महाभारत अध्याय २: चन्द्रवंशको शुरुवात

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
 

महाभारत

भारतम् महाभारतम्

धर्म, अधर्म, संघर्षणम्

पक्षी, प्राणी, मानव च देव

धर्म अधर्म पाञ्चालिका

ज्ञान प्रभासित दिव्य जीवम्

सर्वे सर्व महाअमृतम्

भारतम्


अघिल्लो अध्याय: इन्द्रका पुरोहित एवं देवताहरूका गुरु वृहस्पति नै पराई स्त्रीहरूसँग कामवासना र भोगविलासमा लिप्त भएर आफ्नी पत्नी तारालाई उपेक्षा गर्दथे । पतिबाट उपेक्षित भएपछि ताराको चन्द्रसँग प्रेम भयो अनि तारा चन्द्रसँग भागिन् । वृहस्पतिले ज्यादै प्रयास गरेपछि इन्द्रले दबाब दिएर तारालाई फिर्ता त बोलाए, तर उनको गर्भमा चन्द्रको बच्चा थियो । रिसले ज्वाला भएर वृहस्पतिले त्यस बच्चालाई पुरुष वा स्त्री नभई नपुङ्सकको रूपमा जन्मिने श्राप दिए । यसरी चन्द्र र तारामार्फत जन्मिएको बच्चाको नाम बुध राखियो, जुन ग्रहको नाम हो । अब अगाडि:


सद्‌गुरु: एकदिन राजा सुद्युम्न जङ्गलमा शिकार खेल्न गए, जहाँ शिव र पार्वती बसिरहेका थिए । त्यसदिन, जनावरहरूलाई देखेर पार्वतीले यत्तिकै झोँकमा शिवलाई भनिन्, “म हजुरलाई यति प्रेम गर्छु कि भाले हात्तीहरू, बाक्लो जगटा भएका सिंहहरू अनि सुन्दर प्वाँख भएका मयूरहरू देख्दा यी सबै तपाईंप्रतिको अपमानको रूपमा प्रकट भएका हुन् जस्तो लागिरहेछ । म चाहन्छु कि तपाईं यो जङ्गललाई यस्तो बनाइदिनु होस्, जहाँ तपाईंबाहेक अरू कोही नर (पुरुष) नहोऊन् ।” त्यसदिन, शिवमा पनि प्रेमको रङ्ग चढेको थियो, त्यसैले रोमान्टिक मुडमै उनले भने, “ल ! यो जङ्गलमा भएका सबैथोक नारी रूप बनून् ।” उनले भन्नेबित्तिकै जङ्गलमा भएका सबैथोक पोथी जातिमा बदलिए । सबै सिंहहरू सिंहिनी बने, भाले हात्तीहरू पोथी हात्ती बने, भाले मयूरहरू पोथि मयूर बने । अनि, विचरा राजा सुद्युम्न पनि स्त्री बने !

सुद्युम्न आफैँलाई हेरेर जिल्ल परे । जङ्गलमा शिकार खेल्न आएका एक साहसी राजा अचानक युवती भएका थिए । उनी भक्कानिए, “हैन, कसले ममाथि यस्तो गऱ्यो ? कुन चाहिँ यक्ष, कुन चाहिँ राक्षस, आखिर कसले मलाई यस्तो श्राप दियो ?" असाध्यै निराश भएर उनी यताउता भौँतारिए । जाँदै गर्दा उनले शिव–पार्वतीलाई प्रेमालापमा मग्न अवस्थामा देखे । हत्तपत्त उनी त्यतातिर गए अनि शिवको चरण स्पर्श गर्दै भने, “यो त अन्याय भयो । म राजा हुँ । म एक पुरूष हुँ । मेरो परिवार छ । म त यत्तिकै यहाँ शिकार खेल्न आएको थिएँ, तर तपाईंले मलाई युवती बनाइदिनु भयो । अब म यस रूपमा कसरी फर्किऊँ ?” शिवले मुस्कुराउँदै पार्वतीतर्फ हेरे अनि सुद्युम्नलाई भने, “मैले जे गरिसकेँ, त्यसलाई फिर्ता लिन त सक्दिनँ, तर म त्यसलाई अलिकति सच्याउन चाहिँ सक्छु । जब कृष्ण पक्ष (पूर्णिमादेखि औँसीसम्म) शुरु हुन्छ, तिमी स्त्री बन्नेछौँ; जब शुक्ल पक्ष (औँसीदेखि पूर्णिमासम्म) शुरु हुन्छ, तिमी पुरूष बन्नेछौ ।"

