सद्‌गुरु: जीवनका अनेक पक्षहरू छन् । त्यहाँ जन्म, बाल्यकाल, युवावस्था र बुढेसकाल हुन्छ । साथै प्रेम, कोमलता, सम्बन्धहरूको मिठास र तिक्तता (तीतोपन), सफलताको आनन्द, तृप्ति, दुःख र सुख हुन्छ । यदि तपाईंले आफ्नो दिमागलाई पर्याप्त रूपमा ग्रहणशील राख्नुभएको छ भने, यी सबै चीजहरू तपाईंले बुझ्न सक्नुहुन्छ । तर, जीवनलाई सबैभन्दा राम्रोसँग दर्शाउने पक्ष, अर्थात् मृत्यु कुनै पनि दिमागको बुझाइभन्दा पर रहेको छ— चाहे तपाईं आफूलाई जतिसुकै बुद्धिमान्, चलाख वा बौद्धिक ठान्नुहोस् ! हामी नश्वर भएको कारणले नै जीवन यसअनुरूप चलिरहेको छ । यदि हामी नश्वर (नाशवान्) नभएका भए, न त बाल्यकाल हुन्थ्यो, न युवावस्था, न त वृद्धावस्था नै— यहाँ सम्म कि हामी आफ्नो जन्मलाई नै प्रश्न गर्न सक्नेथ्यौँ ।

आध्यात्मिक प्रक्रिया तबमात्र शुरु हुन्छ, जब मृत्युसँग तपाईंको साक्षात्कार हुन्छ— कि त तपाईंको आफ्नै वा तपाईंको प्रियजनको, जो बिना आफू बाँच्न सक्दिनँ भन्ने लाग्थ्यो ।

मृत्यु, जीवनको आधारभूत रेखा हो । यदि तपाईं मृत्युलाई बुझ्नुहुन्न भने, तपाईंले कहिल्यै जीवनलाई जान्नु हुनेछैन, न त तपाईंले जीवनलाई सम्हाल्न नै सक्नुहुन्छ । किनकि, जीवन र मृत्यु भनेको श्वास लिने र श्वास छोड्ने जस्तै हो । ती अभिन्न रूपमा सँगसँगै भइरहेका हुन्छन् । आध्यात्मिक प्रक्रिया तबमात्र शुरु हुन्छ, जब मृत्युसँग तपाईंको साक्षात्कार हुन्छ— कि त तपाईंको आफ्नै वा तपाईंको प्रियजनको, जो बिना आफू बाँच्न सक्दिनँ भन्ने लाग्थ्यो । जब मृत्यु नजिकिँदै गर्छ वा जब कसैको मृत्यु हुन्छ, त्यसबेला मात्रै अधिकांश मानिसहरूको दिमागमा यो प्रश्न उब्जिन्छ, "यो सबै के हो ? योभन्दा पर के हुन्छ ?" जबसम्म जीवनको अनुभव वास्तविक लाग्दछ, तपाई यो विश्वास नै गर्न सक्नुहुन्न कि सबैथोक यत्तिकै समाप्त हुनेछ । तर, जब मृत्यु नजिकिन्छ, मनले यसबारे सङ्केत गर्नेछ कि योभन्दा पर पनि केही हुनैपर्छ । मनले जतिसुकै कल्पना गरेपनि यसलाई वास्तवमा केही थाहा हुँदैन, किनकि आफूले पहिल्यै जम्मा गरेका जानकारीहरूको आधारमा मात्रै मनले काम गर्दछ । मृत्युसँग मनको कुनै सरोकार हुँदैन, किनकि मनसँग तथ्यपूर्ण जानकारी हुँदैन— गलफती मात्र हुन्छ ।

