प्रश्नः यस संस्कृतिमा वनप्रस्थको परम्परा रहेको छ, जहाँ निश्चित उमेर पार गरेपछि व्यक्तिले जङ्गलमा गएर आफ्नो बाँकी जीवन बिताउनु पर्छ भनिन्छ । साथै, यसले उनीहरूको मृत्युलाई सरल र सहज बनाउँछ भनिन्छ । यसको कारण के हो ? अनि, अहिलेको आधुनिक संसारमा यसलाई कसरी अपनाउन सकिन्छ ?

 सद्‌गुरुः अहिलेको समयमा, यदि तपाईं वनप्रस्थमा छु भनेर जङ्गलमा जानुभयो भने, तपाईंलाई बाघले खाने वा त्यस्तै कुनै घटना हुने डर त हुँदैन, किनकि विचरा बाघहरूको सङ्ख्या निकै कम छ । तर, तपाईं समातिने सम्भावना चाहिँ एकदमै प्रबल हुन्छ । वनप्रस्थ भनेको जङ्गलमा नै जानुपर्छ भन्ने होइन । अवश्य नै वन भनेको जङ्गल हो, तर वन भनेको बगैँचा पनि हुन सक्दछ । मूलतः चार-पर्खालहरूले घेरिएको स्थानबाट बाहिर निस्किनु नै यसको सोच थियो । तपाईं चार पर्खालहरूभित्र बाँचिरहन चाहनुहुन्न, किनकि यी चार-पर्खालहरूले आफू अमर हुनाको झुठो भाव सृजना गर्छन् । यदि तपाईं कुनै बाकसभित्र हुनुहुन्छ भने, यसले तपाईंलाई कफन भित्र भएको आभास गराउँछ । जब तपाईं कफनभित्र बाँच्नुहुन्छ, तब तपाईं सधैँभरिको लागि यहीँ रहनेछु भनेर सोच्न थाल्नुहुन्छ ।

बरु, तपाईंहरूले यसो गर्नु राम्रो हुन्छः पूर्णिमाको रातमा सबै महिलाहरू बाहिर सुत्नुहोस्, अनि औँशीको रातमा सबै पुरुषहरू बाहिर सुत्नुहोस्— चाहे चिसो होस्, पानी परोस् वा जेसुकै भए तापनि । यदि तपाईं बाहिर सुत्नुभयो भने, तपाईंले आफूलाई असुरक्षित महसुस गर्नुहुनेछ । तब तपाईंले यो बुझ्नुहुनेछ, अझ भन्नुपर्दा तपाईंको आफ्नै शरीरले यो स्पष्ट रूपमा बुझ्नेछ कि यो सधैँको लागि यहाँ रहने छैन । यही नै वनप्रस्थ जानुको मूलभूत सोच हो । तपाईंले आफैँलाई अमर राख्नको निम्ति घर निर्माण गर्नुभएको होइन । हामी यसकारण घर निर्माण गर्छौँ, किनकि मानिसको बच्चा पूर्णतया बाहिर हुर्किन सक्दैन, ऊ त्यसअनुरूप बनेको हुँदैन । बच्चाको शरीर र दिमाग निश्चित स्तरसम्म विकसित हुनको लागि केही समय लाग्दछ । जब हात्तीको छावा जन्मिन्छ, तब उसकी आमाले अर्को तीन दिनसम्म त्यहीँ उभिएर स्याहार गर्छिन्, अनि त्यसपछि दुवैजना जङ्गलमा जान्छन् ।

यो कुरा तपाईंको दिमागमा नभए तापनि, धरतीले तपाईंको शरीरलाई जतिखेर पनि यो स्मरण गराइरहेको हुन्छ कि तपाईं यही माटोबाट आउनुभएको हो । र, तपाईं पुनः यही माटोमा मिसिनुहुन्छ ।