चन्द्रवंशको शुरुवात

चन्द्रवंशी

सुद्युम्न दरबार फर्किएनन् । उनी जङ्गलमै बस्न थाले अनि पछि इला नामले चिनिन थाले— जो आधा महिना पुरुषको रूपमा अनि अर्को आधा महिना स्त्रीको रूपमा हुन्थे । एकदिन संयोगवश बुध र इलाको भेट भयो । दुवैजना स्त्री पनि थिए, साथै पुरुष पनि । यो काइदाको जोडी थियो । उनीहरूमार्फत थुप्रै सन्तानहरू जन्मिए, जसलाई ऐल भनिन्थ्यो । यिनै ऐलहरूबाट चन्द्रवंश शुरु भयो ।

चन्द्रवंशीहरूमा भावनात्मक पक्ष प्रबल हुन्छ, साथै उनीहरू कलाप्रेमी पनि हुन्छन्, तर पटक्कै विश्वास गर्न नसकिने खालका हुन्छन् ।

त्यसबेला, सूर्यवंशी र चन्द्रवंशी राजाहरूको परम्परा थियो, जो सूर्य र चन्द्रमाका वंशजहरू थिए । यी दुवैको गुण एकदमै भिन्न थियो । सूर्यवंशीहरू विजय प्राप्त गर्न चाहने, स्पष्ट विचार राख्ने, एकदमै स्पष्ट गुण भएका मानिसहरू हुन् । चन्द्रवंशीहरू हरेक दिन फरक स्वभाव देखाउँछन् । उनीहरूमा भावनात्मक पक्ष प्रबल हुन्छ, साथै उनीहरू कलाप्रेमी पनि हुन्छन्, तर पटक्कै विश्वास गर्न नसकिने खालका हुन्छन् । सबैभन्दा महान् सूर्यवंशी स्वयं मनु थिए; अनि पछि इक्ष्वाकु आए । त्यसपछि, त्यही कुलमा भगिरथ, दशरथ, अयोध्याका राजा राम र हरिशचन्द्र जस्ता थुप्रै राजाहरू आए । यहाँ हामी चन्द्रवंशीहरूको बारेमा कुरा गर्नेछौँ, किनकि कुरु मुख्यतः चन्द्रवंशीहरू हुन् । यसैकारण, उनीहरू भावनात्मक स्तरमा उत्तेजित भइरहन्थे ।

नहुष— चन्द्रवंश सम्राटबाट अजिङ्गर

बुध र इलाका सन्तानहरूमध्ये एकजनाको नाम नहुष थियो, जो पछि गएर महान् सम्राट बने । एकपटक उनलाई देवलोकमा इन्द्रको दरबारमा निम्तो दिइएको थियो । इन्द्रलाई कतै जानुपर्ने भएकोले उनले नहुषलाई भने, “केही समयको लागि मेरो देवलोकको ख्याल राख्नुहोला । यहीँ बस्नुहोस्, यहाँको आनन्द लिनुहोस् अनि राम्रोसँग दरबारको हरेचाह गर्नुहोस् ।” इन्द्र त्यहाँबाट जानेबित्तिकै, इन्द्रको अनुपस्थितिमा त्यहाँको कामकाज सम्हाल्ने जिम्मेवारी पाएकोले नहुषको दम्भ चुलियो ।

