शिवको प्रिय स्थान किन श्मशान ?
शिवलाई श्मशान वा मसानघाटमा बसिरहेको देखाइन्छ, यस्तो किन ? जन्म र मृत्युको मूलभूत पक्षको सहाराले सद्गुरु त्यो प्रतीकको बारेमा बताउँदै हुनुहुन्छ....
देहान्त— 'देह' को अन्त्य, 'जीवन' को होइन
शिव श्मशान वा कायान्त मा बस्दछन्, उनी पर्खिरहन्छन् । काया अर्थात् "देह" वा "शरीर" र अन्त अर्थात् "अन्त्य हुनु ।" कायान्त अर्थात्,जहाँ "शरीर अन्त्य हुन्छ"— "जीवन अन्त्य हुने होइन" । अत: कायान्त वा देहान्त भनिन्छ, जीवान्त होइन— देहको अन्त्य हुन्छ, जीवनको होइन । तपाईंले यस धर्तीबाट जे–जति जम्मा गर्नुभएको छ, ती सबै तपाईंले यहीँ छोडेर जानुपर्छ । यदि तपाईंले यसरी जीवन बाँच्नुभएको छ कि तपाईंले आफूलाई केवल शरीरको रूपमा जान्नुभएको छ भने, तब जुन क्षण तपाईं शरीर छोड्नुहुन्छ, त्यो तपाईंको जीवनमा अत्यन्तै तीव्रताले भरिएको क्षण हुनेछ । यदि तपाईंले आफ्नो शरीरभन्दा पर केही जान्नुभएको छ भने, शरीर छोड्नु कुनै ठूलो कुरा हुँदैन । जसमा आफू को हुँ र के हुँ भन्ने कुराको बोध भएको हुन्छ, उसको लागि कायान्त त्यस हदसम्मको ठूलो क्षण हुँदैन । यो जीवनको एउटा अर्को क्षण मात्रै हो, त्यति मात्र ! तर, जो-जसले स्थूल शरीरको रूपमा मात्रै जीवन बाँचेका हुन्छन्— जब ती सबैथोक छोड्नुपर्छ, जसलाई तपाईंले आफू भनेर जान्नुभएको छ— त्यो क्षण निकै तीव्रताले भरिनेछ ।
अमरता, प्रत्येक व्यक्तिको लागि स्वाभाविक स्थिति हो । नश्वरता (मरणशीलता), तपाईंले गर्नुभएको गल्ती हो । यो जीवन प्रतिको गलत बुझाइ हो । कायान्त वा भौतिक शरीरको अन्त्य हुने निश्चित छ । तर, यदि काया मात्र रहनुको सट्टा, तपाईं जीव बन्नुभयो, यदि तपाईं जीवित शरीर मात्र नभई जीवित जीव बन्नुभयो भने, तब तपाईंको निम्ति अमरता स्वाभाविक स्थिति हुन्छ । तपाईं नश्वर हुनुहुन्छ वा अमर हुनुहुन्छ भन्ने कुरा तपाईंको बोध वा बुझाइमा मात्र निहित हुन्छ— यसको लागि अस्तित्वमा कुनै प्रकारको परिवर्तन हुन जरूरी छैन ।
