सम्पूर्ण महाभारत अध्यायहरू


अघिल्लो अध्याय: महाभारतको सन्दर्भमा 'धर्म' र 'अधर्म' को सही अर्थ उल्लेख गरिएको थियो । प्रत्येक व्यक्ति आफू स्वत्न्त्र भएर बाँच्न सक्दछ, अनि त्यसबेला पनि एक–अर्कासँग कुनै टक्कर नहुने सम्भावना रहन्छ । धर्मको यही मूलभूत डोरीले सभ्य र परिष्कृत समाज सम्भव भएको थियो । जब कसैले भन्दछ कि 'यो मेरो धर्म हो', आफ्नो परम–प्रकृतिसम्म पुग्नको निम्ति त्यो नै उसको मार्ग हो । अब अगाडि:


प्रश्नः सद्‌गुरु, तपाईंले यो बताउनुभएको थियो (अघिल्लो अध्यायमा) कि हरेक व्यक्तिको आफ्नो जीवन र आफ्नो धर्म हुन सक्छ, अनि तबपनि अरू कसैको धर्मसँग टक्कर वा सङ्घर्ष नरहन सक्दछ । के तपाईंलाई लाग्दैन कि अचेल यसको उल्टो भइरहेको छ ? हामी आफ्नो व्यक्तित्वको आधारमा आफ्नो धर्म बनाउँछौँ अनि एक–अर्कासँग सङ्घर्ष गरिरहन्छौँ ।

सद्‌गुरु: त्यसैकारण, मैले यो भनेको हुँ कि धर्म एकदमै गहन कुरा हो । यदि हाम्रा आवश्यकताहरू सामान्य छन्, अनि हामीले तिनकै वरिपरि आफ्नो धर्म बनायौँ भने, तब निश्चय पनि कसै न कसैसँग हाम्रो द्वन्द हुन्छ । यसैकारण, त्यसबेला मानिसहररूले आफ्नो व्यक्तिगत धर्म यसरी निर्माण गरे कि उनीहरूको परम अर्थात् सर्वोच्च अभिलाषा अरूसँग नजुधोस् । तर बाटोमा, घरमा, बजारमा रहँदा जीवनलाई सहज रूपमा चलाउनको लागि सामूहिक धर्म हुन्छ, जसलाई जो–कसैले मान्नुपर्ने हुन्छ । उदाहरणको लागि यातायातहरूको लागि यो तय गरिएको हुन्छ कि सडकको एकपट्टीबाट चलाउनुपर्छ अनि सवारी जुन दिशामा गइरहेको छ, सबैले त्यही दिशामा चलाउनुपर्छ । यो सार्वजनिक धर्म हो, तपाईं यसलाई मेरो व्यक्तिगत धर्म फरक छ भनेर नकार्न सक्नुहुन्न ।

तपाईंको व्यक्तिगत धर्म भनेको तपाईं आफ्नो परम–प्रकृतिसम्म पुग्नु हो । बाहिरी संसारमा रहेका नियम र कानुनहरू सबैको सार्वजनिक धर्म हुन् अनि प्रत्येक व्यक्तिले तिनलाई मान्नुपर्छ ।

तपाईंको व्यक्तिगत धर्म भनेको तपाईं आफ्नो परम–प्रकृतिसम्म पुग्नु हो । मूलत: यो भित्री प्रक्रिया हो, जसकारण यो अरू कसैको धर्मसँग जुध्दैन । अर्कोतर्फ, बाहिरी संसारमा रहेका नियम र कानुनहरू सबैको सार्वजनिक धर्म हुन् अनि प्रत्येक व्यक्तिले तिनलाई मान्नुपर्छ । जब हामी त्यस माथि प्रश्न उठाउँछौँ, तब निश्चिय पनि झगडा र द्वन्द्व हुनेछ ।

प्रश्नt: सद्‌गुरु, जब तपाईं परम–प्रकृति र धर्मको बारेमा कुरा गर्नुहुन्छ, तब मलाई लाग्दछ कि धर्म भनेको कानुनको सुची हो वा भनौँ नियमावली हो । कुनै निश्चित नियमहरू बनाउनुको सट्टा हामीसामु जीवन जुन रूपमा प्रकट हून्छ, सोहीअनुसार सामना गर्नु उपयुक्त हुँदैन र ?

