महाभारत अध्याय ३: श्राप वा वरदान ?

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
श्राप वा वरदान
 

सम्पूर्ण महाभारत अध्यायहरू

महाभारत

भारतम् महाभारतम्

धर्म, अधर्म, संघर्षणम्

पक्षी, प्राणी, मानव च देव

धर्म अधर्म पाञ्चालिका

ज्ञान प्रभासित दिव्य जीवम्

सर्वे सर्व महाअमृतम्

भारतम्


अघिल्लो अध्याय: देवताहरू र असुरहरूबिच लगातार युद्ध चलिरहन्थ्यो, जसमा देवताहरूले हारिरहन्थे, किनभने शुक्रचार्यले मृत असुरहरूलाई पुनः जीवित गरिदिन्थे । पुन: जीवित गर्ने सञ्जीवनीको शक्ति पाउनको लागि देवताहरूका गुरु वृहस्पतिको छोरा कच शुक्रचार्यसमक्ष गए । एउटा घटनापछि शुक्रचार्यले कचलाई सञ्जीवनी मन्त्र सिकाए, तर शर्तअनुसार शक्ति प्राप्त गरेपछि कच त्यहाँबाट जानुपर्ने थियो । शुक्रचार्यकी छोरी देवयानीले कचलाई प्रेम गर्थिन्, त्यसैले कच जाने क्रममा नजानको लागि अनुनय–विनय गरिन् । तर, कचले देवयानीलाई बहिनीको रूपमा लिएको बताउँदै त्यहाँबाट बिदा भए । अब अगाडि:


देवयानी र शर्मिष्ठा

सद्‌गुरु: देवयानीकी घनिष्ठ साथी थिइन्— शर्मिष्ठा, जो असुरहरूका राजा वृषपर्वाकी छोरी थिइन् । एकपटक एउटा यस्तो घटना घट्यो, जसले एक प्रकारले कुरु वंशलाई जन्म दियो । दुईजना जवान केटीहरू नुहाउनको लागि नदीमा गए । शर्मिष्ठा, असुरहरूका राजकुमारी थिइन्; देवयानी पुरोहित शुक्राचार्यकी छोरी थिइन् । अर्थात्, उनी ब्राह्मण कुलबाट आएकी थिइन; त्यसबेला ब्राह्मण वर्गलाई सामाजिक स्तरमा सबैभन्दा उच्च मानिन्थ्यो । त्यसैले, नुहाउन जाँदाखेरी दुवैले आ-आफ्ना कपडा र गहनाहरू छुट्टाछुट्टै राखे ।

महाभारतको कथाभरि श्राप र वरदानहरू देख्न सकिन्छ । तर, तपाईंलाई श्राप वास्तवमा वरदान हो वा वरदान वास्तवमा श्राप हो भन्ने कुरा नै पत्तो हुँदैन, किनभने जीवनले आफ्नै तरिकाले अनेक परिस्थितिहरूलाई अल्झाउँदै लैजान्छ ।

उनीहरू नदीमा क्रिडा गरिरहेका थिए । त्यसैबेला, ठूलो हावाहुरी चल्यो अनि उनीहरूको कपडा एकआपसमा मिसियो । जब दुवैजना नदीबाट बाहिर निस्किए, तब कपडा लगाउने हडबडीमा शर्मिष्ठाले गल्तीपूर्वक देवयानीको कपडा लगाउन पुगिन् । यता देवयानीले त्यो देखेपछि, अलिकति ठट्टा अनि अलिकति आफ्नो श्रेष्ठता जताउने भावमा भनिन्, “अरे ! आफ्नो बुबाको गुरुकी छोरीको कपडा लगाउने हिम्मत कसरी गऱ्यौ ? तिमी कस्तो महसुस गरिरहेकी छौ ? अनि, के यो उचित हो र ?

शर्मिष्ठाले आफ्नो गल्ती महसुस गरिन् । तर, एक राजकुमारी भएको आडमा उनी क्रुद्ध भइन्, “तिम्रो बुबा भिखारी हुन् । उनले मेरा बुबाको अगाडि शिर झुकाउँछन् । मेरा बुबाले दिनुभएको अनुदानले नै तिमीहरूको जीविका चलिरहेको छ । आफ्नो औकात के हो भनेर राम्रोसँग बुझ ।” यति भनिसकेपछि उनले देवयानीलाई खाल्डोमा धकेलिन् । देवयानी लडिन् । शर्मिष्ठा उनलाई त्यहीँ छोडेर झोक्किँदै गइन् ।

घर आइपुगेपछि देवयानीले बुबाको काखमा शिर राखेर प्रतिशोधको भावमा रुँदै भनिन्, “तपाईंले त्यस राजकुमारीलाई पाठ सिकाउनै पर्छ ।” आफ्नी छोरीलाई अपमान गरेको भन्दै शुक्राचार्यले राजकुमारी शर्मिष्ठा देवयानीको सुसारे हुनुपर्ने माग राखे । राजासँग कुनै विकल्प थिएन, किनकि मृतहरूलाई पुनः जीवित गर्न सक्ने शुक्राचार्य नहुने हो भने, उनी केही पनि गर्न सक्दैनथे । शर्मिष्ठाले देवयानीको सुसारे हुनुपर्ने श्राप पाइन् ।

