मृत्यु नजिकिँदै गरेको व्यक्तिका निम्ति के गरिनुपर्छ ?

मृत्यु अवश्यम्भावी छ, तर केही व्यक्तिमा मात्रै शालीनता पूर्वक मृत्यु बहन गर्ने सौभाग्य हुन्छ । मृत्युको नजिक पुगेको व्यक्तिलाई शन्तिपूर्वक जानको लागि के-कस्तो तयारी गर्न सकिन्छ अनि मृत्युपछि हुने शोकबाट कसरी मुक्त हुन सकिन्छ भन्ने विषयहरूमा सद्‌गुरु चर्चा गर्दै हुनुहुन्छ ।
Die Peacefully
 

यसअघि हामीले मृत्युको अन्तिम क्षणलाई कसरी आध्यात्मिक विकासको निम्ति सदुपयोग गर्न सकिन्छ भन्ने बारेमा चर्चा गऱ्यौँ । यो ब्लगमा हामी मृत्यु नजिकिँदै गरेको व्यक्तिका निम्ति के-कस्तो तयारी गर्न सकिन्छ भन्ने विषयमा कुरा गर्नेछौँ ।


प्रश्नः मेरी आमाको मृत्यु नजिकिँदै छ । उहाँलाई यहाँबाट शान्तिपूर्वक जानको लागि तयार गर्ने सबैभन्दा राम्रो तरिका के हुन सक्छ ?

सद्‌गुरुः संसारमा जताततै मानिसहरूले कसरी शान्तिपूर्वक मृत्यु बहन गर्ने भन्ने विषयमा चर्चा गरेका छन् । उनीहरूले वास्तवमा यो भनिरहेका हुन् कि कठिनाई झेलेर अनि तड्पिएर मर्न नपरोस्— उनीहरू आरामपूर्वक मृत्युको काखमा जान चाहन्छन् । मृत्युको त्रास र अशान्ति हटाउनको निम्ति तपाईंले यो सरल प्रक्रिया गर्न सक्नुहुन्छ— मृत्यु हुन लागेको व्यक्तिनजिक चौबिसै घण्टा एउटा दियो बालेर राख्नुहोस् । घ्यू हालेर बालिएको दियो उत्तम हुन्छ । यसबाट एउटा विशेष आभामण्डल सृजना हुन्छ, जसबाट मृत्युको त्रास र तड्पाइलाई केही हदसम्म कम गर्न सकिन्छ । साथै, तपाईं अर्को तरिका पनि अपनाउन सक्नुहुन्छ । तपाईं एकदमै सानो आवाजमा 'ब्रह्मानन्द स्वरूपा' (प्राण-प्रतिष्ठा गरिएको मन्त्र) बजाउन सक्नुहुन्छ । नेपथ्यमा यस किसिमको उर्जावान् ध्ननि बजाइ रहनाले पनि अशान्तिपूर्ण मृत्युको सम्भावनालाई टाल्न सक्छ ।

 

कसैलाई मृत्यु घोषित गरिएपछि पनि दियो बाल्ने र ब्रह्मानन्द स्वरूपा मन्त्र बजाउने प्रक्रिया अर्को १४ दिनसम्म जारी रहनुपर्छ, किनकि भलै मेडिकल भाषामा व्यक्तिको मृत्यु भए तापनि, उसको अस्तित्व अझै मरेको हुँदैन, उसले पूर्ण रूपमा मृत्यु प्राप्त गरेको हुँदैन । मृत्यु विभिन्न चरणहरूमा बिस्तारै हुन्छ । माटोको यो थुप्रो— शरीर— बाट जीवनको प्रक्रिया समाप्त हुने प्रक्रिया चरण-चरणमा हुन्छ । व्यवहारिक रूपमा फोक्सो, मुटु र मस्तिष्कले काम गर्न छोड्छन्, त्यसैले उसलाई मृत घोषित गरिन्छ । तर, अझै मृत्यु पूरा भएको हुँदैन । यहाँ सम्म कि त्यस व्यक्तिको शरीर जलाइए पनि, ऊ अझै पूर्ण रूपमा मरेको हुँदैन, किनकि अर्को आयाममा जाने प्रक्रिया अझै सुरु भइसकेको हुँदैन ।

यसैको आधारमा यस संस्कृतिमा व्यक्तिको मृत्यु भएको १४ दिनसम्म विभिन्न किसिमका संस्कारहरू गर्ने गरिएको हो । दुर्भाग्यवश, यी संस्कारहरूको पछाडि रहेको ज्ञान र शक्ति धेरै हदसम्म नष्ट भएको छ, अनि मानिसहरू केवल आफ्नो जीविको-पार्जनको निम्ति आफ्नै तरिकाले केही गरिरहेका छन् । एकदमै थोरै मानिसहरूले मात्रै त्यसको वास्तविक महत्त्व बुझेका छन् । जब कसैले पूर्ण रूपमा सचेत भएर शरीर छोड्छ, ऊ तत्कालै बन्धनबाट मुक्त हुन्छ, तसर्थ उसको निम्ति हामी केही पनि गर्दैनौँ । तर, अरू सबै मानिसहरूका लागि विभिन्न संस्कारहरू गरिन्छ, किनकि तपाईंले उनीहरूलाई बाटो देखाउनु पर्ने हुन्छ ।

