महाभारत अध्याय ७: देवव्रतको भीष्म प्रतिज्ञा

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
महाभारत अध्याय ७
 

सम्पूर्ण महाभारत अध्यायहरू


अघिल्लो अध्याय: शान्तनु गङ्गाको प्रेममा पूरै पागल भएकाले आफूले जसुकै गरिरहेको भए तापनि त्यसको कारण सोध्न नपाउने भन्ने गङ्गाको शर्त स्वीकार गरे । सोही शर्तअनुसार गङ्गाले पहिलो बच्चा जन्मिनेबित्तिकै नदीमा बगाइदिइन्; सातौँ बच्चासम्म यो क्रम जारी रह्यो । आठौँ बच्चाको पालामा खप्नै नसकेपछि शान्तनुले गङ्गालाई पछ्याए अनि बच्चालाई नदीमा बगाउनै लाग्दा खोसेर बचाए । गङ्गाले त्यसो गर्नु पछाडि वसुहरूले वशिष्ठ ऋषिबाट पाएका श्रापको कथा सुनाइन् अनि शर्त उल्लङ्घन गरेको कारण शान्तनुलाई छोडेर जाने उद्‌घोष गरिन् । आठौँ बच्चा देवव्रतलाई उचित शिक्षादीक्षा र अरू कुराहरूमा निपुण बनाएर १६ वर्षको उमेरमा फर्काउने वाचा गरी गङ्गा बिदा भइन् । १६ वर्षपछि गङ्गाले शान्तनुलाई छोरा सुम्पिइन्; देवव्रतलाई युवराज घोषणा गरियो अनि उनले असाध्यै राम्रोसँग राजकार्य सम्हाल्न थाले, जसकारण शान्तनु पुन: निष्फिक्री भए... अब अगाडि:


मत्स्यगन्धी, माझीहरूकी राजकुमारी

सद्‌गुरु: एकचोटी, छेडीका राजा उपरिचरा जङ्गलमा हप्तौँसम्म शिकार गरिरहेका थिए । यही अवधिमा उनले एउटी माझीकी छोरीमार्फत सन्तान जन्माए । जुम्ल्याहा बच्चाहरू जन्मिए; उनीहरू मत्स्यराजा र मत्स्यगन्धी थिए । राजाले छोरालाई आफूसँग लगे, तर छोरीलाई माझीहरूसँगै छाडेर गए । माझीहरूबिच हुर्किएकोले उनलाई सबैले मत्स्यगन्धी भनेर चिन्दथे; मत्स्यगन्धी अर्थात् ‘माछाको जस्तो गन्ध उत्सर्जन गर्ने ।’

मत्स्यगन्धी श्याम वर्णकी सुन्दर युवती भइन् । माझीहरूको मुखिया दासाले मत्स्यगन्धीलाई राम्रो हेरचाह गरेर हुर्काएका थिए । मत्स्यगन्धी मानिसहरूलाई डुङ्गामा वारपार गराउने काममा सघाउने गर्थिन् । एकपटक अथाह ज्ञानले भरिएका प्रबुद्ध व्यक्ति पराशरको आश्रममा आक्रमण गरियो, जसकारण उनको खुट्टामा गहिरो चोट लाग्यो । उनी जसोतसो त्यहाँबाट भाग्न सफल भए, अनि अत्यन्तै कठिनाइपूर्वक सानो टापुमा पुग्न सफल भए, जहाँ माझीहरूको बस्ती थियो । पराशरको अवस्था देख्नेबित्तिकै माझीहरूले उनलाई लिएर गए, अनि मत्स्यागन्धीलाई उनको उपचार र हेरचाहको जिम्मा सुम्पियो ।

आफ्नो जुम्ल्याहा भाइ चाहिँ दरबारमा बसिरहेको, तर आफू भने माझीहरूको बिचमा बस्नु परिरहेको कुराले उनलाई जतिबेला पनि पिरोलिरहेको हुन्थ्यो ।

पराशरको जाज्वल्यमान व्यक्तित्वको कारण मत्स्यगन्धी स्वाभाविक रूपमा उनीतर्फ आकर्षित भइन् । आफ्नो जुम्ल्याहा भाइ चाहिँ दरबारमा बसिरहेको, तर आफू भने माझीहरूको बिचमा बस्नु परिरहेको कुराले उनलाई जतिबेला पनि पिरोलिरहेको हुन्थ्यो । यदि ऋषिसँग सम्बन्ध जोड्न सकियो भने, कहीँ न कहीँ पुगिएला कि भन्ने कुरा मत्स्यगन्धीले सोचिन् । उनीहरू नदीको किनारमा बसोबास गर्थे; केही समयपछि पराशर र मत्स्यगन्धीबाट बच्चाको जन्म भयो, जसको नाम द्वैपायन राखियो । उनी श्याम वर्णको भएकोले उनलाई कृष्ण पनि भनिन्थ्यो । पछि गएर यिनै कृष्ण द्वैपायन वेदव्यासको रूपमा प्रसिद्ध भए, जसले वेदहरूको सङ्कलन गरे अनि महाभारतको कथा रचे ।

पराशर बच्चा लिएर त्यहाँबाट हिँडे । जानुअघि उनले मत्स्यगन्धीलाई वरदान दिए, जसले गर्दा उनको शरीरबाट उत्सर्जित हुने माछाको गन्ध हटेर गयो अनि उनीबाट यस्तो दिव्य सुगन्ध आउन थाल्यो, जुन त्यसअघिसम्म कसैले कहिल्यै जानेका थिएनन् । उनीबाट यस्तो फूलको सुगन्ध आइरहेको थियो, जुन यस धरतीको होइन भन्न सकिन्थ्यो । यस अद्‌भुत सुगन्धको कारण उनको नाम परिवर्तन गरेर सत्यवती राखियो, जसको अर्थ ‘सत्यको सुवास उत्सर्जन गर्ने’ हो । अत: यही गुणले गर्दा उनी अरूहरूलाई आफूतर्फ आकर्षित गर्थिन् ।

शान्तनुले सत्यवतीसँग विवाहको प्रस्ताव राखे

दासाले भने, “ठीक छ । तर, यदि मेरी छोरीबाट जन्मिएका सन्तानहरू कुरु वंशको भावी राजाहरू बन्ने हो भनेमात्र, म तपाईंसँग आफ्नी छोरीको विवाह गराउन सक्छु ।“ शान्तनुले ठाडै अस्वीकार गरिदिए, “यो सम्भव छैन...

एकदिन, शान्तनुले सत्यवतीलाई देखे र पहिलो हेराइमै उनको सत्यवतीसँग माया बस्यो । उनले सत्यवतीका पितासँग विवाहको लागि सत्यवतीको हात मागे । माझीहरूको मुखिया दासा कुनै ठूलो राजा नभए तापनि, उनी त्यस क्षेत्रको सानोतिनो रजौटा भएकोले उनी दिमागमा रणनीतिहरू बुनिरहेका हुन्थे । एउटा सम्राटले आफ्नी छोरीको हात मागिरहेको देखेपछि, दासाले यो नै सम्झौता गर्ने मौका हो भन्ने सोचे । दासाले भने, “ठीक छ । तर, यदि मेरी छोरीबाट जन्मिएका सन्तानहरू कुरु वंशको भावी राजाहरू बन्ने हो भनेमात्र, म तपाईंसँग आफ्नी छोरीको विवाह गराउन सक्छु ।“ शान्तनुले ठाडै अस्वीकार गरिदिए, “यो सम्भव छैन । मैले पहिल्यै आफ्नो छोरा देवव्रतलाई गद्दी सुम्पिसकेको छु । ऊ कुरु वंशको सबैभन्दा असल राजा हो ।“

चतूर माझीले राजातिर हेरे अनि उनी पूर्ण रूपमा प्रेममा अन्धो भएको महसुस गरेपछि भने, “त्यसोभए, मेरी छोरीलाई बिर्सिनुहोस् ।“ शान्तनुले बिन्ती गरे । राजाले जति धेरै बिन्ति गर्दै गए, माझीलाई आफ्नो दाउ त्यति नै पेचिलो भएको महसुस भइरहेको थियो । उनी जालमा ठूलो माछा फसाउन चाहन्थे । उनले भने, “यो तपाईंको हातमा छ । यदि तपाईं मेरी छोरीसँग विवाह गर्न चाहनुहुन्छ भने, सत्यवतीमार्फत जन्मिएका सन्तानहरू कुरु वंशको भावी राजा हुनुपर्छ । त्यसो हुन सक्दैन भने, खुसीखुसी आफ्नो महलमा फर्किनुहोस् ।“

शान्तनु एकपटक पुनः निराश भए अनि मलिन अनुहार लिएर बस्न थाले । उनले सत्यवतीलाई आफ्नो दिमागबाट निकाल्नै सकेनन् । सत्यवतीको सुगन्धले उनलाई यसरी सम्मोहित गरिदिएको थियो कि एकपटक पुन: आफ्नो राज्यको कामकाजप्रति उनको रुचि हराउँदै गयो अनि शान्तनु यत्तिकै विरक्त भएर बस्न थाले । आफ्नो बुबाको यो अवस्था देखेपछि कर्तव्यनिष्ठ छोरा देवव्रतले सोधे, “राज्यमा सबैकुरा एकदमै राम्रोसँग चलिरहेको छ, तर तपाईंलाई कुन कुराले सताइरहेको छ ?” शान्तनुले केही भएको छैन भन्ने इशारामा टाउको हल्लाए अनि लाजले शिर झुकाए, किनकि उनी आफ्नो छोरालाई वास्तविक कुरा के हो भनेर भन्न सकिरहेका थिएनन् ।

आज्ञाकारी छोरा भएकोले उनी त्यस सारथीसमक्ष गए, जसले शान्तनुलाई शिकारमा लिएर गएका थिए । उनले सोधे, “शिकारबाट फर्किएपछि मेरो बुबा पहिलेकै जस्तो हुनुहुन्न । उहाँलाई के भएको थियो ?” सारथीले भने, “के भएको हो भनेर मलाई पनि राम्रोसँग त थाहा छैन । मैले उहाँलाई माझीहरूको मुखियाको घरमा लिएर गएको थिएँ । तपाईंको बुबा भित्र प्रवेश गर्दा राजाको रूपमा पूरै जोश र प्रेमले भरिपूर्ण अवस्थामा जानुभएको थियो । तर, उहाँ त्यहाँबाट बाहिर आउँदा त भूत जस्तै देखिनुभएको थियो ।“

देवव्रतको भीष्म प्रतिज्ञा

सत्यतथ्य के हो भनेर पत्ता लगाउनको लागि देवव्रत स्वयं त्यहाँ पुगे । दासाले भने, ”राजाले मेरी छोरी मन पराउनुभएको छ अनि विवाह गर्न चाहनुहुन्छ । मैले यत्ति भनिरहेको छु कि सत्यवतीबाट जन्मिएका सन्तानहरू भविष्यमा कुरु वंशको राजा हुनुपर्नेछ । यो एउटा सामान्य शर्त हो । समस्या के हो भने, तपाईं यसको लागि तगारो बन्नुभएको छ ।“ देवव्रतले भने, “यसमा कुनै समस्या छैन । म राजा बन्नैपर्छ भन्ने छैन । म वचन दिन्छु कि म कहिल्यै राजा बन्नेछैन । सत्यवतिको सन्तान नै राजा बन्नेछन् ।“

अतिशय भएपछि देवव्रतले चरम कदम उठाए र आफैँलाई नपुङ्सक बनाए । उनले प्रतिज्ञा गरे, “म कहिल्यै बच्चा जन्माउदिनँ । अब म बच्चा जन्माउन योग्य पनि रहिनँ । के अब तपाईं सन्तुष्ट हुनुहुन्छ ?”

माझी मुस्कुराउँदै बोले, “त्यो त ठीकै छ, तर तपाईं अहिले एक युवक हुनुहुन्छ र आफ्नो पराक्रम देखाउनको लागि तपाईं यी कुराहरू भनिरहनु भएको हुन सक्छ । तर, पछि गएर तपाईंका बच्चाहरू भएपछि उनीहरू गद्दीको लागि लड्नेछन् ।“ तब देवव्रतले भने, “म कहिल्यै विवाह गर्नेछैन अनि सन्तान जन्माउने छैन । सत्यवतीका सन्तानहरूलाई राजा बन्ने अधिकार मिल्नेछ । योभन्दा बढी के चाहियो ?“ माझी आफ्नो खाना खाँदै थिए; सावधानीपूर्वक माछाका काँडाहरू झिकिरहेका थिए । उनले देवव्रततर्फ हेर्दै भने, “हेर्नुस्, म तपाईंका सबैकुराहरूको निकै प्रशंसा गर्छु । तर, जीवनका आफ्नै तौर–तरिकाहरू हुन्छन्, जुन तपाईंले अहिले जान्नुभएको छैन । भलै, तपाईंले विवाह नगरे तापनि पछि बच्चाहरू हुन सक्छन् ।“

यति सुनेर अतिशय भएपछि देवव्रतले चरम कदम उठाए र आफैँलाई नपुङ्सक बनाए । उनले प्रतिज्ञा गरे, “म कहिल्यै बच्चा जन्माउदिनँ । अब म बच्चा जन्माउन योग्य पनि रहिनँ । के अब तपाईं सन्तुष्ट हुनुहुन्छ ?” अन्तत: माझीले स्वीकार गरे । त्यसबेला, सबैजनाले टिप्पणी गरे, "आफैँलाई नपुङ्सक बनाउनु भनेको सबैभन्दा कठोर काम हो ।" त्यसैले मानिसहरूले उनलाई भीष्म भने, जसले आफैँमाथि भीषण कदम चालेका थिए, त्यो पनि अरू कसैको दबाबबिनै ! यसरी देवव्रत भीष्म बने । अन्ततः शान्तनु र सत्यवतिको विवाह भयो ।

क्रमशः

सम्पूर्ण महाभारत अध्यायहरू