के पूर्वजन्मले अहिलेको शरीर वा स्वरूप निर्धारण गर्छ ?

हामी जुन स्वरूपमा जन्मिन्छौँ, त्यो कसरी निर्धारित हुन्छ ? के हामीले कुन गर्भमा जन्म लिने भनेर रोज्न सक्छौँ ?
Do Past Lives Determine the Form We Are Born In?
 

अघिल्लो ब्लगमा सद्‌गुरुले मृत्युपछि पनि जीवन हुन्छ वा पुनर्जन्म हुन्छ भन्ने प्रश्नको जवाफ दिनुभयो । यो ब्लगमा सद्‌गुरु पूर्वजन्मले अहिलेको शरीर वा स्वरूप निर्धारण गर्छ भन्ने प्रश्नको जवाफ दिँदै हुनुहुन्छ ।

प्रश्नः जब कसैले पुनः जन्म लिन्छ, तब के ऊ पुनः त्यही लिङ्गमा जन्म लिन्छ ?

सद्‌गुरुः त्यस्तो बिलकुलै जरूरी छैन । मेरो वरिपरि यस्ता कैयौँ व्यक्तिहरू छन्, जो अघिल्लो जन्ममा जुन लिङ्गमा जन्मिएका थिए, अहिले फरक लिङ्गमा जन्मिएका छन् । केही मानिसहरूको सन्दर्भमा मैले यसलाई नजिकबाट अनुभव गरेको छु । पुनर्जन्मको सन्दर्भमा लिङ्ग, यहाँ सम्म कि प्रजाति पनि पहिलेको जन्मको जस्तै हुन आवश्यक छैन । वास्तवमा, यी सबै चीजहरू तपाईंको प्रकृति वा प्रवृत्तिबाट निर्धारित भएको हुन सक्दछ ।

गौतम बुद्धको सेरोफेरोमा जे भएको थियो

केही मानिसहरूको हकमा यस्तो हुने गर्छ, साथै केही योगीहरूको सन्दर्भमा समेत यस्तो भएको छ । विशेषगरी, गौतम बुद्धको सन्दर्भमा त यो अवश्य नै भएको थियो । थुप्रै बौद्ध भिक्षुहरू महिलाको रूपमा पुनः जन्मिएका थिए । अघिल्लो जन्ममा, यी बौद्ध भिक्षुहरू बुद्धसँग रहँदा महिलाहरूको तुलनामा पुरुषहरूको सङ्ख्या एकदमै बढी थियो, जुन मुख्यतः सांस्कृतिक कारणहरूले गर्दा भएको थियो । किनकि, ती समयहरूमा एउटी महिलाले आफ्ना बच्चाहरू नहुर्किउन्जेल सबैथोक छोडेर जान सक्थिनन् ।

मेरो वरिपरि यस्ता कैयौँ व्यक्तिहरू छन्, जो अघिल्लो जन्ममा जुन लिङ्गमा जन्मिएका थिए, अहिले फरक लिङ्गमा जन्मिएका छन् । केही मानिसहरूको सन्दर्भमा मैले यसलाई नजिकबाट अनुभव गरेको छु ।

जो भिक्षुहरू त्यहाँ पुरुषको रूपमा बसेका थिए, उनीहरूले एउटा कुरा महसुस गरे— आफूहरूको दाँजोमा बुद्धसँग महिला भिक्षुणीहरूको गहिरो लगाव थियो । यसको कारण के थियो भने महिलाको लागि कसैप्रति भावनात्मक स्तरमा गहिराइमा जोडिनु स्वाभाविक कुरा हो । पुरुषहरू लामो समयसम्म बसेर कठोर साधना गरिरहेका हुन्थे, जबकि महिलाहरूले बुद्धलाई हेरेकै भरमा उनीहरूको अनुहारमा आँसुको अविरल धारा बगिरहेको हुन्थ्यो । उनीहरू बुद्धलाई प्रमे गर्दथे, अनि बुद्ध पनि उनीहरूप्रति कोमल नजरले हेरिरहेका हुन्थे । यसबाट पुरुषहरूलाई ईर्ष्या हुन्थ्यो ।

तसर्थ, उनीहरूभित्र कतै न कतै महिलाहरू जसरी नै बुद्धसँग जोडिने अभिलाषा (तीव्र चाहना) हुन्थ्यो । आफ्नो त्यही अभिलाषाको कारण थुप्रै बौद्ध भिक्षुहरू अर्को जन्ममा महिलाको रूपमा जन्मिए । केही समयपछि उनीहरूलाई अघिल्लो जन्ममा आफू को थिएँ अनि कसरी यो जन्ममा महिला हुन पुगेँ भन्ने कुराको बोध भयो । उनीहरू स्तब्ध भए, "हामीले यति धेरै साधना गऱ्यौँ, तर के भगवान बुद्धले हामीलाई उपेक्षा गर्नुभयो ? उहाँले हामीलाई किन पुनः भिक्षु बनाउनु भएन ? अहिले, हामी यहाँ लोग्ने, बच्चाहरू र परिवारको यो झमेलामा फसिरहेका छौँ ।" यो यसकारण भएको थियो, किनकि उनीहरूमा महिलाप्रति ईर्ष्या थियो ।

मानिलिऔँ कि तपाईंलाई जतिखेर पनि खाइरहन मन पर्छ, र कुनै कारणवश त्यही अवस्थामा तपाईंको मृत्यु भयो । अर्को पटक, तपाईं यहाँ एकदमै मोटो-घाटो घरपालुवा सुँगुरको रूपमा आउन सक्नुहुन्छ ।

तपाईंको प्रवृत्तिले अर्को जन्म तय गर्छ

तपाईंका अभीप्साहरू, तपाईंका प्रवृत्तिहरूको आधारमा प्रकृतिले तपाईंलाई उपयुक्त शरीर दिन्छिन् । मानिलिऔँ कि तपाईंलाई जतिखेर पनि खाइरहन मन पर्छ, र कुनै कारणवश त्यही अवस्थामा तपाईंको मृत्यु भयो । अर्को पटक, तपाईं यहाँ एकदमै मोटो-घाटो घरपालुवा सुँगुरको रूपमा आउन सक्नुहुन्छ । यो तपाईंलाई दिइएको दण्ड होइन । अस्तित्वले इनाम र दण्डको सन्दर्भमा सोच्दैन । तपाईंका प्रवृत्तिहरू जे-जस्ता हुन्छन्, ती प्रवृत्तिहरूलाई पूरा गर्नको निम्ति जुन प्रकारको शरीर बढी सहायक हुन्छ, तपाईंले त्यही पाउनुहुन्छ ।

ती भिक्षुहरू पनि महिलाको रूपमा पुनः जन्मिए, किनकि महिलाहरूले जे अनुभव गरिरहेका थिए, भिक्षुहरूमा त्यसैको गहिरो चाहना थियो, उनीहरूमा त्यसैको मोह थियो । महिलाहरूमा बुद्धलाई प्रेम गर्ने र भावनात्मक रूपमा जोडिने सामर्थ्य थियो । जबकि, भिक्षुहरूमा त्यो क्षमताको अभीप्सा (तीव्र चाहना) थियो, जसकारण अनजानमै उनीहरूमा स्त्री हुने आकाङ्क्षा पलाइरहेको थियो ।

तपाईं कुन लिङ्गमा जन्मिनुहुन्छ वा कुन स्वरूपमा जन्मिनुहुन्छ भन्ने कुरा तपाईंले कुन चीजको तीव्र चाहना गर्नुहुन्छ भन्ने कुरामा निर्भर गर्दछ । त्यसैले, आफ्नो लक्ष्यप्रति ध्यान केन्द्रित गर्नु अनि आफूभित्र सबै सीमाहरूभन्दा परको अभिलाषा जगाउनु नै उत्तम तरिका हो । किनकि, त्यसबेला प्रकृतिलाई तपाईंसँग के गर्ने भनेर थाहा हुँदैन । वास्तवमा, जब प्रकृतिलाई तपाईंसँग के गरिनुपर्छ भनेर थाहा हुँदैन, यो तपाईंका निम्ति एकदमै राम्रो हुनेछ, किनकि तपाईं निकै सहजतापूर्वक आवश्यक काम गर्न सक्नुहुन्छ । तर, जब प्रकृतिलाई तपाईंसँग के गरिनुपर्छ भनेर थाहा हुन्छ, तपाईंलाई कि त यो पिँजडामा हालिन्छ वा त्यो पिँजडामा हालिन्छ— पुरुष रूपी पिँजडा वा स्त्री रूपी पिँजडा, सुँगुर रूपी पिँजडा, साङ्गला रूपी पिँजडा वा अन्य कुनै पिँजडामा । किनकि, यो शरीर पनि त एउटा पिँजडा नै हो !

महिलाहरूमा बुद्धलाई प्रेम गर्ने र भावनात्मक रूपमा जोडिने सामर्थ्य थियो । जबकि, भिक्षुहरूमा त्यो क्षमताको अभीप्सा (तीव्र चाहना) थियो, जसकारण अनजानमै उनीहरूमा स्त्री हुने आकाङ्क्षा पलाइरहेको थियो ।

त्यसैकारण, यदि तपाईंभित्र यस्तो अभीप्सा छ, जुन न त यसको लागि हो, न त त्यसको निम्ति नै— यदि तपाईंले यत्तिकै शून्यतालाई एकटकले हेरिरहेर त्यसमै तल्लिन हुनुभयो भने— यस अवस्थामा प्रकृतिलाई तपाईंसँग के गरिनुपर्छ भनेर थाहा हुँदैन । त्यतिखेर, प्रकृतिले तपाईंलाई यसतर्फ वा त्यसतर्फ धकेल्न सक्दिनन् । साथै, कुनै निर्णय समेत थोपर्न सक्दिनन् । यदि प्रकृतिले तपाईंमाथि निर्णय लिन सक्दिनन् भने, कसले निर्णय गर्छ त— त्यसबेला, तपाईंको निर्णय लागू हुनेछ !

Editor’s Note: 'मृत्यु' का चरणहरू अनि 'श्राद्ध' को महत्त्व