यादव कुलको पहिलो राजा— यदु

महाभारतको कथाभरि श्राप र वरदानहरू देख्न सकिन्छ । तर, तपाईंलाई श्राप वास्तवमा वरदान हो वा वरदान वास्तवमा श्राप हो भन्ने कुरा नै पत्तो हुँदैन, किनभने जीवनले आफ्नै तरिकाले अनेक परिस्थितिहरूलाई अल्झाउँदै लैजान्छ । श्राप पनि वरदान बन्दछ; वरदान पनि श्राप बन्दछ ।

देवयानीले पहिल्यै आफ्नो बदला लिइसकेकी थिइन्, त्यसैले त्यो विषयलाई त्यहीँ छोडिदिनु पर्थ्यो, तर उनी त्यो विषयलाई अझ तन्काउन चाहन्थिन् ।

केही समयपछि, ययातिसँग देवयानीको विवाह तय भयो । देवयानीले आफ्नो विवाहपछि शर्मिष्ठा पनि आफ्नो व्यक्तिगत सुसारेको रूपमा उसको ससुराली जानुपर्ने अडान राखिन् । देवयानीले पहिल्यै आफ्नो बदला लिइसकेकी थिइन्, त्यसैले त्यो विषयलाई त्यहीँ छोडिदिनु पर्थ्यो, तर उनी त्यो विषयलाई अझ तन्काउन चाहन्थिन् । अत: विवाहपछि शर्मिष्ठा सुसारेको रूपमा देवयानीसँगै गइन् । ययाति र देवयानी पति-पत्नीको रूपमा सँगै रहन थाले । केही समयपछि उनीहरूको बच्चा जन्मियो, जसको नाम यदु राखियो । यही यदु कुलबाट यादवहरू आएका हुन् ।

देवयानीकी सुसारे भए तापनि, राजकुमारी भएकोले शर्मिष्ठाले आफूलाई गरिमापूर्ण ढङ्गले राखेकी थिइन् । उनी आफूलाई देवयानीभन्दा पनि सुन्दर बनाउने गर्थिन् । अनि, यो त हुनु नै थियो— ययाति उनको प्रेममा डुबे ! उनीहरूबिच गोप्य रूपमा प्रेम सम्बन्ध चल्न थाल्यो, अनि केही समयपछि उनीहरूमार्फत एउटा बच्चा जन्मियो— पुरु । पुरु पछि गएर कुरु वंशको जनक (पिता) बने ।

आफ्नी छोरीलाई धोका दिएर ययातिले सुसारेसँगको सम्बन्धबाट सन्तान जन्माएको कुरा थाहा पाएपछि शुक्राचार्यले ययातिलाई श्राप दिए, “तेरो युवावस्था गुमोस् अनि तँ बूढो बनेस् ।”

ययातिको पहिलो सन्तान हुनुको नाताले यदु स्वाभाविक रूपमा राजा हुनुपर्ने थियो, तर गलत आचरणको कारण उनी राजा बन्न पाएनन् । आफ्नी छोरीलाई धोका दिएर ययातिले सुसारेसँगको सम्बन्धबाट सन्तान जन्माएको कुरा थाहा पाएपछि शुक्राचार्यले ययातिलाई श्राप दिए, “तेरो युवावस्था गुमोस् अनि तँ बूढो बनेस् ।” श्रापित भएपछि ययाति बूढो मानिस बने ।

उनले त्यो अवस्थालाई स्वीकार गर्न सकेनन् । यता यदु हुर्किँदै गए अनि जवान भए । यदु जवान भएपछि ययातिले उनलाई आग्रह गरे, “मलाई तिम्रो जवानी देऊ । म केही वर्षसम्म त्यसको सुख भोग गर्छु अनि पछि फिर्ता गरिदिनेछु ।” यदुले भन्यो, “अहँ, कदापि हुँदैन । पहिलो कुरा त तपाईंले मेरी आमालाई धोका दिनुभयो । अब तपाईं मेरो जवानी लिएर मलाई छल्न चाहनुहुन्छ । म त्यस्तो कहिल्यै गर्दिनँ ।” यति सुनेपछि झोँक्किँदै ययातिले श्राप दिए, “तँ कहिल्यै पनि राजा बन्न नपाएस् ।”

ययाति र शर्मिष्ठामार्फत जन्मिएका अर्का छोरा पुरुले स्वेच्छाले बुबालाई आफ्नो युवावस्था दिँदै भने, “बुबा, तपाईं युवावस्थाको भरपूर आनन्द लिनुहोस् । यसले मेरो लागि कुनै महत्त्व राख्दैन ।” ययाति पुनः युवा भए अनि केही समयसम्म युवकको रूपमा जीवन बाँचे । जब उनलाई जवानीको आनन्द लिन पुग्यो भन्ने महसुस भयो, तब उनले छोरा पुरुलाई युवावस्था फिर्ता गरिदिए अनि पुरुलाई राजा बनाए । पुरु राजा बने, अनि पछि उनको वंशजलाई कुरु भन्न थालियो, जसमार्फत पाण्डव र कौरवहरूको जन्म भएको हो । यो पूरै कथा यिनै दुई वंशहरूको बारेमा रहेको छ ।

क्रमशः

सम्पूर्ण महाभारत अध्यायहरू