महाभारत अध्याय ६: देवव्रतको जन्म

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
महाभारत अध्याय ६: देवव्रतको जन्म
 

सम्पूर्ण महाभारत अध्यायहरू


अघिल्लो अध्याय: देवलोकमा अभद्र र अपमानजनक व्यवहार देखाएपछि इन्द्रको श्रापबाट महाभिषेक शान्तनुको रूपमा पुनः जन्मिए । अनजानमै आफ्नो शरीरको माथिल्लो कपडा खसेर शरीर उदाङ्गो हुँदा पनि गङ्गाले त्यसबाट आनन्द लिइरहेकी छिन् भन्ने कुरा इन्द्रलाईआभाष भएपछि गङ्गाले पुनः मनुष्यको रूपमा जन्मिनु पर्ने श्राप पाइन् । पुनः जन्म लिनुको कारण गङ्गालाई स्पष्टसँग थाहा भएकोले जङ्गलमा शिकार खेल्ने क्रममा एकदमै तिर्खाएका शान्तनु पानी पिउन नदीमा आएपछि गङ्गा एक सुन्दर युवतीको रूपमा प्रकट भइन् अनि गङ्गामा नजर पर्नेबित्तिकै शान्तनु प्रेममा चुर्लुम्म डुबे । अब अगाडि:


सद्‌गुरु: शान्तनु गङ्गाको प्रेममा यतिसम्म पागल थिए कि उनले गङ्गाका सबै शर्तहरू सहर्ष स्वीकार गरे । अत: गङ्गा उनकी अत्यन्तै सुन्दर एवं अद्‌भुत पत्नी बनिन् । अनि, उनी गर्भवति भइन् । गङ्गाले एउटा सुन्दर बच्चालाई जन्म दिइन्, तर तत्कालै उनले बच्चा लिएर नदीमा गइन् अनि बगाइदिइन् । शान्तनुले यो दृश्यलाई पत्याउनै सकेनन्— आफ्नो पहिलो सन्तानलाई आफ्नी पत्नीले नदीमा बगाइदिएकी थिइन् ! उनको हृदय छियाछिया भयो, तर यदि उनले गङ्गालाई यसको कारण सोधे भने उनी छोडेर जानेछिन् भन्ने कुरा शान्तनुले सम्झिए । जो व्यक्ति पहिले खुसी र प्रेममा मग्न भइरहेका हुन्थे, एकाएक उनी पीडाले आहत हुन थाले अनि आफ्नै पत्नीसँग डराउन थाले । तथापि, उनले गङ्गालाई असाध्यै प्रेम गर्ने भएकोले दुवैजना सँगसँगै बसिरहे ।

गङ्गाले अर्को बच्चालाई जन्म दिइन् । एक शब्द नै नबोलिकन उनले बच्चालाई नदीमा लिएर गइन् अनि बगाइदिइन् । यस कार्यबाट विक्षिप्त भएर शान्तनु बौहुलाउन लागेका थिए । उनलाई यो असह्य भइरहेको थियो, यद्यपि उनले केही बोल्न सकेनन् किनकि एक शब्द मात्रै बोल्ने हो भनेपनि गङ्गा त्यहाँबाट जाने थिइन् ।

जब आठौँ बच्चाको जन्म भयो, शान्तनुलाई अत्यन्तै असह्य भयो; उनले आफूलाई रोक्न सकेनन्, त्यसैले गङ्गालाई नदीसम्म पछ्याए । गङ्गाले बच्चालाई नदीमा बगाउनै लाग्दा शान्तनुले हत्तपत्त बच्चालाई खोसे...

दोस्रो बच्चा बग्यो, तेस्रो बच्चा पनि बग्यो । यसरी सातौँ बच्चासम्म यो क्रम जारी रह्यो । गङ्गाको यस कार्यबाट शान्तनु नराम्रोसँग आतङ्कित भएका थिए । शान्तनुले गङ्गालाई प्रेमको भावमा नभई भयको भावले हेर्न थालेका थिए । जब आठौँ बच्चाको जन्म भयो, शान्तनुलाई अत्यन्तै असह्य भयो; उनले आफूलाई रोक्न सकेनन्, त्यसैले गङ्गालाई नदीसम्म पछ्याए । गङ्गाले बच्चालाई नदीमा बगाउनै लाग्दा शान्तनुले हत्तपत्त बच्चालाई खोसे अनि भने, “अब त अत्ति भयो ! तिमी यस्तो अमानविय काम किन गरिरहेकी छ्यौ ?” गङ्गाले भनिन्, “तपाईंले शर्त उल्लङ्घन गर्नुभयो । अब म यहाँबाट जान्छु । तर, जानुअघि म तपाईंलाई यसको कारण अवश्य बताउनेछु ।”

सायद तपाईंले वशिष्ठ ऋषिको बारेमा सुन्नुभएको होला । वशिष्ठ ऋषि आफ्नो आश्रममा बस्ने गर्थे अनि उनीसँग नन्दिनी नामको गाई थिइन्, जोसँग दैवी गुणहरू थिए । एकदिन, आठजना वसुहरू आफ्नी पत्नीहरूसँग छुट्टी मनाउन त्यसै क्षेत्रमा आए ।

शास्त्रमा वसुहरूलाई विमानमा वा त्यस्तै कुनै साधनमा उड्न सक्ने भनेर व्याख्या गरिएको छ । यी विमानहरू स्वचालित हुन्थे । यी विमानहरू कसरी उड्थे, कसरी अवतरण गर्थे, कस्तो देखिन्थे भन्ने कुरा विस्तारमा व्याख्या गरिएको छ । यी विमानहरूभित्र कुनै आगो वा तेलबिनै आफैँ बत्ती बलिरहेको हुन्थ्यो ।

वसुहरू वशिष्ठ ऋषिको आश्रमतर्फ गइरहेका थिए, जहाँ उनीहरूले अविश्वसनीय दैवी गुण भएकी नन्दिनी गाई देखे । प्रभास नाम गरेका वसुकी पत्नीले भनिन्, “मलाई त्यो गाई चाहियो ।“ केही सोच्दै नसोची प्रभास बोले, “ल जाऔँ, त्यो गाई लिएर आऔँ ।“ अर्का दुईजना वसुहरूले भने, “तर, यो गाई हाम्रो होइन । यो त ऋषिको गाई हो । हामीले यसलाई किन लिनुपऱ्यो ?“ प्रभासकी पत्नीले जवाफ फर्काइहालिन्, “नामर्दहरूसँग सधैँ केही न केही बहानाहरू हुन्छन् । तिमीहरू गाई ल्याउन सक्दैनौँ, त्यसैले धर्मको कुरा बिचमा ल्याइरहेका छौ ।“ यता प्रभासमा आफू मर्द (पुरुष) हुनुको भाव झन् चुलियो अनि आफ्ना अरू साथीहरूको सहयोगमा गाई चोर्ने प्रयास गरे ।

जब वशिष्ठलाई आफ्नो प्रिय गाईको चोरि हुँदैछ भन्ने कुरा ज्ञात भयो, उनले वसुहरूलाई फेला पारे अनि भने, “यस्तो काम गर्ने तिमीहरूको हिम्मत कसरी भयो ! तिमीहरू पाहुना बनेर आयौ र हामीले तिमीहरूको यत्रो सत्कार गऱ्यौँ । अनि अब अन्त्यमा तिमीहरूले मेरै गाई चोरेर लैजाने आँट गरेका ?” उनले वसुहरूलाई श्राप दिए, “तिमीहरू मानिसको रूपमा जन्मिनु परोस् अनि मनुष्य हुनुको सम्पूर्ण सीमाहरू झेल्नु परोस् । तिमीहरूको प्वाँख काटियोस्, जसले गर्दा तिमीहरू उड्न सक्ने छैनौँ । तिमीहरू यो भौतिक शरीरमा रहेर यही धरतीमा जीवन बिताउनु परोस् । तिमीहरू पनि बाँकी मानिसहरू जस्तै जन्मिनु र मर्नु परोस् ।”