त्यसैले, बुद्धत्व वा आत्म-ज्ञानलाई आत्म–अनुभूतिको रूपमा हेरिन्छ— कुनै उपलब्धि वा प्राप्तिको रूपमा होइन । तपाईंले देख्ने हो भने, त्यो तपाईको लागि उपलब्ध छ । तपाईंले देख्नुभएन भने, त्यो तपाईंको लागि उपलब्ध छैन । प्रश्न यत्ति हो कि तपाईंमा त्यसलाई बोध गर्ने क्षमता कति छ— यसको लागि कुनै मूलभूत वा अस्तित्वगत परिवर्तन आवश्यक छैन । यदि तपाईं आफ्ना इन्द्रियहरूसँग मात्र नभई, आफ्नो प्रज्ञा को सम्पर्कमा आउनुभयो भने, तब तपाईंले काया (शरीर) मात्र नभई जीव समेत जान्नुहुन्छ— अनि, तपाईं स्वतः अमर बन्नुहुन्छ, शाश्वत बन्नुहुन्छ । तपाईंले आफू अमर रहनको लागि प्रयास गर्नुपर्दैन । तपाईंमा यो बोध हुनुपर्छ कि यो यसैगरी हुन्छ ।
तसर्थ, शिवले श्मशानलाई आफ्नो निवास बनाएका छन् । "श्म" अर्थात् शव वा लास अनि "शान" अर्थात् शयन वा बस्ने ठाउँ । जहाँ शव हुन्छ, त्यहीँ शिव हुन्छन् । किनकि, उनले यो बुझेका छन् कि जीवित मानिसहरूसँग काम गर्नु भनेको समय बर्बाद गर्नु हो ! तपाईंहरूलाई त्यस हदसम्मको तीव्रतामा लैजान सकिँदैन, जुन जरूरी हुन्छ । मानिसहरूलाई अलिकति बढी तीव्र बनाउनको लागि अनेक किसिमका युक्तिहरू लगाउनु पर्ने हुन्छ ।
दुईवटा मूलभूत शक्तिहरू
तीव्रता यसकारण भइरहेको छैन, किनकि तपाईंले आफूभित्र जीवित रहने भावनालाई सबैभन्दा बढी महत्त्व दिनुभएको छ । यो शरीरमा दुईवटा मूलभूत इच्छाहरू हुन्छन् । एउटा जीवित रहने भावना, जबकि अर्को असिमित बन्ने चाहना । यदि तपाईंले जीवित रहने भावनालाई प्रबल बनाउनुभयो भने, जीवनको गति मन्द हुन्छ— किनकि, जीविका भनेकै जोखिमबिना सुरक्षित रूपमा जिउनु हो । यदि तपाईं अनन्त हुने अभिलाषालाई प्रबल बनाउनुहुन्छ, यदि तपाईं असीमित रूपमा फैलिन खोजिरहनु भएको छ वा यदि तपाईंका सबै ऊर्जाहरू त्यसमै केन्द्रित छन् भने, तपाईंको जीवनमा पूर्ण तीव्रता हुनेछ ।
अरू सबै प्राणीहरूमा जीवित रहने भावना प्रबल हुन्छ । विकासका चरणहरू पार गर्दै अहिले जब हामी मनुष्य भएका छौँ, हाम्रो जीवनमा चेतना र प्रज्ञा (बुद्धिमत्ता) को स्तर उच्च भएको छ— र, यसै समयमा केवल जीवित रहने भावनालाई न्यून बनाउन सकिन्छ अनि असीम हुने तीव्र चाहनालाई प्रदीप्त गरिनुपर्छ । यी दुई शक्तिहरूमध्ये पहिलोले सधैँ तपाईंलाई सुस्त र मन्द बनाउने प्रयास गरिरहेको हुन्छ, जबकि अर्कोले सदैव तपाईंभित्र तीव्रता बढाउने कोसिस गरिरहेको हुन्छ । तपाईंले सायद ती स्रोत-साधनहरू बचाउनु पर्ने हुन सक्छ, जुन दुर्लभ छन्— तर, जीवन दुर्लभ छैन !
शिवको वासस्थान किन श्मशान ?
