महाभारत अध्याय ९: अम्बाको प्रतिशोध— भीष्मको वध !

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
महाभारत अध्याय ९: अम्बाको प्रतिशोध— भीष्मको वध !
 

सम्पूर्ण महाभारत अध्यायहरू


अघिल्लो अध्याय: शान्तनुको जेठो छोरा चित्राङ्ढको मृत्यु भइसकेको र कान्छो छोरा विचित्रवीर्यले विवाह नगर्ने निर्णय लिएको हुनाले कुरु कुरु वंशमा गतिरोध सृजना भएको थियो, जसकारण राज्य अगाडि बढिरहेको थिएन । काशीका राजाले आफ्नी तीनवटी छोरीहरूको स्वयंवरको उद्‌घोष गरे, तर कुरु वंशमा निमन्त्रणा पठाएनन् । यो बेइज्जतीको बदला लिनको लागि भीष्म स्वयंवरमा पुगे अनि तीनैजना बहिनीहरू ‍अम्बा, अम्बिका र अम्बालिकाको अपहरण गरे । विचित्रवीर्यले अम्बिका र अम्बालिकासँग विवाह गरे, तर अम्बालाई उपेक्षा गरे । अब अगाडि:

सद्‌गुरु: निराशाको अवस्थाबाट अम्बा हताश बनिन्, हताश चिढिने अवस्थामा बदलियो र प्रचण्ड रूपमा क्रोधित बनिन्, अनि अन्तत: उनी प्रतिशोधले तिर्खाएकी अम्बा बनिन् । उनले हरेक ठाउँ चहारिन् र गुहार मागिन्, “भीष्मले मेरो जीवन बर्बाद गरिदियो । उसलाई मार्न सक्ने योद्धा कतै छ ?” भीष्म महान् योद्धा भएकाले कोही पनि उनीसँग लड्न चाहँदैनथे ।

...मलाई जे–जति पनि पुण्य र ऊर्जा प्राप्त भएको छ, तिमीलाई त्यो वरदानको रूपमा प्रदान गर्नेछु, जसकारण तिमी आफ्नो जीवनमा मृत्युको समय रोज्न सक्नेछौ । आफूले कहिले देहत्याग गर्ने भनेर तिमी स्वयं रोजन सक्नेछौ, अरू कसैले होइन ।

यसमा अर्को पक्ष पनि छ । जब भीष्मले कहिल्यै पनि विवाह नगर्ने प्रतिज्ञा गरेर आफूलाई नपुङ्सक बनाएका थिए, तब शान्तनुले यसो भनेका थिए, “तिमीले मेरो निम्ति जे गऱ्यौ, त्यसको लागि म तिमीलाई एउटा बरदान दिन्छु । मैले अठार वर्षसम्म ब्रह्मचारीको रूपमा तपस्या गरेको छु । त्यस साधनाबाट मलाई जे–जति पनि पुण्य र ऊर्जा प्राप्त भएको छ, तिमीलाई त्यो वरदानको रूपमा प्रदान गर्नेछु, जसकारण तिमी आफ्नो जीवनमा मृत्युको समय रोज्न सक्नेछौ । आफूले कहिले देहत्याग गर्ने भनेर तिमी स्वयं रोजन सक्नेछौ, अरू कसैले होइन ।” यो वरदाम पाएको कारण अनि एक महान् योद्धा भएको कारण, कोही पनि भीष्मसँग टक्कर लिन चाहँदैनथे ।

कार्त्तिकेयले अम्बालाई वरदान दिए

अम्बा हिमालयमा गएर घोर तपस्या गर्न थालिन् । शिवका पुत्र कार्त्तिकेय महान् योद्धा भएकाले उनैले भीष्मको बध गर्न सक्छन् भनेर अम्बाले सोचिन् । बरफको चिसोमा बसेर उनले कठोर साधना गरिन् र कार्त्तिकेयको ध्यान गरिन् । उनको तपस्याबाट खुसी भएर कार्त्तिकेय प्रकट भए । जब अम्बाले कार्त्तिकेयलाई भीष्मको वध गर्न अनुरोध गरिन्, तब उनले जवाफ दिए, “मैले हिंसा छोडिसके ।”

