महाभारत अध्याय ४: शकुन्तलाको कथा अनि भरतको जन्म

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
महाभारत अध्याय ४: शकुन्तलाको कथा अनि भरतको जन्म
 

सम्पूर्ण महाभारत अध्यायहरू


अघिल्लो अध्याय: देवयानीले शर्मिष्ठासँग बदला लिनको लागि उनलाई आफ्नो सुसारेको रूपमा आफूसँगै दरबारमा लिएर गइन् । तर, पछि ययाति र शर्मिष्ठाको प्रेम भयो अनि शर्मिष्ठाबाट एउटा बच्चा जन्मियो, जसको नाम पुरु थियो । ययाति र देवयानीबाट जन्मिएको छोरा यदु थिए । यदुमार्फत यादवहरूको उत्पत्ति भयो । त्यसैगरी, पुरुमार्फत पाण्डव र कौरवहरूको वंश शुरु भयो । महाभारतको पूरै कथा यिनै दुई वंशहरूको बारेमा रहेको छ । अब अगाडि:


सद्‌गुरु: पुरुबाट अघि बढेको वंशमा केही पुस्ताहरूपछि राजा विश्वामित्र आए, जसलाई त्यसबेला कौशिक भनिन्थ्यो । ऋषिमुनिहरूको शक्ति देखेपछि कहीँकतै उनलाई ऋषिको तुलनामा राजाको शक्ति ज्यादै कम छ भन्ने महसुस हुन थाल्यो । तसर्थ, उनी राजकुलमा जन्मिएको भएपनि ऋषि बन्न चाहन्थे । उनी जङ्गलमा गए अनि घोर तपस्या शुरु गरे । उनको घोर तपस्यालाई देखेर, इन्द्रले मनमनै सोचे, "यदि विश्वामित्रले आफूले चाहेको कुरा पाए भने, मेरो श्रेष्ठता खतरामा पर्नेछ ।" त्यसैले, उनलाई मोहजालमा पार्नको लागि आफ्नी अप्सरा मेनकालाई पठाए । मेनकाको काम भनेको विश्वामित्रलाई मोहित गरेर उनको तपस्या र साधनालाई भङ्ग गर्नु थियो । उनी यसमा सफल भइन् र पछि एउटी छोरीलाई जन्म दिइन् ।

उनी आफ्नी छोरीलाई उसको बुबाको साथमा छोड्न सक्थिनन्, किनकि विश्वामित्र छोरीलाई अपनाउने पक्षमा थिएनन् । अत: मेनकाले बच्चालाई मालिनी नदीको किनारमा यत्तिकै छोडेर गइन् ।

केही समयपछि, विश्वामित्रलाई आफूले साधनाद्वारा हासिल गरेको सबैथोक आफ्नो ध्यान भट्किएर गुमाएको कुरा बोध भयो । उनी क्रोधित हुँदै आमा-छोरी दुवैलाई यत्तिकै छोडेर हिँडे । एक अप्सरा हुनुको नाताले उनी यस धरतीमा पाहुना मात्रै थिइन्— उनको भिसाको अवधि सीमित समयको लागि थियो ! उनी फर्किन चाहन्थिन् । उनी आफ्नी छोरीलाई उसको बुबाको साथमा छोड्न सक्थिनन्, किनकि विश्वामित्र छोरीलाई अपनाउने पक्षमा थिएनन् । अत: मेनकाले बच्चालाई मालिनी नदीको किनारमा यत्तिकै छोडेर गइन् ।

शकुन्तलाको जन्म

त्यहाँ केही सकुन चराहरू थिए, जसले यो सानी बच्चीलाई देखे अनि जसोतसो अरू जनावरहरूबाट बचाएर राखे । एकदिन कण्व ऋषि त्यहाँबाट जाँदै गर्दा, उनले त्यो विचित्र स्थिति देखे, जहाँ एउटी नवजात शिशु पंक्षीहरूको सुरक्षामा बाँचिरहेकी थिइन् । उनले बच्चीलाई उठाएर आफ्नो आश्रममा ल्याए अनि पालन-पोषण गरे । शकुन पंक्षीहरूद्वारा बचाइएको हुनाले, उनले यी बच्चीको नाम शकुन्तला राखे । उनी हुर्किँदै गइन् अनि एउटी सुन्दर युवती बनिन् ।

