मृत्युको अन्तिम क्षण— आध्यात्मिक विकासको अवसर

मृत्युको समय शान्तिपूर्ण वातावरण सृजना गर्नु हाम्रो परम्परा रहेको छ । के मृत्युको अन्तिम क्षणले मर्ने व्यक्तिमाथि केही प्रभाव पार्दछ ? के यो क्षण उसको अर्को जन्मसँग जोडिएको हुन्छ ? योगी एवं दिव्यदर्शी, सद्‌गुरु, मृत्युको प्रक्रियालाई नियाल्ने क्रममा यो बताउँदै हुनुहुन्छ कि मृत्युको अन्तिम क्षणमा सचेत रहिरहन सकियो भने, त्यो आध्यात्मिक विकासको निम्ति सोपान बन्न सक्दछ ।
dying-in-awareness-1
 

यसअघि हामीले मृत्युकाो सन्दर्भमा विकल्पहरू हुन्छन् भन्ने बारेमा चर्चा गऱ्यौँ, जसअन्तर्गत सद्‌गुरुले हामीलाई एउटा सरल प्रक्रिया प्रदान गर्नुभएको छ ।?


 

प्रश्न: भागवद् गीतामा कृष्णले अर्जुनलाई भन्नुहुन्छ कि, "मृत्युको समयमा, जो व्यक्तिले केवल मलाई स्मरण गर्दै आफ्नो शरीर छोड्छ, उसले निःसन्देह मलाई प्राप्त गर्नेछ । कुन्तिपुत्र, मृत्युको समयमा जुन अवस्थालाई याद गर्दछ, त्यसको विचारमा मग्न भएको कारण उसले त्यही अवस्था प्राप्त गर्दछ... ।" सद्‌गुरु, के यो त्यति सरल छ ? के हामीले मृत्युको अन्तिम क्षणलाई उपयोग गरेर त्यसपछिको अवस्थामा प्रिय अनुभव सृजना गर्न सक्छौँ ?


सद्‌गुरु: हो, यो त्यति सरल छ ।तर ... एउटा निकै सुन्दर कथा छ । नारद मुनि जहाँसुकै गए पनि “नारायण, नारायण” मात्रै भन्ने गर्दथे । नारदसँग तीनवटै लोकको पासपोर्ट थियो— उनी स्वतन्त्र रूपमा आवतजावत गर्न सक्थे । एकदिन उनले एउटा किसानलाई पूरै हर्ष र आनन्दको अवस्थामा आफ्नो खेत जोतिरहेको देखे । नारद ती किसानको आनन्दको रहस्य के हो भनेर पत्ता लगाउन उत्सुक थिए । जब उनी किसानसँग कुरा गर्न गए, किसान आफ्नो खेत जोत्ने काममा यति मग्न थिए कि नारदको उपस्थितिको चाल नै पाएनन् । मध्यान्न, उनले आफ्नो कामबाट विश्राम लिए अनि रूखमुनि खाना खान गए । उनले भाँडा खोले; जे–जति खाना थियो, खानुअघि “नारायण, नारायण, नारायण” भने अनि खान थाले । ती किसानले नारदसँग आफ्नो खाना बाँड्न चाहन्थे, तर जातीय व्यवस्थाको कारण नारद उनीसँग खाना खान सक्दैनथे । नारदले सोधे, “तिम्रो आनन्दको स्रोत के हो?” किसानले भने, “प्रत्येक दिन भगवान नारायणले आफ्नो वास्तविक रूपमा मलाई दर्शन दिनुहुन्छ । यही मेरो आनन्दको स्रोत हो ।” नारदले उनलाई सोधे, “तिमी कुन साधना गर्छौँ ?” किसानले भने, “मलाई केही पनि थाहा छैन । म एक अज्ञानी र अशिक्षित व्यक्ति हुँ । यत्ति हो कि जब म बिहान उठ्छु, म तीन पटक 'नारायण' भन्छु । जब म मेरो काम सुरु गर्छु, म तीन पटक 'नारायण' भन्छु । जब म आफ्नो काम सिद्ध्याउँछु, म फेरि तीन पटक 'नारायण' भन्छु । खाना खानुअघि तीन पटक 'नारायण' उच्चारण गर्छु । जब म ओछ्यानमा जान्छु, तब तीन पटक 'नारायण' भन्छु ।” यता नारद चाहिँ आफूले २४ घण्टामा कति पटक ‘नारायण‘ उच्चारण गरिरहेको छु भनेर हिसाब गरे— उनी लाखौँ पटक उच्चारण गरिरहेका हुन्थे । तथापि, यदि उनले नारायणको दर्शन पाउन चाहे भने, लामो यात्रा तय गरेर वैकुण्ठसम्म पुग्नु पर्थ्यो । तर, यी किसानको सन्दर्भमा खानुअघि, जोत्नु अगाडि र अरू जेसुकै गर्नु अगाडि तीन पटक 'नारायण' उच्चारण गरेकै भरमा नारायण स्वयं त्यहीँ दर्शन दिन आउनुहुन्थ्यो ! नारदलाई यो अनुचित हो, यसमा कहीँकतै गल्ती भएको हुनुपर्छ भन्ने लाग्यो ।