उनी इन्द्रको राजगद्दीमा बसे; आफूलाई मन परेका अप्सराहरू बोलाउन थाले । त्यतिले उनको मन भरिएन— उनले इन्द्रकी पत्नी शचीमाथि आँखा गाडे । उनले शचीमाथि दबाब सृजना गर्ने थाले, “अहिले यो गद्दीमा म बसिरहेको छु । म नै इन्द्र हुँ, अनि तिमी मेरी हौ ।” शचीले अनेक किसिमबाट तर्किने प्रयास गरिन्, तैपनि नहुषले उनीमाथि जबरजस्ती गर्ने प्रयास गरिरहे । अतिशय भएपछि शचीले भनिन्, “ल ठीक छ, अहिले तपाईं नै इन्द्र हो । तर, मेरो एउटै सर्त के हो भने, सप्तऋषीहरूले तपाईंलाई पालकीमा (पल्यङ्क) बोकेर मेरो महलमा ल्याउनुपर्छ । त्यसपछि, म तपाईंकी हुनेछु ।” नहुषले सप्तऋषीहरूलाई आफूलाई पालकीमा बोकेर शचीको महलसम्म लिएर जान आदेश दिए । सप्तऋषिहरूले त्यसै गरे ।

नहुष

नहुषको घमण्ड शिखरमा पुगेको थियो, साथै उनमा निकै बढी आत्तुरी थियो । उनलाई सप्तऋषीहरू छिटोछिटो हिँडिरहेका छैनन् भन्ने भान भयो, त्यसैले उनले दायाँपट्टी पालकी बोकिरहेका अगस्त्य मुनिको टाउकोमा लात्ता हाने र भने, “अलि छिटो हिँड् ।” अगस्त्यले नहुषतर्फ हरे अनि भने, “दम्भले तेरो मति भ्रष्ट भइसक्यो । तँ यति तुच्छ भइस् कि तँ देवलोकमा रहनको लागि मात्रै अयोग्य होइन, एक मनुष्य हुन समेत लायक छैनस् । तँ अजिङ्गर बनेस् ।” अजिङ्कर अधम जीव हो । नहुष अजिङ्गर बने अनि देवलोकबाट तल खसे । हामी अजिङ्गरको बारेमा पछि चर्चा गर्नेछौँ ।

नहुषका थुप्रै बच्चाहरू थिए, जसमध्ये यती र ययाति सबैभन्दा महत्त्वपूर्ण थिए । यती, उनका गुणहरू र तीक्ष्ण बुद्धिका कारण चिनिन्थे । उनले संसारलाई एक नजर हेरे अनि भने, "यो संसारसँग म कुनै सरोकार राख्न चाहन्न ।” उनी हिमालयतर्फ गए अनि सन्यासी जीवन बिताए । उनी हिमालयको यती बने, जसको नाम अझै पनि लिने गरिन्छ । जबकि, ययाति राजा बने ।

देवता र असुरहरूबिच निरन्तर लडाईं

यसअघि भनिएको थियो कि वृहस्पति देवताहरूका गुरु थिए, त्यसैले उनीहरूका लागि अनुष्ठानहरू गर्थे । यता असुरहरूका गुरु शुक्राचार्य थिए । गङ्गाको मैदानमा पटक–पटक देवताहरू र असुरहरूबिच युद्ध चलिरहन्थ्यो । देवताहरू माथिबाट तलतिर अवतरित हुने कोसिस गरिरहन्थे, जबकि असुरहरू मरूभूमिबाट उब्जाऊ–योग्य भूमितर्फ जाने कोसिस गरिरहेका हुन्थे । दुवै पक्षबिच निरन्तर युद्ध चलिरहन्थ्यो, जसमा असुरहरूलाई एउटा फाइदा के थियो भने शुक्राचार्य उनीहरूको पक्षमा थिए । शुक्राचार्यसँग अथाह क्षमताहरू थियो, साथै उनीसँग सञ्जीवनीको शक्ति पनि थियो । सञ्जीवनी मन्त्रको प्रयोग गरेर शुक्रचार्यले युद्धमा मरेकाहरूलाई पुनः जीवित गर्न सक्थे ।

हरेक दिनको अन्त्यमा, युद्धमा मारिएका असुरहरूलाई पुनः जीवित गरिन्थ्यो अनि उनीहरू भोलि बिहान पुनः लड्नको लागि तयार रहन्थे । मारिसकेपछि पनि मृत नरहने त्यस्ता फौजहरूसँग तपाईं कसरी पो लड्न सक्नुहोला र ?

