यसअघिको ब्लगमा हामीले पूर्वीय संस्कृतिमा गणितको महत्त्वको बारेमा चर्चा गर्ने क्रममा १०८ को महत्त्वको बारेमा पनि उल्लेख गरेका थियौँ । यस ब्लगमा विभिन्न युगहरूको विशेषता, तिनको गणितीय विज्ञान साथै मानव प्रणालीसँग तिनको सम्बन्धको बारेमा व्याख्या गरिएको छ ।


सद्‌गुरु: योगको राशी–चक्रअनुसार सूर्य वरिपरि पृथ्वीले परिक्रमा गर्ने कक्ष (orbit) लाई २७ खण्डहरूमा विभाजित गरिएको छ, जसलाई नक्षत्र भनिन्छ । प्रत्येक नक्षत्रलाई थप चार बराबर भागहरूमा विभाजित गरिएको छ, जसलाई पद भनिन्छ । ४ लाई २७ ले गुणान गर्दा १०८ हुन्छ । एउटा नक्षत्र भनेको चन्द्रमाले पृथ्वी वरपर परिक्रमा गर्ने कक्षको आधा भाग हो । मानव शरीरमा हुने चक्रहरू सोहीअनुरूप सञ्चालित हुन्छन् ।

नक्षत्र र पाद

पूर्ण रूपमा स्वस्थ भएको अवस्थामा महिलाको शरीरमा २७.५५ दिनको निकै स्पष्ट र प्रत्यक्ष चक्रहरू हुन्छन् । पुरुषको शरीरमा यी चक्रहरू कम प्रत्यक्ष हुन्छन्— ती फरक तरिकाले काम गर्छन् र तिनको समय–अवधि पनि लामो हुन्छ । जे–जस्तो भएपनि, सौर्यमण्डल र विशाल ब्रह्माण्डमा यी चक्रहरू जतिबेला पनि क्रियाशील भइरहेका हुन्छन् । सूक्ष्म जीव र विशाल ब्रह्माण्ड दुवैले एउटै खेल खेलिरहेका हुन्छन् । तर, कसले कसको खेल खेल्ने हो ? यदि तपाईंले यो विशाल ब्रह्माण्डले तपाईंको खेल खेलिदिनेछ भनेर सोच्नुभयो भने, तपाईं आफ्नो जीवनलाई बर्बाद गर्नुहुनेछ । यदि तपाईंले विशाल ब्रह्माण्डको खेल खेल्नुभयो भने, तपाईंको जीवन तपाईंका अपेक्षाहरूभन्दा माथि उठ्नेछ ।

युगहरूका विशेषताहरू

पृथ्वीलाई राशिचक्रको एक डिग्रीबाट गुज्रिन ७२ वर्ष लाग्छ अनि ३६० डिग्रीको एउटा पूर्ण चक्र पूरा गर्नको लागि २५,९२० वर्ष लाग्छ । आधा चक्रको यात्रा पूरा गर्नको लागि १२,९६० वर्ष लाग्छ, जसमा चार युगहरू समेटिएका हुन्छन् । सत्य युग ५,१८४ वर्षको हुन्छ । त्रेता युग ३,८८८ वर्षको हुन्छ । द्वापर युग २,५९२ वर्षको हुन्छ । कलि युग १,२९६ वर्षको हुन्छ । यी चार युगहरूको कुल समय १२,९६० वर्ष हुन्छ । विभिन्न युगहरूमा, मानिसहरूको बुद्धिमत्ता भिन्न आयामको हुन्छ साथै उनीहरू विभिन्न माध्यमहरूले संवाद गर्छन् ।

सत्य युग— मनद्वारा संवाद

सत्य युगमा, संवादको लागि अनि जीवन निर्वाहको लागि मन सबैभन्दा बढी महत्वपूर्ण हुन्छ— बुद्धि होइन । यसको अर्थ के हो भने, यदि मैले तपाईंलाई टाढाबाटै केही भन्न चाहेँ भने, मलाई माइक चाहिँदैन अनि मैले चिच्याउनु समेत पर्दैन । यदि मैले त्यसको बारेमा सोचेँ मात्र भनेपनि, तपाईंले त्यो बुझ्नुहुनेछ । सत्य युगमा मानिसहरू असाध्यै कम बोल्थे, किनकि मन नै संवादको माध्यम थियो । जे–जति गरिनुपर्ने हो, ती सबै मानिसक स्तरमा गरिन्थ्यो । यतिसम्म भनिन्छ कि शारीरिक रूपमा गर्भधारण हुँदैनथ्यो— त्यो पनि मनकै सहायताले हुने गर्थ्यो ।

