महाभारत अध्याय १: स्वार्थ, पुरषार्थ अनि परमार्थ

अहिलेसम्मकै अद्‌भुत महाकाव्यको सार्थकतालाई हाम्रो जीवनसँग जोड्दै, सद्‌गुरुले महाभारत आरम्भ गर्नुभएको छ । यस अध्यायमा पाण्डव र कौरवहरूका पूर्वजको जन्मको बारेमा चर्चा गरिएको छ ।
महाभारत अध्याय १: स्वार्थ, पुरषार्थ अनि परमार्थ
 

सम्पूर्ण महाभारत अध्यायहरू

महाभारत

भारतम् महाभारतम्

धर्म, अधर्म, संघर्षणम्

पक्षी, प्राणी, मानव च देव

धर्म अधर्म पाञ्चालिका

ज्ञान प्रभासित दिव्य जीवम्

सर्वे सर्व महाअमृतम्

भारतम्


कथालाई बुझ्न पात्रहरूलाई स्विकार गर्नुहोस्

सद्‌गुरुतपाईं यस कथामा पूर्ण रूपमा संलग्न हुन जरूरी छ । तपाईंले यसलाई अरू कसैको कथाको रूपमा नभई, आफ्नै कथाको रूपमा हेर्नुपर्नेछ; तपाईं यो कथाको हिस्सा बन्नुपर्नेछ । किनकि, हामी यसलाई अरू कसैको कथाको रूपमा सुन्नेको सट्टा आफ्नै कथाको रूपम बाँच्न चाहन्छौँ । हालको तपाईंका मूल्य–मान्यताहरू, नैतिकताहरू र नीतिहरूको आधारमा ५००० वर्षअघिका मानिसहरूलाई मूल्याङ्कन गर्नु पूर्ण रूपमा अनुचित र अन्यायपूर्ण हुनेछ । म चाहन्छु कि तपाईं उनीहरूझैँ सोच्नुहोस्, उनीहरूझैँ बन्नुहोस्, उनीहरूको ठाउँमा आफूलाई राखेर उनीहरूले जसरी नै अनुभव गर्नुहोस् । यो त्यस कालको कथा हो, जहाँ यस धरतीको जीवन अनि विभिन्न रूपहरूका अरू जीवनहरूबिच पटकपटक आदान–प्रदान भइरहन्थ्यो ।

यो कथा अनि यसका पात्रहरूलाई स्वीकार गर्नुहोस् । यदि त्यसो गर्नुभयो भनेमात्र, यो कथा किन त्यस्तो थियो भनेर बुझ्नुहुनेछ— सबैभन्दा महत्त्वपृर्ण कुरा, महाभारत तपाईंको लागि किन सान्दर्भिक छ भनेर बुझ्नुहुनेछ ।

महाभारतमा यस्ता थुप्रै पक्षहरू छन्, जसलाई तपाईंले विश्वास गर्न सक्नुहुने छैन, तर तपाईंले कुनै पनि कुरालाई अविश्वास गर्नुहुँदैन । २१औँ शताब्दीमा भएका कारण हामी कुनै पनि कुरालाई अङ्गाल्नुको सट्टा चिरफार गर्नमा जोड दिन्छौँ । चिरफारको काम हामी पछि गरौँला । तर यतिखेर, म यो चाहन्छु कि तपाईं यो कथा अनि यसका पात्रहरूलाई स्वीकार गर्नुहोस् । यस कथाका मानिसहरू, जनावरहरू, यक्षहरू, किन्नरहरू, गणहरू, देवी–देवताहरू अनि राक्षसहरू सबैलाई अङ्गीकार गर्नुहोस् । यदि त्यसो गर्नुभयो भनेमात्र, यो कथा किन त्यस्तो थियो भनेर बुझ्नुहुनेछ— सबैभन्दा महत्त्वपृर्ण कुरा, महाभारत तपाईंको लागि किन सान्दर्भिक छ भनेर बुझ्नुहुनेछ । यदि तपाईंले सबैथोकलाई तार्किक रूपमा चिरफार गर्न थाल्नुभयो भने, तपाईं यस कथाको मूल भावलाई अनुभव गर्नबाट चुक्नुहुनेछ ।

