महाभारत अध्याय ८: भीष्मले राजकुमारीहरू अपहरण गरे

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
महाभारत अध्याय ८
 

सम्पूर्ण महाभारत अध्यायहरू


अघिल्लो अध्याय: मत्स्यगन्धीमार्फत कृष्ण दैपायनलाई जन्म दिएर केही समयपछि बालकलाई लिएर त्यहाँबाट जानुअघि पराशरले मत्स्यगन्धीलाई वरदान दिए, जसले गर्दा उनको शरीरबाट उत्सर्जित हुने माछाको गन्ध हटेर गयो र उनीबाट दिव्य सुगन्ध आउन थाल्यो, अनि उनी सत्यवती बनिन् । पहिजो नजरमै सत्यवतीसँग प्रेम भएपछि शान्तनुले उनको पिता दासासँग विवाहको प्रस्ताव राखे, तर सत्यवतीका सन्तानहरू नै पहिला राजा बन्नुपर्ने शर्त राखेपछि त्यसलाई अस्वीकार गर्दै विक्षिप्त अवस्थामा शान्तनु राज्यमा फर्किए । देवव्रतले पिताको उदासिनताको कारण थाहा पाएपछि दासासँग कुरा गरे अनि सत्यवतीकै सन्तानाहरू पहिला राजा बन्ने र आफूले कहिल्यै विवाह नगर्ने वचन दिए । तर, जति गरेपनि दासाको चित्त नबुझेपछि देवव्रतले कठोर कदम उठाए अनि आफैँलाई नपुंसक बनाए;यसरी देवव्रत भीष्म बने । अब अगाडि:


सद्‌गुरु: शान्तनु र सत्यवतीबाट दुई सन्तान जन्मिए । जेठो छोराको नाम चित्राङ्गढ र कान्छो छोराको नाम विचित्रवीर्य थियो । चित्राङ्गढ असाध्यै रिसाहा युवक थिए । एकदिन उनी जङ्गलमा जाँदै गर्दा एकजना गन्धर्वसँग उनको जम्काभेट भयो । गन्धर्व एकदमै असाधारण क्षमताहरूले भरिएका जीव थिए, जो अन्यत्रैबाट आएका थिए । संयोगवश, उनको नाम पनि चित्राङ्गढ थियो । गन्धर्वले ती युवकलाई "तिमी को हौ ?" भनेर सोध्दा उनले गर्व गर्दै भने, “मेरो नाम चित्राङ्गढ हो ।“ गन्धर्व हाँस्दै बोले, “आफूलाई चित्राङ्गढ भन्ने तिम्रो हिम्मत कसरी भयो ? म चित्राङ्गढ हुँ । यो मेरो नाम हो । तिमीले आफ्नो नाम बदल्नु नै उचित हुनेछ । तिमी मेरो नाम धारण गर्न लायक छैनौँ । यदि केही गरी अरू कसैले मेरो नाम धारण गर्ने हो भने, त्यो मेरो छोराले मात्र गर्न पाउँछ । अरूले होइन ।“ राजकुमार आवेशमा आएर भने, “तिमीले यस्तो भन्ने साहस कसरी गऱ्यौ ? यस्तो लाग्छ कि तिमीले धेरै बाँचिसक्यौ । मेरा बुबाले मेरो नाम चित्राङ्गढ राख्नुभएको हो, यो मेरो नाम हो । बरु, हामी लडेर यसलाई तय गरौँ ।“ दुवैजनाबिच लडाईं भयो अनि पलभरमै राजकुमारको मृत्यु भयो ।

"विचित्र" भनेको अजीब वा विकृत हो । "वीर्य" भनेको पौरुष (पुरुष प्रकृति) हो । अर्थात्, उनी विचित्र वा विकृत रूपको पौरुष थिए भन्न सकिन्छ ।

