मृत्यु— डर केको र किन ?

सबैको मृत्यु हुन्छ । तैपनि, किन अधिकांश मानिसहरूमा मृत्युको डर हुन्छ ?लेखक प्रसुन जोशीको प्रश्नमा, योगी एवं दिव्यदर्शी, सद्‌गुरु हामीलाई बताउँदै हुनुहुन्छ कि यो अवश्यम्भावी प्रक्रियासँग डराउनु पर्ने कुनै कारण छैन । किन ? आउनुहोस्, जानौँ...
मृत्यु— डर केको र किन ?
 

प्रसुन जोशीः मृत्युलाई सधैँ अन्धकार र अनिष्ट भनेर प्रस्तुत गरिन्छ, यस्तो किन ? तपाईंले कहीँकतै यसलाई“ब्रम्हाण्डको ठट्टा”भन्नुभएको छ, तर अधिकांश समाजहरूमा मृत्युलाई एक प्रकारले भारीपनको रूपमा लिइन्छ । सद्‌गुरु, किन प्रायः मानिसहरूमा मृत्युको यति धेरै डर हुन्छ ?

सद्‌गुरुः यदि तपाईंले यस संस्कृतिमा मृत्युलाई कसरी बुझिएको छ अनि चित्रित गरिएको छ भनेर हेर्नुभयो भने, तपाईंले पाउनुहुनेछ कि मृत्युलाई अपसगुन वा अनिष्टको रूपमा हेरिएको हुँदैन । मृत्युको अँध्यारो पक्ष भनेको जीवितहरूले कसैलाई गुमाउनु हो । यदि मानिसहरूले आफूसँग भएका मूलयवान् चीजहरू गुमाए भने— चाहे त्यो कुनै वस्तु होस् वा कोही व्यक्ति— उनीहरू मर्माहत हुन्छन् । त्यसैले यो जीवितहरूका लागि मात्र अन्धकार हो, तर यस संस्कृतिमा मृत्यु आफैँमा ‍एउटा भव्य उत्सवको रूपमा चित्रित थियो । अचेल मात्र यस्तो हुन थालेको हो । हामीले पश्चिमी समाजको नक्कल गरिरहेका छौँ, अनि कसैको मृत्यु हुँदा टाउको निहुऱ्याएर हिँड्न सुरु गरेका छौँ ।

किंवदन्ती अनुसार, शिवले महा–श्मसानलाई आफ्नो निवास बनाएका छन् र त्यहीँ प्रतीक्षा गरिरहेका हुन्छन् । हरेक पटक जब कसैको मृत्यु हुन्छ, शिव उत्सव मनाएर नाच्दछन् । कसैको प्रियजनको निधन हुँदा नाच्ने र उत्सव मनाउने कस्तो पथभ्रष्ट !

साबुनको फोका

आउनुहोस्, जीवनका मूलभूत पक्षहरूलाई हेरौँ । अधिकांश मानिसहरूको अनुभवमा, जीवन भनेको आफ्नो शरीर, आफ्ना विचारहरू अनि आफ्ना भावनाहरू मात्र हुन् । यदि हामीले आफ्नो जीवनको प्रकृतिमाथि केही ध्यान दिने हो भने, हामीले यो स्पष्ट रूपमा देख्न सक्छौँ कि शरीर र मन सङ्ग्रहरू मात्र हुन् । हामीले जे-जति सङ्ग्रह गरेका छौँ, तीभन्दा पर यहाँ जीवन छ । उदाहरणको लागि, पक्कै पनि आफू बच्चा हुँदा तपाईंले साबुनको फिजबाट फोका उडाउनु भएको होला; त्यो फोका वास्तविक थियो, तर फोकाभित्र जे थियो, त्यो त्यही वायुमण्डल हो जुन सबैतिर छ । जब त्यो फोका फुट्थ्यो, एक थोपा फिज पानी भुइँमा खस्थ्यो, तर फोकाभित्र जे रहेको हुन्थ्यो त्यो कहाँ गयो भनेर तपाईंले कहिल्यै देख्नुभएको हुन्थेन— किनकि, त्यो सबैथोकको एउटा अंश हो ।

यही जीवनको प्रकृति हो । पूरै ब्रम्हाण्ड जीवित रूप हो । जब शरीर रूपी यो फोका फुट्छ अनि यो फोकाभित्र बन्दी भएको जीवन बाहिर निस्किन्छ, तब अर्को आयाममा जे भइरहेको हुन्छ, त्यो भौतिक आयामको बन्धनमा हुन सक्ने कुराभन्दा निकै विशाल हुन्छ । श्मशानमा शिव जोडले हाँस्छन्, गाउँछन् र नाच्छन्, किनकि यो नश्वर चक्रबाट एउटा जीवन मुक्त भएको हुन्छ ।


मृत्युसँग डराउन समाजले सिकाउँछ !