मैले हिंसा त्यागिसकेँ । म भीष्मलाई मार्न सक्दिनँ । तर, तिम्रो जुन दुर्दशा भएको छ साथै तिमीमा जुन भक्ति छ, त्यसको लागि म तिमीलाई एउटा बरदान दिन्छु ।

त्यसअघि, न्यायको खोजमा कार्त्तिकेयले अन्याय गरेको जस्तो लाग्ने सबैलाई वध गर्दै दक्षिणतर्फ गएका थिए । उनी त्यस ठाउँमा पुगेका थिए, जसलाई आज भारतको कर्नाटाका राज्यमा सुब्रह्मण्या नामले चिनिन्छ । त्यहाँ उनले आफ्नो तरवारलाई धोएर प्रतिज्ञा गरे, “यो तरबार अब फेरि कहिल्यै रगले रङ्गिने छैन ।” उनले हिंसा त्यागे अनि पहाडतिर गएर आफ्नो शरीर त्यागिदिए, जसलाई आज कुमार पर्वतको भनेर चिनिन्छ ।

जब अम्बाले कार्त्तिकेयलाई पुकारिन्, तब उनी बेदेह (देह वा शरीर नभएको) अवस्थामा प्रकट भए अनि भने, “मैले हिंसा त्यागिसकेँ । म भीष्मलाई मार्न सक्दिनँ । तर, तिम्रो जुन दुर्दशा भएको छ साथै तिमीमा जुन भक्ति छ, त्यसको लागि म तिमीलाई एउटा बरदान दिन्छु ।” उनले अम्बालाई कमलको फूलको बनेको माला दिँदै भने, “यो माला लिएर जाऊ । जसले यो माला लगाउँछ, उसैले भीष्मको वध गर्नेछ ।” कार्त्तिकेयले अम्बालाई कहिल्यै नओइल्याउने कमलको फूलको माला दिए ।

परशुराम र भीष्मको द्वन्द्व

अम्बाको जीवनमा माला अभिशाप जस्तै बनेको थियो । एकपटक पुन: माला लिएर अम्बा भौँतारिएर हिँड्न थालिन् । पहिलो पटक माला लिएर पहिऱ्याउँदा, त्यस्तो स्थिति भएको थियो । आफ्नो मनमा विशाल आशा र हातमा माला लिएर, अम्बा शहर–शहरमा गाउँ-गाउँमा भौँतारिइन् र कुनै यस्तो मानिस खोजिरहेकी थिइन्, जो भीष्मलाई मार्न तयार होऊन् । तर, मानिसहरू भीष्मलाई छुन सम्म पनि तयार थिएनन् । त्यसपछि, अम्बा परशुरामलाई खोज्दै हिँडिन् । परशुरामले नै भीष्मलाई शस्त्रकला (हतियार चलाउने कला)मा प्रशिक्षण दिएका थिए, विशेषगरी धर्नुविद्यामा । परशुरामलाई शाषटाङ्ग दण्डवत् गर्दै अम्बाले आफ्नो दुर्दशाको बारेमा बताएपछि परशुरामले भने, “तिमी चिन्ता नगर । म यसलाई अवश्य सुल्झाउने छु ।"

तपाईं मेरा गुरु हुनुहुन्छ । यदि तपाईंले आफ्नो शिर काट्नु भनेर आदेश दिनुभयो भनेपनि, म आफ्नै शिर काटेर तपाईंसामु राख्न तयार छु । तर, मलाई आफ्नो प्रतिज्ञा तोड्न नभन्नुहोस् । म आफ्नो प्रतिज्ञाबाट पछि हट्न सक्दिनँ ।

परशुरामले भीष्मलाई डाके । भीष्म आए अनि आफ्ना गुरुसामु दण्डवत् गरे । परशुरामले भने, “अब त अति भयो । तिम्रो प्रतिज्ञा र फजुलका कुराहरू अलि बढी नै भयो । अम्बासँग विवाह गर ।” पहिलो पटक भीष्मले भने, “तपाईं मेरा गुरु हुनुहुन्छ । यदि तपाईंले आफ्नो शिर काट्नु भनेर आदेश दिनुभयो भनेपनि, म आफ्नै शिर काटेर तपाईंसामु राख्न तयार छु । तर, मलाई आफ्नो प्रतिज्ञा तोड्न नभन्नुहोस् । म आफ्नो प्रतिज्ञाबाट पछि हट्न सक्दिनँ ।”