त्रेता युग— हेरेर थाहा पाइने

त्रेता युगमा, मनभन्दा आँखा बढी प्रबल भए । त्रेता युगमा मानिसहरूले प्रयोग गर्ने भाषामा आँखा प्रमुख थियो भन्ने कुरा झल्किन्छ । त्यस समयमा मानिसहरूले अभिवादन गर्दा “म तपाईंलाई देखिरहेको छु” भन्ने गर्थे । त्यसको अर्थ के हो भने, “म तपाईंलाई हरेक आयामबाट देखिरहेको छु ।” त्यसबेलाका मानिसहरूले आफ्ना आँखालाई शक्तिशाली माध्यमको रूपमा प्रयोग गरेका थिए । यो प्रक्रियालाई नेत्र स्पर्श भनिन्थ्यो, जसको अर्थ तपाईं अरू कसैलाई आँखाद्वारा छुन सक्नुहुन्छ भन्ने हो ।

द्वापर युग— सुँघेर थाहा पाइने

द्वापर युगमा, सुँघेर थाहा पाउने क्षमता सबैभन्दा प्रबल भयो । जहाँजहाँ जीवन ऊर्जाहरू उच्च हुन्छन्, सुँघ्ने क्षमता एकदमै तीक्ष्ण र संवेदनशील हुन्छ । उदाहरणको लागि, यदि तपाईं जङ्गलमा जानुभयो भने, तपाईंका आँखा, कान र तपाईंको दिमागभन्दा सुँघ्न सक्ने क्षमता बढी महत्त्वपूर्ण हुन्छ । अर्को व्यक्तिलाई के भइरहेको छ भन्ने कुरा तपाईं सुँघेरै थाहा पाउन सक्नुहुन्छ ।

सबै मांसाहारी प्राणीहरू, वास्तवमा प्रायः सबैजसो जङ्गली जनावरहरू तपाईंको रसायन (chemistry) प्रति संवेदनशील हुन्छन्, तर विशेषगरि सर्पहरू अति संवेदनशील हुन्छन् । यदि तपाईं एकदमै सहज भावमा हुनुहुन्छ भने, तपाईं जङ्गलमा गएर विषालु सर्प उठाउन सक्नुहुन्छ । यदि तपाईंमा अलिकति पनि तनाव वा डर उत्पन्न भयो भने, सर्पले तुरुन्तै तपाईंको रसायनमा के भइरहेको छ भनेर थाहा पाउँछ अनि तपाईंलाई हमला गर्छ ।

योगीहरू सदैव सर्पलाई आफूसँगै राख्छन्, साथै शिवको साथमा सधैँ सर्प हुने गर्छ । यसको कारण के हो भने, यस धरतीमा भएका जीवहरूमध्ये सर्पमा सबैभन्दा बढी मात्रामा आकाशिय आभामण्डल हुन्छ । अर्थात्, सर्पमा बोधको क्षमता असाध्यै तीक्ष्ण तथा उच्च हुन्छ । सर्पले आफ्नो वरपर सृजना गर्ने आकाशिय आभामण्डलको कारण मानिसहरूको तुलनामा सर्पको बोध–क्षमता निकै प्रखर हुन्छ । तपाईंले जे बोध गर्नुहुन्छ, त्यही मात्र जान्नुहुन्छ— बाँकी सबैथोक वाहियात् हुन् । चाहे मैले भनेको हुँ वा शास्त्रहरूले भनेका हुन् अथवा भगवान स्वयंले भनेका हुन् , तर जबसम्म तपाईं ती कुराहरू आफैँले बोध गर्नुहुन्न, अनुभूति गर्नुहुन्न, ती सबैथोक वाहियात् नै हुन्छन् ।