शिव श्मशानमा बस्छन्, किनकि उनी तपाईं र तपाईंका नाटकहरूबाट दिक्क भएका छन् । उनी यसकारण दिक्क भएका छन्, किनकि जताततै पूरै मूर्खतापूर्ण नाटक चलिरहेको छ । वास्तविक चीज श्मशानमा मात्रै हुन्छ । जन्म र मृत्युको क्षणमा सम्भवतः केही भइरहेको हुन सक्दछ । प्रसूति गृह र मसानघाट मात्रै संवेदनशील स्थान हुन्, यद्यपि अचेल जन्म लिने घटना अलि बढी भइरहेको छ ।
शिव यस्तो स्थानमा बसेका छन्, जहाँ जीवन सबैभन्दा बढी अर्थपूर्ण हुन्छ । तर, यदि तपाईंमा डरको भाव छ, यदि तपाईं जीविका चलाउने वा आफूलाई जीवित राखिरहने बारेमा मात्रै सोच्नुहुन्छ भने, यसले तपाईंको लागि कुनै अर्थ राख्दैन । यदि तपाईंमा फैलिने अनि परमलाई छुने तीव्र चाहना छ भनेमात्र, यसले तपाईंको लागि महत्त्व राख्दछ । शिव ती मानिसरूप्रति रुचि राख्दैनन्, जो केवल बाँच्न वा जीवन निर्वाह गर्न चाहन्छन् । जीवन निर्वाह गर्नको लागि तपाईंलाई चार हात–खुट्टाहरू र दिमागको केही सक्रिय कोषिकाहरू भएमात्र पुग्छ । चाहे त्यो गँड्यौँला होस् वा फट्याङ्ग्रा अथवा अन्य कुनै जीव— ती सबै राम्रैसँग बाँचिरहेका छन्, ठीकठाक छन् । जीवित रहनको लागि तपाईंलाई त्यतिसम्मको दिमाग भए पुग्छ । तसर्थ, यदि तपाईं जीविकोपार्जन मात्रै सोचिरहनु भएको छ, यदि तपाईंभित्र आफूलाई सुरक्षित राख्ने भावना सबैभन्दा प्रबल छ भने, उनी तपाईंबाट दिग्दार भएका छन्— शिव, तपाईंको मृत्युको प्रतीक्षा गरिरहेका छन् ।
शिवलाई संहारक भनिन्छ— तपाईंलाई संहार गर्न चाहेकोले होइन । तपाईंको शरीरलाई नष्ट गर्नको लागि उनी श्मशानमा प्रतीक्षा गरिरहेका छन् । किनकि, जबसम्म शरीर नष्ट हुँदैन, वरपरका मानिसहरूलाई समेत मृत्यु के हो भनेर थाहा हुँदैन । सम्भवतः तपाईंले देख्नुभएको हुन सक्छ कि जब मानिसहरूको प्रियजनको देहान्त हुन्छ, तब उनीहरू लासमाथि बज्रिन्छन्, अँगालो हाल्छन्, चुम्छन्, पुनः जीवित गराउने कोशिस गर्छन्— अनेक चीजहरू गर्छन् । तर, एकपटक जब तपाईं लासलाई आगो लगाउनुहुन्छ, तब कसैले पनि जलिरहेको लासलाई अङ्गालो हाल्दैनन् । उनीहरूभित्र रहेको आत्मरक्षाको प्रवृत्तिले यो बताउँछ कि त्यसो गर्नु उचित होइन ।
यो सही र गलतको प्रश्न होइन, बरु सीमित बुझाइको दाँजोमा सबैभन्दा श्रेष्ठ बुझाइको कुरा हो । के सीमित हुनु गलत हो ? होइन । तर, सीमित हुनु पीडादायक हुन्छ । के पीडामा रहनु गलत हो ? होइन । यदि तपाईंलाई त्यसमा आनन्द आउँछ भने, मलाई के समस्या ? म कुनै चीजको विरूद्धमा छैन । मलाई चित्त नबुझेको यतिमात्र हो: तपाईं एउटा दिशामा जान चाहनुहुन्छ, तर तपाईं विपरित दिशामा गइरहनु भएको 5 ।
म केवल बुद्धिहीनताको विरूद्धमा छु, किनकि मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष नै यही हो कि अरू प्राणीहरूको तुलनामा तपाईंमा बढी समझदारी हुन्छ— वा त्यसो हुनुपर्ने हो ! तर, थुप्रै मानिसहरू यसलाई गलत प्रमाणित गर्ने कोशिसमा जुटेका छन् । सृष्टि भनेको बुद्धिमत्ता हो । सृष्टिकर्ता भनेको परम-बुद्धिमत्ता हो । दुर्भाग्यवश, भद्रगोल र अस्तव्यस्त परिस्थितिहरूमा फसेका थुप्रै मानिसहरू भगवानको बारेमा कुरा गर्छन्, अनि अधिकांश मानिसहरू तबमात्र भगवानको बारेमा कुरा गर्छन्, जब उनीहरू स्वयं अस्तव्यस्त हुन्छन् । यदि मनतातो पानीले नुहाउन पाउनुभयो भने, तपाईं फिल्मको गीत गुनगुनाउनु हुन्छ । यदि हामीले तपाईंलाई कठ्याङ्ग्रिदो तीर्थकुण्डमा चोबल्यौँ भने, 'शिव ! शिव !' गर्दै आत्तिनुहुन्छ । जसै कठिनाइ आइपर्छ, तपाईंको दिमागले शिव सम्झिन्छ । जब तपाईंको जीवन आफ्नो इच्छाअनुसार चलिरहेको हुन्छ, तब तपाईं अनेक किसिमका मानिसहरू अनि सबैथरिका चीजहरूको बारेमा सोच्नुहुन्छ । यदि कसैले तपाईंको टाउकोमा बन्दुक ताक्यो भने— 'शिव ! शिव !' यस्तो क्षणमा तपाईं गलत व्यक्तिलाई पुकार्दै हुनुहुन्छ । उनी श्मशानमा प्रतीक्षा गरिरहेका छन् । कसैले तपाईंको टाउकोमा बन्दुक ताकेको बेला, तपाईं आफ्नो बचाउको निम्ति शिवलाई पुकार्नुहुन्छ— उनी आउने वाला छैनन् ।
पछाडि नफर्किनुहोस्, अगाडि बढ्नुहोस्
जीवनमा पछाडि फर्किन खोज्नुको कुनै अर्थ हुँदैन । यदि तपाईं अगाडि बढ्नुभयो भने, तपाईं चाहे जुनसुकै दिशामा गएपनि, चाहे जेसुकै गरेपनि— गाउने, नाच्ने, ध्यान गर्ने, रूने, हाँस्ने— जबसम्म यसले तपाईंलाई तीव्रताको उच्च स्तरसम्म पुऱ्याउँछ, त्यसले काम गर्नेछ । यदि तपाईंले यसलाई पछाडि लैजान चाहनुभयो भने, त्यसले काम गर्दैन । अधिकांश मानिसहरूलाई पीडित बनाउनको लागि तपाईंले खुकुरी प्रहार गर्नैपर्दैन । यदि तपाईंले उनीहरूलाई एक्लै छोडिदिनु भयो भने, उनीहरू यत्तिकै दुःखी हुन्छन् । उनीहरूको आत्मरक्षाको भावनाले सबै सीमाहरू पार गरिसक्यो अनि उनीहरू जीवनलाई सङ्कुचित गर्न खोज्दै पछाडितर्फ फर्किने कोशिस गरिरहेका छन् ।
श्मशानमा बसिरहेका शिवको सन्देश यही छः यदि तपाईं मर्नुभयो भने पनि, त्यसले काम गर्नेछ । तर, यदि तपाईंले जीवनलाई सङ्कुचित गर्नुभयो भने, त्यसले काम गर्दैन । तपाईं जीवनलाई सङ्कुचित गर्नुहुन्छ वा जीवनलाई घटित हुन दिनुहुन्छ भन्ने कुरा तपाईं के गर्नुहुन्छ वा के गर्नुहुन्न भन्ने कुरामा निर्भर हुँदैन— बरु, यतिखेर तपाईंको जीवन-प्रक्रिया कति उत्साह र तीव्रताले भरिएको छ भन्नेमा निर्भर हुन्छ ।
तपाईं जे गर्नुहुन्छ, त्यो उपयोगी छ वा छैन भन्ने कुरा प्रश्नको विषय होइन । यदि तपाईंले बेकारका चीजहरूमा पनि तीव्रता ल्याउन सक्नुभयो भने, त्यसले पनि काम गर्दछ । तर, आफूले गर्ने प्रत्येक काममा तपाईं अर्थ खोज्नुहुन्छ । त्यो काम जबसम्म अर्थपूर्ण हुँदैन, जबसम्म उपयोगी हुँदैन, तपाईं त्यस काममा आफूलाई पूरै समर्पण गर्न सक्नुहुन्न । यस सन्दर्भमा, अर्थपूर्ण र उपयोगिताको महत्त्व रहेको हुन्छ । अन्यथा, अर्थपूर्ण र उपयोगिता मुख्यतः मनोवैज्ञानिक रूपमा मात्रै सान्दर्भिक हुन्छन् । तिनले प्रेरणा दिन्छन्, तर ती स्वयंमा लक्ष्य भने होइनन् ।
Editor's Note: Download Sadhguru's ebook, Shiva - Ultimate Outlaw. The ebook is filled with rich graphics and pearls of wisdom from Sadhguru that reveal many virtually unknown aspects about the being we call Shiva. Encounter Shiva like never before!