 

यदि तपाईंले जीवनको एउटा आयामबाट अर्कोआयाममा जाँदै गर्दा, वा भौतिकबाट परको आयाममा जाँदाको क्षणमा आफ्नो जागरूकता वा सचेतना कायम राख्न सक्नुभयो भने,त्यही मुक्ति हो । तर, त्यो क्षणमा पनि चेतनशील रहिरहनको लागि तपाईंले जीवनभरिचेतन रहने अभ्यास गर्नुपर्छ ।

तत्काल, उनी वैकुण्ठतर्फ लागे अनि त्यहाँ पुगेपछि विष्णुलाई सोधे, “म जतिबेला पनि तपाईंको नाम जपिरहन्छु, तर तपाईं मलाई दर्शन दिनुहुन्न । तपाईंको दर्शन पाउनको लागि म नै यहाँसम्म आउनुपर्छ । तर, ती किसानको लागि तपाईं दिनहुँ दर्शन दिनुहुन्छ र ऊ परम–आनन्दमा डुबिरहेको हुन्छ !” विष्णुले नारदलाई हेरे, अनि लक्ष्मीलाई तेलले टिलपिल्ल भरिएको भाँडो ल्याउन भने । त्यसपछि, नारदलाई भाँडो दिँदै भने, “पहिले, एउटा सानो काम गर्नुपर्ने हुन्छ । कृपया, यो तेलले भरिएको भाँडो लिएर भू–लोक जाऊ, त्यहीँ छोड अनि फर्किएर आऊ । एक थोपा तेल पनि चुहिनुहुँदैन ! हामी यो प्रश्नको उत्तर पछि दिनेछौँ ।” तेलले टिल्पिल्ल भरिएको भाँडो लिएर नारद भू–लोक गए, भाँडा त्यहीँ छोडे अनि फर्किए । "अब, मेरो प्रश्नको उत्तर दिनुहोस् ।" विष्णुले सोधे, “जब तिमी त्यो तेलले भरिएको भाँडो बोकेर गइरहेका थियौ, तिमीले कतिपटक 'नारायण' उच्चारण गऱ्यौ ?” नारदले भने, “म त्यस्तो अवस्थामा कसरी 'नारायण' भन्न सक्थेँ र ? तपाईंले एक थोपा पनि तेल चुहिनुहुँदैन भन्नुभएको थियो, त्यसैले मैले त्यसमा मात्रै पूरै ध्यान दिएँ । तर, फर्किएर आउँदा मैले थुप्रै पटक 'नारायण' उच्चारण गरेँ ।'' विष्णुले भने, ''कुरोको चुरो नै यही हो । त्यो किसानको जीवन भनेको तेलले टिल्पिल्ल भरिएको भाँडो बोक्नु जस्तै हो, जुन कुनै पनि क्षण पोखिन सक्छ । उसले आफ्नो छाक टार्नुपर्छ; उसले थुप्रै कामहरू गर्नुपर्छ । त्यति हुँदाहुँदै पनि ऊ 'नारायण' भनिरहन्छ । जब तिमी तेलले भरिएको भाँडो लिएर गयौ, तिमीले एकचोटी पनि 'नारायण' भनेनौँ । जब गर्नुपर्ने केही हुँदैन, तब जप्न सजिलो हुन्छ ।”

मृत्युको अन्तिम क्षणको सदुपयोग कसरी गर्ने ?

