के मृत्युको सन्दर्भमा विकल्पहरू हुन्छन् ?

के हामीसँग मृत्युको सन्दर्भमा कुनै विकल्प हुन्छ ? हामी कहिले र कसरी मर्ने भन्ने कुरा हाम्रो हातमा हुन्छ ? भौतिक शरीरलाई छोड्न के आवश्यक हुन्छ भन्ने प्रश्नलाई सम्बोधन गर्दै, सद्गुरु हामीलाई यस दिशातर्फको पहिलो पाइलाको रूपमा एउटा प्रक्रिया प्रदान गरिरहनु भएको छ ।
के मृत्युको सन्दर्भमा विकल्पहरू हुन्छन् ?
 

मृत्युलाई सबैभन्दा ठुलो रहस्य मानिन्छ । आधा-अधुरो जानिफकारहरू, दार्शनिकहरू, डाक्टरहरू र कविहरूले यसलाई व्याख्या गर्न "असफल प्रयत्नहरू" गरेका छन्, तथापि मृत्यु अज्ञात (नजानिएको) र ज्ञानातीत (जान्न नसकिने) विषय बनेर रहेको छ— यद्यपि, यो सबैका लागी अनिवार्य गन्तव्य हो । यसअघि हामीले मृत्युको डर किन हुन्छ भनेर पढ्याैँ ।

योगी एवं रहस्यदर्शी, जो सचेतन भएर जीवन र मृत्युबिचको रेखामा उभिनुहुन्छ, यी दुवैबाट कसरी पर जाने भनेर बताउँदै हुनुहुन्छ । र, त्यस दिशातर्फ उहाँले हामीलाई एउटा प्रक्रिया दिइरहनु भएको छ ।

सद्‌गुरुः तपाईंले यो बुझ्नु आवश्यक छ: तपाईंले जे-जति अनुभव गर्न सक्नुहुन्छ, ती सबै जीवन हुन् । तपाईं जसलाई मृत्यु भन्नुहुन्छ, त्यो पनि जीवन हो । त्यसोभए, के मृत्युको सन्दर्भमा विकल्पहरू हुन्छन् ? अवश्य हुन्छन् । जसलाई तपाईं मृत्यु भनिरहनु भएको छ, त्यो जीवनको अन्तिम क्षण मात्र हो । त्यो अन्तिम क्षण तपाईंको जीवनकालमा केवल एकपटक आउँछ, जहाँ तपाईंले आफ्नो भौतिक शरीरका सीमितताहरू पार गर्नुहुन्छ । तपाईंको जीवनमा प्रायः सबै घटनाहरू थुप्रै पटक घट्न सक्छन् । तर, यो एउटा कुरा तपाईंको जीवनकालमा एकपटक मात्र हुन्छ अनि यो तपाईंको अन्तिम कार्य हो । म चाहन्छु कि तपाईं मृत्युलाई जीवनको रूपमा बुझ्नुहोस्, अन्य रूपमा होइन । यो तपाईंको जीवनको अन्तिम कार्य हो । त्यसैले, तपाईंले यसलाई गरिमापूर्वक एवं अद्‌भूत ढङ्गले गर्नु अत्यन्तै महत्त्वपूर्ण छैन र ? यदि तपाईं मृत्युसँग डराउनुहुन्छ, यदि तपाईं जीवनका तरिकाहरूलाई बेवास्ता गर्नुहुन्छ र यसप्रति हिच्किचाउनु हुन्छ भने, स्वाभाविक रूपमा तपाईं त्यो सम्भावनाबाट चुक्नुहुनेछ ।