सद्‌गुरु: जीवन यत्तिकै प्रकट हुने होइन— जीवन लगातार निर्मित भइरहेको हुन्छ । कि त तपाईंले हिजो बनाउनुभयो र आज यो तपाईंसामु छ, अथवा तपाईंले सक्रिय रूपमा आज बनाइरहनु भएको छ । आफैँ यत्तिकै केही प्रकट हुँदैन । हेर्नुहोस्, दुईवटा पक्षहरू हुन्छन्— धर्म र कर्म । सही कर्म गर्नको लागि तपाईंलाई धर्म चाहिन्छ, अन्यथा हरेक दिन, हरेक क्षण तपाईं सबै कामहरूमा अलमलिनु हुन्छ । धर्मले तपाईंको काम गर्ने तरिकालाई स्थापित गर्दछ, ताकि तपाईं जुन दिशामा जान चाहनुहुन्छ, सोहीतर्फ आफ्नो जीवन निर्माण गर्नुहोस् । आफ्नो जीवन निर्माण गर्नु भनेको घर बनाउनु, गाडी किन्नु, पति वा पत्नी छान्नु भन्ने होइन । यी सबै कुराहरू प्राथमिक होइनन्, गौण हुन् । तपाईं कस्तो मनुष्य बन्नुहुन्छ भन्ने कुरा नै सर्वाधिक महत्त्वपूर्ण हो । यही कुराले तपाईं को हो भन्ने कुरा निर्धारण गर्दछ, तपाईंको जीवनको गुण निर्धारण गर्दछ— यहाँ र यहाँपछिको जीवन निर्धारण गर्दछ ! तपाईं को–कोसँग हुनुहुन्छ, तपाईंसँगे के–के छन्, तपाईं दरबारमा बस्नुहुन्छ वा झुपडीमा, तपाईं खाना खानुहुन्छ वा सुन भन्ने कुराहरूले केही अर्थ राख्दैन । कुरा यत्ति हो कि तपाईंले सुन खानुभयो भने, तपाईं चाँडै मर्नुहुनेछ !

जब हामी धर्म भन्छौँ, यो ब्रह्माण्डको धर्मको बारेमा हो । किनकि, तपाईंमा जे–जति भइरहेका हुन्छन्— तपाईंको मुटु जसरी धड्किन्छ, तपाईं जुन तरिकाले श्वास फेर्नुहुन्छ, तपाईंको प्रणालीले जुन रूपमा काम गर्दछ— ती सबै ब्रह्माण्डसँग गहिरो रूपमा सम्बन्धित हुन्छन् ।

सर्वप्रथम, तपाईंलाई यो नै थाहा छैन कि जीवन कहाँ छ । तपाईं भएजतिका गलत ढोकाहरू ढकढक्याइ रहनुभएको छ, र त्यसले काम गर्ने वाला छैन । आफ्नो धर्म स्थापित गर्नु भनेको तपाईंको कर्म जीवनको मूल प्रक्रियाबाट नभट्कियोस् भन्ने कुरा सुनिश्चित गर्नु हो । यसले तपाईंलाई जतिबेला पनि आफू निश्चित रूपमा रहनु नै आफ्नो धर्म हो भन्ने कुरा स्मरण गराउनुपर्छ ।