तर, मानिसको बच्चालाई केही वर्षसम्म स्याहारसुसार र सुरक्षा जरूरी हुन्छ । त्यो समयमा, आफ्ना बच्चासँगै तपाईंले पनि यी चार-पर्खालहरूको आनन्द लिनुभयो । तर, मानिसहरूमा यो कुरा बुझ्नको लागि पर्याप्त विवेक हुन्छ कि यदि तपाईंले आफूलाई अमर ठान्नुभयो भने, तपाईं एउटा झुठ लिएर बाँच्नुहुन्छ । तपाईं अमर हुनुहुन्छ भन्नु झुठ हो । त्यसलाई एकदमै सपष्ट बनाउनको लागि— आफ्नो दिमागमा मात्र नभई हरेक तरिकाले त्यसलाई प्रष्ट बनाउनको लागि— सर्वप्रथम, तपाईं यी पर्खालहरूबाट बाहिर निस्किनुहोस् । यही कारणले गर्दा, थुप्रै साधुहरू र सन्यासीहरू कहिल्यै भवन वा महलमा सुत्दैनन् । उनीहरू कि त रूखमुनि सुत्छन्, अथवा यदि मौसम एकदमै प्रतिकूल छ भने, उनीहरू गुफामा वा अन्य यस्तै स्थानमा सुत्छन् । यदि उनीहरूले आश्रय स्थल निर्माण गरे भने, छत मात्रै बनाएर वरिपरि खुला राख्छन् । अथवा, यदि भित्ताहरू उठाए भनेपनि त्यो सदैव माटोले बनाइएको हुने गर्दछ । यो कहिल्यै पनि अति-सुरक्षित किसिमले बनाइँदैन ।

पञ्च तत्त्वहरूसँग, अझ बढी पृथ्वीसँग, निरन्तर सम्पर्कमा रहनाले शरीरलाई यसको नश्वर (नाशवान्) प्रकृतिको स्मरण भइरहन्छ । भलै, यो कुरा तपाईंको दिमागमा नभए तापनि, धरतीले तपाईंको शरीरलाई जतिखेर पनि यो स्मरण गराइरहेकी हुन्छिन् कि तपाईं यही माटोबाट आउनुभएको हो । र, तपाईं पुनः यही माटोमा मिसिनुहुन्छ । जब मलाई मानिसहरूले आफू बिरामी भएको वा शरीरमा केही गडबडी भएको कुरा सुनाउँछन्, म उनीहरूलाई सबैभन्दा पहिला बगैँचामा गएर काम गर्न भन्छु । यसो गर्नुको पछाडिको सोच के हो भने, यो शरीरलाई धरतीसँग सम्पर्कमा राखिनुपर्छ । सबैका निम्ति यो धरती पोषणको स्थान अनि चिरशान्ति पाउने स्थान समेत हो । हामी यहीँबाट आएका हुन्छौँ, अनि एकदिन यहीँ जानेछौँ ।

चार-पर्खालहरूले बन्द गरिएको संरचनामा यो कुरा कहिल्यै स्मरण हुँदैन । मानिसहरूले आफू अमर छु भनेर ठानेका हुन्छन् । यहाँ सम्म कि यदि कसैको ९० वर्षको उमेरमा देहान्त भयो भनेपनि, मानिसहरू भन्ने गर्छन्, "उहाँ कति स्वस्थ र राम्रो हुनुहुन्थ्यो— अचानक बित्नुभयो ।" वास्तवमा भन्नुपर्दा, ती व्यक्ति विगत ९० वर्षदेखि मरिरहेका थिए ! अहिले मानिसहरूले मृत्युलाई यसरी बुझेका छन्: पहिला अस्पतालसम्म घिसारिइनु पर्छ र कम्तीमा पनि केही महिनासम्म यातना सहनुपर्छ— अनि, जसैजसै बिल बढदै जान्छ, तब अरू मानिसहरू भन्छन्, "भैगो, अब जान दिऔँ" !

