पूर्वीय संस्कृतिमा गणितको महत्त्व— १०८ को महत्त्व के हो ?

यस भूमिका ऋषिमुनि एवं योगीहरूमा सृष्टिको सबैभन्दा मूलभूत पक्ष अर्थात् 'समय' को गहिरो र असाधारण बुझाइ थियो भन्ने कुरा उल्लेख गर्दै, सद्‌गुरुले समयको प्रकृतिबारे बुझाउँदै हुनुहुन्छ । साथै, अङ्क १०८ को महत्त्वको बारेमा व्याख्या गर्ने क्रममा, सद्‌गुरु यो बताउँदै हुनुहुन्छ कि १०८ मनुष्यको निम्ति मात्र नभई पृथ्वी र सौर्य प्रणालीको सन्दर्भमा समेत महत्त्वपूर्ण छ ।
१०८ को महत्त्व के हो ?
 

सम्पूर्ण महाभारत अध्यायहरू

सद्‌गुरु: सृष्टि हुनुभन्दा पहिले विशाल शून्यता थियो । यही अवस्थाबाट सृष्टिका तीनवटा सम्भावनाहरूको उदय भयो । असीम अन्तरिक्ष (आकाश) मार्फत, शून्यताले आफूलाई समय, ऊर्जा र गुरुत्वाकर्षणको रूपमा अभिव्यक्त गऱ्यो । यी तीन मूलभूत तत्त्वहरूले समय र सीमाभन्दा पर रहेको त्यस अनन्त आकाशलाई समय-सीमामा बाँधिएको सीमित सृष्टिमा बन्दी बनायो । यी तीनमध्ये, अनवरत चलिरहने समयले कहिले प्रफुल्लित गराउँछ, त कहिले सोट्ठ्याउँछ; कहिले पोषण गर्दछ, त कहिले घोटेर पिठो बनाउँछ; कहिले उचाल्छ, त कहिले थेचार्छ । समयले कसैलाई पनि आराम गर्न दिँदैन । चाहे किरा होस् वा पंक्षी, शिकार वा शिकारी, शासित वा शासक, दास वा सम्राट, सुन्दर शरीर वा विकृत रूप, प्रख्यात हुनुको गर्व वा बदनाम हुनुको ग्लानि— यी सबैकुरा शून्यतामा फर्किन्छन् अनि धूलो र खरानी बन्नेछन् ।

समय अनवरत चलिरहन्छ

काल वा समयको चक्र निरन्तर चलिरहन्छ । तपाईं कि त यसमा सवारी गरेर सुन्दर जीवन बिताउन सक्नुहुन्छ, वा अनवरत चलिरहने यो समयको चक्र (चक्का) ले कुल्चिइन सक्नुहुन्छ । समयको प्रक्रियाले व्यक्तिलाई कि त नष्ट गर्नेछ वा माथि उठाउनेछ । कि त कोही व्यक्ति समयको प्रक्रियामा फसिरहन सक्छ वा यसको प्रयोग गरेर आफूलाई मुक्त गर्न सक्छ । समय, सृष्टिको सबैभन्दा महत्त्वपूर्ण आयाम हो— अधिकांश मानिसहरू समय भनेको मानवीय कल्पना वा मानव ज्ञानको उपज हो भनेर ठान्छन्, तर त्यसो होइन । यदि समय नभएको भए न त शुरुवात हुन्थ्यो, न त अन्त्य । यदि शुरु र अन्त्य नै नभएको भए सृष्टि नै हुनेथिएन ।

यदि व्यक्तिले समयको महत्त्व, समयको नियम, समयको धर्म बुझ्यो अनि समयको धर्मसँग तालमेलमा रह्यो भने, ऊ जय मात्र हुँदैन— ऊ विजय हुन्छ । ऊ यहाँ त सफल हुन्छ नै, साथै यहाँभन्दा पर पनि सफल हुन्छ ।

यहाँ हाम्रो अस्तित्व समयको दायराभित्र हुन्छ । जब हामी जन्मेका थियौँ, त्यो समयको दायाराभित्रै भएको थियो । अनि, जब हाम्रो मृत्यु हुनेछ, त्यो पनि समयको दायराभित्रै हुनेछ । यदि व्यक्तिले समयको महत्त्व, समयको नियम, समयको धर्म बुझ्यो अनि समयको धर्मसँग तालमेलमा रह्यो भने, ऊ जय मात्र हुँदैन— ऊ विजय हुन्छ । ऊ यहाँ त सफल हुन्छ नै, साथै यहाँभन्दा पर पनि सफल हुन्छ । यसको विपरित, जो व्यक्ति समयको धर्मसँग सङ्गतिमा रहँदैन, उसलाई जीवनको प्रक्रियाले अस्तव्यस्त बनाएर धुजाधुजा पार्नेछ । जीवन भनेको समयको खेल मात्र हो । यसैलाई बुझेर यस क्षेत्रका प्राचीन ऋषि-मुनिहरू, सन्तहरू एवं योगीहरूले समयलाई अत्यन्तै ध्यानपूर्वक गहिराइमा अध्ययन गरेका थिए । यो सृष्टि अर्थात् पृथ्वी र सौर्य प्रणालीसँग हामी जुन रूपमा जोडिएका छौँ, मूलतः त्यसमै आधारित रहेर हामीले समयको बारेमा धारणा बनाएका छौँ ।

१०८ को महत्व

सूर्य सिद्धान्त प्राचीन खगोलशास्त्र हो । सूर्य सिद्धान्तअनुसार सूर्यको प्रकाश ०.५ निमिष मा २,२०२ योजन दुरी यात्रा गर्छ । १ योजन बराबर ९ माइल हुन्छ; २,२०२ योजन बराबर १९,८१८ माइल हुन्छ । १ निमिष भनेको १ सेकेन्डको १६/७५ भाग हो । आधा निमिष भनेको १ सेकेन्डको ८/७५ भाग हुन्छ, जुन ०.१०६६६६ सेकेन्ड हुन्छ । ०.१०६६६६ सेकेन्डमा १९,८१८ माइल यात्रा गर्नु भनेको १ सेकेन्डमा १,८५,७९३ माइल यात्रा गर्नु हो, अर्थात् १,८५,७९३ माइल प्रति सेकेन्ड । यो अङ्क आधुनिक विज्ञानको गणनाअनुरूप मेल खान्छ; आधुनिक विज्ञानको गणनाअनुसार प्रकाशको गति १,८६,२८२ माइल प्रति सेकेन्ड भनिएको छ । आधुनिक विज्ञानले एकदमै ठूलो कठिनाइ अनि अनेक प्रकारका उपकरणहरूको प्रयोग गरेर यो अङ्कमा आइपुगेको हो । जबकि, केही हजार वर्षअघि, हाम्रा ऋषिमुनि र योगीहरूले मानव प्रणाली र सौर्य प्रणाली कसरी सँगसँगै काम गर्छन् भन्ने कुरालाई ध्यान दिएर यो सङ्ख्या पत्ता लगाएका थिए ।

सूर्य र पृथ्वीबिचको दूरी, चन्द्रमा र पृथ्वीबिचको दूरी, पृथ्वीले परिक्रमा गर्ने तरिका र त्यसले पार्ने प्रभाव जस्ता कुराहरूलाई एकदमै ध्यान दिएर हेरिएको थियो । सूर्यको व्यास (diameter) लाई १०८ ले गुणान गर्दा सूर्य र पृथ्वीबिचको दूरीसँग बराबर हुन्छ । चन्द्रमाको व्यासलाई १०८ ले गुणान गर्दा पृथ्वी र चन्द्रमाबिचको दूरीसँग बराबर हुन्छ । पृथ्वीको व्यासलाई १०८ ले गुणान गर्दा सूर्यको व्याससँग बराबर हुन्छ । यसैकारण, हामीले लगाउने मालामा पनि १०८ दानाहरू हुन्छन् !

म यस्तै अझ चकित पार्ने सङ्ख्याहरू बताउन सक्छु, तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने समय र मानव शरीरको रचनाबिच एकदमै गहिरो सम्बन्ध हुन्छ । तपाईंलाई थाहै छ कि पृथ्वी लगभग गोलो छ अनि यसको कक्ष (orbit) थोरै ढल्किएको छ । चन्द्रमाको गुरुत्वाकर्षण बलले पृथ्वीलाई आफूतर्फ तानिरहेको हुनाले यो ढल्किएको हुन्छ । जसैजसै पृथ्वीले परिक्रमा (अरूलाई घुम्ने) एवं परिभ्रमण (आफैँ घुम्ने) गर्छ, यसले एउटा वृत्त वा गोलाकार बनाउँछ । आज हामीलाई थाहा भएकै कुरा हो कि यो चक्र पूरा गर्न २५,९२० वर्ष लाग्छ । र, यिनै वर्षहरूलाई युग को चक्र भनिन्छ । यो पूरै चक्रमा ८ (४+४) वटा युगहरू पर्छन् ।

पृथ्वी र मनुष्यको सम्बन्ध

अक्षीय गति (axial procession) को एउटा चक्रलाई हेर्ने हो भने २५,९२० लाई ६० ले भाग गर्दा ४३२ हुन्छ । विभिन्न संस्कृतिमा ४३२ अङ्कलाई महत्त्वपूर्ण मानिन्छ— चाहे नोर्स संस्कृति होस् अथवा प्राचीन यहूदी संस्कृति, मिश्र संस्कृति, मेसोपोटामिया संस्कृति वा यहाँको पूर्वीय संस्कृति । आखिर किन ४३२ ? यदि तपाईंको स्वास्थ्य राम्रो छ र सबैथोक ठीक छ भने, तपाईंको मुटु १ मिनेटमा ६० पटक धड्किन्छ, १ घण्टामा ३६०० पटक र १ दिनमा (२४ X ३६००) ८६,४०० पटक घड्किन्छ । यदि तपाईंले ८६४ लाई २ ले भाग गर्नुभयो भने, ४३२ नै आउँछ । यदि तपाईं स्वस्थ हुनुहुन्छ भने, तपाईंले प्रति मिनेट १५ पटक श्वास फेर्नुहुन्छ । यदि तपाईंले धेरै साधना गर्नुभएको छ भने, यो प्रति मिनेट १२ मात्र हुन सक्छ । प्रति मिनेट १५ श्वास बराबर प्रति घण्टा ९०० श्वास अनि प्रति दिन २१,६०० श्वास हुन्छ । २१६ लाई २ ले गुणान गर्ने हो भने फेरि ४३२ नै आउँछ ।

पृथ्वीको परिधि (circumference) लिने हो भने, सामुद्रिक माइल (nauticle mile) भन्ने एकाइ हुन्छ । यही माइल वास्तविक एकाइ हो, किनकि यसले पृथ्वीमाथि केही प्रभाव पार्दछ । मापनका अन्य एकाइहरू सहज रूपमा गणना गर्नको लागि बनाइएका थिए ।

यदि तपाईंले समयमाथि सवारी गर्नुभएन भने, तपाईं औसत जीवन बाँच्नुहुनेछ— सम्भवतः कष्टदायी जीवन बिताउनु हुनेछ । यदि तपाईंले समयको सवारी गर्नुभयो र त्यसको लाभ उठाउनु भयो भनेमात्र, तपाईंले असाधारण जीवन बाँच्नुहुनेछ ।