कलि युग— मौखिक अभिव्यक्ति

कलि युगमा मानिसहरूको प्रबल गुण भनेको बोली हो । जब सौर्य मण्डल युगहरूबाट गइरहेको हुन्छ, यदि तपाईं तीसँगै लयमा रहनुभयो भने, तपाईं पनि युगहरूसँगै जानुहुनेछ । यदि तपाईं तीबाट माथि उठ्नुभयो भने, जहाँ चाहनुहुन्छ त्यहीँ रहन सक्नुहुन्छ । यदि तपाईं आफ्नै झिनामसिना कुराहरूमा अल्झिनु भयो भने, सत्य युग चलिरहेको भए तापनि तपाईं चाहिँ आफ्नै कलि युगमा हुन सक्नुहुन्छ । यसको अर्थ के हो भने, सबै व्यक्तिहरूले यी तीनवटा सम्भावनाहरू रोज्न सक्छन्— कि त युगको चक्रबाट पर जाने, वा यसबाटै कुल्चिएर फसिरहने वा युगहरूको सवारी गर्ने !

युगचक्र

कलि युगको शुरुवात

महाभारतको कथालाई एउटा निश्चित सन्दर्भमा हेरिनुपर्छ । ३,१४० ईशा पूर्वमा कुरुक्षेत्रको युद्ध समाप्त भयो अनि ३,१०२ ई.पू मा कृष्णले आफ्नो देह त्याग गरे । युद्धको ३–४ महिनापछि कलि युग शुरु भयो । सन् २०१२ लाई लिने हो भने, कृष्णको युग ५,११४ वर्षअघि समाप्त भएको थियो । (२०१२ मा ईशा योग केन्द्रमा महाभारत उत्सव आयोजना गरिएकोले यसलाई आधार मानिएको हो ।) यदि तपाईंले ५,११४ बाट २,५९२ घटाउनुभयो भने, २,५२२ आउँछ (चित्रमा देखाइएको दीर्घवृत्तमा अन्तिम दुई कलि युगका वर्षहरू जोड्दा २,५९२ हुन्छ ।) यसको अर्थ के हो भने, हामीले द्वापर युगको २,५२२ वर्ष पूरा गरिसकेका छौँ अनि यसको पूरा अवधि २,५९२ वर्ष भएकोले, द्वापर युग पूरा हुनको लागि अब ७० वर्ष बाँकी छ । सन् २०८२ मा हामीले द्वापर युग पूरा गर्नेछौँ अनि त्रेता युगमा प्रवेश गर्नेछौँ । सुख–समृद्धि एवं मानव चेतना माथितर्फ बढ्ने यस नयाँ युगमा प्रवेश गर्नुअघि, विश्वमा अर्को उथलपुथल हुनेछ, जुन युद्ध नै हुनुपर्छ भन्ने छैन; यो सम्भवतः जनसङ्ख्याको अति उच्च चाप र प्राकृतिक विपत्तिको रूपमा प्रस्तुत हुन सक्छ ।

युग र मानव चेतना

सूर्य र अरू ग्रहहरू भएको हाम्रो सौर्य मण्डल (solar system) आकाशगङ्गा (galaxy) मा घुमिरहेको छ । हाम्रो सौर्य मण्डललाई अर्को विशाल प्रणालीको वरिपरी एउटा चक्र पूरा गर्नको लागि २५,९२० वर्ष लाग्छ । त्यस विशाल तारा वा प्रणालीले यस ग्रहमा पार्ने प्रभावहरू हेर्दा, हामी यो विश्वास गर्न सक्छौँ कि त्यो प्रणाली हाम्रो सौर्य मण्डलको कक्षको केन्द्रमा नभई कतै छेउतिर अवस्थित छ । जब हाम्रो सौर्य मण्डल यस विशाल प्रणालीको नजिक पुग्छ, तब यहाँ रहेका सबै प्राणीहरूमा विशाल सम्भावनाहरू उदय हुन्छ । जब हाम्रो प्रणाली त्यसबाट पर जान्छ, यहाँ रहने प्राणीहरूमा निकै कम सम्भावनाहरू हुन्छन्— यसैलाई हामी कलि युग भन्छौँ ।

जब आकाश तत्त्व एकदमै नजिक हुन्छ, त्यसबेला मैले तपाईंलाई केही भन्न चाहेँ भने, मैले बोलिरहनु पर्दैन । यहाँ सम्म कि मेरा आँखा बन्द रहँदा पनि मैले के भन्न चाहिरहेको छु भनेर तपाईंले जान्नुहुनेछ ।

जब हाम्रो सौर्य मण्डल अर्को विशाल सूर्य (super sun) को नजिक पुग्छ, तब सत्य युग शुरु हुनेछ । यसबेला मनुष्यको मनले उच्चतम क्षमतामा काम गर्नेछ । जीवनलाई जान्ने, संवाद गर्ने, आनन्दित भएर बाँच्न सक्ने क्षमता मानिसहरूमा निकै उच्च हुनेछन् । अर्को शब्दमा भन्नुपर्दा, त्यसबेला समझदार मानिसहरू हुनेछन् । वास्तवमा भन्नुपर्दा, यस धरतीमा राम्रोसँग बाँच्नको लागि केही समझदार मानिसहरू भए पुग्छ !

सत्य युगमा मानिसमा संवाद गर्ने क्षमता सबैभन्दा उत्तम हुनेछ, किनकि आकाश तत्त्व (ether) एकदमै नजिक हुन्छ । अहिलेको अवस्थामा, पृथ्वीको आकाशिय क्षेत्र एउटा निश्चित विन्दुमा पुगेको छ । यस्तो कालखण्ड थियो, जब यो निकै टाढा थियो— अहिले यो अलिकति नजिक भएको छ । जब आकाश तत्त्व एकदमै नजिक हुन्छ, त्यसबेला मैले तपाईंलाई केही भन्न चाहेँ भने, मैले बोलिरहनु पर्दैन । यहाँ सम्म कि मेरा आँखा बन्द रहँदा पनि मैले के भन्न चाहिरहेको छु भनेर तपाईंले जान्नुहुनेछ । तर, जब आकाश तत्त्व अलिकति पर जान्छ— भलै, यो निश्चित दुरीमा भएपनि— यदि मैले आँखा बन्द गरेँ भने, तपाईंले केही जान्नुहुने छैन । तर, यदि मैले आँखा खोलेर तपाईंलाई हेरेँ भने, मैले भन्न चाहेको कुरा तपाईंले सजिलै बुझ्नुहुनेछ ।

चेतना

आकाश तत्त्व अनि आध्यात्मिक सम्भावनाहरू

यतिखेर हामी जुनसुकै समय वा युगमा भए तापनि, यतिखेर ग्रहहरूको अवस्था जस्तोसुकै भए तापनि, प्रत्यके व्यक्ति अझैपनि यी सबैथोकबाट माथि उठ्न सक्दछ । प्रत्येक व्यक्ति आफूभित्र स्वर्णिम कालमा बाँच्न सक्दछ ।

यदि आकाश तत्त्व अझ बढ्यो भने, तपाईं श्वासले नै थाहा पाउन सक्नुहुन्छ । यदि तपाईं जङ्गलमा जानुभयो भने, केही समयपछि तपाईंको दृष्टि केही हदसम्म अवरुद्ध हुन्छ, जसकारण गन्धको माध्यमले नै विभिन्न कुराहरू जान्न सक्नुहुन्छ । जङ्गलमा रहने अधिकांश प्राणीहरू गन्धको सहfयताले विभिन्न कुराहरू जान्दछन् । जङ्गलमा जीवन ऊर्जा सङ्केद्रित हुने हुँदा आकाश तत्त्व प्रचुर हुन्छ, जसकारण उनीहरूले हेरिरहनु पर्दैन । यदि तपाईंले बोल्नुभयो भने, उनीहरू अन्योलमा पर्नेछन् ! तर, जब आकाश तत्त्व एकदमै कम हुन्छ, तपाईंले जतिबेला पनि बोलिरहनु पर्छ— अन्यथा, मानिसहरूले केही बुझ्दैनन् । यहाँ सम्म कि तपाईंले बोल्नुभयो भनेपनि उनीहरूले बुझ्दैनन् ! मानिसहरूलाई केही बुझाउनको लागि घचघच्याउनु पर्ने हुन्छ अनि लगातार बोलिरहनु पर्ने हुन्छ । संवादको सन्दर्भमा तपाईं कति संवेदनशील हुनुहुन्छ भन्ने कुरा वायुमण्डलमा रहेको आकाश तत्त्वले निर्धारण गर्दछ ।

साथसाथै, यतिखेर हामी जुनसुकै समय वा युगमा भए तापनि, यतिखेर ग्रहहरूको अवस्था जस्तोसुकै भए तापनि, प्रत्यके व्यक्ति अझैपनि यी सबैथोकबाट माथि उठ्न सक्दछ । प्रत्येक व्यक्ति आफूभित्र स्वर्णिम कालमा बाँच्न सक्दछ । यहाँ सम्म कि प्रत्येक मानिसमा सबैभन्दा खराब समयमा पनि त्यसबाट निकै माथि उठ्न सक्ने सम्भावना सधैँ रहेको हुन्छ ।