तपाईंको मृत्यु भएपछि तपाईं यहाँबाट गएर भगवानको काखमा बस्नुहुन्छ भन्ने जस्ता गफगाफहरू त पक्कै सुन्नु भएको होला । यदि त्यसो हो भने, तपाईं आजै जानुपर्छ । यदि तपाईंलाई त्यस्तो सौभाग्य प्रदान गरिँदै छ भने, तपाईंले त्यसलाई पछि धकेल्नु पर्ने कुनै कारण नै देख्दिनँ । तपाईंले स्वर्ग र नर्कको बारेमा अनेक थरीका गफहरू सुन्नुभएको छ, तपाईंले अप्सराहरूका बारेमा अनि अरू थुप्रै कुराहरूको बारेमा समेत अनेक गफहरू सुन्नुभएको छ— तर, कतैबाट पुष्टि भएको छैन ! मृत्युपछि के हुन्छ भन्नेबारे सोच्ने कोसिस गरेर आफ्नो समय खेर नफाल्नुहोस्, किनकि त्यो तपाईंको मनको दायराभित्र पर्दैन ।

प्रज्ञा भनेको त्यो हो, जुन सृष्टिको मूल स्रोत हो । यदि तपाईं प्रज्ञाको सम्पर्कमा आउनुभयो भने, हामी यतिखेर जसलाई जीवन र मृत्यु बीचको पर्खाल भनिरहेका छौँ, तपाईं त्यसलाई पार गर्न सक्नुहुनेछ ।

त्यसलाई जान्ने एकमात्र माध्यम हो— प्रज्ञा । यदि तपाईं सचेतन हुनुहुन्छ भने, तपाईं विभिन्न कुराहरू जान्न सक्नुहुन्छ— त्यसबारे नसोचिकनै, त्यस सम्बन्धी जानकारीहरू नलिइकनै । यदि तपाईंले आफू वरपरको जीवनलाई नजिकैबाट नियाल्नुभयो भने, तपाईंले यो बुझ्नुहुनेछ कि सृष्टिमा यति धेरै कुराहरू छन्, जुन प्रत्येक प्राणीले सोच-विचार नगरिकनै जानेका हुन्छन् । वास्तवमा भन्ने हो भने, यदि तपाईंलाई श्वासको बारेमा सोच्नुपर्ने भएको भए तपाईंलाई कसरी श्वास फेर्ने भनेर नै थाहा हुने थिएन । यो स्वतः भइरहन्छ । त्यो तपाईंको बुद्धिमत्ताले गर्दा भएको होइन— यो सृष्टिकर्ताको बुद्धिमत्ता हो । यदि यस हदसम्मको जटिल उपकरण अर्थात् शरीरको व्यवस्थापनको जिम्मा तपाईंलाई दिइएको भए यो पूरै अस्तव्यस्त हुने थियो !

जब हामी यो सबै दिव्य लीला हो भन्छौँ, यसको अर्थ भगवानले हाम्रो जीवनसँग खेलबाड गरेर आनन्द लिइरहेका छन् भन्ने पक्कै होइन । हामी यसलाई लीला भन्छौँ, किनकि सबैथोक एकआपसमा गाँसिएका हुन्छन् । अस्तित्वको स्तरमा हेर्ने हो भने, तपाईं आफ्नो बाल्यकाल, युवावस्था, अधबैँसे उमेर अनि बुढेसकाललाई छुट्टाछुट्टै राख्न सक्नुहुन्न— यी सबै एक आपसमा जेलिएका हुन्छन् । तपाईं जुन चीजलाई व्यक्तिगत भन्नुहुन्छ अनि जसलाई सर्वव्यापी (सबैतिर फैलिएको) भन्नुहुन्छ, यिनलाई अलग्याउन सकिँदैन । तपाईं जसलाई परमाणु भन्नुहुन्छ अनि जसलाई ब्रह्माण्ड भन्नुहुन्छ, यिनलाई अलग्याउन सकिँदैन । यही अर्थमा यो लीला वा खेल हो ।