जब हामी धर्म भन्छौँ, यो ब्रह्माण्डको धर्मको बारेमा हो । किनकि, तपाईंमा जे–जति भइरहेका हुन्छन्— तपाईंको मुटु जसरी धड्किन्छ, तपाईं जुन तरिकाले श्वास फेर्नुहुन्छ, तपाईंको प्रणालीले जुन रूपमा काम गर्दछ— ती सबै ब्रह्माण्डसँग गहिरो रूपमा सम्बन्धित हुन्छन् । यदि तपाईंले सचेतपूर्वक ब्रह्माण्डको धर्म पालना गर्नुभयो भने, तपाईं अद्‌भुत तरिकाले काम गर्नुहुनेछ । यतिखेर, तपाईंले आफ्नो शरीर वा दिमागमा राम्रो महसुस नगर्नुको कारण यो हो कि तपाईंले ब्रह्माण्डको आधारभूत नियमहरू पालना गरिरहनु भएको छैन । चाहे त्यो सचेतपूर्वक होस् वा अनजानमै, नतिजा एउटै हुन्छ । अस्तित्व यसरी नै सञ्चालित हुन्छ । तपाईं छानाबाट होशपूर्वक लड्नुहोस् वा अनजानमै, दुवैले उस्तै चोट पुऱ्याउँछ । कुरा यत्ति हो कि यदि तपाईं सचेतपूर्वक लड्नुभयो भने, सायद तपाईंले खुट्टाले टेक्ने प्रयास गर्नुहुनेछ; अन्यथा तपाईंको टाउको पहिला थचारिनेछ । जेसुकै भएपनि, यसबाट हुने दुखाइ र पीडाको अनुभवमा कुनै फरक हुँदैन । जसले धर्मलाई बुझेको ठान्दछ, उसको निम्ति धर्मले काम गर्दैन । धर्मले उसको निम्ति मात्र काम गर्दछ, जसले यसलाई प्रयोगमा ल्याउँछ, जो स्वयं धर्म बन्दछ ।

पहिला धर्म, त्यसपछि कर्म

भीष्मले भने, "मेरो धर्म कठोर छ— मैले यही रोजेको छु अनि म त्यही बनेको छु । चाहे जेसुकै होस्, यसको लागि मैले आफ्नो जीवनको मूल्य चुकाउनु पऱ्यो भनेपनि, मेरो धर्म परिवर्तन गर्न सक्दिनँ, किनकि म त्यही बनेको छु ।" यदि तपाईं यस्तो बन्नुभयो भने, तपाईं धर्मलाई स्थापित गरेर आफू कस्तो हुने भन्ने कुरालाई समेत स्थापित गर्नुहुन्छ । योगस्थ: कुरु कर्माणी अर्थात् पहिला आफू कसरी रहने भन्ने तरिकालाई स्थापित गर्नुहोस्, अनि त्यसपछि कर्म गर्नुहोस् । पहिला तपाईंको धर्म, त्यसपछि तपाईंको कर्म । यतिखेर तपाईं आफ्नो धर्म के हो भन्ने नजाकिनै असाध्यै धेरै कर्महरू सृजना गरिरहनु भएको छ— यही समस्या हो ।

तपाईं बाहिरी संसारमा जे–जति गरिरहनु भएको हुन्छ, त्यो मात्रै कर्म होइन— तपाईंले आफ्नो दिमागमा गर्ने सबैथरीका फाल्तू कुराहरू पनि कर्म हो ।

तपाईं बाहिरी संसारमा जे–जति गरिरहनु भएको हुन्छ, त्यो मात्रै कर्म होइन— तपाईंले आफ्नो दिमागमा गर्ने सबैथरीका फाल्तू कुराहरू पनि कर्म हो । कर्म अर्थात् काम । कर्म चारवटा स्तरहरूमा हुन्छन्: शरीरको स्तरमा, मनको स्तरमा, भावनाको स्तरमा र ऊर्जाको स्तरमा । जीवनको हरेक पलमा तपाईं यी चारवटै आयामहरूमा अनेक थरीका कर्महरू गरिरहनु भएको हुन्छ । तपाईंले खाइरहँदा कर्म भइरहेको हुन्छ; तपाईं हिँडिरहँदा कर्म भइरहेको हुन्छ; यहाँसम्म कि तपाईं सुतिरहँदा पनि चारवटै आयामहरूमा कर्म भइरहेको हुन्छ— जीवनको हरेक पलमा कर्म भइरहेको हुन्छ, चाहे जागा रहँदा होस् वा निदाउँदा । यो कर्मले आफ्नो खुसियाली र समृद्धिबाट आफूलाई अलग नगरोस् भन्नको निम्ति तपाईंले आफ्नो धर्म स्थापित गर्नुपर्ने हुन्छ ।