पूरै कथाभरि तपाईंले यस्ता मानिसहरू भेट्नुहुनेछ, जो केही प्रतिज्ञा गर्छन् अनि चाहे जीवन–मृत्युको प्रश्न उठेपनि उनीहरू आफ्नो वचनमा अडिग रहिरहन्छन् । यो किन यस्तो हो भने, ती दिनहरूमा पूरै लथालिङ्ग व्यवस्थाबाट उनीहरू सभ्यताको विकास गर्न चाहिरहेका थिए । कुनै लिखित संविधान, लिखित कानुन थिएन । तसर्थ, यस्तो स्थितिमा व्यक्तिको वचन सबैभन्दा महत्त्वपूर्ण कुरा हुने गर्थ्यो । जब कुनै औपचारिक कानुन थिएन, त्यसबेला व्यक्तिको वचन नै एकमात्र कानुन थियो । जब कसैले वचन दिन्थ्यो, तब ऊ त्यसलाई पूरा गर्नको लागि जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहन्थ्यो । वचन तोड्ने व्यक्तिको कुनै इज्जत रहँदैनथ्यो अनि उसलाई कुनैपनि कुराको लायक मानिन्थेन ।

परशुराम र भीष्मबिच युद्ध भयो, जुन भयानक थियो । परशुरामले भीष्मलाई आफूले जानेको सबैथोक सिकाएका थिए, जसकारण उनीमाथि विजय पाउन निकै कठिन भइरहेको थियो । दुवैजना लगातार कैयौँ दिनसम्म लडिरहे ।

त्यसैले भीष्मले भने, “मेरा गुरु, तपाईंका निम्ति म आफ्नो शिर काट्न सक्छु, तर आफ्नो वचन तोड्न सक्दिनँ ।” यदि कसैले कुनै कुरा अवज्ञा गऱ्यो भने, परशुराम त्यसलाई सहन सक्दैनथे । उनी घोर आज्ञाकारी थिए । जब उनका पिताले उनलाई आफ्ना तीनैजना भाइहरू र आमाको शिर काटेर ल्याउन भनेका थिए, त्यसबेला उनले केही सोच्दै नसोची चारैजनाको शिर काटिदिएका थिए । आज्ञापालनबाट खुसी हुँदै उनका पिताले “म तिमीलाई एउटा बरदान दिन्छु । भन, तिमी के चाहन्छौँ ?" भनेर सोध्दा परशुरामले मेरी आमा र मेरा भाइहरूलाई पुन: जीवित गर्नुहोस् भनेर अनुरोध गरे । अनि, उनीहरू फेरि जीवित भए । यस्तै परिवेशमा हुर्किएको कारण, परशुराम कुनै पनि हालतमा अवज्ञा गरेको सहन सक्दैनथे । भीष्मले उनको आज्ञा पालन गर्न आनाकानी गरेपछि परशुराम असाध्यै क्रोधित भए । यसैपनि, परशुरामलाई महाक्रोधी भनिन्थ्यो । पहिला क्षेत्रियहरूले उनको वंशको अपमान गरेको बेलामा पनि उनले सबै क्षत्रीहरूको हत्या गर्ने प्रण लिएका थिए । यस्तो भनिन्छ कि उनद्वारा मारिएका क्षत्रियहरूको रगतले पाँचवटा तालहरू बनेका थिए । पछि, क्षेत्रियहरूमा यी तालहरूमा डुबुल्की लगाउने हो भने अजेय योद्धा बन्न सकिन्छ भन्ने मान्यता रहेको थियो ।

परशुराम र भीष्मबिच युद्ध भयो, जुन भयानक थियो । परशुरामले भीष्मलाई आफूले जानेको सबैथोक सिकाएका थिए, जसकारण उनीमाथि विजय पाउन निकै कठिन भइरहेको थियो । दुवैजना लगातार कैयौँ दिनसम्म लडिरहे । अन्तत: कसैले पनि जित्न नसक्ने देखेपछि, परशुरामले हात उठाए अनि अम्बालाई भने, “भीष्मलाई मार्नको लागि तिमीले अरू कसैलाई खोज्नु पर्नेछ ।”

