ङ्कराचार्य एक महान् विद्वान थिए अनि भाषा शैलीमा पनि पोख्त थिए । सबैभन्दा महत्त्वपूर्ण कुरा उनी आध्यात्मिक प्रकाश पुञ्ज थिए, साथै भारतका गौरव समेत थिए । एकदमै सानो उमेरमा उनमा जुन स्तरको ज्ञान र विवेक थियो, सबैले उनलाई मानवताको लागि चम्किलो प्रकाश ठान्दथे । हामी यस्ता महापुरुष कसरी निमार्ण गर्न सक्छौँ ? आफ्नो अल्पायुमा नै उनले भारतको वारपार गरेका थिए । भारतको सुदूर दक्षिणी किनाराबाट उनी हिँडेरै मध्यभागसम्म आइपुगे । त्यहाँबाट उनी उत्तरतर्फ अघि बढे अनि पछि पृर्व र पश्चिमतर्फ गए । यहाँ यो प्रश्न उठ्छ कि उनमा यी सबैका लागि यो अथाह ऊर्जा, उत्साह अनि विवेक कहाँबाट आयो ? यसको एउटा महत्त्वपूर्ण र प्रतीकात्मक पक्ष के हो भने, शंकारचार्य दक्षिण भारतमा अवस्थित कालडी नाम गरेको गाउँबाट आएका थिए, जुन आज एउटा सानो शहर हो । 'कालडी' को शाब्दिक अर्थ 'पैतालामुनि' हो । दक्षिण भारत यो पूरै मातृभूमिको पाउमा रहेको छ, जसकारण यसले कैयौँ रूपहरूमा राम्रो परिणाम दिएको छ ।

आउँदा पुस्ताहरूले आफूलाई तार्किक रूपमा ठीक नलागेका अनि वैज्ञानिक रूपमा सही नभएका सम्पूर्ण कुराहरू अस्वीकार गर्ने छन् ।

महाभारतमा एउटा सुन्दर प्रसङ्ग छ, जसको बारेमा अधिकांश मानिसहरूलाई सायद थाहा पाएको हुनुपर्छ । जब कुरुक्षेत्रको युद्ध निर्धारित भयो, तब अर्जुन र दुर्योधन दुवैजना कृष्णसँग सहयोग लिनको लागि उनीसामु पुगे । कृष्ण त्यसबेला सुतिरहेका थिए । दुर्योधन उनको शिर नजिकै उभिए र अर्जुन उनको खुट्टा नजिकै उभिए— यही सामान्य कार्यले सबैथोक निर्धारित गरिदियो । त्यस अपराह्न जब अर्जुन कृष्णको चरण (पाउ) नजिक उभिए, त्यसैबेला उनले महाभारतको युद्ध जितिसकेका थिए । यही कुरा यस संस्कृतिको मूलभूत प्रकृति हो— किनकि हामी हरेक चीजप्रति झुकेर नमन गर्छाैँ, यसैकारण माथि उठ्छौँ । हामी कसैलाई कुइनाले ठेलेर आफ्नो बाटो सोझ्याउँदैनौँ, बरु हामी शिष्ट र सौम्य भावमा झुक्दै अघि बढ्छौँ ।

शङ्कराचार्यको प्रज्ञा र ज्ञान

यहाँको संस्कृति नै यही रहेको छ कि हामीले सदैव दिव्यताको चरणमा कसरी रहने भनेर सिकेका छौँ । यो आडम्बर वा देखावटीपनको संस्कृति होइन, बरु श्रद्धा र भक्तिको संस्कृति हो । हामीले हरेक चीजप्रति झुकेर नमन गर्न सिकेका हुन्छौँ— चाहे भगवान हुन् वा स्त्री, पुरुष, बच्चा, जनावर, रूख वा एउटा ढुङ्गा । यही एउटा पक्षले गर्दा यस संस्कृतिमा हामीले महान् जीवहरू (महापुरुष) निर्माण गर्न सफल भएका छौँ । देवत्वको चरणमा रहेर नै हामीले अथाह कुरा सिक्यौँ, आफूलाई माथि उठायौँ, आफूलाई निखाऱ्यौँ, पल्लवित भयौँ अनि लामो समयसम्म पूरै विश्वको लागि प्रकाश पुञ्ज बनिरह्यौँ ।

जबसम्म आध्यात्मिक प्रक्रिया कुनै न कुनै रूपमा मानिसहरूको मूलभूत तर्क र हालको विज्ञानको खोजसँग सङ्गति वा लयमा रहँदैन, मानिसहरूले त्यसलाई स्वीकार गर्ने छैनन् ।

हजारौँ वर्षअघि, शङ्कराचार्यभन्दा पनि पहिले, आदियोगी देखि अन्य योगीहरू, महापुरुषहरू, रहस्यदर्शीहरू, साधु र सन्तहरूले यही कुरालाई फरक–फरक शैलीमा भनेका छन् । तर, शङ्कराचार्यले जुन बौद्धिक स्पष्टतासहित यसलाई अभिव्यक्त गरे, जुन उत्साह र ऊर्जाले यसलाई देशभरि फैलाए, यही कुराले उनलाई अरूहरूभन्दा पृथक बनाएको छ । आजको विश्वमा अत्यन्तै महत्त्वपूर्ण रहेको पक्ष के हो भने यो सबै प्रज्ञा, सम्पूर्ण ज्ञान कुनै आस्था वा विश्वासबाट जन्मिएको होइन; यो आत्म–ज्ञानबाट प्रकट भएको हो । जबसम्म आध्यात्मिक प्रक्रिया कुनै न कुनै रूपमा मानिसहरूको मूलभूत तर्क र हालको विज्ञानको खोजसँग सङ्गति वा लयमा रहँदैन, मानिसहरूले त्यसलाई स्वीकार गर्ने छैनन् । आउँदा पुस्ताहरूले आफूलाई तार्किक रूपमा ठीक नलागेका अनि वैज्ञानिक रूपमा सही नभएका सम्पूर्ण कुराहरू अस्वीकार गर्ने छन् ।

'सबैथोक माया हो' भनेको के हो ?

यस सन्दर्भमा, आज शङ्कराचार्य अत्यन्तै महत्त्वपूर्ण भएका छन् । उनले जे भनेका थिए, त्यसलाई अपभ्रंशित गरिएको छ वा भनौँ गलत रूपमा व्याख्या गरिएको छ । मेरो विचारमा हामीले उनको लागि कम्तीमा पनि यो गलत व्याख्या हटाउने काम गर्नुपर्छ ।

त्यसैगरी, तपाईं जुन तरकाले यस अस्तित्व र सृष्टिलाई देखिरहनु भएको छ, जुन तरिकाले तपाईं आफ्ना पाँच इन्द्रियहरूमार्फत सृष्टिलाई महसुस गरिरहनु भएको छ, ती सबै वास्तिवकताभन्दा पूर्णतया पर छन्— यही भ्रम वा माया हो ।

थुप्रै मानिसहरू शङ्कराचार्यको "सबैथोक माया हो" भन्ने अभिव्यक्ति वाहियात् हो भन्ने गर्छन् । वास्तवमा, यसलाई गलत तरिकाले परिभाषा गरिएको छ अनि सोहीअनुरूप "माया भनेको अस्तित्व नै नहुनु" भनेर बुझिएको छ । 'माया' को अर्थ यसको अस्तित्व छैन भनेको होइन । माया भनेको भ्रम हो, अर्थात् कुनै पनि चीज वास्तवमा जस्तो छ, त्यसलाई तपाईं त्यही रूपमा देखिरहनु भएको छैन । उदाहरणको लागि, तपाईंलाई आफ्नो शरीर ठोस हो भन्ने लाग्छ, तर तपाईंले दिनहुँ खाने खाना, पिउने पानी, श्वास फेर्ने हावाको माध्यमले तपाईंको शरीरका कोषिकाहरू हरेक दिन बदलिरहेका हुन्छन् । तपाईं शरीरमा भएको ऊतक (tissue) र अङ्गहरू (organs) केही दिनहरूमा वा केही वर्षभित्र पूर्णतया नवीन हुन्छन्, जुन तपाईंको शरीरका कोषिकाहरूको प्रकृतिमा निर्भर गर्दछ । यसको अर्थ के हो भने केही समयपछि तपाईंसँग पूरै नयाँ शरीर हुन्छ । तर तपाईंको अनुभवमा यो त्यही पुरानो शरीर हो जस्तो लाग्दछ— यसैलाई माया भनिएको हो ।

