महाभारत अध्याय ५: शान्तनु र गङ्गाको मिलन

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
महाभारत अध्याय ५
 

सम्पूर्ण महाभारत अध्यायहरू


अघिल्लो अध्याय: राजा दुश्यन्तले जङ्गलमा शिकार गर्ने क्रममा एउटा हरिणलाई वाण हाने, जसलाई शकुन्तलाले पालेकी थिइन् । शकुन्तलालाई देख्नेबित्तिकै राजा दुश्यन्तले कण्व ऋषिको अनुमति लिएर विवाह गरे । केही समयपछि लिन आउने वाचा गरेका दुश्यन्त नआएपछि, दुश्यन्तमार्फत जन्मिएको छोरो लिएर शकुन्तला उनको महलतर्फ गइन् । तर, श्रापको कारण दुश्यन्तलाई त्यो याद नभएपछि, शकुन्तला छोरालाई लिएर जङ्गलतर्फ गइन् । शकुन्तलाको छोरा भरत जङ्गलमै विभिन्न जनावरहरूसँग हुर्किए अनि निकै पराक्रमी र शक्तिशाली भए । केही समयपछि राजा दुश्यन्त जङ्गलमा शिकार गर्न आउँदा भरतको कलाबाट चकित परे र अन्ततः आफ्नै छोरा भएको थाहा पाएपछि शकुन्तला र भरतलाई सँगै लिएर महल गए । अब अगाडि:


सद्‌गुरु: राजा भरतका पाँचजना छोराहरू थिए । जब उनीहरू ठूला भए, राजा भरतले एकएकलाई नियाले अनि आफ्ना छोराहरू त्यो राज्यको लागि उत्तम राजा बन्न नसक्ने निष्कर्षमा पुगे । राजाको छोरा हुनु मात्रै राजा हुनको लागि पर्याप्त छैन भनेर पहिलो पटक राजाबाट यस्तो समझदारीको कुरा आएको थियो । उनले यो निर्णय गरे कि राजाको घरमा जन्मिँदैमा कोही राजा बन्नको लागि योग्य हुँदैन । उनले यसलाई लागू समेत गरे । उनको यो कुरालाई निकै महत्त्व दिइयो, किनकि संसारमा पहिलोपटक राजाको छनौट जन्मको आधारमा नभएर गुणको आधारमा हुँदै थियो । राजा भरतको सन्तुलित मन, निष्पक्षता र सबै नागरिकहरूलाई समावेश गर्ने भावनाको लागि उनलाई पुजिन्थ्यो अनि श्रद्धा गरिन्थ्यो— यही कारणले नै उनको नामबाट राष्ट्रको नाम रहन गएको हो ।

उनले आफ्ना सन्तानहरूलाई राजा बन्नको लागि योग्य देखेनन्, अनि एक योग्य राजाको खोजीमा लागे । अन्ततः उनले विधातालाई उत्तराधिकारीको रूपमा चयन गरे, जो वृहस्पति र उनको भाइकी पत्नी ममतामार्फत जन्मिएका थिए । वृहस्पतिले कामवासनाको आवेगमा ममतासँग जबर्जस्ती सम्बन्ध स्थापित गरेका थिए— अर्थात्, ममताको बलात्कारको नतिजाबाट विधाताको जन्म भएको थियो । यी युवकलाई भरतले राजा बनाए । विधाताले आफूलाई एउटा महान् राजाको रूपमा उभ्याए अनि आफ्नो जीवनकालभरि निकै बुद्धिमानी र सन्तुलित रूपमा राज्य सञ्चालन गरे ।

महाभिषेकको पतन

विधाताको चौधवटा पुस्तापछि, शान्तनुको आगमन भएको हो, र अब हामी उनैको कथा आरम्भ गर्दैछौँ ।

शान्तनु, पाँच पाण्डव र कौरवहरूका जिजुबाजे थिए । आफ्नो अघिल्लो जन्ममा शान्तनुलाई महाभिषेक भनेर चिनिन्थ्यो । उनी पूर्ण सिद्ध भएर देवलोक पुगेका थिए । एकदिन उनी इन्द्रको दरबारमा आफ्नो आसनमा बसिरहेको बेला देवी गङ्गा आइपुगिन् । त्यहाँ स्थिति यस्तो भइदियो कि उनी एक क्षणको लागि बेखबर के भएकी थिइन्, शरीर छोपिएको माथिको कपडा खस्यो अनि शरीरको माथिल्लो भाग उदाङ्गो भयो । ती दिनहरूको उचित आचरणअनुसार सबै पुरूषहरूले शिर निहुराए । तर, भर्खर–भर्खरै देवलोक पुगेका महाभिषकले गङ्गालाई एकोहोरो हेरिरहे ।

इन्द्रले महाभिषेकको यो अनुचित आचरण र असभ्यतालाई देख्नेबित्तिकै उद्‌घोष गरे, “तिमी देवलोकमा रहनको लागि अयोग्य छौ । यहाँबाट फर्किएर एकपटक पुनः मनुष्यको रूपमा जन्म लिनू ।” जब इन्द्रले गङ्गालाई हेरे, यता गङ्गाले पनि त्यो हेराइको आनन्द लिइरहेकी छिन् भन्ने महसुस गरे । इन्द्रले गङ्गालाई भने, “यो पूर्णतया अनुचित हो । तिमी यो स्थितिको आनन्द लिइरहेकी जस्ती देखिन्छ्यौ । तिमीले पनि गएर पुनः मनुष्यको रूपमा जन्म लिनू । मानिसको रूपमा जन्मिनुमा जे–जति पीडा र सुखहरू हुन्छन्, तिमीले ती सबै भोग्नुपर्ने छ । यो दम्भबाट मुक्त भएपछि फर्किएर आउन सक्नेछ्यौ ।”

