महाभारत अध्याय १३: 'धर्म' र 'अधर्म' को सही अर्थ के हो ?

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
महाभारत अध्याय १३: 'धर्म' र 'अधर्म' को सही अर्थ के हो ?
 

सम्पूर्ण महाभारत अध्यायहरू


अघिल्लो अध्याय: धृतराष्ट्रकी पत्नी गान्धारी एक वर्षसम्म गर्भवती हुँदा पनि बच्चा नजन्मिएपछि उनले सेविकालाई लट्ठीले आफ्नो पेटमा बेसरी हिर्काउन भनिन्, जसकारण उनको गर्भ तुहियो अनि कालको मासुको डल्लो बाहिर निस्कियो । केही वर्षअघि महर्षि व्यासबाट सयजना पुत्र हुने वरदान पाएकी गान्धारीले आफ्नो हालको अवस्था देखेपछि व्यसलाई डाकिन् । महर्षि व्यासले त्यो मासुको डल्लोलाई सय भागमा काटेर केही जडीबुटी मिसाइ घडाहरूमा बन्द गरिदिए । एक वर्षपछि एउटा घडा फुट्यो अनि सर्पनेत्र भएको बालक निस्कियो, जसपश्चात पूरै हस्तिनापूरमा अशुभ सङ्केतहरू, कर्कश ध्वनिहरूको कोलाहल मच्चिन थाल्यो, जसले अशुभ र अनिष्टको सङ्केत दिइरहेको थियो । अब अगाडि:


धर्म र अधर्म

सद्‌गुरु: महाभारतको पूरै कथा दुईवटा मूलभूत पक्षहरूको सेरोफेरोमा घुम्दछ— धर्म र अधर्म । ‘धर्म’ र ‘अधर्म’ लाई अधिकांश मानिसहरू सही र गलत वा ठीक र बेठीक वा राम्रो र नराम्रो भनेर सोच्दछन् । धर्म र अधर्मलाई विभिन्न तरिकाहरूले हेर्न सकिन्छ । क्षेत्रिय अर्थात् योद्धाको आफ्नै धर्म हुन्छ । ब्राम्हण वा गुरुको आफ्नै धर्म हुन्छ । त्यसैगरी, वैश्य र शुद्रको पनि आ–आफ्नै धर्म हुन्छ । यो जीवनलाई हेर्ने विवेकपूर्ण तरिका हो । फरक–फरक वर्गका मानिसहरूको मात्रै नभई, प्रत्येक व्यक्तिको आफ्नै धर्म हुन्छ । महाभारतमा, तपाईंले भीष्म वा अरूहरूले पटक–पटक ‘यो मेरो धर्म हो‘ भनेको सुन्न सक्नुहुन्छ । यदि सबैको आफ्नै धर्म हुने हो भने, हामीमा यो प्रश्न उठ्छ कि वास्तवमा धर्म कहाँ हुन्छ त ? कुरुक्षेत्रमा जुन युद्ध भयो, त्यो सबैजनासँग आफ्नै धर्म भएकोले अनि एकअर्काको धर्मसँग बाझिएकोले घटेको होइन । युद्ध यसकारण भयो, किनकि मानिसहरूले आफ्नै धर्म उल्लङ्घन गरे ।

प्रत्येक व्यक्ति आफू स्वत्न्त्र भएर बाँच्न सक्दछ, अनि त्यसबेला पनि एक–अर्कासँग कुनै टक्कर नहुने सम्भावना रहन्छ । धर्मको यही मूलभूत डोरीले सभ्य र परिष्कृत समाज सम्भव भएको थियो ।

यो जीवनलाई हेर्ने एउटा तरिका हो, जहाँ हरेक व्यक्तिको आफ्नै धर्म हुन सक्छ, अनि तबपनि सबैजना एउटा समान धर्मको डोरीले बाँधिएर रहन सक्छन्, जसलाई कसैले तोड्न सक्दैन । यस प्रकारले प्रत्येक व्यक्ति आफू स्वत्न्त्र भएर बाँच्न सक्दछ, अनि त्यसबेला पनि एक–अर्कासँग कुनै टक्कर नहुने सम्भावना रहन्छ । धर्मको यही मूलभूत डोरीले सभ्य र परिष्कृत समाज सम्भव भएको थियो ।

मत्स्य न्याय

धर्मको स्थापना हुनुअघि, मत्स्य न्यायको प्रचलन थियो । यसबारे एउटा कथा रहेको छ । एकदिन एउटा सानो माछा खुसी हुँदै नदीमा पौडिरहेको थियो । त्यसैबेला, एउटा ठूलो माछा अन्तैबाट त्यहाँ आयो । सानो माछा ठूलो माछाको आहार बन्यो अनि ठूलो माछा निकै खुसी भयो । अर्कोदिन, अझ ठूलो माछा आयो र यो माछालाई खायो । यसरी ठूला अनि अझ ठूला माछाहरू आएर आफूभन्दा साना माछाहरूलाई खाँदै गए । त्यसपछि, नदीको सबैभन्दा ठूलो माछा समुद्रमा पुग्यो । त्यो माछाले त्यहाँका साना माछाहरूलाई खान थाल्यो अनि केही दिनमै यति विशाल भयो कि त्यसले पुच्छर हल्लाएकै भरमा समुद्रको पानी उर्लिएर हिमालयलाई छुन्थ्यो । यसरी त्यो विशालकाय माछा संसारको लागि खतरा बन्यो !

