यस अघिको ब्लगमा हामीले प्रियजनको मृत्युको शोकबाट कसरी बाहिरिने भन्ने विषयमा, सद्‌गुरु मार्फत यो जान्यौँ कि यो पीडा र डिप्रेशनमा जाने समय नभई ती व्यक्तिले हाम्रो जीवनलाई जुन रूपमा समृद्ध बनाएका थिए, ती यादहरूलाई स्मरण गर्दै धन्य हुने समय हो । कसैको देहान्त भएपछि मरणोपरान्त के हुन्छ भन्ने विषय रहस्यमय छ । सद्‌गुरु, यहाँ त्यसमाथि प्रकाश पार्दै हुनुहुन्छ ।


प्रश्नः सद्‌गुरु, मृत्युपछि के हुन्छ ? के पुनर्जन्म हुन्छ ? यदि त्यसो हो भने, कुन कुराले व्यक्तिलाई एउटा जन्मबाट अर्को जन्ममा लैजान्छ ?

सद्‌गुरुः योगमा, हामी शरीरलाई पाँचवटा आवरण वा पत्रहरूमा हेर्दछौँ । भौतिक शरीरलाई अन्नमयकोष भनिन्छ । अन्न अर्थात् भोजन, त्यसैले यो भोजनबाट बनेको शरीर हो । दोस्रो पत्रलाई मनोमयकोष वा मानसिक शरीर भनिन्छ । तेस्रो पत्रलाई प्राणमयकोष भनिन्छ, जसको अर्थ हो ऊर्जा-शरीर । भौतिक, मानसिक र ऊर्जा शरीर जीवनको भौतिक आयामहरूसँग सम्बन्धित हुन्छन् । उदाहरणको लागि, तपाईंले यो प्रस्ट देख्न सक्नुहुन्छ कि बिजुली बल्ब भौतिक हो । विद्युत अर्थात् तारहरूको माध्यमले बहने विद्युतकणहरू पनि भौतिक हुन् । साथै, त्यो बल्बबाट निस्किने प्रकाश पनि भौतिक हो । यी तीनवटै भौतिक हुन् । त्यसैगरी, भौतिक शरीर स्थूल हुन्छ, मानसिक शरीर केही सूक्ष्म हुन्छ, अनि ऊर्जा (प्राण) शरीर अझ बढी सूक्ष्म हुन्छ । तर, यी सबै भौतिक प्रकृतिका हुन्छन् । व्यक्तिको शरीर, मन र ऊर्जामा कर्मको छाप हुन्छ । कर्मको छाप वा कर्मको संरचनाले नै तपाईंलाई भौतिक शरीरमा अड्याइरहेको हुन्छ । भलै, कर्म बन्धन भए तापनि, कर्मको तत्त्वको कारणले नै तपाईं शरीरमा रहिरहन सक्नुभएको छ, अनि जीवित हुनुहुन्छ ।

बाँकी दुईवटा आयामहरूलाई विज्ञानमयकोषआनन्दमयकोष भनिन्छ । विज्ञानमयकोष अभौतिक हुन्छ, यद्यपि भौतिकसँग सम्बन्धित हुन्छ । विज्ञान वा विशेष-ज्ञान भनेको असाधारण ज्ञान हो, अर्थात् इन्द्रियहरूले बोध गर्ने भन्दा परको ज्ञान । यो आकाशीय शरीर हो । यो अनित्य (क्षणभङ्गुर) हुन्छ—भौतिकबाट अभौतिकतर्फ जाने अवस्था । यो न भौतिक हो, न त अभौतिक । यो दुवैबीच रहेको सँघार जस्तै हो । आनन्दमयकोष भनेको आनन्द-शरीर हो, जुन पूर्णतया अभौतिक हुन्छ । यसको आफ्नै स्वरूप हुँदैन । यदि भौतिक, मानसिक र ऊर्जा शरीर सही स्वरूपमा रहे भनेमात्र आनन्दमय शरीरलाई थाम्न सकिन्छ । यदि यी रहेनन् भने, आनन्द-शरीर सम्पूर्ण ब्रह्माण्डको अंश बन्नेछ ।

मृत्यु के हो ?

जब कसैको मृत्यु हुन्छ, त्यसबेला हामी भन्ने गर्छौँ- "यो व्यक्ति अब रहेन ।" तर, यो सत्य होइन । तपाईंले जुन रूपमा त्यस व्यक्तिलाई जान्नुभएको थियो, त्यस सन्दर्भमा मात्रै ऊ त्यहाँ नभएको हो, तर उसको अस्तित्व अझै पनि त्यहीँ रहेको हुन्छ । भौतिक शरीर यहीँ छोडिन्छ, तर मानसिक शरीर र प्राण-शरीरको अस्तित्व रहिरहन्छ, जुन व्यक्तिको कर्म कति बलियो छ भन्ने कुरामा निर्भर गर्दछ । अर्को गर्भ पाउनको लागि, व्यक्तिको कर्मको संरचनाको तीव्रता कम हुनुपर्छ, यो निष्क्रिय हुनुपर्छ । यदि आफ्नो चक्र पूरा गरेको कारण कर्मको संरचना एकदमै कमजोर भएको छ भने, यसले सजिलै अर्को शरीर पाउँछ । जब व्यक्तिले यो जीवनमा आफ्नो लागि निर्धारित कर्म पूरा गर्दछ, ऊ यत्तिकै मर्नेछ— कुनै रोग, दुर्घटना वा चोटपटक बिना नै । त्यस्तो व्यक्तिले केही घण्टामै अर्को शरीर पाउन सक्दछ ।

