महाभारत अध्याय ११: पाण्डवहरूको जन्म

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
महाभारत अध्याय ११: पाण्डवहरूको जन्म
 

सम्पूर्ण महाभारत अध्यायहरू


अघिल्लो अध्याय: देवकीको सौतेलो भाइ कंश जारपुत्र भएपनि अर्का शक्तिशाली राजा जरासन्धको समर्थनले कंशले त्यसबेला शासन गर्ने परिषदलाई विघटित गरेर स्वयंले आफूलाई राजा घोषणा गरे । कंशको क्रुरता बढ्दै गएपछि, उनले बहिनी देवकीकी आठौँ छोराको हातबाट वध हुने श्राप पाएका थिए । यो सुनेपछि देवकी र वासुदेवलाई बन्दी बनाइयो, अनि सन्तान जन्मनेबित्तिकै कंश पुगेर नवजात शिशुको हत्या गर्ने थाले । आठौँको सन्तान भएपछि वासुदेवले जसोतसो नवजात शिशुलाई गोकुलमा लगेर यशोदाकी छोरीसँग साटेर ल्याए । आठौँ सन्तान छोरी भएपनि कंशले बच्चालाई माथि फाले, तर, बच्ची भुइँमा खस्नुको सट्टा अर्कै रूपमा प्रकट भइन् र भनिन्, “जसले तेरो वध गर्नेछ, ऊ अझै जीवित छ । त्यो आठौँ सन्तान म होइन ।” अब अगाडि:


सद्‌गुरु: पाण्डुले कुन्तीभोजले पालेका छोरी कुन्ती र माद्राकी राजकुमारी माद्रीसँग विवाह गरे । उनी युवा राजा थिए; उनका दुईजना पत्नीहरू थिए । उनले त्यतिबेलासम्म थुप्रै युद्धहरू जितिसकेका थिए, तर उनका कुनै सन्तानहरू थिएनन् । राजा र राज्यको भविष्यको लागि सन्तान नहुनु ठूलो समस्या हुने गर्थ्यो । भविष्यको राजा को हुनेछ भन्ने विषय असाध्यै महत्त्वपूर्ण हुन्थ्यो । अरू व्यक्तिहरूलाई राज्यको सिंहासनमा उत्तराधिकारी राजकुमार छैनन् भन्ने पत्ता लाग्नेबित्तिकै, जोसुकैले पनि त्यस राज्यलाई हडप्ने महत्वकाङ्क्षा राख्न सक्दथ्यो । यो एउटा राजनीतिक समस्या थियो ।

शिकारमा यो नियम रहेको हुन्छ कि कुनै गर्भवति पशु र प्रेमक्रिडामा रहेको पशुलाई मार्नुहुँदैन, किनकि उनीहरूमार्फत अर्को पुस्ता संसारमा आउँदछ ।

एकदिन पाण्डु शिकार खेल्न गए । उनले एक जोडी हरिण प्रेममा मग्न भएको देखे । अरूप्रति बेखबर रहेका जोडी शिकार गर्न एकदमै सजिलो हुने ठानेपछि उनले वाण प्रहार गरे । उनी धनुर्विद्यामा यति सिपालु थिए कि उनले एउटै तीरले दुवैको शिकार गरे । तीमध्ये एक हरिण वास्तवमा ऋषि थिए, जसले त्यतिबेला हरिणको रूप धारण गरेका थिए । उनले मर्नुअघि पाण्डुलाई श्राप दिए, “शिकारमा यो नियम रहेको हुन्छ कि कुनै गर्भवति पशु र प्रेमक्रिडामा रहेको पशुलाई मार्नुहुँदैन, किनकि उनीहरूमार्फत अर्को पुस्ता संसारमा आउँदछ । तिमीले त्यो नियम उल्लङ्घन गऱ्यौ । अत: यदि तिमीले कहिल्यै प्रेमले वशीभूत भएर आफ्नी पत्नीलाई स्पर्श गऱ्यौ भने, तिमी तत्काल मर्नेछौँ ।” यसैकारण, पाण्डुका बच्चाहरू थिएनन् । उनका दुईजना पत्नीहरू थिए, तर यो श्राप पाएको हुनाले उनी आफ्ना पत्नीहरूको नजिकमा जान सक्दैनथे ।

