मा निसहरूले मलाई यो जल्दोबल्दो प्रश्न सोधिरहेका हुन्छन्— "के मैले यही जीवनकालमा मुक्ति वा मोक्ष पाउँछु ?" सर्वप्रथम, मुक्ति भनेको के हो भनेर बुझौँ । जीवन र मृत्यु भनेको एउटै आयामको दुईवटा चरणहरू हुन् । जीवनमा विविध आयामहरू हुन्छन्— शैशवकाल (शिशु-अवस्था), बाल्यकाल, किशोरावस्था, युवावस्था र वृद्धावस्था । एउटा आयाममा परस्पर भागहरू हुन्छन्, जसलाई परिभाषा र व्याख्या गर्न सकिन्छ, जसलाई जान्न र बुझ्न सकिन्छ । तर, मुक्ति आयामविहीन हुन्छ । यसको अर्थ के हो भने, यसलाई परिभाषा गर्न सकिँदैन, व्याख्या गर्न सकिँदैन साथै जान्न समेत सकिँदैन । "के मैले मुक्ति प्राप्त गर्छु ?" अहँ, कहिल्यै पाउनु हुनेछैन ! कसैले पनि पाउनु हुनेछैन । जब तपाईं कुनै पनि आयाम बनेर रहनुहुन्न, त्यही मुक्ति हो । न त भौतिक, न पराभौतिक, न यो, न त्यो नै— जब तपाईं आयामविहीन बन्नुहुन्छ, त्यही मुक्ति हो ।

जुन कुरा यो वा त्यो हुँदैन, त्यसलाई बीचको वा नपुंसक भन्न मिल्दैन— त्यो परको हुन्छ !

जहाँ आयाम हुन्छ, त्यहाँ सीमा हुन्छ । मुक्ति भनेको के हो भने त्यहाँ सीमा हुँदैन, बन्धन हुँदैन । यो सुन्दा नकारात्मक लागे तापनि, यसले एकदमै सकारात्मक सम्भावना बोकेको हुन्छ । मुक्ति अस्तित्वविहीन हुन्छ । शिव अस्तित्वरहित हुन्— अर्थात्, त्यो जुन छैन । यही हुनु नै मुक्ति हो । शिवलाई पौरुष वा स्त्रैण भन्नु नै गलत हुन्छ, किनकि लिङ्ग एउटा आयामभित्र पर्दछ । शिव, आयामविहीन एवं अस्तित्वरहित हुन् । अस्तित्व-विहीन भनेको यो त्यहाँ छँदै छैन भन्ने होइन । यतिखेर, यस अस्तित्वमा भएको कुनै पनि कुरालाई तपाईं एउटा निश्चित आयामको रूपमा अनुभव गरिरहनु भएको हुन्छ— चाहे यो होस् वा त्यो । आयामविहीनता भनेको के हो भने, यो वा त्यो भन्ने त्यस्तो केही हुँदैन । जुन कुरा यो वा त्यो हुँदैन, त्यसलाई बीचको वा नपुंसक भन्न मिल्दैन— त्यो परको हुन्छ ! तपाईं कुनै पनि तरिकाले मुक्तिलाई जान्न वा बुझ्न सक्नुहुन्न— तपाईं मुक्त हुन मात्र सक्नुहुन्छ । तर, मुक्त हुने आकाङ्क्षा नराख्नुहोस् । जुन कुरा अझैसम्म तपाईंको अनुभव र बोधमा छैन, जसलाई तपाईंले अझैसम्म बुझ्नुभएको छैन, तपाईं त्यो बन्ने आकाङ्क्षा राख्न सक्नुहुन्न ।