यदि तपाईं शरीरको नश्वर वा मरणशील प्रकृतिप्रति सचेत हुन चाहनुहुन्छ भने, सबैभन्दा पहिलो काम भनेको सुरक्षित वातावरणबाट बाहिर निस्किनु हो, ताकि शरीरले आफू कुनैदिन यहाँबाट जानुपर्नेछ भन्ने कुरा बुझ्न एवं महसुस गर्न सकोस् । वास्तवमा, वनप्रस्थमा गएका थुप्रै मानिसहरू अझ बढी स्वस्थ भएका हुन्छन्, जुन मैले हाम्रो ईशाको दुईवटै मुख्य केन्द्रहरूमा देखेको छु— ईशा योग केन्द्र (भारत) र ईशा इन्स्टिच्युट अफ इनर-साइन्सेस (अमेरिका) । मानिसहरू ६५ वर्ष नाघिसकेको हुनाले आश्रममा आएका थिए । तर, पछिल्लो ८-१० वर्षमा, उनीहरू निकै बढी स्वस्थ, तन्दुरुस्त अनि जवान भएका छन् । पञ्च तत्त्वहरूप्रति प्रत्यक्ष सम्पर्कमा रहेकाले अनि धेरै हिँडडुल गरेकै भरमा उनीहरू पहिलेभन्दा अझ बढी राम्रा भएका छन्, बलिया भएका छन् ।

वनप्रस्थ, मृत्युसँग मात्रै सम्बन्धित हुन जरूरी छैन । वनप्रस्थ भनेको व्यक्तिलाई आफ्नो नश्वरता (मरणशील प्रकृति) प्रति पूर्णतया सचेत बनाउनु हो ।

मानिसहरू मर्नको लागि वनप्रस्थ जाने होइन । बरु, यसकारण जान्छन् किनकि उनीहरू मर्नुपर्छ भन्नेप्रति सचेत हुन्छन्— यो एकदमै महत्त्वपूर्ण छ । तपाईं एउटा निश्चित उमेर पुग्नु भएकोले आज वा भोलि नै मर्नुपर्छ भन्ने पक्कै होइन । तर, तपाईं यसप्रति चेतन हुनुपर्छ कि तपाईं अवश्य मर्नुहुन्छ । एकपटक जब तपाईं आफू नश्वर छु भनेर पूर्णतया सचेत बन्नुहुन्छ, तपाईंले सबैथोकलाई अलग्गै राखेर हेर्नुहुन्छ । तपाईंले यो बुझ्नुहुनेछ कि यो एउटा जाल हो, जुन तपाईंले आफ्नो जीविकाको लागि बनाउनु भएको थियो । तपाईंले केही मानिसहरूलाई आफूसँगै यसमा फसाउन सफल हुनुभएको छ, तर तपाईं यसमै अल्झिरहनु हुँदैन । तपाईंले यसलाई आफूबाट टाढै राख्नुपर्छ, किनकि जब यसको समय आउँछ यो जानुपर्नेछ ।

वनप्रस्थको मूल उद्देश्य भनेको वन-जङ्गलसित प्रत्यक्ष सम्पर्कमा रहनु हो, ताकि तपाईं आफू अमर भएको झुठ बोकेर नबाँच्नुहोस् । नश्वरता तपाईंको घरमै प्रवेश गर्दछ । मानिलिऔँ कि ठूलो हुरीबतास चल्यो । जब मुसलधारे पानी दर्किएको हुन्छ, त्यसबेला सायद तपाईं ठूलो आवाजमा गीत घन्काएर कानमा हेडफोन लगाएर बस्न सक्नुहुन्छ— केही पनि नसुनिकन, केही अनुभव नगरिकन ! तर, यदि तपाईं बाहिर जङ्गलमा हुनुहुन्छ भने, एकचोटि हुरीबतास चल्दाखेरि नै तपाईंलाई यो मानव शरीर कति क्षीण वा कमजोर छ भन्ने कुरा महसुस हुनेछ । यदि तपाईं बिजुली चम्किँदा, मेघगर्जन हुँदा, पानी दर्किँदा, हुरी चल्दा एक रातको लागि मात्रै बाहिर सुत्नुभयो भनेपनि, अकस्मात् तपाईंमा एक किसिमले ज्ञानको उदय हुन्छ । मैले यो कुरा केही पर्वतारोहीहरूमा देखेको छु— विभिन्न तत्त्वहरूसँग सम्पर्कमा रहको हुनाले साथै हरेक दिन आफ्नो जीवनलाई जोखिमपूर्ण बनाएको हुनाले उनीहरूमा एक प्रकारको स्थिरता र सहजता छाएको हुन्छ । त्यसबेला, तपाईंले यो बुझ्नुहुन्छ कि तपाईं नश्वर हो, किनकि तपाईंलाई थाहा हुन्छ कि यदि एउटा गल्ती गर्नुभयो भने, तपाईं मर्नुहुन्छ ।

वनप्रस्थ भनेकै त्यही हो, अर्थात् यो शरीरमा गहिरो रूपमा नश्वरताको भाव जागृत गराउनु । यदि शरीरले आफू नश्वर छु भनेर जान्यो भने, यसले बिस्तारै आफूलाई राम्रोसँग समायोजित गर्नेछ । यसले यत्तिकै मूर्खतापूर्ण ढङ्गले आफ्नो ऊर्जा व्यर्थ जान दिँदैन । निश्चय नै यो लामो समयसम्म जीवित हुनेछ । वनप्रस्थ, मर्ने कुरासँग मात्रै सम्बन्धित हुँदैन । वनप्रस्थ भनेको व्यक्तिलाई आफ्नो नश्वरता (मरणशील प्रकृति) प्रति पूर्णतया सचेत बनाउनु हो । यदि त्यो नहुने हो भने, मनुष्य कहिल्यै सही अर्थमा मनुष्य हुँदैन— मानिसहरूले निकै मूखर्तापूर्ण जीवन बाँच्नेछन् । गौतम बुद्धले पूरै संसारलाई मूर्ख भन्दथे । उनी गलत छैनन्, यद्यपि उनी केही नम्र हुन सक्थे । तर, उनी ई.पू. को समयमा आएका थिए, त्यसैले उनले आफूले चाहेको कुरा भन्न सक्थे । म यहाँ २१ औँ शताब्दीमा छु— मैले केही राम्रा कुराहरू भन्नुपर्ने हुन्छ !

जुनबेला तपाईंलाई अब पुग्यो भन्ने महसुस हुन्छ, तपाईं वनप्रस्थमा जानैपर्छ । वन-जङ्गलमा जानको लागि त अहिले सम्भव छैन, त्यसैकारण मानिसहरू आश्रममा आउँछन् । केही चाँडै आउँछन्, यद्यपि एकदमै चाँडो भन्ने कहिल्यै हुँदैन !

वनप्रस्थको बारेमा रहेको बुझाइ र ज्ञान मूलतः यही थियो— तपाईंभित्र रहेको प्रत्येक कोषिकाले यो स्पष्ट रूपमा जान्नुपर्छ कि तपाईं नश्वर हो । एकपटक जब तपाईंले आफू नाशवान् छु भन्ने कुरा जान्नुहुन्छ, तब तपाईं ऊर्जाको दृष्टिले अत्यन्तै प्रभावशाली बन्नुहुन्छ । यदि तपाईंले केही पनि खेर नफालिकन एकदमै सचेत भई हिँड्नुभयो भने, एक किसिमले तपाईं योग गरिरहनु भएको हुन्छ । योगको शारीरिक पक्ष भनेको कुनै पनि खलबलीबिनै कसरी शालीनतापूर्वक चीजहरू गर्ने भनेर शरीरलाई सिकाउने प्रक्रिया हो । जब व्यक्ति पूर्ण रूपमा सचेतन हुन्छ, त्यसबेला समेत यस्तो हुन्छ । उदाहरणको लागि, नाग (कोब्रा) झट्टै प्रतिक्रिया जनाउने प्राणी हो । यदि तपाईं पूर्णतया सहज भावमा हुनुहुन्छ भने, उनीहरूले तपाईंलाई डस्दैनन् । यदि तपाईंभित्रको रसायन खलबलियो भने, अर्थात् यदि उनीहरूले तपाईं डराउनु भएको महसुस गरे भनेमात्र तपाईंमाथि जाइलाग्छन् । यदि तपाईं आफू नश्वर छु भनेर महसुस गर्न चाहनुहुन्छ भने, तपाईं पूर्णतया सचेत हुनुपर्छ— किनकि, मृत्यु नागको रूपमा समेत आउन सक्दछ !