विचित्र राजकुमार

अब शान्तनुसँग एउटा छोरामात्र थिए— विचित्रवीर्य । "विचित्र" भनेको अजीब वा विकृत हो । "वीर्य" भनेको पौरुष (पुरुष प्रकृति) हो । अर्थात्, उनी विचित्र वा विकृत रूपको पौरुष थिए भन्न सकिन्छ । हामीलाई त्यसको वास्तविक अर्थ थाहा छैन । उनी कि त विवाह गर्न अनिच्छुक थिए वा अयोग्य । विवाह गर्ने र बच्चा पाउने कुरालाई हामीले अहिलेको सन्दर्भसँग दाँजेर हेर्नुहुँदैन । त्यो समयमा विवाह गर्नु र बच्चा जन्माउनु एकदमै महत्वपूर्ण हुने गर्थ्यो, किनकि राजाको निम्ति सबैभन्दा मुख्य चासोको विषय भनेकै छोराहरू जन्माउनु हुन्थ्यो । अन्यथा, राजाको उत्तराधिकारी को हुने भन्ने प्रश्न तेर्सिन्थ्यो ? हरेक दिन युद्धमा जाँदा जोसुकै पनि मारिने सम्भावना हुन्थ्यो । त्यसैले, जतिसक्दो चाँडो विवाह गरेर सन्तान जन्माउनु अति आवश्यक थियो । नत्रभने, तपाईंको सम्पूर्ण साम्राज्य अर्कैको अधीनमा हुन सक्थ्यो ।

चित्राङ्गढको मृत्यु भइसकेको थियो, अनि विचित्रवीर्य विवाह गर्न चाहँदैनथे । भीष्मले पनि विवाह नगर्ने प्रण लिइसकेका थिए । त्यसैले, कुरु वंशमा गतिरोध सृजना भएको थियो, जसकारण राज्य अगाडि बढिरहेको थिएन । भीष्मले आफ्नो पूरै जीवन राजा नबनिकनै राज्यको प्रतिनिधि बनेर सबैजनाको, सबैथोकको हरेचाह गरिरहेका थिए ।

जब राजकुमारी विवाहको लागि योग्य अवस्थामा पुग्थिन्, तब एउटा समारोह आयोजना गरिन्थ्यो, जसमा विवाहको लागि योग्य क्षेत्रियहरूले भाग लिन्थे । स्वयंवरमा युवतीहरूलाई आफ्नो नियति आफैँ रोज्ने स्वतन्त्रता दिइन्थ्यो ।

एकदिन, काशीका राजाले आफ्नी तीनवटी छोरीहरूको स्वयंवरको उद्‌घोष गरे । कुरु वंश त्यस क्षेत्रको सबभन्दा विशाल र गौरवशाली वंश भए तापनि, काशीका राजाले त्यहाँ निमन्त्रणा पठाएनन् । उनी आफ्ना छोरीहरूलाई विचित्रवीर्यसँग विवाह गराउन चाहँदैनथे, किनकि विचित्रवीर्य मर्द हो वा होइन जस्ता विषयहरूमा अनेक थरीका उडन्ते कुराहरू फैलिएका थिए । यो अपमानबाट भीष्म रिसले आगो भए । उनी आफ्नो वा अरू कसैको हितभन्दा पनि आफ्नो राज्य वा कुरु वंशको हितप्रति सबैभन्दा बढी निष्ठावान् थिए । यो बेइज्जतीको बदला लिनको लागि, उनी स्वयंवरमा गए ।

जब राजकुमारी विवाहको लागि योग्य अवस्थामा पुग्थिन्, तब एउटा समारोह आयोजना गरिन्थ्यो, जसमा विवाहको लागि योग्य क्षेत्रियहरूले भाग लिन्थे । स्वयंवरमा युवतीहरूलाई आफ्नो नियति आफैँ रोज्ने स्वतन्त्रता दिइन्थ्यो । समाजका योद्धा वर्गहरूलाई क्षेत्रिय भनिन्थ्यो । स्वयंवरमा राजा र योद्धा वर्गका सदस्यहरूले मात्र भाग लिन पाउँथे । युवतीहरू वा राजकुमारीहरू आफ्नो पति स्वयं छान्न सक्थे, कसैले पनि त्यसमा हस्तक्षेप गर्न सक्दैनथ्यो ।