मत्स्य न्यायबाट अगाडि बढेर मानिसहरूले समाजलाई यस्तो स्थानमा पुऱ्याउने प्रयत्न गरे, जहाँ प्रत्येक व्यक्तिले समाजको मूलभूत नियमलाई उल्लङ्घन नगरिकन आफू स्वतन्त्र रही आफ्नो धर्म पालना गर्न सक्थ्यो ।

यो कथालाई सही परिप्रेक्ष्यमा बुझ्न जरूरी छ । आज पनि यो कुरा साँचो हो कि हरेक माछा आफ्नो वर्तमान आकारभन्दा ठूलो हुने कोशिस गरिरहेको हुन्छ । यदि सम्पूर्ण माछाहरू एउटै गतिले बढे भने, त्यहाँ सभ्य समाज स्थापित हुन्छ । तर, यदि सबैमध्ये एउटा चाहिँ एकदमै विशालकाय बन्यो भने, समाजको मूलभूत नियम र सभ्यता खलबलिन्छ । त्यो विशालकाय माछाको झोँकले नै कानुन बन्दछ ।

मत्स्य न्यायबाट अगाडि बढेर मानिसहरूले समाजलाई यस्तो स्थानमा पुऱ्याउने प्रयत्न गरे, जहाँ प्रत्येक व्यक्तिले समाजको मूलभूत नियमलाई उल्लङ्घन नगरिकन आफू स्वतन्त्र रही आफ्नो धर्म पालना गर्न सक्थ्यो । त्यो आधारलाई उल्लङ्घन गरेमा टकराव हुनेछ । समाजमा जहाँसुकै, यहाँसम्म कि सरल भौतिक पक्षहरूमा समेत सरल नियम कानुनहरू बनाइन्छन् ।

महाभारतको सन्दर्भमा 'धर्म' को अर्थ

महाभारतमा यस्तो परिस्थिति सृजना भयो, जब केही माछाहरू यति विशाल हुँदै गए कि उनीहरूले समाजको मूलभूत धर्मलाई सम्मान गर्न छाडे, जसले मानिसहरूको स्वतन्त्रता सुनिश्चित गरिरहेको थियो । जब उनीहरूले धर्मको कुरा गर्दथे, त्यसलाई केवल नागरिक संहिताको रूपमा वा समाजमा सुख-शान्तिको साधनको रूपमा मात्रै हेरिएको थिएन । मानिसहरूलाई आफ्नो प्रतिभा, प्रेम र स्वतन्त्रताको अभिव्यक्ति गर्नको लागि धर्म स्थापित गरिएको थिएन । प्रत्येक व्यक्ति आफ्नो परम प्रकृतितर्फ अघि बढ्नको लागि जीवनलाई सोही अनुकूल व्यवस्थित गर्न सकून् भन्ने हेतुले नै धर्म स्थापित गरिएको थियो । यदि तपाईं आफ्नो परम, मूल र दिव्य प्रकृतितर्फ बढिरहनु भएको छ भने, तपाईं धर्ममा हुनुहुन्छ । यदि तपाईं त्यस अनुकूल अघि बढिरहनु भएको छैन भने, तपाईंले अरू कसैलाई कुनै नोकसान नपुऱ्याए पनि तपाईं धर्ममा रहनुहुन्न । महाभारतमा धर्मको सार यही हो ।

जब कसैले भन्दछ कि ‘यो मेरो धर्म हो’, तब यसको अर्थ यो हो कि त्यो उसले नरुचाएको भएपनि, त्यो उसको लागि सुविधाजनक नभएपनि, आफ्नो परम–प्रकृतिसम्म पुग्नको निम्ति त्यो नै उसको मार्ग हो ।

जब कसैले भन्दछ कि ‘यो मेरो धर्म हो’, तब यसको अर्थ यो हो कि त्यो उसले नरुचाएको भएपनि, त्यो उसको लागि सुविधाजनक नभएपनि, आफ्नो परम–प्रकृतिसम्म पुग्नको निम्ति त्यो नै उसको मार्ग हो । जब भीष्मले भने, ‘यो शपथ मेरो धर्म हो । यसको लागि जस्तोसुकै मूल्य चुकाउनु परेपनि म यसलाई तोड्दिनँ । भलै, आफ्नो पूरै जीवन कुरुवंशको लागि समर्पित गर्न तयार रहे तापनि, कुरुवंश वा पूरै साम्राज्य नै तहस-नहस भएपनि म कुनै हालतमा यो शपथ तोड्ने छैन ।" उनको भनाइको तात्पर्य के थियो भने, उनले मुक्ति पाउने तरिका त्यही हो, जसकारण उनी त्यसलाई त्याग्ने छैनन् ।

तपाईंले विदुरको कुरामा ध्यान दिनुभएको छ भने, विदुरले भनेका छन् कि "परिवारको कल्याणको निम्ति व्यक्तिको बलिदान गर्न सकिन्छ, समाजको कल्याणको निम्ति परिवारको बलिदान गर्न सकिन्छ, राष्ट्रको कल्याणको निम्ति समाजको बलिदान गर्न सकिन्छ । यहाँसम्म कि परम–प्रकृतिसम्म पुग्नको लागि पूरै संसारकै बलिदान समेत गर्न सकिन्छ ।" धर्मलाई यही सन्दर्भमा हेर्ने गरिन्थ्यो । मानिसहरूले यो कुरा स्पष्ट रूपमा बुझेका थिए कि परम–प्रकृति नै सबैभन्दा उच्च लक्ष्य हो अनि यसको महत्व सर्वाधिक हुन्छ ।

अजेय योद्धा 'भीष्म' को शक्ति

यसैलाई आधार बनाएर त्यसबेलाका मानिसहरूले सम्पूर्ण नियम–कानुनहरू बनाएका थिए । उनीहरूले दैनिक जीवनका सरल नियमहरूलाई समेत परम–प्रकृतिसम्म पुग्नको लागि सिँढीको रूपमा प्रयोग गरे । भीष्मले कठोर प्रतिज्ञा गरे— हामीले उनको प्रतिज्ञालाई कठोर भन्नुको कारण उनी ब्रम्हचारी बने, उनले आफुलाई नपुंशक बनाए, उनले व्यक्तिगत असुविधा वा क्षति व्यहोरे भन्ने होइन; उनको प्रतिज्ञालाई यसकारण कठोर भनिएको हो, किनकि आफ्नो लागि सबैभन्दा प्रिय रहेको कुरुवंश र राज्यलाई समेत उनले दाउमा लगाए । जुन कुरा आफ्नो निम्ति सबैभन्दा प्रिय थियो, त्यसैलाई दाउमा लगाएर भीष्मले त्यही उनको धर्म हो र मुक्ति प्राप्त गर्ने मार्ग पनि हो भनिदिए ।

भीष्मलाई यसकारण मार्न सकिएको थिएन, किनकि उनले आफ्नो शरीरको हरेक कणलाई जीवन-शक्तिमा रूपान्तरण गरेका थिए, जसले भीष्मलाई एक प्रकारले अमर जस्तै बनाएको थियो । यसैको आधारमा मानिसहरूले भीष्म आफ्नो मृत्युको समय रोज्न सक्छन् भनेका हुन् ।

जसैजसै हामी महाभारतको कथामा अघि बढ्छौँ, तपाईंले यस्ता अनेकौँ परिस्थितिहरू देख्नुहुनेछ जहाँ भीष्म लगभग महामानव जस्तै प्रतीत हुन्छन् । यदि मनुष्य आफूभित्र रहेको जीवनको बिउ अर्थात् अर्को मनुष्य निर्माण गर्ने सामर्थ्य बोकेको सिङ्गो कोषिकालाई जीवन–शक्तिमा रूपान्तरण गर्न इच्छुक हुने हो भने, त्यो आणविक शक्ति जत्तिकै शक्तिशाली बन्दछ ।

कैयौँ पटक मानिसहरूले यसो भन्ने गर्थे कि भीष्म ब्रम्हचारी भएकाले नै उनीसँग लड्न नसकिएको हो । भीष्मलाई यसकारण मार्न सकिएको थिएन, किनकि उनले आफ्नो शरीरको हरेक कणलाई जीवन-शक्तिमा रूपान्तरण गरेका थिए, जसले भीष्मलाई एक प्रकारले अमर जस्तै बनाएको थियो । यसैको आधारमा मानिसहरूले भीष्म आफ्नो मृत्युको समय रोज्न सक्छन् भनेका हुन् । उनी अमर वा नश्वर थिएनन्, तर उनी आफ्नो मृत्युको समय र स्थान रोज्न सक्थे, जुन एक प्रकारले अमरता जस्तै हो । वास्तवमा भन्नुपर्दा, अमरता श्राप जस्तै हो । के तपाईं यो कल्पना गर्न सक्नुहुन्छ कि यदि तपाईं यहाँ सदाको लागि जीवित रहनु परेको भए, त्यो कस्तो यातना हुने थियो ? अमरता अभिशाप हो; जबकि आफ्नो इच्छाले मर्न सक्ने विकल्प वरदान हो !

क्रमशः

सम्पूर्ण महाभारत अध्यायहरू