शान्तनु र गङ्गाको मिलन

महाभिषेक शान्तनुको रूपमा पुन: जन्मिए । कुनै समय गङ्गासँग उनको भेट भयो । उनलाई आफ्नो अघिल्लो जन्मबारे याद थिएन, तर गङ्गालाई सबैथोक याद थियो । गङ्गाले उनलाई आफूतर्फ आकर्षित गर्ने कोसिस गरिन्, तर राजा भएको हुनाले उनी यताउता भट्किरहन्थे । शान्तनु एकदमै कुशल शिकारी पनि थिए । जब उनी शिकारमा जान्थे, उनी त्यसमा यति मग्न हुन्थे कि उनको लागि शिकार नै पूजा बन्दथ्यो । एकपटक कैयौँ हप्तासम्म उनी गङ्गाको किनारमा शिकार गरिरहे । उनी मछुवा (माछा मार्ने व्यक्ति) थिएनन्; उनी शिकारी थिए, त्यसैले उनको ध्यान आफ्नो शिकारमा मात्रै हुन्थ्यो । उनले नदीतर्फ ध्यान नै दिएनन् । गङ्गा पर्खिरहिन् ।

प्रायःजसो उनलाई भोक वा प्यास लागेको बेला, वा अन्य कुनै चीज चाहिएको बेला उनका सेवकहरू ती कुराहरू उनलाई टक्र्याउँथे । एकदिन शान्तनुलाई अति नै तिर्खा लाग्यो, तर वरपर कोही पनि थिएनन् । तब उनलाई नदीको स्मरण भयो र उनी त्यतैतिर गए । त्यसैबेला, नदीबाट गङ्गा सुन्दर स्त्रीको रूपमा प्रकट भइन् । शान्तनुको नजर गङ्गामा पर्नेबित्तिकै उनी प्रेममा चुर्लुम्मै डुबे । शान्तनुले गङ्गालाई आफूसँग विवाह गर्नको लागि विन्ति गरे । गङ्गाले स्वीकार गरिन्, तर साथसाथै एउटा शर्त राखिन्— “म तपाईंसँग विवाह त गर्नेछु, तर मैले चाहे जेसुकै गरेपनि, मैले किन त्यस्तो गरिरहेकी छु भनेर कहिल्यै सोध्न पाउनुहुन्न ।"

नारीहरूले यसरी शर्त राख्ने त इतिहास नै रहेको छ ! कुरु वंशको सुरुवात गर्ने पुरु उर्वशीसँग प्रेममा परे, जो अप्सरा थिइन् । जब उनले उर्वशीलाई विवाहको लागि प्रस्ताव गरे, उनले भनिन्, “मेरा दुईवटा शर्तहरू छन्: पहिलो शर्त के हो भने, मसँग आफूले पालेको बाख्राहरू छन् । चाहे जेसुकै भएपनि, तिमीले सदैव यी बाख्राहरूको सुरक्षा सुनिश्चित गर्नुपर्छ । यदि तिमीले आफ्नो पूरै फौज प्रयोग गर्नु पऱ्यो भनेपनि, तिमीले मेरा बाख्राहरूको रक्षा गर्नुपर्छ । अर्को शर्त यो कि अरू कसैले पनि तिमीलाई नग्न अवस्थामा देख्नुहुँदैन ।”

केही समयपछिको कुरा हो, देवताहरू उर्वशीलाई फर्काउन चाहन्थे । उर्वशी र पुरु ओछ्यानमा भएको मौका पारेर देवताहरू आए अनि बाख्राहरू चोरेर लगे । उर्वशी आत्तिँदै चिच्याइन्, “कसैले मेरा बाख्राहरू चोरेर लैँजादै छन् ।” पुरु जुरुक्क उठे अनि चोरलाई समात्न दौडिए । त्यसैबेला, यता इन्द्रले मौकाको फाइदा उठाए अनि बिजुली चम्काइदिए । पूरै क्षेत्र उज्यालो भयो र पुरुलाई नग्न अवस्थामा देखिइयो । उर्वशीले तत्काल भनिन्, “तिमीले शर्तहरू तोड्यौ । म यहाँबाट जान्छु ।” उनी छोडेर हिँडिन् र कहिल्यै पनि फर्किनन् ।

इतिहासको कालखण्डमा केही समयको अवधिमा, केही निश्चित कुराहरू बदलिनाले नारीहरूले पुरुषमाथि विभिन्न प्रकारका तर्कसङ्गत वा बेतुकका शर्तहरू लगाउने क्षमता गुमाउँदै गए । तपाईं यो कुरा महाभारतको कथामा पनि देख्न सक्नुहुन्छ— समाज कसरी बिस्तारै मातृसत्ताबाट पृतिसत्तामा बदलिँदै गयो भन्ने देख्न सकिन्छ ।

अघिकै कथामा फर्किऔँ, शान्तनु गङ्गाको प्रेममा यतिसम्म पागल थिए कि उनले सबै शर्तहरू सहर्ष स्वीकार गरे । अत: गङ्गा उनकी अत्यन्तै सुन्दर एवं अद्‌भुत पत्नी बनिन् । अनि, उनी गर्भवति भइन्...

क्रमशः

सम्पूर्ण महाभारत अध्यायहरू