जब भीष्मले अपहरण गरे

काशीमा तीनैजना बहिनीहरू—‍ अम्बा, अम्बिका र अम्बालिका— का निम्ति स्वयंवरको आयोजना गरियो । १८, १६ र १५ वर्षका तीनजना बहिनीहरू स्वयंवरमा उपस्थित थिए । १८ वर्षकी अम्बा पहिल्यैदेखि शाल्व राज्यका राजा सल्वसँग प्रेम गर्थिन् । स्वयंवरमा आफूले मन पराएको व्यक्ति रोज्ने सबैभन्दा सरल तरिका भनेको वधुलाई माला दिइन्थ्यो अनि उनी वरिपरि नजर डुलाउँथिन्, जब उनी एकजनालाई रोज्थिन्, तब त्यस व्यक्तिलाई माला लगाइदिन्थिन् । समारोहमा अम्बाले सल्वलाई माला लगाइदिइन् ।

त्यसैबेला भीष्मले स्वयंवर समारोहमा प्रवेश गरे । त्यहाँ उपस्थित अरू योद्धाहरू उनीसँग डराउँथे, किनकि उनी महान् योद्धा थिए । साथसाथै, उनीहरूलाई भीष्मले आफूलाई नपुंसक बनाएका अनि कहिल्यै विवाह नगर्ने प्रण लिएका थिए भन्ने कुरा ज्ञात थियो । त्यसैले, उनीहरूले भीष्मको उपहास गरे, “यी बूढा यतिखेर यहाँ के गर्न आएका होलान् ? के अब उनलाई पनि दुलही चाहियो ? के कुरु वंशमा यस्तो योद्धा छैन, जो यहाँ आएर वधुलाई लिएर जान सकोस् ? के त्यही भएर भीष्म यहाँ आउनुपरेको हो ?” आफ्नो वंशको खिल्ली उडाएकोप्रति भीष्म रिसले ज्वाला भए । उनले तीनैजना युवतीहरूलाई बन्दी बनाए । बाँकी योद्धाहरू र उनीबिच लडाइँ शुरु भयो, तर भीष्मले सबैलाई पराजित गरिदिए । साल्वले आफ्नी दुलहीको निम्ति लडे, तर भीष्मले उनलाई पराजित गरी अपमान गरे । त्यसपछि, उनले जबरजस्ती तीनैजना युवतीहरूलाई आफूसँगै लगे ।

अम्बाको दुर्दशा

अरू दुईजना भने खुसी देखिन्थे, किनकि उनीहरू वीर योद्धाद्वारा अपहरित भएका थिए । अघिल्लो पिँढीदेखि त्यसबेलासम्म आइपुग्दा एउटा कुरामा परिवर्तम भएको थियो । पहिले नारीले नियम निर्धारण गर्न सक्थिन् । तर, यतिखेर नारीलाई जबरजस्ती अपहरण गरेर लगिँदा पनि उनी खुसी थिइन् । अम्बा शोकमा डुबेकी थिइन् । कुरु राज्यको राजधानी हस्तिनापुर जाने क्रममा बाटोमा उनले भीष्मलाई भनिन्, “तपाईंले यो के गर्नुभयो ? म साल्वलाई प्रेम गर्थेँ अनि मैले उनलाई बरमाला पनि लगाइसकेकी थिएँ । उनी मेरा पति बनिसकेका छन् । तपाईं मलाई जबरजस्ती लैजान पाउनुहुन्न ।“ भीष्मले भने, “मैले अपहरण गरिसकेँ । जे–जति कुरा मेरो कब्जामा हुन्छ, त्यसमा कुरूवंशको अधिकार हुन्छ ।“ अम्बाले सोधिन, ”के तपाईं मसँग विवाह गर्नुहुनेछ?” उनले भने, “म होइन, विचित्रवीर्यसँग तिम्रो विवाह हुनेछ ।“ विचित्रवीर्यले अम्बिका र अम्बालिकासँग विवाह गरे, तर अम्बालाई उपेक्षा गर्दै भने, “यसले अरू कसैलाई वरमाला लगाइसकेकी छे । अरू कसैलाई प्रेम गर्दछे । त्यसैले, म योसँग विवाह गर्न सक्दिनँ ।“