यतिखेर, तपाईंले गर्न सक्ने एकमात्र काम के हो भने, जे-जति चीजहरूले तपाईंलाई बाँधिरहेका छन्, तिनलाई काट्दै जानुहोस् । तपाईं जे-जति चीजहरूबाट बाँधिनुभएको छ, ती सबै काट्नुभयो भने, त्यहि मुक्ति हो । यदि तपाईं कुनैपनि कुराको बन्धनमा बाँधिनुभएन भने, यसलाई नै मुक्ति भनिन्छ— अर्थात्, न जीवन, न मृत्यु; न भगवान, न राक्षस; न स्वर्ग, न नर्क; न यो, न त त्यो नै ! मुक्तिको खोज नगर्नुहोस्, बरु सबैथरीका बन्धनहरूबाट कसरी मुक्त हुने भनेर मात्र हेर्नुहोस् । यदि तपाईं माथि आकाशमा उड्न चाहनुहुन्छ भने, तपाईंलाई आकाशको बारेमा धेरै थाहा हुन खासै जरूरी हुँदैन, बरु तपाईंले आफूलाई कुन चीजले जमिनमा अड्याइरहेको छ भनेर जान्नुपर्ने हुन्छ । तपाईंले गुरुत्वाकर्षणलाई राम्रोसँग बुझ्नुभयो भने नै तपाईं उड्न सक्नुहुन्छ, न कि आकाशलाई बुझेर । आकाशको बारेमा कसरी जान्न सकिन्छ भन्ने प्रश्न गौण हो; यो गुरुत्वाकर्षणलाई कसरी अधीनमा लिन सकिन्छ भन्ने प्रश्न नै महत्त्वपूर्ण हुन्छ । त्यसैले, मुक्तिको बारेमा जान्ने प्रयत्न नगर्नुहोस् । यहाँ सम्म कि तपाईं मुक्तिको आकाङ्क्षा समेत नराख्नुहोस्, किनकि यसले तपाईंलाई भ्रामक कल्पनाहरूको उडानमा लैजानेछ ।

कल्पना भनेको विगतलाई परिमार्जन गरिएको रूप हो । हामी विगतलाई अनेक स्वरूपहरूमा बङ्ग्याउँछौँ, अनि त्यसैबाट रोमाञ्चित हुन्छौँ । हाम्रा कल्पनाहरूमा पूर्णतया नयाँ कुरा कहिल्यै हुन सक्दैन ।

मन कहिल्यै पनि "मलाई थाहा छैन" भन्न अवस्थामा रहन सक्दैन, किनकि यो यसरी नै बनेको हुन्छ । यसले कि त थाहा पाएकै हुनुपर्छ वा यदि थाहा छैन भने, ती कुराहरूको बारेमा धारणाहरू बुन्छ, निष्कर्षहरू निकाल्छ । यदि तपाईंले आफ्नो मनमा मुक्तिलाई पनि कुनै आयाम बनाउनुभयो भने, यसले तपाईंलाई अनावश्यक रूपमा वृत्तहरूमा घुमाइरहने छ अनि त्यो घनचक्कर बन्नेछ । तपाईं जुन कुराहरूबाट बाँधिनुभएको छ, त्यसलाई काट्दै (पन्छाउँदै) जानुहोस् । एकदिन यस्तो समय आउनेछ जब तपाईं देख्नुहुनेछ कि त्यहाँ काट्न बाँकी केही पनि रहँदैन— त्यसबेला, जे हुनु छ, त्यो अवश्य हुनेछ । तपाईंले मुक्तिको कामना गर्नु आवश्यक छैन, किनकि यदि तपाईंले कामना गर्नुभयो भने, तपाईंले अनेक कुराहरू कल्पना गर्नुहुनेछ । सबै कल्पनाहरू तपाईंको स्मृतिको अतिरञ्जित (बढाई-चढाई) रूप हो । यो राम्रो होइन, किनकि तपाईं विगतलाई नै भविष्यमा प्रस्तुत गरिरहनु भएको हुन्छ । सायद तपाईं त्यसलाई फरक स्वरूपमा र भिन्न-भिन्न रङ्गहरूमा प्रस्तुत गरिरहनु भएको हुन सक्छ, तैपनि तपाईंका कल्पनाहरू स्मृति (स्मरण) को धरातलमा उभिएर चलिरहेका हुन्छन्— र, स्मृति भनेको विगत हो ।

