महाभारत अध्याय १०: यदु कुलमा कृष्णको जन्म

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
महाभारत अध्याय १०: यदु कुलमा कृष्णको जन्म
 

सम्पूर्ण महाभारत अध्यायहरू


अघिल्लो अध्याय: भीष्मलाई मार्ने प्रतिशोधले तिर्खाएकी अम्बा हिमालयमा गएर कात्तिकेयको ध्यान गरिन् । कार्त्तिकेय प्रकट त भए, तर भीष्मको वध गरिदुनुपर्ने अम्बाको अनुरोधलाई 'आफूले हिंसा त्यागिसकेको' भनी अस्वीकार गरे । त्यसपछि, अम्बाले परशुरामसँग गुहार मागिन्, जसकारण परशुराम र भीष्मबिच लगातार कैयौँ दिनहरूसम्म युद्ध चलिरह्यो, तर कसैले जित्न नसकेपछि परशुरामले हात उठाए अनि अरू कोही खोज्न भने । अम्बा, राजा द्रुपदको दरबारमा पुगिन्, तर त्यहाँबाट पनि उपेक्षित भएपछि, उनी हिमालयतिर गइन् अनि घोर तपस्या गर्न थालिन् । शिव स्वयं त्यहाँ प्रकट भए अनि अर्को जन्ममा, अम्बाले सहेकी सम्पूर्ण अवहेलना, अन्याय र पीडाको प्रतिशोध लिने अवसर प्रदान गर्ने कुरा सुनिश्चित गरे । अब अगाडि:


सद्‌गुरु: अहिलेसम्म हामीले ययातिका छोरा पुरु र उनको वंशको चर्चा गऱ्यौँ । पुरुका भाइ पनि थिए, यदु । यदुलाई उनका बुबा ययातिले 'कहिल्यै राजा बन्न नपाएस्' भनेर श्राप दिएका थिए । त्यसपछि, उनी दक्षिणतिर गए, जसलाई अहिले मथुरा शहर भनिन्छ । त्यहाँ थुप्रै जनजातिहरू बसोवास गर्दथे जस्तै कि अन्धक, भोजक, वृष्णि र नागा । अनि, त्यहाँ राजसंस्था वा राजा बन्ने परम्परा हुँदैनथ्यो । एउटा परिषदले शासन चलाउँथ्यो । यदुले नागा जनजातिमा विवाह गरे अनि उक्त शासक परिषदमा संलग्न भए । उनका बच्चाहरूबाट भिन्न–भिन्न वंश परम्पराहरू शुरु भयो, जो सबै मिलेर यादव नामबाट प्रसिद्ध भए, किनकि यदु त्यहाँको मुखिया थिए ।

ती दिनहरूको परम्परा र धर्मअनुसार जस्तोसुकै तरिकाले बच्चाको जन्म भएको भएपनि, ऊ आफ्नी आमाको वंशको वैध हिस्सा बन्दथ्यो ।

केही पुस्ताहरूपछि यदु कुलमा वासुदेवको जन्म भयो । वासुदेवका दुईजना बहिनीहरू थिए— पृथा र श्रुतादेवी । पृथालाई वासुदेवका भाइ कुन्तीभोजले पालेका थिए, किनकि उनी नि:सन्तान थिए । उनी पृथालाई यति धेरै माया गर्थे कि उनले आफ्नै नाम दिए अनि पृथा भन्नुको सट्टा कुन्ती भनेर बोलाउन थाले । कुन्तीले कुरू वंशका पाण्डुसँग विवाह गरिन्, जबकि श्रुतादेवीले दमगोससँग विवाह गरिन् ।

वासुदेवका दुईजना पत्नीहरू थिए— देवकी र रोहिणी । देवकीको सौतेलो भाइको नाम कंश थियो । कंश जारपुत्र थिए, अर्थात् उनी बलात्कारको उपज थिए । ती दिनहरूको परम्परा र धर्मअनुसार जस्तोसुकै तरिकाले बच्चाको जन्म भएको भएपनि, ऊ आफ्नी आमाको वंशको वैध हिस्सा बन्दथ्यो । तर, यादवहरूले कंशलाई अपनाएनन्— उनलाई अवैध सन्तान भनेर उपेक्षा गरियो । उनी महान् योद्धा थिए, तैपनि उनलाई शासक परिषदबाट बहिष्कार गरियो, किनकि कंश निकै दुष्ट र असभ्य थिए ।

कंशले पूर्वका अर्का महान् राजा जरासन्धसँग मित्रता गाँसे । जरासन्धको समर्थनले गर्दा थुप्रै मानिसहरू कंशको पक्षमा आए । यादव वंशमा इतिहासमा पहिलो पटक पाको मानिसहरूको परिषदलाई खारेज गरेर कसैले आफैँलाई राजा घोषित गरी गद्दीमा बसेका थिए । राजा बनेपछि कंशले निर्विवाद रूपले आफ्नो सत्ता स्थापित गरे अनि आफ्नो असभ्य र क्रुर तरिकाले राजकाज चलाउन थाले ।