विचित्रवीर्यले अम्बिका र अम्बालिकासँग विवाह गरे, तर अम्बालाई उपेक्षा गर्दै भने, “यसले अरू कसैलाई वरमाला लगाइसकेकी छे । अरू कसैलाई प्रेम गर्दछे । त्यसैले, म योसँग विवाह गर्न सक्दिनँ ।“

अम्बा पूरै दुविधामा परिन्, “त्यसोभए, अब म के गरूँ?” भीष्मले माफी माग्दै भने, "म तिमीलाई साल्व भएको ठाउँमा फर्काउने चाँजोपाँजो मिलाउँछु ।" उनी खुसी हुँदै घर फर्किइन् । तर, घर पुग्दा उनलाई अर्को झट्का लाग्यो । साल्वले भन्यो, “म यहाँ कसैबाट दान लिनको लागि बसेको होइन । मैले त्यो युद्ध हारेको थिएँ । त्यो बूढो भीष्मले मलाई पराजित गरेको थियो । अब ऊ मलाई दानको रूपमा दुलही फर्काइरहेको छ । म तिमीलाई अपनाउन सक्दिनँ । फर्किएर जानू अनि विचित्रवीर्यसँग विवाह गर्नू ।“ “नाइँ, उसले मलाई विवाह गर्न अस्वीकार गरिदियो ।“ “त्यसोभए भीष्मसँग गर्नू । म अब तिमीलाई अपनाउन सक्दिनँ, किनकि म कसैबाट दान लिन सक्दिनँ ।“

यहाँबाट पनि अस्वीकृत भएपछि उनी हस्तिनापूर फर्किइन् । उनले भीष्मलाई धम्क्याउँदै भनिन्, “तपाईंले मेरो जीवन बर्बाद गरिदिनुभयो । तपाईंकै कारण आफूले मन पराएको व्यक्तिबाट टाढा भएँ, तपाईंले मलाई जबरजस्ती उठाएर यहाँ ल्याउनुभयो, यहाँ जोसँग मेरो विवाह हुनुपर्ने हो, ऊ मसँग विवाह गर्न चाहँदैन । तपाईं पनि मसँग विवाह गर्नुहुन्न । यो सबै नौटङ्की के हो ? अब तपाईंले नै मसँग विवाह गर्नुपर्छ ।“ भीष्मले उनको कुरालाई बेवास्ता गर्दै भने, “म आफ्नो राज्यप्रति निष्ठावान् छु । मैले कहिल्यै विवाह नगर्ने प्रण लिएको छु, अब म त्यसमा वचनवद्ध छु ।“ पूरै हताश हुँदै अम्बा त्यहाँबाट निस्किइन् ।

म चाहन्छु कि तपाईं यो कल्पना गर्नुहोस, जहाँ ५००० वर्षअघि एउटी राजकुमारी सबैतिरबाट तिरस्कृत भएकी थिइन् । उनी न त आफ्नो बुबाको घरमा फर्किन सक्थिन्, न त आफ्ना पतिसमक्ष जान सक्थिन् । कहाँ जाने, के गर्ने केही पत्तो नभएकी अम्बा चरम निराशाको अवस्थामा त्यहाँबाट बाहिरिइन् ।

क्रमशः

सम्पूर्ण महाभारत अध्यायहरू