जब मृत्युको क्षण आउँछ, आफूले चाहेको कुरा भन्न पर्याप्त रूपमा जागरूक वा चेतन रहनको लागि केही गरिएको हुनुपर्छ । अधिकांश मानिसहरू अचेत भई मर्छन् । यस संस्कृतिमा, यदि कसैले आफ्नो अन्तिम श्वास लिँदैछ भने, मानिसहरू जहिल्यै “राम राम”, “ॐ नमः शिवाय” जस्ता मन्त्रहरू उच्चारण गर्छन् वा आफूले जे–जति जानेका छन्, त्यो गर्छन् । किनकि, उनीहरू मर्दै गरेको व्यक्तिले भगवानको नाम उच्चारण गरोस् वा जसोतसो अन्तिम क्षणमा सचेत रहोस् भन्ने चाहन्छन् । तपाईंले केही भन्न समेत पर्दैन । जीवनको एउटा आयामबाट अर्को आयाममा जाँदै गर्दा, वा भौतिक आयामबाट परको आयाममा जाँदाको क्षणमा तपाईंले आफ्नो जागरूकता वा सचेतना कायम राख्न सक्नुभयो भने, त्यसलाई मुक्ति भनिन्छ । तर, त्यो क्षणमा पनि सचेत रहिरहनको लागि तपाईंले जीवनभरि चेतनशील रहने अभ्यास गर्नुपर्छ । अथवा, तपाईं कोही यस्तो व्यक्तिको उपस्थितिमा हुनुपर्छ, जसले तपाईंको निम्ति त्यो सम्भव गराउन सक्छन् । यही सन्दर्भमा, कृष्णले भनेका हुन् कि यदि तपाईंले मृत्युको क्षणमा उनको बारेमा सोच्न सक्नुभयो भने, उनी त्यहाँ हुनेछन् र तपाईंको मुक्ति सुनिश्चित गर्नेछन् ।

यहाँ, उनी भित्री यथार्थको बारेमा कुरा गरिरहेका छन्— अर्थात्, परम तत्त्वलाई पाउने योग ! जब परम तत्त्वलाई पाउने कुरा आउँछ, यदि तपाईंले सही चीजहरू गर्नुभयो भने, यसले १००% काम गर्नेछ । किनकि, यसमा एउटा मात्र तत्त्व छ, त्यो हो तपाईं— अरू केही होइन, केवल तपाईं ! त्यसैले, उनले पूर्णतः निश्चित भएर यो भन्ने सकेका हुन्, “यदि तिमीले यसो गऱ्यौ भने, मैले ख्याल राख्नेछु ।” उनले जीवनको बाहिरी यथार्थहरूको बारेमा सायद त्यस्तो कहिल्यै भनेका थिएनन्, किनकि उनले जीवनलाई राम्रोसँग जानेका थिए— बाहिरी यथार्थहरू थुप्रै चीजहरूमा निर्भर हुन्छन् ।

यदि तपाईं भौतिकबाट परको आयाममा जाँदाको क्षणमा सचेत वा जागरूक रहिरहन सक्नुभयो भने, तपाईंले मुक्ति प्राप्त गर्न सक्नुहुनेछ । यही कारणले गर्दा, अधिकांश मानिसहरूको सन्दर्भमा, बुद्धत्व प्राप्त गरेको क्षण नै शरीर त्याग्ने क्षण समेत बन्दछ । यदि शरीर छोड्दै गर्दा तपाईंमा त्यो जागरूकता आयो भने, यसैपनि तपाईंले शरीर छोड्नु हुनेछ । तर, यदि अझै शरीर छोड्ने समय आइसकेको छैन, तर तपाईंको चेतनाको स्तर त्यस शिखरमा पुगेको छ, जहाँ तपाईं र तपाईंको शरीरबिच स्पष्ट दुरी रहेको हुन्छ, तब यस स्थितिमा तपाईंमा सम्भवतः आफूलाई शरीरमै थामेर राख्ने सामर्थ्य नहुन सक्छ— जबसम्म तपाईं यस्तो परिस्थिति वा अवस्थामा रहनुहुन्न, जहाँ केही निश्चित नियमन प्रणाली हुन्छन्, जसले यो सुनिश्चित गर्छन् कि तपाईं शरीरबाट फुत्किनु हुनेछैन ।

यदि मृत्युको क्षणमा तपाईंको दिमागमा कुनै निश्चित विचार छ भने, यो तपाईंको अर्को जन्मको गुण वा प्रकृति बन्दछ । यही कारणले गर्दा, यस संस्कृतिमा सदैव यो भन्ने गरिन्थ्यो कि तपाईं आफ्नो परिवारका सदस्यहरू बिच मर्नु हुँदैन । मानिसहरू प्राण त्याग्नको निम्ति जङ्गलमा जाने गर्दथे— यसलाई वनप्रस्थ भनिन्छ ।