इन्द्रका प्रधान पुरोहित वृहस्पति

हजारौँ वर्षअघि, एक विद्वान् एवं महान् पुरोहित थिए— वृहस्पति । महान् भएकै कारण स्वाभाविक रूपमा, देवताहरूका राजा इन्द्रले उनलाई आफ्नो आधिकारिक पुरोहितको रूपमा नियुक्त गरेका थिए । त्यस समयमा पुरोहितको निकै महत्त्व हुने गर्थ्यो, किनकि त्यो द्वापर युग थियो, जतिबेला अनुष्ठानहरू मानिसको जीवनको महत्त्वपूर्ण पक्ष हुने गर्दथे । उनीहरूले यस्ता विधि एवं प्रक्रियाहरू जानेका थिए, जसद्वारा उनीहरू आफ्नो जीवन, आफू वरपरका परिस्थितिहरू अनि अरूको जीवनमाथि समेत प्रभाव पार्न सक्थे । विभिन्न अनुष्ठान र कर्मकाण्डहरूको संस्कृतिको अवशेष अझैपनि कहीँकतै जीवित छन् । अन्य स्थानहरूको तुलनामा हेर्ने हो भने, केरला राज्यमा यी रीतिरिवाजहरू अधिक शुद्ध रूपमा सुरक्षित छन् । यो कथा जहाँ घटेको थियो, त्यहीँ निकै नराम्रो तरिकाले पूर्णतया भ्रष्ट भएको छ ।

यदि तिब्बतमा हेर्नुभयो भने स्थिति झनै खत्तम छ, किनकि मूल विधि–विधानहरूलाई एकदमै नराम्रो तरिकाले विगारिएको छ । दुर्भाग्यवश, गौतम बुद्धमाथि अनेक किसिमका अनुष्ठान र रीति रिवाजहरू थोपरिदिएर उनलाई प्रताडित गरिएको छ । उनले मानव जातिलाई यी अनुष्ठान र प्रथाहरूबाट मुक्त गराउनको लागि जीवनभरि काम गरे, किनकि उनी कलियुग र द्वापरयुगको सन्ध्याकालमा थिए । बुद्धले मानव जातिलाई यी रीति–रिवाजहरूबाट मुक्त गराउन चाहन्थे, किनकि यसअघिको द्वापर युगमा मानिसहरू धार्मिक अनुष्ठानहरूमा अति लिप्त भएको कुरा उनले राम्रोसँग जानेका थिए । यसैकारण, उनले ध्यान, ध्यान अनि केवल ध्यानमा नै बढी जोड दिए । तर दुर्भाग्यवश, आज हेर्ने हो भने हिन्दू संस्कृतिभन्दा बौद्ध संस्कृतिहरूमा बढी अनुष्ठानहरू पाइन्छन् ।

वृहस्पति र उनकी पत्नी तारा

इन्द्रका प्रधान पुरोहित वृहस्पतिकी पत्नीको नाम तारा थियो । यस संस्कृतिको रीति–रिवाजहरू हेर्ने हो भने, पहिलेको समयमा कुनै पनि अनुष्ठानमा एउटी महिलाको स्थान पुरुष सरह महत्त्वपूर्ण हुने गर्थ्यो । यही व्यवस्थाको कारण बाहिरी परिस्थति जतिसुकै प्रतिकूल भएपनि महिलाहरूले समेत बराबर स्थान पाउने कुरा सुनिश्चित गरिएको थियो । पुरुषले आफ्नी स्त्री (पत्नी) बिना कुनै पनि अनुष्ठानहरू सम्पन्न गर्न सक्दैनथ्यो । उसले आफ्नी पत्नीबिना आशीर्वाद पाउन सक्दैनथ्यो, आफ्नी पत्नीबिना ऊ स्वर्ग पनि जान सक्दैनथ्यो, यहाँ सम्म कि आफ्नी पत्नीबिना पुरुषको निम्ति मुक्ति वा मोक्ष समेत सम्भव हुँदैनथ्यो— कस्तो गम्भीर अपाङ्गता !