हिँड्दा-हिँड्दै उनी राजा द्रुपदको दरबारमा पुगिन् । द्रुपद पाञ्चाल देशको राजा थिए, जुन त्यसबेलाको भारतवर्षको दोस्रो ठूलो साम्राज्य थियो । उनले द्रुपदलाई भनिन्, “तपाईं यो माला ग्रहण गर्नुहोस् अनि भीष्मलाई मार्नुहोस् ।” त्यो मालालाई छुने त परैको कुरा, द्रुपद अम्बाको छेउछाउमा समेत जान चाहँदैनथे, किनकि त्यसबेलासम्म सबैतिर अम्बा प्रेतको रूपमा भीष्मको रगतको प्यासी भएर गाउँ-गाउँ, शहर-शहर भौँतारिरहेकी छिन् भन्ने चर्चा चारैतिर चलिरहेको थियो । द्रुपदले आफूलाई भेट्न अस्वीकार गरेको थाहा पाएपछि उनी असाध्यै निराश भइन्, अनि कार्त्तिकेयले दिएको त्यो मालालाई द्रुपदको महलको एउटा स्तम्भमा झुण्डाएर अत्यन्तै विरक्त हुँदै त्यहाँबाट पुन: हिमालयतर्फ गइन् । त्यो माला कहिल्यै ओइलाएन । द्रुपद त्यो मालाबाटै यति भयभीत भएका थिए कि उनी कसैलाई पनि त्यो माला छुन दिँदैनथे । हरेक दिन मालाको अगाडि दियो बालिन्थ्यो, तर कसैले पनि त्यो मालालाई छोएनन् ।

शिवको वरदान

...म यो सुनिश्चित गर्नेछु कि सही समय आएपछि तिमीले सबैकुरा सम्झिनेछौ । तिमीले अहिलेसम्म जे–जति अवहेलना, अन्याय र पीडा सहेकी छ्यौ, त्यसको लागि प्रतिशोध लिँदा तिमीलाई आनन्द प्राप्त हुनेछ ।

एकपटक फेरी हताश-निराश हुँदै अम्बा सिधै हिमालयतिर गइन् । उनी त्यहाँ बसेर घोर तपस्या गर्न थालिन् । बिस्तारै-बिस्तारै एउटी जवान युवतीको सुन्दर शरीर हाड–छाला मात्र बाँकी रहेर खोक्रो भएको थियो । उनले शिवलाई पुकारिन् । शिव स्वयं त्यहाँ प्रकट भए । उनले भनिन्, “तपाईंले भीष्मलाई मार्नैपर्छ ।” शिवले भने, “बरु, तिमी आफैँले भीष्मलाई मार्नु राम्रो हुन्छ, होइन र ? मैले उसलाई मार्नुभन्दा तिमीले नै उसलाई मार्दाखेरी त्यो प्रतिशोधबाट तिमी पूर्णतया सन्तुष्ट हुनेछौ ।" अचानक उनका आँखामा आशाको किरण देखियो । उनले भनिन, “तर कसरी ? म एउटी अवला नारी हुँ अनि उनी एक महान् योद्धा । म कसरी उनलाई मार्न सक्छु र ?" शिवले भने, “म तिमीलाई बरदान दिन्छु कि तिम्रो अर्को जन्ममा तिमी उसलाई मार्न सक्नेछ्यौ ।” फेरि अम्बाले सोधिन्, “तर, अर्को जन्ममा मलाई यी सबैथोक याद हुँदैन । अनि, म कसरी प्रतिशोधको आनन्द लिन सकूँला र?” शिवले भने, “चिन्ता नगर । म यो सुनिश्चित गर्नेछु कि सही समय आएपछि तिमीले सबैकुरा सम्झिनेछौ । तिमीले अहिलेसम्म जे–जति अवहेलना, अन्याय र पीडा सहेकी छ्यौ, त्यसको लागि प्रतिशोध लिँदा तिमीलाई आनन्द प्राप्त हुनेछ ।” त्यसपछि अम्बाले त्यहीँ बसेर आफ्नो शरीर छोडिन्— एकपटक पुन: फर्किनको लागि !

क्रमशः

सम्पूर्ण महाभारत अध्यायहरू