यदि तपाईंले धर्म स्थापित गर्नुभएको छैन भने, कर्मले तपाईंलाई आफ्नो खुसियाली र समृद्धिबाट अन्यत्रै लैजानेछ, किनकि तपाईंका अधिकांश कर्महरू अचेतनपूर्वक वा जानी–नजानिकनै सृजना गरिएका हुन्छन् । तर, यदि तपाईंले धर्म स्थापित गर्नुभयो भने, तब कर्मले स्वाभाविक रूपमा त्यो ढाँचालाई पछ्याउनेछ— तपाईंको कर्मको क्रम हुनेछ, निश्चित दिशा हुनेछ, लक्ष्य र प्राप्ति हुनेछ । यदि तपाईंले धर्म स्थापित गर्नुभएन भने, तपाईंको कर्म यत्रतत्र छरपस्ट हुनेछ । त्यस अवस्थामा, यदि तपाईंले केही देख्नुभयो भने, तपाईंको मन, भावनाहरू अनि शरीर त्यसको पछाडि दौडिन सक्छन् । त्यसबेला, तपाईं दुबिधा र अलमलमा पर्नुहुनेछ । जब तपाईंभित्रको जीव शरीरबाट बाहिर निस्किन्छ, यसलाई कहाँ जाने भन्नेसमेत थाहा हुँदैन, किनकि यो अलमलिएको हुन्छ । म अलमलिएको दिमागको कुरा गरिरहेको छैन, जसलाई तपाईले राम्रोसँग जान्नुभएको छ— म अलमलिएको जीवनको बारेमा कुरा गरिरहेको छु । जीवन यसकारण दुबिधामा पर्दछ, किनकि त्यहाँ धर्म छैन । जब तपाईं यो शरीरबाट बाहिर निस्किनुहुन्छ अनि त्यसबेला तपाईंलाई कहाँ जाने भनेर थाहा हुँदैन, त्यो नै चरम पीडा हो । यो मनुष्यमाथि हुन सक्ने सबैभन्दा निकृष्ट कुरा हो । तर दुर्भाग्यवश, अधिकांश मानिसहरूको सन्दर्भमा यही भइरहेको हुन्छ, किनकि मानिसहरूले आफ्नो लागि धर्म स्थापित गर्दैनन्— उनीहरू यो सोच्छन् कि यत्तिकै स्वच्छन्द रहनु नै उनीहरूको स्वतन्त्रता हो !

वंशाणुगत प्रभावबाट मुक्ति

लाखौँ वर्षअघि यहाँ रहेका मानिसहरूको वंशाणुगत गुणले आज पनि तपाईंभित्र अनेक चिजहरू गरिरहेको छ । तपाईंभित्र जुन खेल चलिरहेको छ, त्यसबाट माथि उठेर आफ्नो धर्म स्थापित गर्नु भनेको सामान्य कुरा होइन ।

यदि स्वतन्त्रताको नाममा, हामीले सडकको नियम कानुनलाई मानेनौँ अनि सवारीहरू जथाभावी हाक्यौँ भने, मानिसहरू स्वतन्त्र हुँदैनन्, उनीहरू त्यहीँ अड्किनेछन् । कुनै नियम–कानुन तोडेर तपाईं स्वतन्त्र बन्नुहुन्न । जब मार्ग स्पष्ट हुन्छ, तबमात्र तपाईं स्वतन्त्र रहनुहुन्छ । अत: जीवनमा अनेक चिजहरू यत्तिकै आइरहन्छन् अनि आफूलाई जे ठीक लाग्यो, सोहीअनुसार सम्हाल्न सकिन्छ भनेर नसोच्नुहोला । यस्तो गर्नु भनेको स्वत: स्फूर्त भएको हो भन्ने नठान्नुहोला— यो त बाध्यात्मक प्रवृत्ति हो । कुनै कुरा स्वत: स्फूर्त हुनको लागि पनि आधार रहेको हुनुपर्छ । यदि आधार छैन भने, त्यहाँ बाध्यात्मक प्रवृत्ति मात्र हुनेछ, स्वत: स्फूर्त भएको हुँदैन । किनकि, तपाईंको शरीर जुन तरिकाले निर्माण भएको छ, त्यो तपाईंले निर्धारण गर्नुभएको होइन । कृष्णको द्वापर युगमा हाम्रा जीजु बाजेहरूको शरीर जस्तो थियो, तपाईंको शरीर अझैपनि ठीक त्यस्तै छ । भलै, बिचमा मानिसहरू मिश्रित भएका भएपनि, त्यसबेलाका पूर्खाहरूको वंशाणुगत गुण अझैपनि तपाईंभित्र सक्रिय रहेको छ ।