वृहस्पतिको समयमा रहेका सामाजिक मूल्य–मान्यताहरू वा भनौँ जसलाई धर्म भन्ने गरिन्थ्यो, त्यसले कुनै पनि महिलालाई शोषण, अपमान वा अवहेलना गर्न नपाइने कुरा सुनिश्चित गरेको थियो । किनकि, पुरूषको जीवनमा महिला अत्यन्तै महत्त्वपूर्ण अङ्ग थिइन् ।

सबै विधि–विधानहरू निश्चित तरिकाले स्थापित गरिएको थियो, जसकारण समाजले कुनै पनि रूपमा महिलालाई अनादर वा अवहेलना गर्न सक्दैनथ्यो । अहिलेको समयमा महिलाहरूसँग केही स्वतन्त्रता त छ, तर दुर्भाग्यवश यही स्वतन्त्रताले गर्दा उनीहरूले आफूसँग भएका थुप्रै विशेष–अधिकारहरू गुमाइरहेका छन् । अहिले महिलाहरूसँग कामचलाउ रूपमा बराबरी अधिकार छ— म कामचलाउ यसकारण भनिरहेको छु, किनकि कानुनी रूपमा महिलाहरूले बराबर अधिकार पाएका होलान्, तर कार्यन्वयनको सन्दर्भमा हेर्ने हो भने, यो अझै कामचलाउ नै छ । अहिले हामी बराबर अधिकारतर्फ अघि बढेका जस्तो त देखिन्छ, तर वास्तवमा भन्नुपर्दा, अहिलेको आधुनिक प्रविधिले कार्यक्षेत्रको स्तरमा दुवैलाई एउटै स्थानमा राखेको हो— मानव जातिभित्र साँच्चिकै रूपान्तरण भएर यो बदलाव भएको होइन ।

वृहस्पतिको समयमा रहेका सामाजिक मूल्य–मान्यताहरू वा भनौँ जसलाई धर्म भन्ने गरिन्थ्यो, त्यसले कुनै पनि महिलालाई शोषण, अपमान वा अवहेलना गर्न नपाइने कुरा सुनिश्चित गरेको थियो । किनकि, पुरूषको जीवनमा महिला अत्यन्तै महत्त्वपूर्ण अङ्ग थिइन् । यदि पुरुषलाई उसको जीवनको शारीरिक पक्षको महत्त्वपूर्ण अङ्ग नारी हुन् भनिएको भए, उसले आफ्नो शक्ति र सामर्थ्यले नै सबैथोक गर्न सकिने ठानेर सजिलै महिलालाई दबाउने थियो । तर, पुरुषको साथमा स्त्री नहोउन्जेल जीवनका आध्यात्मिक आयामहरू सम्भव नहुने कुरा बताइएको कारण एउटा पुरुषले आफ्नी स्त्रीलाई निकै महत्त्व दिने गर्थ्यो ।

तारा र चन्द्रको प्रेम

 

भलै, वृहस्पति देवताहरूका राजा इन्द्रका प्रधान पुरोहित भए तापनि, उनलाई हरेक काममा ताराको आवश्यकता हुन्थ्यो । ताराबिना वृहस्पति पङ्गु जस्तै थिए । आफ्नो जागिरमा ताराको भूमिका सहायक भएको हुनाले मात्रै उनले तारालाई छाडेका थिएनन्, किनकि तारा नहुने हो भने उनको जागिर नै धरापमा पर्ने थियो । वृहस्पति पराई स्त्रीहरूसँग कामवासना र भोगविलासमा लिप्त थिए । वृहस्पतिको यो व्यवहारबाट विरक्त भएकी ताराले एकदिन यत्तिकै आकाशमा पूर्ण चन्द्रमालाई हेरिन् अनि चन्द्रसँग उनको माया बस्यो । चन्द्र स्वयं धरतीमा आए । उनीहरूको प्रेम सम्बन्ध शुरु भयो र दुवै प्रेमालापमा मग्न भए । अनि, केही समयपछि तारा चन्द्रसँग भागिन् ।