पाँच इन्द्रियहरूका जानकारीहरू भ्रामक हुन्छन्

त्यसैगरी, तपाईं जुन तरकाले यस अस्तित्व र सृष्टिलाई देखिरहनु भएको छ, जुन तरिकाले तपाईं आफ्ना पाँच इन्द्रियहरूमार्फत सृष्टिलाई महसुस गरिरहनु भएको छ, ती सबै वास्तिवकताभन्दा पूर्णतया पर छन्— यही भ्रम वा माया हो । यो एक प्रकारको मृगतृष्णा वा मृगमरीचिका (mirage) हो । यदि तपाईं राजमार्गमा सवारी गुडाउँदै हुनुहुन्छ भने, कहिलेकाहीँ तपाईंले अलि टाढा पानी जस्तो केही देख्नुहुन्छ । तर, जब तपाईं त्यहाँ पुग्नुहुन्छ, निश्चय नै त्यहाँ पानी हुँदैन । यसको अर्थ त्यहाँ केही पनि थिएन भन्ने होइन । त्यहाँ प्रकाशको परावर्तनले गर्दा टाढाबाट पानी जस्तो देखिएको थियो । कुनै एउटा चीज, पूर्णतया अर्कै चीज हुनुको भ्रम सृजना भइरहेको थियो । तपाईं जसलाई "म" भन्नुहुन्छ, वास्तवमा त्यो सबैथोक हो— यही माया हो । तपाईं जसलाई "अरू" भन्नुहुन्छ, त्यो वास्तवमा तपाईं हो । तपाईं जसलाई सबैथोक ठान्नुहुन्छ, त्यो वास्तवमा शून्य पनि हो । तसर्थ, शङ्कराचार्यले यही सन्दर्भमा 'माया' को कुरा गरेका थिए । साथै, शङ्कराचार्यले यो पनि भनेका थिए कि यदि हामीले यो मानव प्रणालीलाई पूर्णतया जान्ने हो भने, हामी पूरै ब्रह्माण्डलाई जान्न सक्नेछौँ । आधुनिक भौतिक शास्त्रले पनि अहिले यही भनिरहको छ— पूरै ब्रह्माण्ड मूलतः एउटै ऊर्जा हो । त्यसैगरी, शङ्कराचार्यले सृष्टि र सृष्टिकर्ता एकै हुन् भनेका थिए । आज अथक प्रयत्नपछि आधुनिक विज्ञान पनि त्यही नतिजामा आइपुगेको छ, जसको बारेमा शंकराचर्य एवं अरू थुप्रै ऋषिहरूले हजारौँ वर्षअघि एकदमै स्पष्ट रूपमा भनेका थिए ।

यो आध्यात्मिक ज्ञान र विवेक हिमालयबाट ओर्लिएर तल शहरहरूमा, गाउँहरूमा, वस्तीहरूमा अनि सबैभन्दा महत्त्वपूर्ण कुरा मानिसहरूको दिल र दिमागमा आउन जरूरी छ । त्यो संस्कृति, त्यो श्रद्धा र भक्तिभाव, त्यो विनम्रतालाई पुनः फर्काएर ल्याउने समय भइसकेको छ, जसले हामीलाई अद्‌भुत लाभ पुऱ्याएको थियो— त्यो हो, नमन गर्ने वा झुक्ने कला । यही हाम्रो शक्ति हो, यही हाम्रो तरिका हो । आफूलाई माथि उठाउन र बुद्धत्व (आत्मज्ञान) प्राप्त गर्नको लागि यहाँ सोही प्रकिया र विधि अपनाइएको छ । भविष्यमा, यही कुरा सबैभन्दा विशाल ढुकुटी (सम्पत्ति) बन्नेछ । यदि हामीले त्यस संस्कृतिलाई पुनर्जीवित गऱ्यौँ भने, पूरै विश्वले हामीबाट मार्गदर्शन लिनेछ । आउनुहोस्, शङ्कराचार्यको त्यस भावनालाई यहाँ र बाँकी विश्वमा पुनः जागृत गरौँ ।

प्रेम एवं कृपा