गङ्गा बोलिन्, “वसुहरूले म देवलोकमा छु अनि अब मैले मानिसको रूपमा पृथ्वीमा जानुपर्ने श्राप पाएकी छु भन्ने कुरा थाहा पाएपछि आठैजना मसानु आएर केही यस्तो गर्नुहोस् ताकि हामी तपाईंको गर्भबाट जन्मिऔँ, साथै यस धरतीमा हाम्रो जीवनकाल सकेजति कम बनाइदिनु होस् भनेर प्रार्थना गरे ।”

अहिले ऊ शिशु नै छ, त्यसैले म उसलाई आफूसँगै लिएर जानेछु । ऊ सोह्र वर्षको भएपछि, म उसलाई लिएर आउनेछु । त्यसबेलासम्म म उसको उचित शिक्षादीक्षामा ध्यान दिनेछु । एक कुशल राजा बन्नको निम्ति आवश्यक सम्पूर्ण कुराहरू उसलाई प्रदान गरिनेछ, सोह्र वर्षको भएपछि म उसलाई तपाईंसँग छोड्नेछु ।

गङ्गाले अन्त्यमा शान्तनुलाई भने, “म त उनीहरूको इच्छालाई पूरा गरिरहेकी थिएँ । उनीहरू यस धरतीमा जन्मिनेबित्तिकै आफ्नो श्रापबाट छिटोभन्दा छिटो मुक्त हुन चाहन्थे । मैले सातजनालाई लामो आयुबाट बचाउन सकेँ । तपाईंले आठौँ बच्चाको जीवन बचाउनुभयो । ऊ प्रभास हो, जो त्यस चोरीमा मुख्य दोषी थियो । सायद त्यसैकारण उसले यस धरतीमा लामो जीवनकाल बिताउनुपर्ने भएको होला । अहिले ऊ शिशु नै छ, त्यसैले म उसलाई आफूसँगै लिएर जानेछु । ऊ सोह्र वर्षको भएपछि, म उसलाई लिएर आउनेछु । त्यसबेलासम्म म उसको उचित शिक्षादीक्षामा ध्यान दिनेछु । एक कुशल राजा बन्नको निम्ति आवश्यक सम्पूर्ण कुराहरू उसलाई प्रदान गरिनेछ, सोह्र वर्षको भएपछि म उसलाई तपाईंसँग छोड्नेछु ।” यति भनेर गङ्गाले बच्चालाई लिएर गइन् ।

शान्तनु निकै उदास र निराश बन्न थाले । आफ्नो राज्यप्रति रूचि हराउन भालेपछि उनी यत्तिकै बरालिएर हिँड्न थाले । कुनैबेला एक महान् राजा रहेका व्यक्ति एकदमै निराश र हताश व्यक्ति बनेका थिए । उदासिनतामा डुबेका शान्तनु यताउती भट्किन थाले— उनलाई अब के गर्ने भन्नेबारे केही पनि थाहा थिएन ।

१६ वर्षपछि, गङ्गाले शान्तनुमार्फत जन्माएकी छोरालाई लिएर आइन् अनि शान्तनुलाई सुम्पिइन् । उनको नाम देवव्रत थियो । देवव्रतले स्वयं परशुरामबाट धनुर्विद्या सिकेका थिए । उनले वृहस्पतिबाट वेदहरूको ज्ञान प्राप्त गरेका थिए । उनले सबैभन्दा योग्य गुरुहरूबाट सबैथोकको शिक्षा प्राप्त गरेका थिए, अनि एक कुशल राजा बन्नको लागी तयार भएका थिए । पूरै जोस र उमङ्गले भरिएको अनि निकै ठूलो जिम्मेवारी बहन गर्न तयार भएको यी युवकलाई देखेपछि शान्तनुको निराशा हट्यो अनि उनले एकदमै प्रेम र उत्साह भावमा आफ्नो छोरालाई अङ्गाले । उनले देवव्रतलाई युवराज घोषणा गरे । देवव्रतले असाध्यै राम्रोसँग राजकार्य सम्हाले ।

शान्तनु पुनः स्वतन्त्र र प्रसन्न हुन थाले । उनी फेरि शिकारमा जान थाले... अनि पुनः प्रेममा परे ।

क्रमशः

सम्पूर्ण महाभारत अध्यायहरू