्किनेछ । दुर्भाग्यवश, हामीले वातावरण सम्बन्धी बिषयहरूलाई समेत सम्बोधन गर्नुपरेको छ । त्यो नभइदिएको भए हुन्थ्यो, तर यो अहिलेको विशाल समस्या हो । हाम्रो संलग्नता यस हदसम्म पुगेको छ कि मानिसहरूले मलाई 'वृक्षारोपण गर्ने व्यक्ति' भनेर सम्बोधन गर्न थालेका छन्— मलाई यो मन पर्दैन ! आफूलाई त्यो छापबाट मुक्त गर्नको लागि मैले आध्यात्मिक पक्षका कामहरूलाई अझ सशक्त ढङ्गले अघि बढाउनुपर्ने भएको छ । अन्यथा, मानिसहरूले मलाई 'वृक्षारोपण गर्ने व्यक्ति' नै ठान्नेछन् । वृक्षारोपण गर्नु कुनै नराम्रो पेशा पक्कै होइन, तर मेरो काम रूख रोप्दै हिँड्नु होइन— मेरो काम भनेको मानिसहरूलाई उनीहरूको परम-प्रकृतिसम्म प्रस्फुरित गराउनु हो ।

एकचोटिको कुरा हो, पूरै जोस र उमङ्गले भरिएको एकजना विक्रेताले भर्खरै एउटा नयाँ वस्ती बसेको देख्यो । केही घरहरूमा मानिसहरू बसिसकेको हुनाले ऊ त्यस वस्तीमा सबैभन्दा पहिला गएर आफ्नो भ्याक्यूम क्लिनर बेच्न चाहन्थ्यो । ऊ त्यतै गयो अनि घरको ढोकाबाहिर उभिएर ढकढक्यायो । एउटी महिलाले ढोका खोलिन् । ऊ फुत्त भित्र पस्यो, आफ्नो झोलाबाट भैँसीको गोबर निकाल्यो अनि नयाँ कार्पेटभरि यत्रतत्र छरिदियो । त्यसपछि उसले भन्यो, "ल, हेर्नुस् दिदी ! मसँग एकदमै गज्जबको भ्याक्यूम क्लिनर छ, जसले केही पनि बाँकी नराखी सबैथोक सफा गरिदिन्छ । कुनै निशान रहँदैन, कुनै दाग रहँदैन, अलिकति पनि गन्ध बाँकी रहँदैन— बरु, तपाईंको कार्पेटबाट झन् मगमग वास्ना आउनेछ । म पाँच मिनेटमै यो सबै सफा गरिदिनेछु । यदि मैले यो सफा गर्न सकिनँ भने, यो सबै गोबर अलिकति पनि बाँकी नराखिकन पूरै खानेछु ।" त्यसपछि, ती महिलाले भनिन्, "एकछिन है त भाइ । म भित्र गएर टमाटरको अचार लिएर आउँछु ।" "किन नि दिदी ?"- उसले सोध्यो । ती महिलाले भनिन्, "किनकि, यो घर भर्खरै बनेको हो, अनि यहाँ अझैसम्म बिजुली छैन ।"

यदि तपाईं यो गोबर खान बाध्य हुनुहुन्छ भने, सायद टमाटरको अचारले सहयोग गर्ला । तर, यही अचारको कारण संसारमा अलि बढी नै गोबर खाइँदै छ । यदि टमाटरको अचार नभएको भए, तपाईंले स्पष्ट जान्नुहुन्थ्यो कि यो खान लायक छैन । अलिकति अचार भएकै भरमा तपाईंले के गोबर हो अनि के पोषक तत्त्व हो भनेर छुट्याउनै सक्नुभएको छैन । त्यसैकारण, अब हामी त्यो टमाटरको अचार हटाउनेछौँ !

'मृत्यु' सम्बन्धी ब्लगहरू

 

१. मृत्यु— डर केको र किन ?

२. के मृत्युको सन्दर्भमा विकल्पहरू हुन्छन् ?

३. मृत्युको अन्तिम क्षण— आध्यात्मिक विकासको अवसर

४. मृत्यु नजिकिँदै गरेको व्यक्तिका निम्ति के गरिनुपर्छ ?

५. 'मृत्यु' का चरणहरू अनि 'श्राद्ध' को महत्त्व

६. आध्यात्मिक दीक्षा— वंशाणुगत प्रभावबाट मुक्त हुनको निम्ति

७. के तपाईंलाई आत्महत्या गर्ने अधिकार छ ?

८. आफ्नो प्रियजनको मृत्युको शोकबाट कसरी बाहिर निस्किने ?

९. के मृत्युपछि पनि जीवन हुन्छ— पुनर्जन्म हुन्छ ?

१०. के पूर्वजन्मले अहिलेको शरीर वा स्वरूप निर्धारण गर्छ ?

११. वनप्रस्थ— आफ्नो नश्वर (मरणशील) प्रकृतिप्रति सचेत हुने तरिका

१२. प्रज्ञा— 'मृत्यु' भन्दा परको कुरा जान्ने एकमात्र तरिका

१३. महासमाधि— यो तपाईंको निम्ति पनि सम्भव छ !

१४. मुक्ति वा मोक्ष— एक गुरुको भूमिका

Editor’s Note: Click here to pre-order Death; An Inside Story on amazon, where it is already a #1 Best Seller!