हरेक दिनको अन्त्यमा, युद्धमा मारिएका असुरहरूलाई पुनः जीवित गरिन्थ्यो अनि उनीहरू भोलि बिहान पुनः लड्नको लागि तयार रहन्थे । मारिसकेपछि पनि मृत नरहने त्यस्ता फौजहरूसँग तपाईं कसरी पो लड्न सक्नुहोला र ? शुक्राचार्य उनीहरूलाई पटक–पटक ब्यूँताउँथे । देवताहरू असाध्यै निराश भइसकेका थिए । तब, वृहस्पतिका छोरा कच शुक्राचार्यसमक्ष गए । उनले शुक्राचार्यलाई झुकेर प्रणाम गर्दै भने, “म अङ्गिराका नाती र वृहस्पतिका छोरा हुँ । म राम्रो कुलबाट आएको हुँ । म तपाईंको शिष्य बन्न चाहन्छु । कृपया, मलाई आफ्नो शिष्यको रूपमा स्वीकार गर्नुहोस् ।”

शुक्राचार्यका शिष्य— कच

असुरहरूले शुक्राचार्यलाई खबरदारी गर्दै भने, “यो केटा विपक्षी पक्षबाट आएको हो । अवश्य पनि यो सञ्जीवनीको रहस्य जान्न आएको हुनुपर्छ । बरु, यसलाई अहिल्यै मारिहालौँ ।” शुक्राचार्यले भने, “हुँदैन, उसले हामीलाई कुनै हानी पुऱ्याएको छैन । साथै, मेरो शिष्य हुनको लागि उसमा सबै आवश्यक गुणहरू छन् । म उसलाई नकार्न सक्दिनँ ।” त्यसबेलाको धर्मले यो भन्थ्यो कि यदि कोही सिक्न योग्य छ भने, उसलाई अस्वीकार गरिनु हुँदैन ।

शुक्राचार्यले कचलाई शिष्यको रूपमा स्वीकार गरे अनि कचले पनि आफू योग्य शिष्य भएको प्रमाणित गरे । उनले आफ्ना गुरुको सेवा गरे, सबै आदेशहरू पालना गरे अनि सबैजसो कामहरूमा संलग्न भए । शुक्राचार्यकी छोरी थिइन्, देवयानी । देवयानी यी जवान युवकप्रति आकर्षित भइन् अनि बिस्तारै–बिस्तारै मन पराउन थालिन् । तर, कचलाई यी युवतीप्रति कुनै रुचि थिएन । देवयानीले जतिसुकै प्रयासहरू गरे तापनि, एक पलको लागि पनि कचको ध्यान आफूतिर आकर्षित गर्न सकिनन् । उनी जे उद्देश्य लिएर त्यहाँ आएका थिए, त्यसबाट उनलाई भट्काउन असम्भव थियो— असुरहरूलाई कच सञ्जीवनीको लागि आएको हो भन्ने कुरा राम्रोसँग थाहा थियो ।

असुरहरूद्वारा कचमाथि हमला

एकदिन कच जङ्गलमा आफ्ना गुरुका गाईवस्तुहरू चराइरहेका थिए । त्यसैबेला, असुरहरू जाइलागे, उनको हत्या गरेर टुक्रा-टुक्रा पारी जङ्गली जनावरहरूको अगाडि फ्याँकिदिए । साझँमा गाईवस्तुहरूसँगै कच नफर्किएपछि देवयानी शोकाकुल भइन् । उनी आफ्ना पितासामु गइन् अनि रुँदै भनिन्, “कच फर्किएका छैनन् । पक्कै पनि कसैले उनलाई केही नराम्रो गरेको हुनुपर्छ । उनी जहाँसुकै भएपनि, तपाईंले उनलाई जीवित गर्नैपर्छ ।” छोरीको याचना अगाडि केही नलागेपछि उनले सञ्जीवनी मन्त्र प्रयोग गरी कचलाई पुनः जीवित गरे । के भएको थियो भनेर कचलाई सोधिएपछि, उनले आफूलाई असुरहरूले हमला गरेर मारेको कुरा विस्तारमा बताए । शुक्राचार्यले भने, “होसियार रहनू । असुरहरूले तिमीलाई रुचाउँदैनन्, किनकि तिमी शत्रुहरूको पक्षबाट आएका हौ । तैपनि, मैले तिमीलाई आफ्नो शिष्य बनाएको छु ।”

तिमी जस्ती बुद्धिमानी र कुलिन अनि जीवनको बारेमा यति धेरै कुराहरू जान्ने युवतीले जीवन र मृत्युको विषयलाई लिएर यसरी विलाप गर्न सुहाउँदैन । यो त हरेक जीवको नियति नै हो ।

केही दिनपछिको कुरा हो, कच बिहानी पूजाको लागि फूलहरू टिप्न गए । त्यसैबेला, असुरहरूले उनलाई पछारे, मारे र हड्डी–मासुलाई टुक्रा–टुक्रा पारी पिसेर समुद्रको नुनिलो पानीमा मिसाए अनि अङ्गहरूलाई पनि पिसेर थोरै भाग शुक्राचार्यको मदिरामा मिसाइदिए । शुक्राचार्यले अनजानमै त्यो पिए ।

साँझमा कच फेरि पनि देखा नपरेपछि देवयानी आक्रान्त भइन् । तर शुक्राचार्यले भने, “उसको नियतिमै मर्न लेखेको छ जस्तो लाग्छ । ऊ पटक–पटक मरिरहेको छ ! उसलाई जीवित गरिरहनुको कुनै अर्थ छैन । तिमी जस्ती बुद्धिमानी र कुलिन अनि जीवनको बारेमा यति धेरै कुराहरू जान्ने युवतीले जीवन र मृत्युको विषयलाई लिएर यसरी विलाप गर्न सुहाउँदैन । यो त हरेक जीवको नियति नै हो । उसलाई मृत नै रहन दिऔँ । कसैलाई पनि पटक–पटक ब्यूँताइरहनु राम्रो होइन ।” तर, देवयानीको मन छियाछिया भएको थियो । “कि त तपाईं कचलाई फिर्ता ल्याउनुहोस्, नत्रभने म तलाउमा डुबेर मरिदिन्छु ।” त्यो दुर्घटना हुन नदिनको लागि शुक्रचार्यले भने, ”ल भैगो ! म अन्तिम पटक उसलाई जीवित गर्नेछु ।”