लाखौँ वर्षअघि यहाँ रहेका मानिसहरूको वंशाणुगत गुणले आज पनि तपाईंभित्र अनेक चिजहरू गरिरहेको छ । तपाईंभित्र जुन खेल चलिरहेको छ, त्यसबाट माथि उठेर आफ्नो धर्म स्थापित गर्नु भनेको सामान्य कुरा होइन । "यो मेरो धर्म हो" भन्नुको अर्थ के हो भने, तपाईं आफ्ना बुबा, बाजे अनि बाँकी सबैजनाबाट पर जान चाहिरहनु भएको छ । तपाईं आफ्नै वंशाणुलाई नकारेर आफ्नो बाटो बनाउन चाहनुहुन्छ । भीष्मले आफ्ना बुबामा "प्रेममा परिहाल्ने" बाध्यात्मक प्रवृत्ति वा ढाँचाहरू छन् भन्ने कुरा स्पष्ट देखे । तब उनले प्रतिज्ञा गरे, "म कहिल्यै आफ्नो धर्मबाट विचलित हुने छैन । मेरो जीवन राष्ट्रप्रति समर्पित छ अनि त्यही मेरो लागि सबैथोक हो ।" भीष्मको प्रतिज्ञा नै उनको धर्म थियो । उनले आफ्नो वंशाणुगत ढाँचालाई भङ्ग गरे अनि आफ्नै बाटो बनाए ।

आध्यात्मिक साधना यसैको लागि हो— आफ्नो धर्मलाई यसरी स्थापित गर्ने कि तपाईंको विगत वा अतीतले तपाईंको जीवनलाई वशमा नपारोस् । तपाईंले यो सुन्नुभएको होला कि जब एकजना व्यक्तिले जिससलाई आफ्नो मृत पितालाई गाड्नको लागि जाने अनुमति माग्यो, तब जीससले भने, "मृतकलाई मृतहरूसँगै रहने देऊ !"

यदि तपाईंले मरेकोलाई मरेकाहरूसँगै छोड्नुभएन भने, तपाईंसँग आफ्नो धर्म नहुने मात्रै होइन, तपाईंसँग आफ्नो जीवन समेत हुँदैन । अरू नै कोही तपाईंमार्फत बाँच्न खोजिरहेको हुन्छ ।

एउटा व्यक्तिले आफ्नो बुबा गुमाएको बेला कसैले यो अभिव्यक्ति दिनु असाध्यै अमानविय एवं कठोर लाग्न सक्दछ, तर उनले त्यही भनेका थिए । किनकि, उनले मृत बुबालाई मात्र छोड्न भनेका होइनन्—ती सबै पूर्खाहरूलाई छोड्नु, जो यतिखेर तपाईंभित्र सल्बलाइरहेका छन्, नाचिरहेका छन् । यदि तपाईंले मरेकोलाई मरेकाहरूसँगै छोड्नुभएन भने, तपाईंसँग आफ्नो धर्म नहुने मात्रै होइन, तपाईंसँग आफ्नो जीवन समेत हुँदैन । अरू नै कोही तपाईंमार्फत बाँच्न खोजिरहेको हुन्छ । आफ्नो धर्म स्थापित गर्नु भनेको यही हो: मृतकलाई मृतहरूसँगै रहन दिनु अनि आफ्नो निम्ति नयाँ मार्ग बनाउनु । यो नै स्वतन्त्रता हो ।

क्रमशः

सम्पूर्ण महाभारत अध्यायहरू

Editor's Note: A version of this article was originally published in Isha Forest Flower, January 2016.