आकाश तत्त्वलाई बढाउनको लागि थुप्रै कुराहरू गर्न सकिन्छ । यसैकारण, कृष्णले भनेका थिए कि कलि युगमा आकाश तत्त्व निकै कम हुने भएकोले मानिसहरूलाई योग, ध्यान, मन्त्र वा यन्त्रहरूको बारेमा बुझाउने प्रयास गर्नुको कुनै औचित्य हुँदैन; उनीहरूले यी कुराहरू पटक्कै बुझ्दैनन् । बरु, उनीहरूलाई भक्ति सिकाइनु पर्छ । यदि उनीहरू भक्तिमा मग्न भए भने, उनीहरूले आफ्नै आकाश तत्त्व सृजना गर्नेछन् । अनि, वायुमण्डलमा यो आकाश तत्त्व हुने भएकोले उनीहरूले बुझ्नेछन् र अनुभूति गर्नेछन् । भक्ति भनेको बुद्धुहरूका लागि होइन; तर यदि तपाईं निकै बुद्धु हुनुहुन्छ भनेपनि, तपाईंले बुझ्न सक्नुहुनेछ ।

कृष्णले यो पनि भनेका थिए कि करिब ५,००० वर्षपछि १० हजार वर्षको समय–अवधि आउनेछ, जुन असाध्यै भव्य र आश्चर्यजनक हुनेछ । हामी त्यस युगसम्म जीवित रहन त सक्दैनौँ, तर हामी त्यसको लागि आवश्यक आधार निर्माण गर्न सक्छौं अनि यस धरतीमा १० हजार वर्षको स्वर्णिम युगको लागि आवश्यक परिवेश सृजना गर्न पाउनुको आनन्दमा डुब्न सक्छौँ ।

हजारौँ वर्षअघि, यस्तो भनिएको थियो कि जसैजसै हाम्रो सौर्य मण्डल विशाल सूर्यको नजिक पुग्छ, मनुष्यको बुद्धिमत्ता प्रस्फुरित हुनेछ । जसैजसै सौर्य मण्डल नजिक पुग्छ, मानिसहरूमा यो सम्पूर्ण शरीर र समस्त ब्रह्माण्ड विद्युतीय संरचना हुन् भन्ने कुराको बोध हुनेछ । अहिले, हामी त्रेता युगतर्फ जाँदै छौँ, जुन युग–चक्रहरूमध्ये दोस्रो उत्तम समय हो ।

कृष्णले यो पनि भनेका थिए कि करिब ५,००० वर्षपछि १० हजार वर्षको समय–अवधि आउनेछ, जुन असाध्यै भव्य र आश्चर्यजनक हुनेछ । हामी त्यस युगसम्म जीवित रहन त सक्दैनौँ, तर हामी त्यसको लागि आवश्यक आधार निर्माण गर्न सक्छौं अनि यस धरतीमा १० हजार वर्षको स्वर्णिम युगको लागि आवश्यक परिवेश सृजना गर्न पाउनुको आनन्दमा डुब्न सक्छौँ । यी सबैकुरा केवल भविष्यवाणी एवं आधा–अपुरो अड्कलबाजीहरू होइनन्— यी सबैकुरा हामी रहने यस ग्रहको सन्दर्भमा मनुष्यको मनमा के हुन्छ भन्नेबारे रहेको एकदमै गहिरो बुझाइमा आधारित भएर भनिएको हो । हामी यस धरतीमा रहने मात्र होइनौँ— वास्तवमा, हामी स्वयं धरती हौँ । यदि तपाईंले यो कुरालाई अहिले बुझ्नुभएन भने, त्यसदिन पक्कै बुझ्नुहुनेछ, जब तपाईंलाई माटोभित्र पुरिनेछ । यस धरतीले यो सदैव बुझेको हुन्छ कि तपाईं यसकै एउटा अंश हो— केवल तपाईं आफूलाई पृथक अस्तित्व ठान्नुहुन्छ !

सम्पूर्ण महाभारत अध्यायहरू

Editor’s Note: “Mystic’s Musings” includes more of Sadhguru’s insights on man and cosmos. Read the free sample or purchase the ebook.