जो व्यक्तिहरू आध्यात्मिक मार्गमा हुन्छन्, उनीहरू आफ्नो मृत्युको समय, मिति र स्थान आफैँ रोज्छन् । एक योगी सदैव समय अगावै मृत्युको समय र मिति जान्न चाहन्छन् । र, उनले त्यो तय पनि गर्छन् । थुप्रै वर्षहरू पहिल्यै उनले घोषणा गर्छन्, "यो मितिमा, यो समयमा मैले आफ्नो शरीर त्याग्नेछु", अनि उनले त्यसै गर्छन् । किनकि, उनले सचेत भएर शरीर छोड्नको निम्ति आफूभित्र आवश्यक जागरूकता वा सचेतना सृजना गरेका हुन्छन् । यदि तपाईंले शरीरलाई कुनै पनि हानि नपुऱ्याइ सचेतनपूर्वक शरीर छोड्न सक्नुभयो भने, अर्थात् जसरी तपाईं आफ्नो लुगा फुकालेर हिंड्नुहुन्छ, त्यसैगरी तपाईं आफ्नो शरीर छोडेर जान सक्नुभयो भने, त्यो नै तपाईंको जीवनमा सर्वोच्च सम्भावना हुनेछ । जब तपाइँको सचेतना त्यस स्तरसम्म पुग्दछ, जहाँ तपाईं एक जीवनको रूपमा आफू अनि आफूले सङ्ग्रह गरेको यो भौतिक शरीर कहाँ जोडिएको छ भनेर प्रष्ट जान्नुहुन्छ, त्यसबेला जब तपाईंको निम्ति समय अनुकूल हुन्छ, तपाईं आफूलाई यो शरीरबाट अलग्याउन सक्नुहुन्छ ।

यदि तपाईं यसरी शरीर छोड्न चाहनुहुन्छ भने, निश्चित मात्रामा तयारी गर्नु अपरिहार्य छ । आफ्नो पूरै जीवनलाई व्यर्थ जान दिएर, तपाईं मृत्युलाई उपयोग गर्ने कोसिस गर्न सक्नुहुन्न !

के यो आत्महत्या हो ? कदापि होइन । आत्महत्या निराशाको कारणले हुन्छ, क्रोधको कारणले हुन्छ, डर-त्रासको कारणले हुन्छ— पीडा खप्न नसकेर मानिसहरू आत्महत्या गर्छन् । तर, सचेत भएर शरीर त्याग्नु भनेको न त आत्महत्या हो, न त युथेनेसिया (कोही एकदमै वृद्ध वा रोगी भएकोले धेरै पीडा नसहून् भनेर मारिने कार्य) । साथै, यो मृत्यु पनि होइन । यो यस्तो होः तपाईं यति जागरूक बन्नुहुन्छ कि जीवनले आफ्नो चक्र कहिले पूरा गरेको कुरा तपाईं स्पष्ट रूपमा जान्नुहुन्छ, र तब तपाईं यसबाट बाहिर निस्किनुहुन्छ । यसलाई समाधि भनिन्छ । समाधि यस्तो अवस्था हो, जहाँ व्यक्तिले आफूभित्र पर्याप्त जागरूकता सृजना गरेको हुन्छ, जसकारण आफूले जम्मा गरेको भौतिक पक्षहरूबाट आफूलाई अलग्याउन सक्दछ । त्यस स्तरको जागरूकता वा सचेतनामा, व्यक्तिले आफ्नो शरीर छोड्न सक्छ । यदि तपाईं त्यस स्तरको जागरूकतामा पुग्नुभएन भनेपनि, तपाईंले केहि चीजहरू सही ढङ्गले गर्ने हो भने, कम्तीमा तपाईं त्यस अन्तिम क्षणलाई आफ्नो लागि एकदमै गरिमामय, सुखद, शान्तिपूर्ण साथै हर्ष र आनन्दले भरिपूर्ण बनाउन सक्नुहुन्छ !

यदि तपाईं यसरी शरीर छोड्न चाहनुहुन्छ भने, निश्चित मात्रामा तयारी गर्नु अपरिहार्य छ । आफ्नो पूरै जीवनलाई व्यर्थ जान दिएर, तपाईं मृत्युलाई उपयोग गर्ने कोसिस गर्न सक्नुहुन्न ! यदि तपाईंले जीवनभरि जागरूकता कायम राख्नुभयो भने, शरीर छोड्ने क्षण समेत जागरूकतामा हुन सक्छ, सचेतनपूर्वक हुन सक्छ । यदि तपाईं आफ्नो पूरै जीवन बेहोशीमा बाँच्नुहुन्छ, अनि त्यस क्षणमा चाहिँ सचेत रहन सकियोस् भनेर अपेक्षा गर्नुहुन्छ भने, यो स्पष्ट रहोस् कि यस्तो कुरा मानिसको जीवनमा कहिल्यै हुँदैन ।

