यसअघि सद्‌गुरुले मृत्युका चरणहरू र श्राद्धको महत्त्वको बारेमा बताउनु भयो । यो ब्लगमा सद्‌गुरु, वास्तवमा संस्कारहरू किन गरिन्छन् अनि वंशाणुगत स्मृतिबाट मुक्त हुन आध्यात्मकि दीक्षाको के महत्त्व रहेको हुन्छ भनेर बताउँदै हुनुहुन्छ ।


 

प्रश्नः सद्‌गुरु, शाम्भवी महामुद्रा क्रियाको अभ्यास सुरु गरेपछि मेरो शरीरमा थुप्रै परिवर्तनहरू आउन थालेका छन्, जुन एक चिकित्सकको रूपमा मेरो बुझाइभन्दा पर रहेको छ । मलाई थाहा छ कि यो भित्रैबाट भइरहेको प्रक्रिया हो, जुन अत्यन्तै अद्‌भुत छ । तर, त्यसको अर्थ बुझ्न अलि गाह्रो छ । त्यसैले, कृपया के तपाईं यो बुझाउन सक्नुहुन्छ कि कर्मका केही पत्रहरूबाट छुटकारा पाउँदा वा नयाँ ऊर्जाहरूको पहुँचमा आउँदा शरीरमा के-के परिवर्तनहरू हुन्छन् ? मसँग के भइरहेको हुन सक्छ ?


सद्‌गुरुः तपाईंसँग के भइरहेको हुन सक्छ भन्ने कुरालाई व्यक्तिगत रूपमा हेर्न आवश्यक छ । तर, यो सम्भव छ कि शारीरिक प्रणालीमा चमत्कारिक परिवर्तनहरू हुन सक्छन् । म तपाईंलाई यस्ता थुप्रै मानिसहरू देखाउन सक्छु, जसले शक्तिशाली दीक्षा प्राप्त गरेपछि चौबिस घण्टामै उनीहरूको अनुहारको आकृति नै बदलिएको छ । चौबिस घण्टाअघि उनीहरू जस्तो देखिन्थे, दीक्षापछि उनीहरू चमत्कारिक रूपमा निकै भिन्न देखिन्छन् । शारीरिक प्रणालीमा यस हदसम्म बदलाव आउन सक्छ ।

म आफ्नै अनुभवबाट यो कुरा अझ स्पष्टसँग बताउन सक्छु । जब पच्चिस वर्षको उमेरमा मभित्र केही चीजहरू घट्यो, मेरो शरीरसँग सम्बन्धित सबैथोक बदलियो । ममा भइरहेका परिवर्तनहरू अरू मानिसहरूले समेत स्पष्ट देखिरहेका थिए । भलै, आवाज परिवर्तन हुने उमेर पार गरिसकेको भए तापनि मेरो आवाज एकदमै फरक किसिमले बदलियो । मेरा आँखाको आकार बदलियो । मेरो चाल-ढाल यस हदसम्म बदलियो कि आफ्नो पुरानै शैलीमा हिँड्न खोज्दा समेत म सकिरहेको हुन्थिनँ । मेरो शरीरको आकार थुप्रै तरिकाहरूले सूक्ष्म रूपमा परिवर्तन भयो । मेरो दिमागको आकार त निश्चय नै बदलियो, यसमा कुनै दुविधा नै छैन ।

संस्कार— हिजोका पिँढीहरूको स्मृति

ऊर्जाको हस्तक्षेपले हामीभित्र रहेको क्रमिक-विकास सम्बन्धी स्मृति (स्मरण) हरू र वंशाणुगत स्मृतिहरूको प्रभावलाई पूर्णतया परिवर्तन गर्न सक्छ । स्मृतिका यिनै दुई आयामहरूले हामीलाई कैयौँ रूपहरूमा सीमित र प्रभावित गरिरहेका हुन्छन् । तपाईं यिनको प्रभावलाई बुझ्न समेत सक्नुहुन्न । ती स्मृतिहरूबाट मुक्त हुनु वा त्यसबाट अलग्गिनु नै योग-साधनाको महत्त्वपूर्ण पक्ष हो ।

यस्तो याद वा स्मृति जसको बारेमा तपाईं सचेत नै हुनुहुन्न, जुन तपाईंको शरीरको प्रत्येक कोषिकामा स्पन्दित भइरहेको हुन्छ, तपाईं त्यसबाट कसरी टाढा रहन सक्नुहुन्छ ?