यसैकारण, हामीले जङ्गल नजिकै आश्रम स्थापना गरेका हौँ । त्यसैले, तपाईं पञ्च तत्त्वहरूको सम्पर्कमा रहिरहनु पर्छ । यदि कुनै पनि तत्त्वले तपाईंलाई स्पर्श गरेनन् भने, तपाईंलाई यो नै थाहा हुँदैन कि तपाईं जीवन हो । धेरैजसो बेला, तपाईं आफ्ना विचारहरू, भावनाहरू, सोचहरू, धारणाहरू, पूर्वाग्रहहरू अनि अरू वाहियात् चीजहरूको डङ्गुर भएर रहनुहुन्छ । यदि तपाईं बाहिर सुत्नुभयो, अनि त्यस राति मेघगर्जन भयो भने, तपाईंका सबै सोचहरू, धारणाहरू, विचार र भावनाहरू बिलाउने छन् । तपाईंले यो बुझ्नुहुनेछ कि तपाईं पनि यिनै तत्त्वहरूको अंश हो । दुर्भाग्यवश, अधिकांश मानिसहरूले कुनै पनि तरिकाले साँच्चिकै बाहिर जीवन बिताएका हुँदैनन् ।

जो मानिसहरू बाहिरतिर यात्रा गरिरहेका हुन्छन् र जीवनलाई महसुस गरिरहेका हुन्छन्, उनीहरूले मात्रै आफू नश्वर छु भन्ने कुरा जानेका हुन्छन् । तपाईंले घर बनाउनु भयो, सुरक्षा थप्नुभयो, जीवनको निश्चित चरणको लागि केही बन्दोवस्त गर्नुभयो ताकि केही चीजहरू सहजतापूर्वक सम्हाल्न सकियोस्— किनकि, मानिस एउटा सामाजिक प्राणी पनि हो । तर, जुनबेला तपाईंलाई अब पुग्यो भन्ने महसुस हुन्छ, तपाईं वनप्रस्थमा जानैपर्छ । वन-जङ्गलमा जानको लागि त अहिले सम्भव छैन, त्यसैकारण मानिसहरू आश्रममा आउँछन् । केही चाँडै आउँछन्, यद्यपि एकदमै चाँडो भन्ने कहिल्यै हुँदैन !

नश्वरता कुनै विचार होइन । यो त वास्तविकता हो, जसले हरेक क्षण यो शरीरलाई बोलाइरहेको हुन्छ ।

यहाँ सम्म कि पहिलेको समयमा, जब मानिसहरू वनप्रस्थमा जान्थे, उनीहरू पूर्णतया खुला आकाशमुनि बस्थे भन्ने होइन । उनीहरू यस्ता आश्रमहरूमा जान्थे, जुन जङ्गलको भित्री भागमा निर्माण गरिएको हुन्थ्यो, जहाँ गाँस, वास र कपासको बन्दोवस्त एकदमै सरल र किफायती हुने गर्थ्यो । तपाईं प्रकृति र तत्त्वहरूको सम्पर्कमा रहिरहनु हुन्थ्यो । नश्वरता कुनै विचार होइन । यो त वास्तविकता हो, जसले हरेक क्षण यो शरीरलाई बोलाइरहेको हुन्छ । यदि तपाईंको शरीरले त्यो बोलावट सुनेन भने, तपाईंको दिमाग मूर्ख बन्नेछ । वनप्रस्थ भनेको त्यो मूर्खताबाट बाहिर निस्किने प्रयास हो— ती झुठहरूको जालोबाट बाहिर निस्किने प्रयत्न हो, जुन प्रत्येक मानिसहरूले बुनिरहेका हुन्छन् ।

आउँदा वर्षहरूमा, वनप्रस्थको लागि हामी अझ थुप्रै प्रबन्धहरू गर्नेछौँ, किनकि जो जवान छँदै यहाँ आएका थिए, उनीहरू समेत बिस्तारै बूढा हुँदै गएका छन् !

 

प्रेम अनि कृपा