प्रसुन जोशीः एकपटक, एउटा परिवारमा कसैको मृत्यु भएको थियो अनि म त्यहाँ गएको थिएँ । त्यहीँ एउटा बच्चाले खेलौना कार खेलिरहेको थियो । अनि, खेल्दा-खेल्दै ऊ लासमाथि खेलौना गुडाउन थाल्यो— त्यहाँ कुनै वस्तु लडिरहेको हो जस्तो गरी ! मानिसहरूले उसलाई हत्तपत्त ताने, तर त्यो बच्चालाई कुनै फरक परेन । के हामीले मृत्युसँग डराउन कतैबाट सिकेका हुन्छौँ ? के हाम्रो दिमागमा कसैको मृत्यु हुनुलाई ठुलो घटना वा विपत्तिको रूपमा लिनुपर्छ भन्ने विचार थोपरिएको हो ?

सद्‌गुरुः मृत्युलाई शोक वा दुःखान्तको रूपमा हेर्नु भौतिक, मानसिक, भावनात्मक र सामाजिक रूपमा यथार्थ हो, तर अस्तित्वगत रूपमा त्यसो होइन । बच्चा एउटा जीवनमार्फत यस अस्तित्वमा आउँछ— ऊ अझैसम्म सामाजिक मूल्य-मान्यताहरूको दास भइसकेको हुँदैन । ऊ मरेको व्यक्तिसँग पनि खेल्न सक्छ; त्यसले कुनै फरक पार्दैन । तर, ठूलाबडाहरू यसलाई अनुचित ठान्छन्, त्यसैले उनीहरू बच्चालाई पनि त्यही सिकाउने प्रयास गर्छन् । जब कसैको एकदमै प्रिय व्यक्तिको निधन हुन्छ, प्रायः मानिसहरू यसलाई वास्तवमै पूरै संसारको अन्त्य भएको रूपमा महसुस गरिरहेका हुन्छन् । तर, केही समयपछि उनीहरू पुनः सामान्य हुन्छन् ।

बच्चाहरूलाई त्यति धेरै समय लाग्दैन । उनीहरू तुरुन्तै सामान्य हुन्छन्, किनकि समाजमा भइरहेका चीजहरूबाट उनीहरू कम प्रभावित हुन्छन् । समाजले मृत्युलाई जुन रूपमा हेर्दछ, त्यसको पूर्णतया मानसिक र भावनात्मक आधार हुन्छ—अर्थात्, हामी यसलाई आफूले चाहेको जस्तो बनाउन सक्छौँ । सम्भवतः तथाकथित शिक्षित मानिसहरूले यसलाई छोडिसकेका होलान्, तर जब कसैको मृत्यु हुन्थ्यो, मानिसहरूले बाजागाजा बजाउँथे र उत्सव मनाउँथे । व्यक्तिले जुन क्षति व्यहोरेको हुन्छ, त्यसलाई म आँकलन गरिरहेको छैन । तर, मनसँग सम्बन्धित यी सबैकुराहरू— तपाईंका विचारहरू, तपाईंका भावनाहरू, तपाईंका सामाजिक धारणाहरू र परिस्थितिहरू— केही हदसम्म मात्रै सान्दर्भिक हुन्छन् । अस्तित्वको सन्दर्भमा तपाईं के सोच्नुहुन्छ, के महसुस गर्नुहुन्छ, तपाईंको समाजले के सोच्दछ भन्ने कुरा पूर्णतया अप्रासङ्गिक र निरर्थक हुन्छ । त्यसैले, जसलाई हामीले सबैभन्दा उच्च मानेका छौँ, अर्थात् 'शिव' लाई समाजबाट टाढै राखिन्छ । त्यसले, शिवको प्रिय स्थान सदैव श्मशान !