तर, जब तपाईं एउटा र अर्को चीज बीचमा पर्खाल उभ्याउनु हुन्छ, तब त्यहाँ कुनै लीला हुँदैन । यतिखेर, तपाईं यहाँ बसिरहँदा तपाईं र रूखबीच श्वासको आदान-प्रदान चलिरहेको छ । तपाईं यसलाई अलग्याउन सक्नुहुन्न, अर्थात् तपाईं यो भन्न सक्नुहुन्न कि "म मेरो श्वास फेर्छु, उसले आफ्नो श्वास फेरोस् ।" तर, यही कुरा धेरै घरहरूमा भइरहेको हुन्छ— "म मेरो काम गर्छु; तिमी आफ्नो काम गर ।" तपाईं जुन क्षण यो खेललाई सीमित गर्नुहुन्छ, तपाईंको हातबाट जीवन चिप्लनेछ ।

मानिसहरूको निम्ति आफ्नो जीवनभन्दा क्यारियर अति बढी महत्त्वपूर्ण छ; आफ्नो जीवनभन्दा प्रेम-सम्बन्ध निकै बढी महत्त्वपूर्ण छ; आफ्नो जीवनभन्दा झिनो समस्या एकदमै बढी महत्त्वपूर्ण छ; आफ्नो जीवनभन्दा कस्तो लुगा लगाउने भन्ने कुरा अत्यन्तै बढी महत्त्वपूर्छ छ !

जीवन र मृत्युको प्रकृति के हो भनेर जान्ने चाहनामा अनेक थरीका कामहरू गरिएका छन् । तर, तपाईं यसलाई न त कुनै प्रयोग गरेर बुझ्न सक्नुहुन्छ, न त यसको बारेमा सोचेर नै । तपाईं अनुभवद्वारा मात्र यसलाई जान्न सक्नुहुन्छ । जबजब मानिसहरूले मलाई मृत्यु अनि मृत्युपछि के हुन्छ भनेर प्रश्नहरू गर्छन्, म उनीहरूलाई यो स्मरण गराइरहन्छु कि यसलाई अनुभवद्वारा नै जान्नु उत्तम हुन्छ ! म उनीहरूलाई मर्नु पर्छ भनेर सुझाव दिइरहेको छैन । मेरो आशय के हो भने, तपाईंले जीव अर्थात् तपाईंभित्रको जीवनलाई अनुभव गर्नुपर्छ । यदि तपाईंले शरीरलाई मात्रै अनुभव गर्नुभयो भने, मैले जेसुकै भनेपनि तपाईं गलत निष्कर्षहरूमा पुग्नुहुनेछ । यदि तपाईंको जीवनको अनुभव आफ्नो मानसिक र शारीरिक संरचनाहरूमै सीमित छ भने, तपाईं त्यो आयामसम्म पुग्न सक्नुहुन्न । मृत्यु अनि त्यो जुन मृत्युभन्दा पर छ, यो कतै स्वर्ग वा नर्कमा लुकिरहेको रहस्य होइन— यो यहीँ छ, यतिखेरै छ । कुरा यतिमात्र हो कि अधिकांश मानिसहरूले पर्याप्त ध्यान नै दिएका छैनन्, किनकि उनीहरू अन्य चीजहरूमा अति व्यस्त छन् ।

मानिसहरूको निम्ति आफ्नो जीवनभन्दा क्यारियर अति बढी महत्त्वपूर्ण छ; आफ्नो जीवनभन्दा प्रेम-सम्बन्ध निकै बढी महत्त्वपूर्ण छ; आफ्नो जीवनभन्दा झिनो समस्या एकदमै बढी महत्त्वपूर्ण छ; आफ्नो जीवनभन्दा कस्तो लुगा लगाउने भन्ने कुरा अत्यन्तै बढी महत्त्वपूर्छ छ ! यी त केही उदाहरणहरू मात्र हुन् । तपाईंमा जीवनको बारेमा गलत अवधारणाहरू भएकै कारण जीवन पन्छिएको जस्तो देखिएको छ । तर वास्तवमा भन्ने हो भने, जीवन पन्छिएको हुँदैन— तपाईं स्वयं जीवनबाट पर भाग्दै हुनुहुन्छ । जीवनले तपाईंलाई बेवास्ता गर्ने कोसिस गरिरहेको छैन— बरु, अनेक तरिकाहरूले तपाईं स्वयं जीवनलाई उपेक्षा गर्ने प्रयास गरिरहनु भएको छ ।