कंशको क्रुरता बढ्दै गएपछि, उनले बहिनी देवकीकी आठौँ बच्चाको हातबाट वध हुने श्राप पाएका थिए । त्यसपछि, उनले देवकी र वासुदेवलाई जेलमा थुनेर राखे ।

कंशको शासनमा अधिकांश मानिसहरू पीडित भए । तर, कोही पनि उनको विरोध गर्ने साहस गर्दैनथे, किनकि उनलाई मित्र जरासन्धको सहारा थियो, जो शक्तिशाली राजा थिए । कंशको क्रुरता बढ्दै गएपछि, उनले बहिनी देवकीकी आठौँ बच्चाको हातबाट वध हुने श्राप पाएका थिए । त्यसपछि, उनले देवकी र वासुदेवलाई जेलमा थुनेर राखे ।

जुन दिन पहिलो बच्चाको जन्म भयो, कंश जेलमा गए अनि नवजात शिशुलाई खुट्टामा समातेर उठाएर भुँइमा थचारे । देवकी डर र पीडाले आहत भइन् । तर, जेलमा बन्दी भएकोले कारण उनी केही गर्न सक्थिनन् । अर्को बच्चाको जन्म भयो, कंशले फेरि बच्चा खोसे अनि त्यसैगरी भुईंमा जोडले थचारेर मारे । यो क्रम जारी रह्यो । यसको विस्तारमा नजाऔँ ।

कृष्णको अवतरण

अब आठौँ बच्चाको जन्म हुनुपर्ने थियो । उनीहरू दुवैजना यस बच्चाप्रति सङ्कल्पित थिए— केवल बच्चाको लागि होइन; कंशको क्रुरता र अत्याचर समाप्त गर्नको लागि । जब आठौँ बच्चाको जन्म भयो, उनीहरूले तान्त्रिकहरूको सहयोगमा तन्त्र–विद्याको माध्यमले जेलका रक्षकहरूलाई सुताइदिए । वासुदेवले नवजात शिशुलाई लिएर नदी पारी रहेको गोकुलमा लगे । उता गोकुलमा गोपालहरूका मुखिया नन्द र उनकी पत्नी यशोदा बसोवास गर्दथे । यशोदाले भर्खरै छोरी जन्माएकी थिइन् । वासुदेवले आफ्नो नवजात सन्तानलाई नन्द र यशोदालाई सुम्पिए अनि यशोदाकी छोरी लिएर फर्किए ।

बिहानपख, कंश जेलमा आए । देवकीसँग छोरी देखेर उनी अक्कनबक्क परे, किनकि आठौँ बच्चा छोरा हुनुपर्ने थियो, जो उनको संहारक बन्ने थिए ।

“जसले तेरो वध गर्नेछ, ऊ अझै जीवित छ । त्यो आठौँ सन्तान म होइनँ ।”

यद्यपि, कंश आफ्नो जीवनको खतरा लिन चाहँदैनथे । किनकि, कुन बेला केटी केटा बन्ने हो ! देवकीले कंशसँग अनुनय–विनय गरिन्, “हेर, ऊ छोरी हो । उसले तिमीलाई मार्न सक्दिन । यसैपनि, उसको बिहे हुनेछ अनि ऊ आफ्नो घर गइहाल्छे । कृपया उसलाई छोडिदेऊ ।” कंशले भने, “अहँ, कुनै हालतमा त्यो हुन सक्दैन । म कुनै पनि खतरा बाँकी छोड्दिनँ ।" कंशले बच्चीलाई उठाएर फनफनी घुमाए अनि माथि हुत्ताए । तर, बच्ची भुइँमा खस्नुको सट्टा अर्कै रूपमा प्रकट भइन् र भनिन्, “जसले तेरो वध गर्नेछ, ऊ अझै जीवित छ । त्यो आठौँ सन्तान म होइनँ ।”

कंश भयभीत भए । कंशले यताउती पूरै खोजे, तर कतै बच्चा नभेटेपछि उनले आफ्ना सेनाहरूलाई त्यस क्षेत्रमा जन्मिएका तीन वर्षमुनिका सबै बच्चाहरूलाई मार्ने आदेश दिए । सेनाहरू घरघरमा खोज्दै हिँड्न थाले अनि भेटे जतिका तीन वर्ममुनिका बच्चाहरूको हत्या गरे । उता, गोकुलमा आठौँ बच्चा कृष्ण नन्द र यशोदाको वात्सल्यमा हुँर्किँदै थिए ।

क्रमशः

सम्पूर्ण महाभारत अध्यायहरू