कल्पना भनेको विगतलाई परिमार्जन गरिएको रूप हो । हामी विगतलाई अनेक स्वरूपहरूमा बङ्ग्याउँछौँ, अनि त्यसैबाट रोमाञ्चित हुन्छौँ । हाम्रा कल्पनाहरूमा पूर्णतया नयाँ कुरा कहिल्यै हुन सक्दैन । पुरानै कुराहरू अतिरञ्जित गरिएको हुन्छ, जसकारण हरेक पटक यो नयाँ र रोमाञ्चक लाग्दछ । बच्चा बेलामा हामीले तीनवटा ऐना र रङ्गीबिरङ्गी चुराका टुक्राहरू लिएर क्यालिडोस्कोप बनाउँथ्यौँ । तपाईं त्यसमै भुलेर कैयौँ दिन बिताउन सक्नुहुन्थ्यो । हरेक पटक नयाँ आकृति र नयाँ सम्भावना देखिन्थ्यो । तर, वास्तवमा त्यही रङ्गीबिरङ्गी चुराका टुक्राहरू नै भिन्न-भिन्न रूपहरूमा देखिएका हुन्थे, जसले तपाईंको बच्चाबच्ची दिमागलाई उत्साहित गर्ने गर्थ्यो । जीवनको सन्दर्भमा पनि ठीक त्यही भइरहेको हुन्छ— यो एउटा क्यालिडोस्कोप हो; वा भनौँ बहुरूपदर्शी ।

तपाईं जतिखेर पनि आफ्नै क्यालिडोस्कोप बनाइरहनु भएको हुन्छ । यो मनोरञ्जनको लागि त ठीक हुन सक्ला, तर आफ्नो जीवनको परम प्रकृति पत्ता लगाउनको निम्ति यो कहिल्यै उपयुक्त हुँदेैन । अस्तित्वविहीन हुनु अर्थात् यस्तो बन्नु, जुन न यो हो, न त्यो । हामीले शब्दहरूमा यतिसम्म मात्रै भन्न सक्छौँ । भाषा भनेको हाम्रो दिमागको उपज हो, त्यसैकारण एउटा निश्चित बिन्दुपछि हामीले दिमागको दायराभन्दा परको कुरालाई व्याख्या गर्न खोज्यौँ भने, त्यसले कुनै अर्थ दिँदैन ।

आत्मज्ञान वा बुद्धत्व भनेको कुनै उपलब्धि होइन, कुनै प्राप्ति होइन वा तपाईंले जित्नैपर्ने भागदौड पनि होइन । आत्मज्ञान अर्थात् जे पहिल्यै थियो, त्यसलाई बल्ल देख्न सक्नु ।

आत्मज्ञान वा बुद्धत्व भनेको कुनै उपलब्धि होइन, कुनै प्राप्ति होइन वा तपाईंले जित्नैपर्ने भागदौड पनि होइन । आत्मज्ञान अर्थात् जे पहिल्यै थियो, त्यसलाई बल्ल देख्न सक्नु । यो न त आत्म-उपलब्धि हो, न आत्म-प्राप्ति, न त आत्म-विजय नै— यो त आत्म-अनुभूति वा आत्म-ज्ञान हो । तपाईंले केही पनि नयाँ सृजना गर्नुभएको हुँदैन, केही पनि प्राप्त गर्नुभएको हुँदैन, तपाईं कुनै शिखरमा पुग्नुभएको हुँदैन । तपाईंमा केवल यो कुराको बोध हुन्छः यहीँ हुँदा पनि जीवनको मूलभूत प्रकृतिलाई देख्न सकिएन छ, कस्तो मूर्खता ! यसैकारण, जब कसैलाई आत्म-अनुभूति हुन्छ, साधारणतया उनीहरू अज्ञात रहन्छन्, किनकि उनीहरू आनन्दमय भावमा लज्जित हुन्छन् । "जे सदैव यहीँ थियो, त्यसलाई मैले कुनै पनि क्षण जान्न सक्ने थिएँ । तर, त्यसलाई जान्नको लागि मैले जन्मौँ-जन्मसम्म चटक गर्नुपऱ्यो । म यति मूर्ख भएर बाँचेको रहेछु, अब आफ्नो अनुहार कसरी देखाऊँ ?" जब तपाईंलाई आफू मूर्ख छु भन्ने कुरा थाहा हुँदैन, तपाईं संसारमा स्वाभिमानी र वीर बन्न सक्नुहुन्छ । जुन क्षण तपाईंलाई त्यो अनुभूति हुनेछ, तपाईं लज्जित बन्नुहुनेछ । तर, त्यसबेला पूरै संसारले तपाईंको पूजा गर्न चाहन्छ— यो अलि विचित्र अवस्था हो !