एकदिन राजा दुश्यन्त एउटा लडाईंमा गए । लडाईंबाट फर्किने क्रममा उनले आफ्ना सैनिकहरू भोकाएको थाहा पाए । आफ्ना सैनिकहरूको पेट भर्नको लागि उनले जङ्गलमा गएर अन्धाधुन्द जनावरहरूको शिकार गर्न थाले । जब उनले एउटा विशाल भाले हरिणमाथि बाँड हाने, बाँड लागेपनि हरिण भागिहाल्यो । दुश्यन्तले त्यस हरिणलाई पछ्याउँदै गए र अन्ततः शकुन्तलाको काखमा देखे । त्यस हरिणलाई शकुन्तलाले पालेकी थिइन् । उनी एकदमै मायाले हरिणलाई मलमपट्टि गरिरहेकी थिइन् । यो देखेर दुश्यन्त शकुन्तलाको प्रेममा मग्न भए अनि केही समयसम्म त्यहीँ बसे । कण्व ऋषिको अनुमति लिएर उनले शकुन्तलासँग विवाह गरे ।

उनले शकुन्तलालाई आफ्नो राज्यमा केही चाँजोपाँजो मिलाएर फर्किने वाचा गरे । उनले आफ्नो मायाको चिनो र विवाहको निशानी स्वरूप आफ्नो औँलाबाट शाही औँठी झिकेर शकुन्तलाको औँलामा लगाइदिए ।

अब दुश्यन्तको फर्किने समय भएको थियो । किनकि, सेनाको पूरै फौज जङ्गलबाहिर उनको प्रतीक्षा गरिरहेको थियो । उनले शकुन्तलालाई आफ्नो राज्यमा केही चाँजोपाँजो मिलाएर फर्किने वाचा गरे । उनले आफ्नो मायाको चिनो र विवाहको निशानी स्वरूप आफ्नो औँलाबाट शाही औँठी झिकेर शकुन्तलाको औँलामा लगाइदिए । स्वभाविक रूपमा त्यो शकुन्तलाको औँलामा अटेन, उनले त्यसलाई हातमै राखिन् । यसपछि दुश्यन्त “म फर्केर आउनेछु” भनेर गए । यता शकुन्तला भने जतिबेला पनि सपनामा हराइरहेकी हुन्थिन् । वन कि कन्या अचानक महारानी बनेकी थिइन् !

एकदिन दुर्वासा ऋषि कण्वको आश्रममा आए । उनी असाध्यै रिसाहा व्यक्ति थिए । उनले शकुन्तलालाई बोलाए । तर, शकुन्तला आफ्नै संसारमा मग्न भएकी हुनाले आफ्ना आँखा खुलै हुँदापनि उनले केही देख्न सकिनन् । दुर्वासाले यसलाई आफ्नो अपमान ठाने र भने, “अहिले तँ जसको यादमा डुबेकी छेस्, त्यसले तँलाई सधैँको लागि बिर्सियोस् ।” अचानक शकुन्तला झसङ्ग भइन् र उनी रुन लागिन्, “यस्तो हुन सक्दैन ! तपाईंले किन यस्तो गर्नुभयो ?”

आश्रमका मानिसहरूले दुर्वासालाई शकुन्तलाको विवाह राजासँग भएको अनि राजा आएर आफूलाई सँगै लैजाने प्रतीक्षा गरिरहेकी कुरा अवगत गराए । “उनी दिवास्वप्नमा डुबेकी थिइन्, कृपया शकुन्तलालाई माफ गरिदिनुहोस् ।”– ती मानिसहरूले विन्ती गरे । त्यसबेलासम्म उनीहरूले दुर्वासाको राम्रो स्वागत सत्कार गरिसकेका थिए, अनि उनको क्रोध पनि शान्त भइसकेको थियो । उनले भने, “ल भैगो ! म यसलाई अलिकति सुधार्छु । भलै, उनले तिमीलाई बिर्सिएको भएपनि, जुन क्षण तिमी उनलाई तिम्रो याद दिलाउने चीज देखाउनेछ्यौ, उनले सम्झिनेछन् ।”