तपाईंलाई थाहै छ कि एउटा वृत्तमा ३६०° डिग्री हुन्छ । त्यसैगरी, पृथ्वीलाई ३६०° बाँडिएको छ अनि प्रत्येक डिग्रीलाई ६० मिनेटमा विभाजन गरिएको छ । एक मिनेट बराबर एक सामुद्रिक माइल हुन्छ । अर्थात्, भूमध्य–रेखा (equator) मा पृथ्वीको परिधि २१,६०० सामुद्रिक माइल हुन्छ— तपाईंले प्रति दिन त्यति नै श्वास लिइरहनु भएको हुन्छ । यसको अर्थ के हो भने, पृथ्वी समयमै घुमिरहेको छ र तपाईं पनि ठीक हुनुहुन्छ । यदि पृथ्वी समयमा नघुमेको भए, यो हाम्रा लागि राम्रो हुने थिएन । त्यसैगरी, यदि तपाइँ पृथ्वीसँग तालमेलमा हुनुहुन्न भने, यो पनि तपाइँको लागि राम्रो होइन ।

अतः हामी यसबाट यो प्रष्ट बुझ्न सक्छौँ कि समय भनेको हामीले आविष्कार गरेको अवधारणा होइन— समय हाम्रो प्रणालीमा अर्थात् जुन रूपमा हामी बनेका छौँ, त्यसमा गहिरो रूपमा स्थापित भएको हुन्छ । महाभारत कालमा 'युग' को बारेमा थुप्रै चर्चाहरू गरिएका छन् साथै तिनको गणना कसरी गरिन्छ अनि तिनले कसरी काम गर्छन् भनेर पनि बताइएको छ । म चाहन्छु कि तपाईं मानव जीवनमा हुने समयको प्रभावलाई फरक कोणबाट हेर्नुहोस् । यो कसैले सोचविचार गरेर बनाएको कुरा होइन— यो अभूतपूर्व एवं गहन विज्ञान हो । योसँग योगको सदैव गहिरो नाता रहेको छ । कुरा यतिमात्र हो कि योगमा हामी सिद्धान्तहरू प्रतिपादन गर्दैनौँ । हामी अभ्यास र साधनामार्फत आफ्नो शरीरलाई सृष्टिको समय र स्थान अनुकूल बनाउने प्रयास गर्दछौँ, किनकि तीसँग सङ्गति वा तालमेलमा नरहिकन तपाईं धेरै टाढासम्म पुग्नुहुन्न । यदि तपाईंले समयमाथि सवारी गर्नुभएन भने, तपाईं औसत जीवन बाँच्नुहुनेछ— सम्भवतः कष्टदायी जीवन बिताउनु हुनेछ । यदि तपाईंले समयको सवारी गर्नुभयो र त्यसको लाभ उठाउनु भयो भनेमात्र, तपाईंले असाधारण जीवन बाँच्नुहुनेछ । वास्तवमा, मनुष्य र मनुष्यको दिमागलाई असाधारण जीवनको लागि नै रचना गरिएको हुन्छ ।

 

सूर्य-सिद्धान्तमा उल्लेखित प्रकाशको गतिसँग जोडिएका सङ्ख्याहरू:

सूर्यको प्रकाशले ०.५ निमिषमा २,२०२ योजन दुरी तय गर्छ ।
१ योजन = ९ माइल
१ निमिष = १६/७५ सेकेन्ड
०.५ निमिषमा २,२०२ योजन = ०.५ X (१६/७५) सेकेन्डमा २,२०२ X ९ माइल
                         = ०.१०६६६ सेकेन्डमा १९,८१८ माइल
                  = १,८५,७९३ माइल प्रति सेकेन्ड

यो सङ्ख्या आधुनिक विज्ञानले पत्ता लगाएको प्रकाशको गतिको सङ्ख्या (१,८६,२८२)सँग निकै नजिक छ ।

सम्पूर्ण महाभारत अध्यायहरू

 

Editor’s Note: This article is based on an excerpt from the December 2014 issue of Forest Flower. Pay what you want and download. (set ‘0’ for free). Print subscriptions are also available.