वास्तवमा, जीवन र मृत्यु भन्ने त्यस्तो केही हुँदैन ! यो न त जीवन हो, न त मृत्यु— यो फगत लीला हो, खेल हो ।

तपाईंमा जे-जति तिक्त (तीतो) एवं पीडादायी अनुभवहरू छन्, ती कहिल्यै जीवनले सृजना गरेको होइन । तपाईंले आफ्नै मन र शरीरलाई व्यवस्थापन गर्न नसक्नु भएकोले ती अनुभवहरू उत्पन्न भएका हुन् । जीवनले कहिल्यै तपाईंलाई पीडा वा कष्ट दिएको छैन । यी केवल शरीर र दिमागको उपज हो । तपाईंलाई आफ्नो मानसिक संरचना र शारीरिक संरचनालाई कसरी ठीक ठाउँमा राख्ने भनेर नै थाहा छैन । तपाईंलाई यी दुई अद्‌भुत उपकरणहरू— शरीर र मन— दिइएको थियो, तर तपाईं यिनलाई जथाभावी प्रयोग गरिरहनु भएको छ । सम्पूर्ण दु:ख र कष्टहरू स्वयं तपाईंद्वारा उत्पन्न भएका हुन्, जीवनद्वारा होइन ।

प्रज्ञा भनेको बोधको त्यस्तो आयाम हो, जसले तपाईंलाई जीवन, जीवनको प्रकृति अनि जीवनको स्रोतसम्म पुऱ्याउँछ । यी भिन्दाभिन्दै चीजहरू होइनन्— यी त हामीले जीवनलाई दिएका विभिन्न नामहरू मात्र हुन् । न त कुनै स्रोत हुन्छ, न त कुनै अभिव्यक्ति— सबैथोक एउटै हो । वास्तवमा, जीवन र मृत्यु भन्ने त्यस्तो केही हुँदैन ! यो न त जीवन हो, न त मृत्यु— यो फगत लीला हो, खेल हो । तपाईं यसमा खेल खेल्न सक्नुहुन्छ र एकदिन त्यो खेल रोक्न सक्नुहुन्छ । जिन्दगी सुरु हुन्छ अनि रोकिन्छ, सुरु हुन्छ अनि रोकिन्छ, तर मूल जीवन कुनै निश्चित क्रियाकलाप होइन, कुनै निश्चित घटना होइन । यो यस्तो अद्‌भुत कुरा हो, जुन यहीँ रहेको हुन्छ । यो सृष्टिको पृष्ठभूमि हो । यो सृष्टिको नै स्रोत हो ।

Editor’s Note: कायन्त स्थानम, ईशाद्वारा सञ्चालित दाहसंस्कारको सेवा हो, जुन शक्तिशाली उर्जाको आधारमा प्राचीन परम्परा र मृत्युको संस्कारलाई कुनै व्यवसायिक कामको रूपमा नभई सेवाको भावमा पुनरुत्थान गर्नमा समर्पित छ । साथै, सद्‌गुरुले कालभैरव कर्म र कालभैरव शान्ति प्रक्रियाहरू समेत तयार गर्नुभएको छ, जसबाट मृत व्यक्तिको शान्तिपूर्ण गमन सम्भव हुन सक्दछ । अधिक जानकारीको लागिः https://lingabhairavi.org/