यदि तपाईंको शत्रु नै मरिरहेको छ भनेपनि, तपाईंले उसको निम्ति उचित परिवेश सृजना गर्नुपर्छ, ताकि उसले शान्तिपूर्वक मृत्यु वहन गर्न सकोस् । त्यसबेला, तपाईं कहिल्यै कुनै घृणित काम नगर्नुहोस् ।

जब कसैको मृत्यु हुन्छ, सबैभन्दा पहिला उसको शरीरको घनिष्ठ रहेका वा शरीरलाई स्पर्श गरिरहने चीजहरू जलाइन्छ, जस्तै कि भित्री कपडा । बाँकी लुगाहरू, गहनाहरू, अरू सबैथोक तीन दिनभित्र बाँडिन्छ— एकजनालाई होइन, थुप्रै व्यक्तिहरूबिच बाँडिन्छ । सबैथोक जतिसक्दो चाँडो बाँडिन्छ, ताकि शरीरबाट बाहिर निस्किएको त्यो जीवन अल्मलियोस् । अब, उसलाई कता घुमिरहने भनेर थाहा हुँदैन । यदि तपाईंले उसको सबै सामान एउटै व्यक्तिलाई दिनुभयो भने, ऊ त्यहीँ जानेछ किनकि उसको आफ्नो शरीरको उर्जा अझैपनि कपडाहरूमा रहेको हुन्छ । यी सम्पूर्ण प्रक्रियाहरू मरेर गएकालाई शान्त पार्नको निम्ति मात्र नभई, उसका परिवार र आफन्तहरूमा समेत शान्ति पुऱ्याउनको लागि गरिन्थ्यो— ताकि, सबैले यो बुझ्न सकून् कि सबैथोक समाप्त भइसकेको छ । तपाईं त्यो व्यक्तिसँग कति संलग्न हुनुहुन्थ्यो वा कति आशक्त हुनुहुन्थ्यो भन्ने कुराले अब कुनै अर्थ राख्दैन, किनकि जे हुनुथियो, त्यो भइसक्यो— खेल समाप्त भइसक्यो !

साधारणतया, संसारको जुनसुकै सभ्यता वा संस्कृति भए तापनि, जहीँतहीँ यो भनिएको छ, ″यदि तपाईंको शत्रु नै मरिरहेको छ भनेपनि, तपाईंले उसको निम्ति उचित परिवेश सृजना गर्नुपर्छ, ताकि उसले शान्तिपूर्वक मृत्यु वहन गर्न सकोस् । त्यसबेला, तपाईं कहिल्यै कुनै घृणित काम नगर्नुहोस् ।″ सम्भवतः तपाईंले उसलाई युद्धमा मार्नुभएको हुन सक्छ, तर ऊ मरिरहेको बेला तपाई आफ्नो टोपी फुकाल्नु हुन्छ वा 'राम राम' भन्नुहुन्छ अथवा जे थाहा छ त्यही गर्नुहुन्छ । जब कोही मरिरहेको हुन्छ, त्यस क्षणमा अन्तिम सिट्ठी बजिसकेको हुन्छ, खेल समाप्त भएको हुन्छ, अब अरू प्रहार गर्नुको कुनै अर्थ हुँदैन !

यसैकारण, जब तपाई मृत व्यक्तिहरूप्रति उचित सम्मान नभएको देख्नुहुन्छ, तब तपाईंभित्र अशान्ति मच्चिन्छ । तपाईंले शरीरप्रति सम्मान देखाउनु पर्ने भएकोले होइन, बरु यसकारण किनकि ऊ बिस्तारै-बिस्तारै गइरहेको हुन्छ । उसले कस्तो जिन्दगी बाँच्यो भन्ने कुराले कुनै अर्थ राख्दैन, कम्तीमा पनि उसको मृत्यु सही तरिकाले हुनुपर्दछ । प्रत्येक मानिसमा कम्तीमा पनि त्यति सम्मको नियत हुनैपर्छ ।

Editor's Note: कायन्त स्थानम, ईशाद्वारा सञ्चालित दाहसंस्कारको सेवा हो, जुन शक्तिशाली उर्जाको आधारमा प्राचीन परम्परा र मृत्युको संस्कारलाई कुनै व्यवसायिक कामको रूपमा नभई सेवाको भावमा पुनरुत्थान गर्नमा समर्पित छ । साथै, सद्‌गुरुले कालभैरव कर्म र कालभैरव शान्ति प्रक्रियाहरू समेत तयार गर्नुभएको छ, जसबाट मृत व्यक्तिको शान्तिपूर्ण गमन सम्भव हुन सक्दछ । अधिक जानकारीको लागिः https://lingabhairavi.org/