मृत्युको क्षण अनि अर्को जन्म

एउटा अर्को पक्ष के हो भने, यदि मृत्युको क्षणमा तपाईंको दिमागमा कुनै निश्चित विचार छ भने, यो तपाईंको अर्को जन्मको गुण वा प्रकृति बन्दछ । त्यसैकारण, यदि कसैको मृत्यु हुँदै छ भने, हामीले त्यो समयमा शान्ति र खुसियालीको वातावरण सृजना गर्नुपर्छ, किनकि अन्तिम क्षणमा उनीहरूको मन र भावनाहरूमा जुन कुरा प्रबल हुन्छ, त्यही उनीहरूको भावी जीवनको गुण बन्दछ । यही कारणले गर्दा, यस संस्कृतिमा सदैव तपाईं आफ्नो परिवारका सदस्यहरूको बीचमा रहेर मर्नु हुँदैन भनेर भन्ने गरिन्थ्यो । मानिसहरू प्राण त्याग्नको निम्ति जङ्गलमा जाने गर्दथे— यसलाई वनप्रस्थ भनिन्छ । यहाँ सम्म कि राजा धृतराष्ट्र, उनकी रानी गान्धारी र कुन्ती पनि कुरुक्षेत्रको युद्धपछि सहायकको रूपमा सञ्जयलाई लिएर जङ्गलमा गएका थिए । उनीहरू सबैजना बुढाबुढी भइसकेका थिए, त्यसैले मृत्यु वहन गर्नको निम्ति महलमा रहनुको सट्टा उनीहरू जङ्गलमा गए । भलै, धृतराष्ट्र दृष्टिविहीन थिए अनि अनेक रूपमा मूर्ख समेत थिए, यद्यपि उनमा त्यतिसम्म चेतना थियो, जुन आज संसारमा हराइरहेको छ । जीवनमा सबै प्रकारका कठिनाइ भोगेकी कुन्तीले, आफ्ना बच्चाहरू राजा-महाराजा भएपछि महलको आनन्द लिन सक्थिन् , तर उनले पनि जङ्गलमा गएर प्राण त्याग्ने निर्णय गरिन् ।

उनीहरू जङ्गलभित्र गए अनि एकदमै उकालो पहाडमा चढे । त्यसैबेला, जङ्गलमा आगो लागेको थियो । उनीहरू बुढाबुढी भइसकेकाले त्यहाँबाट भाग्ने वा जङ्गलको आगो निभाउने सामर्थ्य थिएन, जसकारण उनीहरूले आफैँलाई त्यस अग्निमा होमिदिने निर्णय गरे । धृतराष्ट्रले सञ्जयलाई भने, “तिमीले अहिलेसम्म मेरो निकै सेवा गरेका छौ, तर तिमी अझै जवान छौ— यहाँबाट भागी हाल । हामी तीनैजनाले आफूलाई यस अग्निमा समर्पित गर्नेछौँ ।” सञ्जयले उनीहरूलाई छोडेर जान मानेनन्, र अन्ततः चारै जना जङ्गलको आगोमा जलेर खरानी भए ।

यदि तपाईं परिवारका सदस्यहरूबाट घेरिएर मर्नुभयो भने, तपाईं गहिरो आशक्तिको भावना लिएर मर्नुहुनेछ, जसले तपाईंको कल्याण गर्दैन । अहिले पनि भारतमा मानिसहरू मर्नको लागि काशी जान्छन्, किनकि यो निकै पवित्र स्थान हो । उनीहरू शिवको छत्रछायाँमा मर्न चाहन्छन् । उनीहरू आफ्नो मृत्युको क्षणमा परिवारका सदस्यहरूले आफ्ना भावनाहरू प्रकट गरेको हेर्न चाहँदैनन् ।

ऋण फिर्ता गर्ने समय

मृत्यु,जीवनको एकमात्र निश्चित कुरा हो । यदि तपाईंले आफ्नो जीवन राम्रोसँग बाँच्नु भएको छ भने, मृत्यु कहिल्यै पनि खराब हुँदैन । यदि तपाईं जीवित छँदा हरेक क्षण हिच्किचाहट, डर, घृणा, क्रोधको अवस्थामा रहनुहुन्छ भने, यसको अर्थ यो हो कि तपाईंले कहिल्यै सही अर्थमा बाँच्नुभएको छैन । जब मृत्युको क्षण नजिकिँदै गर्छ, त्यसबेला तपाईं बाँच्न चाहनुहुन्छ भने, यो पटक्कै उचित कुरा होइन ।