मुक्तिको विषयलाई लिएर चिन्तित नबन्नुहोस् । यदि तपाईं जवान हुनुहुन्छ र केही चटक गर्न चाहनुहुन्छ भने, ठीकै छ गर्नुहोस् । जब उमेर छिप्पिन्छ, त्यसबेला त्यो ममाथि छोड्नुहोस् । तपाईंले आत्मज्ञान पाउनुहुन्छ वा पाउनुहुन्न भन्ने कुराप्रति मेरो कुनै चासो छैन, तर म एक गुरुको रूपमा सफल हुन चाहन्छु । "म तपाईंलाई प्रेम गर्छु । म तपाईंप्रति सरोकार राख्छु । म चाहन्छु कि तपाईंले आत्मज्ञान पाउनुहोस्" भनेर तपाईंलाई भनेँ भने, यो कुरा आज त राम्रो देखिन्छ । तर भोलि, तपाईं रनभुल्लमा पर्नुहुन्छ र भन्नुहुन्छ, "ल, भैगो !" तपाईंले आत्मज्ञान पाउनुहुन्छ कि पाउनुहुन्न भन्नेबारे मेरो कुनै चासो छैन, तर म आफ्नो जीवनमा असफल हुन चाहदिनँ । यदि तपाईंलाई मन पर्छ भने केही समय संघर्ष गर्नुहोस् । यदि तपाईंलाई संघर्षबिना आफू केही हुँदिनँ जस्तो लाग्छ भने, ठीकै छ संघर्ष गर्नुहोस् । जब तपाईं तयार रहनुहुन्छ, त्यसबेला त्यो ममाथि छोडिदिनु होस् । म एक सफल गुरु हुन चाहन्छु— तपाईंले त्यसमा भरोसा गर्न सक्नुहुन्छ !

म यो सुनिश्चित गर्नेछु कि तपाईं मुक्त हुनुहुनेछ, तर तपाईंले त्यसलाई ममाथि छोड्नुपर्ने हुन्छ ।

म यो सुनिश्चित गर्नेछु कि तपाईं मुक्त हुनुहुनेछ, तर तपाईंले त्यसलाई ममाथि छोड्नुपर्ने हुन्छ । कम्तीमा पनि उमेर ढल्दै जाँदा जब तपाईं थर्थराउन थाल्नुहुन्छ, त्यसबेला त तपाईंले त्यो कुरा ममाथि छोड्नैपर्छ । तर, यदि तपाईंले अहिले नै मेरो हातमा सुम्पिनु भयो भने, हामीले तपाईंलाई जीवनको अन्तिम घडीमा त्यसको आनन्द लिनको लागि सहयोग गर्न सक्छौँ । यदि तपाईंलाई आफ्नै चटक मन पर्छ भने, ठीकै छ केही समयसम्म गर्नुहोस् । मलाई थाहा छ कि जब तपाईंहरू त्यो चटकबाट विरक्त बन्नुहुन्छ, तपाईंहरूमध्ये थुप्रै फर्किनुहुनेछ । जति चाँडो फर्किनुहुन्छ, त्यति नै उत्तम ! म यहाँ छँदै र सक्रिय रहँदै त्यो गर्नुहोस्— मुक्त हुनुहोस् अनि मलाई सफल बनाउनु होस् ! हेर्नुस् त म दुवै तरिकाले सफल भइरहेको छु...

 

प्रेम अनि कृपा