कचले जाने सञ्जीवनी मन्त्र

जब शुक्राचार्यले मन्त्रको प्रयोग गर्ने कोसिस गरे, उनले आफ्नो पेटमा गुडगुड महसुस गरे । पेटभित्रबाट कचले कचकच गरिएको थियो ! शुक्राचार्य आक्रोशित भए, “हैन, कसले यस्तो गऱ्यो ? के यो पनि असुरहरूकै काम हो ? उनीहरूको यत्रो हिम्मत कसरी भयो ?" पेटभित्रबाटै कचले असुरहरूले आफूलाई मारेको, टुक्रा–टुक्रा पारी पिसेर समुद्रको नुनिलो पानीमा मिसाएको, शरीरका अङ्गहरू पनि झिकेर पिसेको अनि त्यसको अंश मदिरामा मिसाएको पूरै कुरा विस्तारमा बताए । शुक्राचार्य अत्यन्तै क्रोधित भए । “यो त अति नै भयो, हुँदाहुँदा उनीहरूले उसलाई मेरो पेटमा हालिदिए ! कि त मैले उसलाई मृत नै रहन दिनुपर्नेछ, वा यदि मैले उसलाई पुनः जीवित गर्ने हो भने, मैले आफ्नो प्राण त्याग्नु पर्नेछ । बरु, यो जागिर छोडेर देवताहरूकै पक्षमा जानुपर्छ कि क्या हो । यहाँ त ममाथि असाध्यै अभद्र व्यवहार गरिँदै छ । तिनीहरूले यो युवकलाई मेरो पेटभित्र हाल्ने आँट पनि कसरी गरे ?” यता फेरि देवयानीको विलाप शुरु भयो, “म न त कचबिना बाँच्न सक्छु, न तपाईंबिना नै । यदि तपाईंहरूमध्ये एकजनाको पनि मृत्यु भयो भने, म डुबेर मरिदिनेछु ।”

उदाउँदै गरेको चन्द्रमाझैँ उनको पेटभित्र कचको आकार बढ्दै गयो र उनको शरीरलाई छिचोल्दै बाहिर निस्किए । शुक्राचार्य त्यहीँ ढले । देवयानी जोडले चिच्याइन् ।

शुक्राचार्यले कचलाई भने, “तिमी जुन उद्देश्य लिएर यहाँ आएका थियौ, त्यसमा तिमी सफल भएका छौ । तिमी सञ्जीवनी मन्त्रको रहस्य जान्न चाहन्थ्यौ, अनि तिमी जान्नको लागि योग्य व्यक्ति हौ । अब म तिमीलाई यो मन्त्र सिकाउनेछु । म यसलाई प्रयोग गरेर तिमीलाई पुनः जीवित गर्नेछु । तब तिमी मेरो शरीरबाट विस्फोट भएर बाहिर निस्किनेछौ, जसले गर्दा म मर्नेछु । तब, सञ्जीवनी मन्त्रको प्रयोग गरेर मलाई पुनः जीवित गर्नू । त्यसपछि, तिमी अन्यत्र गएर नयाँ जीवन शुरु गर्न सक्नेछौ ।” शुक्राचार्यले सञ्जीवनी मन्त्रको प्रयोग गरे । अनि, उदाउँदै गरेको चन्द्रमाझैँ उनको पेटभित्र कचको आकार बढ्दै गयो र उनको शरीरलाई छिचोल्दै बाहिर निस्किए । शुक्राचार्य त्यहीँ ढले । देवयानी जोडले चिच्याइन् । कचले सञ्जीवनी मन्त्र प्रयोग गरेर शुक्राचार्यलाई फेरि जीवित गरे ।

त्यसपछि, आफ्ना गुरुलाई दण्डवत् गरेर कच त्यहाँबाट जानको लागि बिदा मागे । त्यसैबेला, देवयानी बोलिन्, “तिमी मलाई छोडेर जान पाउँदैनौँ । मैले तिमीलाई प्रेम गरेकी छु ।” तर, उनले जतिसुकै अनुनय–विनय गरेपनि कचले मानेनन् । कच बोले, “म तिम्रा बुबाको शिष्य हुँ । त्यसरी हेर्दा, तिमी मेरी बहिनी जस्तै हौ । अर्को कुरा के हो भने, म भर्खरै उहाँको शरीरबाट बाहिर निस्किएको छु, त्यसैले अब उहाँ मेरी आमा पनि हो । त्यसरी हेर्ने हो भने पनि तिमी मेरो बहिनी नै हौ । तसर्थ, यसको कुनै सम्भावना छैन । तिमी यो सबै बिर्सिदेऊ ।” यति भनेर कच आफ्नो बाटो लागे ।

क्रमश: ...

 

 
 
 
 
  0 Comments
 
 
Login / to join the conversation1