आखिर, मृत्यु भनेको के हो ? कुरा के हो भने, तपाईंले यो शरीर छोडेर जानुहुन्छ । यो शरीर वास्तवमा ऋण हो, जुन तपाईंले धर्ती-आमाबाट लिनुभएको हो । मानिलिनु होस् कि तपाईंले बैँकबाट १० करोड ऋण लिनुभयो, अनि मानौँ अर्को ५० बर्षमा तपाईंले १० करोडलाई १० खर्ब बनाउनुभयो । त्यसबेला, यदि तपाईंको बैँकको व्यक्ति ऋण फिर्ता लिन आयो भने, तपाईं खुसी हुँदै ब्याजसहित ऋण चुक्ता गर्नुहुनेछ । तपाईंले उसको राम्रो सत्कार गरेर सम्भवतः उपहार समेत दिनुहुनेछ । तर, मानिलिनु होस् कि तपाईंले १० करोड मास्नुभयो र सबै चीज गुमाउनु भयो, अनि त्यसबेला यदि बैँकको व्यक्ति ऋण फिर्ता लिन आयो भने, तपाईंभित्र आतङ्क मच्चिन्छ । तपाईं कतै लुक्ने प्रयास गर्नुहुनेछ । तपाईं अनेक थरीका चालहरू चल्ने प्रयास गर्नुहुनेछ ।

निश्चय नै अन्तिम क्षणको गुण तपाईंको अर्को जीवनको प्रबल गुण बन्नेछ— यदि तपाईं अरू जीवनहरू चाहनुहुन्छ भने ! यदि तपाईं परम तत्त्वमा विलिन हुन चाहनुहुन्छ, यदि तपाईं त्यसमा समाहित भएर एक बन्न चाहनुहुन्छ भने, कुनै भावी जीवन हुँदैन ।

त्यसैगरी, यस धर्तीले तपाईंलाई यो शरीर रूपी ऋण दिएकी छिन् । यदि तपाईंले जीवनलाई धन्य बनाउनु भएको छ, यदि तपाईंले वास्तवमै यसको पूर्ण उपयोग गर्नुभएको छ अनि तपाईं आफूभित्र एकदमै मधुर भावमा बाँच्नुभएको छ भने, जब धर्तीले ऋण तिर्ने समय भयो भन्छिन्, त्यसबेला तपाईंले हर्षित भएर ऋण फिर्ता गर्नुहुनेछ । र, यसमा कुनै ब्याज पनि तिर्नुपर्दैन । जसले खुसी-खुसी ऋण चुकाउँछ, उसको लागि जीवन समाप्त हुन्छ, किनकि जब तपाईं आनन्दित रहनुहुन्छ, तब स्वतः चेतन रहनुहुन्छ । जब तपाईं चेतन वा जागरूक रहनुहुन्छ, तपाईं मुक्तिको पथमा हुनुहुन्छ ।

निश्चय नै अन्तिम क्षणको गुण तपाईंको अर्को जीवनको प्रबल गुण बन्नेछ— यदि तपाईं अरू जीवनहरू चाहनुहुन्छ भने ! यदि तपाईं परम तत्त्वमा विलिन हुन चाहनुहुन्छ, यदि तपाईं त्यसमा समाहित भएर एक बन्न चाहनुहुन्छ भने, कुनै भावी जीवन हुँदैन । मानिसहरू प्रायः मलाई यो भन्ने गर्छन्, “सद्‌गुरु, कृपया नकरात्मक शब्दावली प्रयोग नगर्नुहोस्— यसबाट हामी त्रसित बन्छौँ । के हामी विलिन भएर शून्य बन्छौँ ?” त्यसोभए, यसको सट्टा हामी यो भन्न सक्छौँ कि “जब तपाईंले मुक्त हुनुहुनेछ, तब तपाईं सबैथोक बन्नुहुनेछ, सबैथोकमा रहनुहुनेछ ।

Editor’s Note: कायन्त स्थानम, ईशाद्वारा सञ्चालित दाहसंस्कारको सेवा हो, जुन शक्तिशाली उर्जाको आधारमा प्राचीन परम्परा र मृत्युको संस्कारलाई कुनै व्यवसायिक कामको रूपमा नभई सेवाको भावमा पुनरुत्थान गर्नमा समर्पित छ । साथै, सद्‌गुरुले कालभैरव कर्म र कालभैरव शान्ति प्रक्रियाहरू समेत तयार गर्नुभएको छ, जसबाट मृत व्यक्तिको शान्तिपूर्ण गमन सम्भव हुन सक्दछ । अधिक जानकारीको लागिः https://lingabhairavi.org/