एकपटक पुन: अघिल्लो पिँढीमा जस्तै कुरु वंश सन्तानविहीन बन्यो । यो परिस्थितिले पान्डु यति निराश भए कि उनले आफ्नो सम्पूर्ण सत्ता र अधिकार त्यागेर आफ्ना श्रीमतीहरूसँग वनमा बस्न गए । उनी जङ्गलमा बस्ने ऋषिमुनीहरूसँग कुरा गरेर आफू राजा हुँ भन्ने कुरा बिर्सिने कोशिस गर्थे । तर, उनीभित्र निराशा चुलिँदै गएको थियो । एकदिन जब निराशा चरम अवस्थामा पुग्यो, उनले कुन्तीसँग भने, “म के गरौँ ? म आत्महत्या गर्न चाहन्छु । यदि तिमीहरू दुवैजनाबाट सन्तान जन्मिएन भने, कुरुवंश समाप्त हुनेछ । धृतराष्ट्रका पनि सन्तान छैनन् । यसैपनि, उनी नामका मात्र राजा हुन् । साथै, उनी दृष्टिविहीन छन्, तसर्थ उनका सन्तानहरू कुनै पनि हालतमा राजा बन्नुहुँदैन ।

मन्त्रको प्रयोग गरेर म कुनै पनि देवतालाई आमन्त्रित गरेर बोलाउन सक्छु अनि सन्तानलाई जन्म दिन सक्छु ।

जब उनी हताश भएर आत्महत्या गर्ने कुरा गर्न थाले, तब कुन्तीले उनलाई आफ्नो बारेमा केही कुरा बताइन् । उनले भनिन्, “एउटा सम्भावना छ ।” पान्डुले सोधे, ‘कस्तो उपाय ?’ कुन्तीले भनिन्, “जब म सानी थिए, ऋषि दुर्वासा मेरा पितासमक्ष आउनुभएको थिए अनि मैले उहाँको आदर-सत्कार गरेकी थिएँ । उहाँ असाध्यै खुसी हनुभयो अनि मलाई एउटा मन्त्र दिनुभयो । उहाँले भन्नुभएको थियो कि यो मन्त्रको प्रयोग गरेर म कुनै पनि देवतालाई आमन्त्रित गरेर बोलाउन सक्छु अनि सन्तानलाई जन्म दिन सक्छु । त्यसैले यदि तिमी साँच्चै चाहन्छौ भने, म तिम्रो लागि त्यस्तो गर्न सक्छु ।” तर, उनले आफूले पहिल्यै पनि अरू कसैलाई त्यसरी नै बोलाइसकेको कुरा चाहिँ भनिनन् । कुन्तीको कुराप्रति पाण्डु अत्यन्तै उत्सुक हुँदै भने, “कृपया, त्यसै गर । कसलाई बोलाउने त ?” उनीहरूले केहीबेर सोचे अनि पाण्डुले भने, “हामीले धर्मलाई बोलाउनुपर्छ । कुरुवंशमा धर्मपुत्र राजा हुनुपर्छ ।” धर्मलाई यम भनेर पनि चिनिन्छ, जो मृत्यु र न्यायका देवता हुन् ।

युधिष्ठिर र भीमको जन्म

कुन्ती जङ्गलमा गइन् र धर्मलाई आमन्त्रण गरिन् । कुन्तीले धर्ममार्फत एउटा बच्चा जन्माइन्, जसको नाम युधिष्ठिर राखियो र पाण्डुका जेठो छोरा मानियो । एक बर्ष बितेपछि पाण्डुको मनमा लोभ पलायो अनि उनले पुन: कुन्तीलाई बिन्ती गरे— “एउटा अर्को बच्चा पनि जन्माऔँ ।” कुन्तीले भनिन्, "हुँदैन, हामीसँग एउटा छोरा छँदै छ । साथै, कुरुवंशले आफ्नो उत्तराधिकारी पनि पाइसकेको छ । यो पर्याप्त छ ।” पाण्डुले भने, “अहँ, हामीसँग एउटा अर्को सन्तान हुनुपर्छ ।” उनले कुन्तीसँग अनुनय–विनय गर्दै भने, “यदि मेरो एउटा मात्र छोरा भयो भने, मानिसहरूले मेरो बारेमा तथानाम सोच्नेछन् । त्यसैले, अर्को एउटा जन्माऊ ।” “त्यसोभए अब कुन देवलाई बोलाउने त ?” पाण्डुले भने, “हामीसँग धर्म त छ, तर हामीलाई शक्ति पनि चाहिन्छ । तसर्थ, यसपटक वायुलाई बोलाऔँ ।” जङ्गलमा गएर कुन्तीले वायु देवताको आह्वान गरिन् । उनको उपस्थिति यति प्रबल थियो कि उनीहरू एउटै ठाउँमा रहन सकेनन् । उनले कुन्तीलाई लिएर अन्यत्रै गए ।

महाभारतमा वायुले कुन्तीलाई लिएर कसरी शुरुमा पहाडहरू पार गरे, त्यसपछि समुद्र पार गरे, अनि पछि क्षीर सागर पुगे भन्ने कुरालाई विस्तारमा वर्णन गरिएको छ । क्षीर सागर अर्थात् दूधले बनेको समुद्र (milky way) । उनले कुन्तीलाई वास्तवमा पृथ्वी गोलो छ भनेर देखाए । उनले कुन्तीलाई भारतवर्षमा दिन हुँदा विश्वको अर्को भागमा रात हुने अनि यहाँ रात हुँदा त्यो भागमा उज्यालो हुने कुरासमेत बताए । उनले पाँच हजार वर्षअघि नै स्पष्ट रूपमा पृथ्वी गोलो भएको अनि भारतवर्षको अर्को ठीक विपरित भागमा अर्कै सभ्यता विकसित भइरहेको कुरा जानकारी गराउँदै त्यहाँ कस्ता किसिमका मानिसहरू बसोबास गर्दथे अनि उनीहरू के–कस्ता कुराहरूमा दक्ष थिए भन्ने कुरासमेत व्याख्या गरे । यो भूमिमा महान् ऋषिमुनि र योद्धाहरूले जन्म लिएको कुरा बताए । कुन्तीले वायुमार्फत सन्तान जन्माइन्, जो भीम थिए । ठूलो भएपछि भीमलाई विश्वकै शक्तिशाली व्यक्ति भनिन्थ्यो ।

अर्जुनको जन्म

पाण्डुकी कान्छी पत्नी तिक्तताले भरिँदै गइन्, किनकि उनीसँग आफ्नो भन्नलाई न त पति थिए, न सन्तान नै ।

केही समयपछि, पाण्डुले भने, “मलाई थाहा छ म लोभी बनिरहेको छु, तर यी दुवै सुन्दर छोराहरूलाई हेरेपछि, म कसरी आफूलाई रोक्न सकूँला र ? म केवल अर्को छोरा चाहन्छु— अर्को एउटा मात्रै ।" कुन्तीले अस्वीकार गरिन् । समय बित्दै गयो, तर पाण्डुले आफ्नो ढिपी छाडेनन् । अन्तत: कुन्तीले हार मान्दै भनिन्, "ल ठिक छ । कसलाई बोलाउने ?" पाण्डुले भने, "यसपटक सम्पूर्ण देवताहरूका राजा इन्द्रलाई डाकौँ । कुन्तीले इन्द्रलाई आमन्त्रण गरिन् र उनीमार्फत बच्चा जन्माइन् । ती बालक अर्जुन थिए, जो पछि गएर महान् धनुर्धारी एवं योद्धा बने । महाभारतमा उनलाई योग्य क्षेत्रिय भनिएको छ, जसको अर्थ महान् योद्धा हो । उनी जस्ता योद्धा न त कोही भए, न नै हुनेछन् ।

माद्रीको ईर्ष्या

तीनजना दिव्य बच्चाहरू हुँर्किदै गए अनि उनीहरूले असाधारण क्षमता, प्रतिभा र बौद्धिकता प्रदर्शन गर्न थाले । सबैको ध्यान उनीहरू र आमा कुन्तीमा आकृष्ट हुन थाल्यो । पाण्डुकी कान्छी पत्नी तिक्तताले भरिँदै गइन्, किनकि उनीसँग आफ्नो भन्नलाई न त पति थिए, न सन्तान नै । एकदिन पाण्डुले माद्री पहिलेको जस्तो हसिली पत्नी नरहेको आभास भयो— उनको अनुहार द्वेषपूर्ण देखिन थालेको थियो । उनले सोधे, “कुरा के हो, के भयो ? के तिमी खुसी छैनौँ ?” उनले भनिन्, “म यो ठाउँमा कसरी खुसी हुन सक्छु त ? यहाँ तपाईं, तपाईंका तीनजना छोराहरू अनि तपाईंकी प्रिय पत्नीको मात्र चर्चा भइरहन्छ । मेरो लागि यहाँ के स्थान छ र ?" केहीबेर बहस चलेपछि उनले भनिन्, “यदि तपाईंले कुन्तीलाई मलाई पनि त्यो मन्त्र सिकाउन आग्रह गर्नुभयो भने, म पनि बच्चा जन्माउन सक्छु । त्यसपछि मतर्फ पनि तपाईंको ध्यान आकर्षित हुन्छ कि ! अन्यता, म तपाईंमाथि आश्रित बोझ मात्र बन्नेछु ।"

पाण्डुले उनको दुर्दशा बुझे । उनी कुन्तीसमक्ष गए अनि भने, “माद्रीलाई पनि बच्चाको आवश्यकता छ ।” कुन्तीले भनिन्, “किन ? मेरा बच्चाहरू पनि उसका बच्चा हुन् ।” उनले भने, “ऊ आफ्नै गर्भबाट बच्चा जन्माउन चाहन्छे । के तिमी उसलाई मन्त्र सिकाउन सक्छ्यौ ।” कुन्तीले भनिन्, “म मन्त्र सिकाउन त सक्दिनँ । तर, यदि आवश्यक पऱ्यो भने, म मन्त्रको प्रयोग गर्नेछु अनि उसले आफूले चाहेको जोसुकै देवतालाई बोलाउन सक्नेछे ।” कुन्तीले माद्रीलाई जङ्गलको गुफामा लगिन् र भनिन्, “म मन्त्रको प्रयोग गर्नेछु । तिमी जुन देवतालाई बोलाउन चाहन्छ्यौ, उनको बारेमा सोच्नू ।” माद्री कसलाई बोलाउने भनेर द्विविधामा परिन् । उनले दुई अश्चिनको बारेमा सोचिन्, जो देवता नभई यक्षहरू थिए । अश्व भनेको घोडा हो । यी दुवै दिव्य घोडचालक थिए, जो अश्व विशेषज्ञहरूको कुलसँग सम्बन्धित थिए । माद्रीले यी अश्विनहरूमार्फत जुम्ल्याहा बच्चालाई जन्म दिइन्, जसको नाम नकुल र सहदेव राखियो ।

पाँच पाण्डवहरू

कुन्तीका तीन छोराहरू थिए— युधिष्ठिर, भीम र अर्जुन । माद्रीका दुई छोराहरू थिए— नहकुल र सहदेव । तर, पाण्डु अझैपनि अरू सन्तानहरू चाहन्थे । एउटा राजाको लागि जति धेरै छोराहरू भयो, त्यति राम्रो हुन्थ्यो । युद्धको समयमा छोराहरू मारिन सक्ने भएकोले विजय प्राप्त गर्न वा शासन सम्हाल्नको लागि सम्भव भएसम्म धेरै छोराहरू हुनु उत्तम मानिन्थ्यो । कुन्तीले भनिन्, “अब त अत्ति भयो । म योभन्दा बढि सन्तान जन्माउन चाहन्न ।” पाण्डुले बिन्ती गर्दै भने, “ठीकै छ । तिमीले नजन्माउने भए माद्रीको लागि त मन्त्र प्रयोग गरिदेऊ ।” कुन्तीले अस्वीकार गरिन्, किनकि धेरै सन्तानहरू भएकी रानी नै महारानी बन्थिन् । उनका तीन छोराहरू थिए, जबकी माद्रीका दुईजना । उनले ठाडै अस्वीकार गर्दै भनिन्, “त्यो कदापि हुँदैन । अब त्यो मन्त्रको प्रयोग हुनेछैन ।"

पाण्डुका छोराहरूलाई पञ्च पाण्डव भनियो । सबै छोराहरू पाँच पाण्डवको रूपमा हुर्किए । उनीहरू राजाका सन्तान थिए अनि राजपरिवारको सदस्य थिए । यद्यपि, उनीहरू जङ्गलमा जन्मिए अनि त्यहीँ हुर्किए । १५ वर्षको उमेरसम्म उनीहरू जङ्गलमै हुर्किए ।

क्रमशः

सम्पूर्ण महाभारत अध्यायहरू