सामान्यतया, मानिसहरूमा 'संस्कार' शब्दको गलत बुझाइ रहेको छ । संस्कार शब्दलाई दुईवटा पक्षहरूको लागि प्रयोग गरिन्छ । संस्कार अर्थात् वंशाणुगत स्मृति— जुन हामी अघिका पिँढीहरूबाट हामीमा आएको हुन्छ । उदाहरणको लागि यदि कुनै बच्चामा विलक्षण प्रतिभा छ, जो बाल्यकालदेखि नै एकदमै राम्ररी गाउँछन्, त्यसबेला मानिसहरू सामान्यतया यो भन्ने गर्छन्, ″अरे ! यो उसको संस्कार हो, जसले गर्दा ऊ यसरी गाउन सकिरहेको छ ।″ यसको अर्थ के हो भने, उसमा त्यो प्रतिभा अन्त कतैबाट आएको हो । साथसाथै, व्यक्तिको मृत्युपश्चात गरिने अनुष्ठान वा प्रक्रियाहरूलाई पनि संस्कार भनिन्छ ।

भिन्न-भिन्न लाग्ने यी दुवै पक्षहरूको लागि किन एउटै शब्दको प्रयोग गरिन्छ ? किनकि, यी वास्तवमा फरक होइनन् । यो कुरालाई नकार्न सकिँदैन कि हाम्रा पूवर्जहरूका कैयौँ स्मृतिहरू र अनुभवहरू हामीभित्र आएका हुन्छन् । तथापि, वंशाणुक्रमबाट हामीमा आएका यी स्मृतिहरू हाम्रो जीवनमा बन्धन बन्छन् वा हाम्रो जीवनको लागि लाभदायक बन्छन् भन्ने कुरा यी स्मृतिहरूबाट हामी कति स्वतन्त्र हुन सक्छौँ अथवा कति दुरी बनाउन सक्छौँ भन्ने कुरामा निर्भर गर्दछ ।

यस्तो याद वा स्मृति जसको बारेमा तपाईं सचेत नै हुनुहुन्न, जुन तपाईंको शरीरको प्रत्येक कोषिकामा स्पन्दित भइरहेको हुन्छ, तपाईं त्यसबाट कसरी टाढा रहन सक्नुहुन्छ ? यही कारणले गर्दा, योग-क्रियाहरूमा दीक्षा दिइने प्रक्रियाहरू महत्त्वपूर्ण छन्, किनकि दीक्षा भनेको ऊर्जाको विशेष दखल वा हस्तक्षेप हो, जसले तपाईं र तपाईंको वंशाणुगत स्मृतिलाई निश्चित तरिकाले अलग्याउँछ ।

मृतकलाई मृतहरूका निम्ति छोड्नुहोस्

जब कसैको मृत्यु हुन्छ, वा कसैको मृत्यु नहुँदा समेत एक प्रकारको संस्कार गरिन्छ, जुन आफ्ना हजुरबुबा-हजुरआमा, बुबा-आमाबाट आएको वंशाणुगत स्मृतिबाट दुरी स्थापित गर्ने प्रक्रिया हो । यो प्रक्रिया तपाईंले देख्नुभएका पिँढीहरूको निम्ति मात्रै गरिँदैन— जस्तै कि बुबा-आमा, हजुरबुबा-हजुरआमा— बरु, उहाँहरूभन्दा पहिलेका थुप्रै पुस्ताहरूको निम्ति पनि गरिन्छ ।

यी संस्कारहरू वंशाणुगत स्मृतिबाट आफूलाई टाढा राख्ने प्रयास हो, किनकि हामी एउटा नयाँ-ताजा जीवन हुन चाहन्छौँ । हामी विगतका जीवनहरूको पुनरावृत्ति (रिसाइक्लिङ्ग) हुन चाहँदैनौँ । हामी आफ्नो नियति स्वयं रच्न चाहन्छौँ ।

जो व्यक्तिहरू केही निश्चित कार्य गर्न चाहन्छन्, उनीहरू ७ देखि १२ पुस्ताहरू अघिदेखि रहेको स्मृति (स्मरण) लाई पखाल्छन् । साधारणतया, सबैजसोले आफू अघिका तीन पुस्ताहरूको निम्ति यो प्रक्रिया गर्दछन् । यहाँ यही परम्परा रहेको छ ।

वास्तवमा, यी संस्कारहरू हाम्रा आमा-बुबा र हजुरबुबा-हजुरआमाको सम्झनामा गरिने होइन । यी संस्कारहरू आफ्नो कुलको वंशाणुगत स्मृतिबाट आफूलाई टाढा राख्ने प्रयास हो, किनकि हामी एउटा नयाँ-ताजा जीवन हुन चाहन्छौँ । हामी विगतका जीवनहरूको पुनरावृत्ति (रिसाइक्लिङ्ग) हुन चाहँदैनौँ । हामी आफ्नो नियति स्वयं रच्न चाहन्छौँ । यी संस्कारहरू यही अभिप्रायले गरिन्छन् । यसैकारण, वंशाणुगत स्मृति तथा त्यसबाट दुरी स्थापित गर्न सहयोग गर्ने अनुष्ठानको लागि एउटै शब्द प्रयोग गरिएको हो ।

मेरो विचारमा योसँग बढी मिल्दोजुल्दो रहेर जे भनिएको छ, वा भनौँ जसको बारेमा पश्चिमी संसारका मानिसहरू परिचित छन्, त्यो के हो भने, सम्भवतः जिससले भनेका थिए— ″मृतकलाई मृतहरूका निम्ति छोडिदेऊ ।″ मरेकोलाई मरेकाहरूका निम्ति छोडिदिनु सजिलो छैन, किनकि मृतहरू तपाईंभित्र बाँचिरहेका हुन्छन् । यसैलाई वंशाणुगत स्मृति भनिन्छ । तपाईं जो हो, यदि त्यो कुराले एकदमै महत्त्व राख्छ भने, तपाईंले यो देख्नुहुनेछ कि सन्तान जन्माउनु पनि एकदमै महत्त्वपूर्ण हुन्छ, किनकि सन्तान तपाईंको विरासत हो । तपाईं आफ्नो शेषपछि अन्य कैयौँमा आफ्नो वंशाणुगत तत्त्व छोड्न चाहनुहुन्छ, ताकि तपाईं कुनै न कुनै रूपमा बाँचिरहन सक्नुहोस् । तसर्थ, मृत (मरेका) हरूलाई कम आँकलन नगर्नुहोस् । उनीहरू तपाईंमार्फत बाँच्ने कोसिस गर्छन् ।

पीडा तब हुन्छ, जब स्वतन्त्रता खोसिन्छ

तर, जब तपाईंलाई कुनै शक्तिशाली प्रक्रियामा दीक्षित गरिन्छ— जस्तै कि शाम्भवी महामुद्रा क्रिया— तब त्यसलाई पूरै लगनताले अभ्यास गर्नुभयो भने, ऊर्जाको विशेष प्रभावले हस्तक्षेपको रूपमा काम गर्दछ, जसकारण तपाईं र तपाईंको वंशाणुगत स्मृतिबिच दुरी बनाउन सकिन्छ । तब, तपाईं बाध्यात्मक चक्रहरूको परिणाम रहिरहनुको सट्टा जीवनको सचेतन प्रक्रिया बन्नुहुनेछ । यो मानिसको निम्ति एकदमै महत्त्वपूर्ण छ, किनकि मानव-जीवनको सबैभन्दा ठूलो लक्ष्य भनेकै स्वतन्त्र वा मुक्त हुनु हो ।

मानिस सबैभन्दा बढी पीडामा तब हुन्छ, जब उसको स्वतन्त्रतामा अङ्कुश लगाइन्छ ।

मानिस सबैभन्दा बढी पीडामा तब हुन्छ, जब उसको स्वतन्त्रतामा अङ्कुश लगाइन्छ । यदि उनीहरूलाई थुप्रै कुराहरूबाट बञ्चित गरियो भने— सुख-सुबिधा र अरू चीजहरू खोसियो भनेपनि, उनीहरूले जसोतसो काम चलाउने छन्, त्यसलाई सहनेछन् । वास्तवमा भन्नुपर्दा, यसबाट उनीहरू अझ सशक्त हुन्छन् । तर, यदि तपाईंले मानिसहरूको स्वतन्त्रता खोस्नुभयो भने, उनीहरूलाई सबैभन्दा बढी पीडा हुन्छ ।

म आफैँले त्यो देखेको छु, जुन अविश्वसनीय थियो । ईशा फाउण्डेशनको लगभग २० प्रतिशत समय अनि स्रोतहरू बन्दीगृह वा जेलहरूमा सञ्चालन गरिने ईशा-योग कार्यक्रमहरूमा खर्च हुन्छ । हामी भारतको तमिलनाडु राज्यका सबै जेलहरूमा साथै अमेरिकाका केही जेलहरूमा समेत योग कार्यक्रम सञ्चालन गर्दछौँ । जेल यस्तो स्थान हो, जहाँ सबैथोक निकै व्यवस्थित हुन्छ । समयमा खाना दिइन्छ । मानिसहरूले तपाईंको निम्ति ढोका खोलिदिन्छन्, र निश्चय नै तपाईंको निम्ति ढोका बन्द पनि गरिदिन्छन् । उनीहरूले तपाईंको लागि बत्ति बालिदिन्छन्, बत्ति निभाइदिन्छन् । त्यो वास्तवमै राम्रो जीवन हो । बाहिरको संसारमा अस्तव्यस्त भएर बाँचिरहने थुप्रै मानिसहरूका लागि जेल निकै राम्रो स्थान हो । तर, जब तपाईं जेलमा प्रवेश गर्नुहुन्छ, त्यहाँको हावामा यस्तो पीडा हुन्छ, जसलाई बयान गर्नै सकिँदैन । जताततै पीडा मात्रै हुन्छ । भलै, उनीहरूलाई खाना, कपडा, सुरक्षा दिइएको भए तापनि उनीहरूबाट एउटा चीज खोसिएको हुन्छ— उनीहरूको स्वतन्त्रता ! यो नै मनुष्यको निम्ति सबैभन्दा ठूलो पीडा हो ।

आध्यात्मिक दीक्षा— स्मृतिबाट टाढा रहन

तपाईंको स्वतन्त्रता किन खोसियो भन्ने कुराले कुनै अर्थ राख्दैन— चाहे अरू कसैले गर्दा होस्, तपाईंका आफ्नै प्रवृत्तिहरूको कारण होस्, अथवा तपाईंको वंशाणुगत तत्त्व वा तपाईंको विकासक्रमका स्मृतिहरूको कारण खोसिएको किन नहोस्— बिस्तारै-बिस्तारै तपाईंको अनुहार मलिन हुन्छ अनि तपाईं पीडामा डुब्नुहुन्छ । तपाईंलाई अरू कुनै कारण चाहिँदैन । कुनै कारण थाहा नपाइकनै तपाईं पीडित बन्नुहुनेछ । यसैकारण, आध्यात्मिक दीक्षामार्फत ऊर्जाको स्तरमा हस्तक्षेप गरिन्छ, ताकि तपाईं आफ्नो स्मृतिबाट आफूलाई टाढा राख्न सक्षम बन्नुहोस् ।

जोसुकै व्यक्तिमा स्वाभाविक रूपमा जे-जति परिवर्तनहरू हुन्छन्, त्यसप्रति तपाईं चिन्तित हुनुपर्दैन । तर, परिवर्तनहरू ल्याउने प्रयास नगर्नुहोस्, किनकि यसले पूर्णतया फरक स्थिति उत्पन्न गर्न सक्दछ । स्वाभाविक रूपमा जे-जति हुन्छ, त्यो एकदमै ठीक छ ।

Editor’s Note: कायन्त स्थानम, ईशाद्वारा सञ्चालित दाहसंस्कारको सेवा हो, जुन शक्तिशाली ऊर्जाको आधारमा प्राचीन परम्परा र मृत्युको संस्कारलाई कुनै व्यवसायिक कामको रूपमा नभई सेवाको भावमा पुनरुत्थान गर्नमा समर्पित छ । साथै, सद्‌गुरुले कालभैरव कर्म र कालभैरव शान्ति प्रक्रियाहरू समेत तयार गर्नुभएको छ, जसबाट मृत व्यक्तिको शान्तिपूर्ण गमन सम्भव हुन सक्दछ । अधिक जानकारीको लागि https://lingabhairavi.org/