आज राति एउटा प्रयोग गर्नुहोस् । त्यो अन्तिम क्षण— तपाईं जागा हुँदाको अवस्थाबाट निन्द्रामा जाँदाको त्यो अन्तिम क्षण— सचेत रहिरहनु होस् र हेर्नुहोस् । यसले तपाईंको जीवनलाई अद्‌भूत ‌ रूपमा परिवर्तन गर्नेछ । यसलाई हरेक रात सुत्ने बेला एउटा विधि वा प्रक्रियाको रूपमा नियमित गर्नुहोस् । तपाईंले यो देख्नुहुनेछ कि केही दिनहरूमा तपाईं त्यस अवस्थामा पुग्नुहुनेछ, जहाँ तपाईं अन्तिम क्षणमा समेत सचेत रहनुहुन्छ । यो एउटा सरल अभ्यास गर्नाले, एकाएक तपाईंको जीवनको सबैकुरा बदलिनेछ, तपाईंको जीवनको मौलिक गुण नै परिवर्तन हुनेछ ।

यदि तपाईं जागा रहँदाको अवस्थाबाट होशपूर्वक निद्रामा जान सक्नुभयो भने, जीवनबाट मृत्युमा जाँदाको यो अन्तिम क्षण तपाईंको निम्ति पूर्णतया सहज र गरिमाको क्षण हुनेछ । यसको लागि अरू विधिहरू पनि छन् ।

यस संस्कृतिमा, परम्परागत रूपमा मानिसहरू आफ्ना प्रियजनहरूबाट घेरिएर प्राण त्याग्न चाहँदैनथे, किनकि यदि तपाईं आफ्नो परिवारका सदस्यहरूबीच रहेर मर्नुभयो भने, अनेक प्रकारका भावनाहरू उर्लिन्छन् । त्यस अवस्थामा, स्वाभाविक रूपमा तपाईं जीवनसँगै चप्किने वा बाँधिने प्रयास गर्नुहुनेछ । तपाईं मृत्युलाई सहज रूपमा आरामपूर्वक हुन दिनुहुन्न । त्यसैले, मानिसहरू टाढा-टाढा यात्रा गर्दथे— विशेषगरी, आध्यात्मिक रूपमा जीवन्त र उर्जावान् स्थानहरूसम्म यात्रा गर्दथे— अनि, त्यस स्थानमा आफ्नो शरीर छोड्न चाहन्थे । अझै पनि मानिसहरूले यस्तो गर्छन् । पश्चिमी संस्कृतिको सन्दर्भभमा, यो पूर्णतया अकल्पनीय लाग्न सक्छ, किनकि त्यहाँ मानिसहरू आफ्नो परिवारको सामिप्यतामा मर्न चाहन्छन् । यो कुनै बुद्धिमानी कुरा होइन । सही अर्थमा बुद्धिमानी यसैमा हुन्छ कि मानिसहरूले उपयुक्त स्थान रोज्नुपर्छ— जुन आध्यात्यात्मिक रूपमा सहायक छ साथै विशेष रूपले उर्जावान् एवं जीवन्त छ— अनि, सम्भव भएसम्म एकदमै सहज र विनित भावले यहाँबाट जानुपर्छ । यदि तपाईंले आफ्नो जीवन गरिमापूर्ण ढङ्गले बाँच्नुभएको छ भने, यो अत्यन्तै महत्त्वपूर्ण छ कि तपाईंको मृत्यु समेत गरिमापूर्ण तरिकाले होओस् ।

Editor's Note: This article is based on an excerpt from Isha’s monthly English magazine, Forest Flower. Twenty-three issues of Forest Flower from the years 2011 and 2012 are available for download. Pay what you want and download. (set ‘0’ for free). Print subscriptions are also available.