यदि तपाईंले कर्मको संरचनालाई शत-प्रतिशत छिन्नभिन्न पार्नुभयो भने, तपाईं विलिन भएर अस्तित्वसँग एक बन्नुहुन्छ ।

यदि व्यक्तिले आफ्नो जीवनको चक्र पूरा गरेको छ अनि शान्तिपूर्वक मृत्यु वहन गरेको छ भने, उसलाई यहाँ रहिरहनु पर्दैन, त्यो जीवन तुरुन्तै यहाँबाट जानेछ । यद्यपि, यदि कर्मको संरचना एकदमै जटिल छ अनि कर्म पूरा भएको छैन भने, त्यो सिद्धिनुपर्ने हुन्छ । यस्तो अवस्थामा, अर्को शरीर पाउनको लागि उसलाई निकै बढी समय आवश्यक हुन्छ । यसैलाई तपाईंहरूले भूत भनिरहनु भएको हो । यिनलाई तपाईंले सजिलै अनुभव गर्न सक्नुहुन्छ, किनकि उनीहरूको कर्मको संरचना बढी जटिल र प्रखर हुन्छ । चारैतिर यस्ता असङ्ख्य जीवहरू हुन्छन्— चाहे तपाईंलाई यसको बारेमा थाहा होस् वा नहोस्— तर, तपाईंले अधिकांशलाई महसुस गर्नुहुन्न किनकि उनीहरूको कर्म धेरै हदसम्म सिद्धिएको हुन्छ । अर्को शरीर नपाउन्जेल उनीहरू अझ बढी सिद्धयाउन पर्खिरहेका हुन्छन् ।

महासमाधि— परम मुक्ति

जब तपाईं आध्यात्मिक मार्गमा हिँड्नुहुन्छ, प्रत्येक आध्यात्मिक साधकको परम लक्ष्य भनेकै यो पूरै प्रक्रियालाई भङ्ग गर्नु हो । यो एउटा फोका जस्तै हो । यो फोकाको बाहिरी सतह भनेको तपाईंको कर्मको संरचना हो, भित्र हावा हुन्छ । मानिलिनु होस् कि तपाईंले फोका फुटाउनुभयो, खै त तपाईंको हावा ? तपाईंको हावा भन्ने त्यस्तो कुरा नै हुँदैन; यो सबैथोकको अंश बनेको हुन्छ । यतिखेर, यो जुन असीम छ, त्यो सीमित कर्म-संरचनामा बन्दी छ, जसकारण यसले तपाईंलाई आफू पृथक (छुट्टै) अस्तित्व हो भन्ने कुरामा विश्वस्त गराउँछ । यदि तपाईंले कर्मको संरचनालाई शत-प्रतिशत छिन्नभिन्न पार्नुभयो भने, तपाईं विलिन भएर अस्तित्वसँग एक बन्नुहुन्छ ।

मुक्ति अर्थात् शरीर र मनको मूलभूत संरचनाबाट नै स्वतन्त्र हुनु, जीवन-जन्म-मृत्युको मूल प्रक्रियाबाट नै मुक्त हुनु ।

यसैलाई महासमाधि भनिएको हो । तपाईं बिस्तारै-बिस्तारै यसको साँचो कता छ भनेर बुझ्नुहुन्छ, अनि कर्मको संरचनालाई पूर्णतया भताभुङ्ग पार्नुहुन्छ, जसपश्चात तपाईं साँच्चिकै यहाँ रहनुहुन्न । हिन्दू संस्कृतिमा, यसलाई महासमाधि भनिन्छ । बौद्ध परम्परामा, यसलाई महापरिनिर्वाण भनिन्छ । साधारणतया, यसलाई मुक्ति पनि भनिन्छ । मुक्ति अर्थात् शरीर र मनको मूलभूत संरचनाबाट नै स्वतन्त्र हुनु, जीवन-जन्म-मृत्युको मूल प्रक्रियाबाट नै मुक्त हुनु ।

Editor’s Note: कायन्त स्थानम, ईशाद्वारा सञ्चालित दाहसंस्कारको सेवा हो, जुन शक्तिशाली उर्जाको आधारमा प्राचीन परम्परा र मृत्युको संस्कारलाई कुनै व्यवसायिक कामको रूपमा नभई सेवाको भावमा पुनरुत्थान गर्नमा समर्पित छ । साथै, सद्‌गुरुले कालभैरव कर्म र कालभैरव शान्ति प्रक्रियाहरू समेत तयार गर्नुभएको छ, जसबाट मृत व्यक्तिको शान्तिपूर्ण गमन सम्भव हुन सक्दछ । अधिक जानकारीको लागिः https://lingabhairavi.org/