नश्वर शरीर

प्रत्येक योगीको जीवन यही तरिकाले सुरु हुन्छ । ८ वर्षदेखि १७ वर्षको उमेरसम्म, मैले आफ्नो बढीभन्दा बढी समय श्मशान (मसानघाट) मा बिताएँ— त्यो ठाउँले मलाई यत्तिकै उत्सुक बनाउँथ्यो । म त्यहाँ यत्तिकै बसिरहन्थेँ । मानिसहरू लास लिएर आउँथे अनि जलाउँथे । तपाईंलाई थाहै छ, दाउरा महँगो छ, त्यसैले केही मानिसहरू दाउरा बचाउन चाहन्छन् । मलाई थाहा छैन कि तपाईंहरूले यो हेर्नुभएको छ वा छैन— जब शरीर जलाइन्छ, सबैभन्दा पहिला घाँटी जल्छ अनि यदि उनीहरूले चिता सानो बनाएका छन् भने, आधाआधि जलेको खप्पर भुईंमा गुड्किन थाल्छ । शव जलाउन सुरु गरेको लगभग साढे तीन देखि चार घण्टापछि यस्तो हुन्छ । तर, त्यतिबेला सम्म प्रायः त्यहाँ कोही आफन्तहरू हुँदैनथे । उनीहरू सबैजना एक-दुई घन्टामै गइसकेका हुन्थे । त्यसैले, मै नै खप्पर उठाउँथेँ अनि पुनः चितामा राखिदिन्थेँ ।

सबैजनाले थुप्रै चीजहरूको बारेमा कुरा मात्रै गर्दथे— म चाहिँ त्यसलाई आफैँ हेर्न चाहन्थेँ । मैले यत्तिकै कैयौँ दिन र रातहरू श्मशानमा बिताएको छु ! जो मानिसहरू निष्ठापूर्वक साँच्चिकै आध्यात्मिक मार्गमा छन्, अचेल हामी उनीहरूलाई घाटतिर केही समय बिताउनको लागि पठाउँछौँ । किनकि, तपाईंभित्र यो कुरा घुस्नुपर्छ कि तपाईं नश्वर हो । तपाईंले आफ्नो जीवनको मूलभूत प्रकृतिलाई बुझ्न जरूरी छ । तपाईंले आफू नश्वर (मरणशील) छु भन्ने कुरा महसुस गर्नुभयो भनेमात्र, त्यो जुन पर छ, त्यसलाई जान्ने गहिरो चाहना हुन्छ ।

तपाईंले भगवानको बारेमा सोच्दैमा तपाईं आध्यात्मिक बन्नुहुन्न— बरु, तपाईं वास्तवमा निकै मूर्ख चाहिँ बन्न सक्नुहुन्छ । तपाईं आफ्नो जीवनमा अनेक मूर्खतापूर्ण र फाल्तू कामहरू गरेर एउटा प्रार्थना गरिदिएपछि सबैथोक ठीकठाक हुन्छ भनेर सोचिरहनु भएको हुन्छ । तपाईं आफ्नो काम राम्रोसँग गर्नुहुन्न, तर राम्रो नतिजा निकाल्नेछु भनेर सोच्नुहुन्छ । तपाईं आफ्नो परीक्षाको तयारी गर्नुहुन्न, तर आफ्नो प्रार्थनाको कारण कक्षामा प्रथम बन्नेछु भनेर सोचिरहनु भएको हुन्छ । जुन क्षण तपाईं आफ्नो नश्वर प्रकृतिप्रति सचेत बन्नुहुन्छ, तब तपाईंमा जान्ने अभिलाषा स्वतः जाग्दछ— आखिर यो सबै के हो, मानिसहरू आज यहाँ छन्, भोलि हुने छैनन्, योभन्दा पर के छ भनेर जान्ने गहिरो इच्छा स्वाभाविक बन्दछ । यही आध्यातमिक प्रक्रिया हो ।

 

Editor's Note: कायन्त स्थानम, ईशाद्वारा सञ्चालित दाहसंस्कारको सेवा हो, जुन शक्तिशाली उर्जाको आधारमा प्राचीन परम्परा र मृत्युको संस्कारलाई कुनै व्यवसायिक कामको रूपमा नभई सेवाको भावमा पुनरुत्थान गर्नमा समर्पित छ । साथै, सद्‌गुरुले कालभैरव कर्म र कालभैरव शान्ति प्रक्रियाहरू समेत तयार गर्नुभएको छ, जसबाट मृत व्यक्तिको शान्तिपूर्ण गमन सम्भव हुन सक्दछ । अधिक जानकारीको लागिः https://lingabhairavi.org/