पहिलो पटक कसैलाई उसको परिवारको संरचनाभित्रै रहनको लागि विवश गरिएको थियो ।

वृहस्पति क्रुद्ध भए, किनकि यो आफ्नी पत्नी गुमाउने विषय मात्र थिएन, बरु उनको जागिर, उनको इज्जत र सामाजिक प्रतिष्ठासमेत गुम्ने विषय थियो— अब उनी देवताहरूको वासस्थान देवलोकमा पनि प्रवेश गर्न पाउँदैनथे ! उनले इन्द्रलाई गुहारे, “मलाई तारा फिर्ता चाहिन्छ । तपाईंले त्यसलाई फर्काएर ल्याउनैपर्छ, नत्रभने म तपाईंका विधि–विधानहरू गर्दिनँ ।” इन्द्रले हस्तक्षेप गरे अनि तारालाई फर्किन बाध्य पारे । पहिलो पटक कसैलाई उसको परिवारको संरचनाभित्रै रहनको लागि विवश गरिएको थियो । जब इन्द्रले तारालाई “तिमी जसरी पनि फर्किनुपर्छ” भने, ताराले जवाफ फर्काइन्, “नाईं, मेरो प्रेमी यहाँ माथि छन् ।” इन्द्रले भने, “तिम्रा भावनाहरूले कुनै अर्थ राख्दैनन् । वृहस्पतिसँग रहनु नै तिम्रो धर्म हो । किनकि, यदि तिमी ऊसँग नरहने हो भने, यता मेरा अनुष्ठानहरू रोकिने छन् ।” यसरी तारालाई फिर्ता ल्याइयो ।

तारा र चन्द्रको बच्चा

जब तारा फर्किन्, उनी गर्भवति भएकी थिइन् । त्यो कसको बच्चा हो भनेर वृहस्पति जान्न चाहन्थे, तर ताराले केही बोलिनन् । मानिसहरू भेला गरियो, तैपनि उनले मुख खोलिनन् । तब उनको गर्भबाटै अजात (नजन्मिएको) बच्चाले प्रश्न सोध्यो, “वास्तवमै, म कसको बच्चा हुँ ?” गर्भमै रहेको बच्चाले आफू कसको बिउबाट बनेको हुँ भनेर जान्न चाहेपछि, उसको प्रज्ञा (बुद्धिमत्ता) को प्रशंसा गर्दै त्यहाँ भेला भएका मानिसहरूले तारालाई भने, “भलै, तिमीले आफ्नो पतिलाई बताउन अस्वीकार गरेपनि, देवताहरूलाई बताउन इन्कार गरेपनि, तिमीले आफ्नो नजन्मिएको बच्चाको निम्ति यो कुरा नकार्न पाउदिँनौ ।“ त्यसपछि तारा बोलिन्, “यो चन्द्रको बच्चा हो ।“

जब अस्तित्वमा यी सबैका लागि स्थान छ भने, तिमीले चिन्ता गर्नुपर्दैन— अस्तित्वमा तिम्रो लागि पनि स्थान छ ।

आफ्नी पत्नीले पराई पुरूषको बच्चा कोखमा बोकिरहेको कुरा सुनेपछि वृहस्पति रिसले आगो भए । उनले बच्चालाई श्राप दिए, “तँ पुरुष वा स्त्रीको रूपमा नभई एउटा नपुङ्सकको रूपमा जन्मिनु परोस् ।“ बच्चा जन्मिएपछि उसको नाम ‘बुध’ राखियो, जुन एउटा ग्रहको नाम हो । हुर्किएर ठूलो भएपछि बुधले आफ्नी आमासँग विलाप गरे, “मैले के गर्नुपर्ने हो ? म पुरूषको रूपमा बाँच्नुपर्ने हो ? वा, म महिलाको रूपमा बाँच्नुपर्ने हो ? आखिर, मेरो धर्म के हो ? के म सन्न्यासी बन्नुपर्ने हो ? वा, मैले विवाह गर्नुपर्ने हो ? विवाह गर्नुपर्ने हो भने, पुरुषसँग गर्ने कि महिलासँग ? ताराले भनिन्, “यस अस्तित्वमा विभिन्न ग्रहहरू, अर्बाैँ–खर्बैँ ताराहरू, अन्य कैयौँ चीजहरू साथै विविध प्रकारका जीवहरूका लागि स्थान रहेको छ, जो न त पुरुष हुन्, न महिला, न भगवान हुन्, न त राक्षस नै । जब अस्तित्वमा यी सबैका लागि स्थान छ भने, तिमीले चिन्ता गर्नुपर्दैन— अस्तित्वमा तिम्रो लागि पनि स्थान छ । तिम्रो निम्ति पनि जीवन हुनेछ । तिमी यहाँ यत्तिकै रहनू, जीवन स्वयं पछ्याउँदै तिमीसामु आउनेछ ।”

क्रमश: ...

सम्पूर्ण महाभारत अध्यायहरू

सम्पादकीय टिप्पणी: सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !