सम्पूर्ण महाभारत अध्यायहरू


अघिल्लो अध्याय: शिकारको क्रममा पाण्डुले प्रेममा मग्न जोडी हरिण मारेपछि उनले कुनै स्त्रीलाई प्रेमको भावले स्पर्श गरेमा मृत्यु हुने श्राप पाएका थिए । चरम निराशामा पुगेका पाण्डुले आत्महत्या गर्ने कुरा गरेपछि, उनकी पत्नी कुन्तीले वरदानको रूपमा आफूले कुनै पनि देवतालाई आमन्त्रित गरी सन्तानलाई जन्म दिन सक्ने मन्त्र पाएको कुरा खुलाइन् । मन्त्रको प्रयोग गरी कुन्तीले धर्ममार्फत युधिष्ठिर, वायुमार्फत भीम, इन्द्रमार्फत अर्जुनलाई जन्म दिइन् । पाण्डुकी अर्की पत्नी माद्री ईर्ष्याले कुण्ठित भएपछि, पाण्डुको अनुरोधमा कुन्तीले मन्त्र प्रयोग गरिदिएर माद्रीले अश्विनमार्फत नहकुल र सहदेवलाई जन्म दिइन् । यसरी पाँच पाण्डवहरूको जन्म भएको थियो । अब अगाडि:


सद्‌गुरु: धृतराष्ट्र जन्मजात दृष्टिविहीन थिए, जबकि उनकी पत्नी गान्धारी इच्छाले दृष्टिविहीन बनेकी थिइन् । धृतराष्ट्र आफ्ना भाइहरूका सन्तान हुनुअघि नै आफ्नो सन्तान चाहन्थे, किनकि उनीहरूको पछिको पुस्तामा जो पहिला जन्मिन्थ्यो, ऊ नै राजा बन्दथ्यो । कसैगरी गान्धारीबाट छोरा जन्मिने आशाले उनले गान्धारीसँग असाध्यै प्रेमपूर्ण कुराहरू गर्न थाले । अन्तत: गान्धारी गर्भवती भइन् । महिनाहरू बित्दै गए, नवौँ महिना कटेर दशौँ महिना लाग्यो, एघारौँ महिना पनि बित्यो, तर अझैपनि बच्चा जन्मिएन । उनीहरू चिन्तित हुन थाले । त्यसै समयमा उनीहरूले पाण्डुका पहिलो छोरा युधिष्ठिरको जन्म भएको खबर पाए । यो खबरले धृतराष्ट्र र गान्धारी असाध्यै दु:खी र निराश भए ।

अशुभ सङ्‌केत, अशुभ जन्म

दिक्क भएर उनले आफ्नै पेटमा जोडले हिर्काउन थालिन्, तैपनि केही भएन । त्यसपछि, उनले दरबारमा एउटी सेविकालाई लठ्ठी लिएर आउन अनि त्यसले पेटमा हिर्काउन आदेश दिइन् ।

युधिष्ठिर पहिला जन्मिएको हुनाले, स्वाभाविक रूपमा उनी नै राजा हुने पक्का थियो । तर, यता गान्धारी गर्भवती भएकी एघार, बाह्र महिना बितिसक्दा समेत बच्चा जन्मिएको थिएन । उनले भनिन्, “हैन्, के हो यस्तो ? यो बच्चा जीवित छ वा मरिसक्यो ? आखिर यो मान्छे हो वा पशु ?” दिक्क भएर उनले आफ्नै पेटमा जोडले हिर्काउन थालिन्, तैपनि केही भएन । त्यसपछि, उनले दरबारमा एउटी सेविकालाई लठ्ठी लिएर आउन अनि त्यसले पेटमा हिर्काउन आदेश दिइन् । यसो गर्दा उनको गर्भ तुहियो अनि कालो मासुको टुक्रा बाहिर निस्कियो । मानिसहरूले त्यसलाई देखेबित्तिकै आत्तिए, किनकि त्यो मान्छेको मासुको टुक्रा जस्तो थिएन । त्यो कुनै अशुभ र अनिष्टको सङ्केत जस्तो प्रतीत भइरहेको थियो ।

अचानक हस्तिनापुरको पूरै शहरमा आतङ्क मच्चाउने कोलाहल फैलियो— स्यालहरू कराउन थाले, जङ्गली जनावरहरू बाटोमा हिँड्न थाले, चमेराहरू दिनमै उड्न थाले । यसले केही न केही अशुभ घटनाको सङ्केत गरिरहेको थियो । यो देखेर ऋषिमुनीहरू तत्कालै हस्तिनापुर छाडेर कतै टाढा गए । ऋषिहरू त्यहाँबाट अन्यत्रै गएको खबर चारैतिर फैलियो । तब विदुरले धृतराष्ट्रलाई भने, “हामी सबैले भयानक समस्याको सामना गर्नुपर्ने जस्तो देखिन्छ ।” धृतराष्ट्र सन्तानको निम्ति यति उत्सुक र आतुर थिए कि उनले भने, “भैगो, जान देऊ ।” आफूले देख्न नसक्ने भएकोले उनले सोधे, “आखिर यहाँ के भइरहेको छ ? सबैजना किन चिच्याइरहेका छन्, कराइरहेका छन् ? यो कोलाहल ध्वनि के को हो ?”

माटोका १०० घडाहरू, १०० छोराहरू !

त्यसपछि गान्धारीले महर्षि व्यासलाई बोलाइन् । एकपटक महर्षि व्यास लामो यात्राबाट त्यहाँ आएका थिए अनि गान्धारीले उनको खुट्टाको घाउ सफा गरी मलहम पट्टी लगाइदिएकी थिइन् अनि उनको निकै राम्रोसँग ख्याल राखेकि थिइन् । यसबाट खुसी भएर व्यासले गान्धारीलाई आशीर्वाद दिएका थिए, “तिमीले जे इच्छा गर्नेछ्यौ, त्यो तिमीले पाउनेछ्यौ ।” उनले भनेकी थिइन्, “म सयजना छोराहरू चाहन्छु ।” अनि व्यासले “ठीकै छ, तिम्रा सयजना छोराहरू हुनेछन्” भनेर आशीर्वाद दिएका थिए । अहिले गर्भपातपछि, उनले व्यासालाई बोलाइन र भनिन्, “यो के हो ? तपाईंले मलाई सयजना छोराहरू हुने वरदान दिनुभएको थियो । तर, त्यसको सट्टा मबाट मासुको डल्लो निस्किएको छ, अनि त्यो पनि मान्छे जस्तो देखिँदैन— यो त अरू नै केही जस्तो लाग्दछ । यसलाई जङ्गलमा फ्याँक्नुहोस् वा अन्त कतै लगेर गाड्नुहोस् ।”

गान्धारी दुई वर्षसम्म गर्भवती भएकी थिइन् भनिन्छ— एक वर्ष आफ्नो कोखमा र अर्को वर्ष छिँडीमा ।

व्यासले भने, “अहिलेसम्म मैले भनेको कुनै पनि कुरा गलत प्रमाणित भएको छैन्, न त अहिले गलत हुनेछ । त्यो चाहे जेसुकैको टुक्रा भएपनि यहाँ लिएर आउनू ।” उनले त्यसलाई छिँडीमा लिएर गए अनि सयवटा माटोका घडाहरू, तिलको तेल र विभिन्न किसिमका जडिबुटीहरू लिएर आउन भने । उनले त्यो मासुको टुक्रालाई सय भागमा काटे अनि भाँडोमा हालेर बन्द गरी छिँडीमा राखे । त्यसैबेला, उनले एउटा सानो टुक्रा अझै बाँकी रहेको देखे । उनले भने, “एउटा अर्को भाँडो लिएर आउनू । तिम्रा सयजना छोराहरू र ‍एउटी छोरी हुनेछन् ।” उनले त्यो सानो टुक्रालाई पनि अर्को भाँडोमा राखी बन्द गरेर छिँडीमा राखिदिए । अर्को एक वर्ष बित्यो । यसैकारण, गान्धारी दुई वर्षसम्म गर्भवती भएकी थिइन् भनिन्छ— एक वर्ष आफ्नो कोखमा र अर्को वर्ष छिँडीमा ।

सर्पनेत्र भएको पुत्र

एक वर्ष बितेपछि पहिलो घडा फुट्यो अनि त्यसबाट विशाल शिशु निस्कियो, जसको आँखा शर्पको जस्तै थियो । सर्पनेत्र अर्थात् आँखा नझिम्क्याउने— ट्वाल्ल परेका आँखाहरू । फेरि एकपटक अशुभ सङ्केतहरू र कर्कश ध्वनिहरूको कोलाहल मच्चिन थाल्यो । जे रातमा हुनुपर्ने हो, त्यो दिनमै भइरहेको थियो । दृष्टिविहीन धृतराष्ट्रले केही अनुचित भइरहेको महसुस गरे अनि विदुरलाई सोधे “के भइरहेको छ ? यहाँ केही नराम्रो भइरहेको छ जस्तो लाग्दछ । के मेरो छोरा जन्मियो ? कृपया मलाई बताऊ ।” विदुरले भने, “हो, तपाईंको छोरा जन्मिएको छ ।” बिस्तारै–बिस्तारै अरू घडाहरू पनि फुट्न थाले, सबै बच्चाहरू बाहिर निस्किए अनि एउटा भाँडाबाट सानी बच्ची निस्किइ ।

विदुरले भने, “तपाईंका १०० छोराहरू र एउटी छोरीको जन्म भएको छ । तर, म तपाईंलाई सुझाव दिन्छु कि आफ्नो पहिलो छोरालाई कसैबाट मार्न लगाउनुहोस् ।” धृतराष्ट्रले भने, “के रे ? तिमी मलाई मेरो जेठो छोरालाई मार्ने सुझाव दिइरहेका छौ ? के कुरा गरेको त्यस्तो ?” विदुरले भने, “यदि तपाईंले आफ्नो जेठो छोरालाई समाप्त गर्नुभयो भने, आफू, तपाईंले कुरु राज्य र मानवजातिको निम्ति ठूलो उपकार गर्नुहुनेछ । अनि तपाईंसँग अझैपनि सयजना बच्चाहरू रहनेछन्— ९९ छोराहरू र एउटी छोरी । जेठो छोरा नहुने हो भने, तपाईंका बाँकी सन्तानहरूलाई केही पनि हुँदैन । तर, ऊ जीवित रहने हो भने, हाम्रो पूरै कुलको विनाश हुनेछ ।”

विद्वानहरूले सधैँ भनेका छन् कि परिवारको कल्याणको निम्ति व्यक्तिको बलिदान गर्न सकिन्छ, समाजको कल्याणको निम्ति परिवारको बलिदान गर्न सकिन्छ, राष्ट्रको कल्याणको निम्ति समाजको बलिदान गर्न सकिन्छ । यहाँसम्म कि कुनै अमर आत्माको लागि पूरै संसारको बलिदान समेत गर्न सकिन्छ ।

अशुभ सङ्‌केतको वेवास्ता

कुराकानीको बिचमै गान्धारी त्यहाँ आइपुगिन् अनि आफ्नो जेठो छोरालाई उठाएर सुमसुम्याउन थालिन्— जो दुर्योधन थिए । गान्धारीले कुनै कर्कश कोलाहल सुनिनन् । उनले कुनै अशुभ सङ्केतहरू चाल पाइनन् । उनी आफ्नो पहिलो छोरा जन्मिएकोमा अत्यन्तै हर्षित र उत्साहित थिइन् । उनी आफ्नो जेठो छोरालाई पाल्न र हुर्काउन ज्यादै आतुर थिइन् । तब विदुरले भने, “विद्वानहरूले सधैँ भनेका छन् कि परिवारको कल्याणको निम्ति व्यक्तिको बलिदान गर्न सकिन्छ, समाजको कल्याणको निम्ति परिवारको बलिदान गर्न सकिन्छ, राष्ट्रको कल्याणको निम्ति समाजको बलिदान गर्न सकिन्छ । यहाँसम्म कि कुनै अमर आत्माको लागि पूरै संसारको बलिदान समेत गर्न सकिन्छ ।”

“हे दाजु ! तपाईंको यो दानवरूपी बच्चा मानवतालाई नष्ट–भ्रष्ट गर्नको लागि नर्कबाट आएको हो । यसलाई अहिल्यै मार्नुहोस् । म यो वचन दिन्छु कि बाँकी भाइहरूलाई केही पनि हुनेछैन अनि तपाईं आफ्ना ९९ राजकुमारहरूसँग आनन्दपूर्वक रहन सक्नुहुनेछ । तर, यसलाई जीवित राख्नु हुँदैन ।" तर, धृतराष्ट्रको विवेकको दाँजोमा आफ्नो रगतप्रतिको मोह र आसक्ति निकै बढी भएकोले उनी मतिभ्रष्ट भए । अत: दुर्योधन आफ्ना सयजना भाइ–बहिनीहरूसँगै हस्तिनापुरको दरबारमा हुर्किए, जबकि उता पाण्डवहरू जङ्गलमा हुर्किँदै गए ।

क्रमशः

सम्पूर्ण महाभारत अध्यायहरू