शकुन्तलाले राजाको प्रतीक्षा गरिरहिन्, तर दुश्यन्त कहिल्यै आएनन् । उनको एउटा छोरा जन्मियो, जसको नाम भरत राखियो । सम्राट भरतबाटै भारत देशको नाम राखिएको हो, किनकि यी सम्राटमा थुप्रै गुणहरू थिए । उनी एक आदर्श व्यक्ति थिए ।

सम्राट भरतको बाल्यकाल

 

भरत जङ्गलमै हुर्किए । दुष्यन्त कहिल्यै देखा परेनन् । एकदिन कण्व ऋषिले शकुन्तलालाई भने, “राजा दुष्यन्तसमक्ष जाऊ अनि उनलाई यो स्मरण गराऊ कि तिमी उसकी पत्नी हौ र तिम्रो छोरा पनि छ । एउटा राजाको छोरा आफ्नो बुबाबिनै हुर्किनु राम्रो कुरा होइन ।” शकुन्तला आफ्नो छोरालाई लिएर दरबारतर्फ हिँडिन् । बाटोमा उनीहरूले एउटा नदी पार गर्नुपर्ने थियो । उनी अझै पनि प्रेममै हराइरहेकी थिइन् । जब उनीहरू डुङ्गाबाट नदी पार गरिरहेका थिए, उनले पानीलाई छुनको लागि आफ्नो हात झिकिन् र औँलाभन्दा ठूलो त्यो औँठी नदीमा खस्यो । उनलाई यो कुराको हेक्का समेत भएन ।

उनलाई राजा र दरबारको तौर-तरिकाहरूबारे थाहा थिएन । राजसभामा दुष्यन्तले “तिमी को हौ ?” भनेर सोध्दा शकुन्तलाले भनिन्, “के तपाईंलाई याद छैन ? म तपाईंको पत्नी शकुन्तला हुँ । ऊ तपाईंको छोरा हो ।” दुष्यन्त क्रुद्ध बने, “तँ को होस् ? यस्तो भन्ने आँट पनि कसरी गरिस् ?” उनलाई दरबारबाट जबर्जस्ती बाहिर निकालियो । शकुन्तलाले के भइरहेको छ भनेर केही बुझ्न सकिनन् । “उहाँ मलाई यति धेरै प्रेम गर्नुहुन्थ्यो । तर, अहिले यो के भइरहेको छ ?" राजा दुष्यन्तलाई शकुन्तलाको बारेमा केही पनि याद थिएन ।

भरत जङ्गली जनावरहरूसँगै हुर्किँदै गए । उनी अत्यन्तै बहादुर र शक्तिशाली थिए— उनी जुन ठाउँमा हुर्किँदै गए, त्यस माटोसँग उनको गहिरो नाता थियो ।

उनी निराश हुँदै फर्किन् । पहिलो पटक उनी समाजबाट उपेक्षित भएकी थिइन् । उनी आश्रम पछाडि रहेको घना जङ्गलमा भित्रसम्म गइन् अनि आफ्नो छोरासँग विरानो ठाउँमा बस्न थालिन् । भरत जङ्गली जनावरहरूसँगै हुर्किँदै गए । उनी अत्यन्तै बहादुर र शक्तिशाली थिए— उनी जुन ठाउँमा हुर्किँदै गए, त्यस माटोसँग उनको गहिरो नाता थियो ।

एकदिन दुष्यन्त त्यसै जङ्गलमा शिकार खेल्न आए । उनले एउटा बालकलाई वयस्क सिंहसँग खेल्दै गरेको, हात्तीमा चढ्दै गरेको देखे । उनी बालकसामु गएर सोधे, “तिमी को हौ ? के तिमी महामानव हौ ? के तिमी देवता हौ ? के तिमी कुनै अर्कै लोकबाट आएका हौ ?” बच्चाले भन्यो, “होइन, म भरत हुँ, राजा दुष्यन्तको छोरा ।” राजाले भने, “अरे ! म नै दुष्यन्त हुँ । कसरी मैले तिमीलाई चिन्न सकिनँ त ?” तब कण्व ऋषि आए अनि उनलाई पूरै घटना विस्तारमा भने । अन्तत: दुष्यन्तलाई सबैथोक स्मरण भयो अनि उनी शकुन्तला र भरतलाई आफूसँगै लिएर दरबार फर्किए ।

क्रमशः

सम्पूर्ण महाभारत अध्यायहरू