सद्‌गुरु: दशैँको आगमनसँगै समापन हुने नवरात्रि एउटा सांस्कृतिक पर्व हो, जसले सबैका लागि ठूलो महत्त्व र अर्थ राख्दछ । यो चाड देवीहरूमा समर्पित हुन्छ । नवरात्रि, दिव्यताको स्त्रैण रूप वा देवीहरूमा समर्पित पर्व हो ।

दशैँ— उत्सवको दशौँ दिन

नवरात्रि पर्व विभिन्न प्रतीकहरूले भरिएको छ । नवरात्रि, दानवीय तथा बर्बर प्रकृतिलाई परास्त गरी जीवनका सम्पूर्ण पक्षहरूप्रति कृतज्ञ हुने पर्व हो— यहाँ सम्म कि हाम्रो सुख-समृद्धिमा काम आउने वस्तुहरू वा चीजहरूप्रति समेत श्रद्धा व्यक्त गर्ने पर्व हो । नवरात्रिका नौ दिनहरूलाई तीन मूल गुणहरू अनुसार छुट्याइएको छ— तमस, रजस, सत्त्व । पहिलो तीन दिनहरू तमस प्रकृतिका हुन्छन्, जुन देवी दुर्गा र कालीमा समर्पित हुन्छन् । अर्को तीन दिनहरू रजस प्रकृतिका हुन्छन्, जुन सौम्य हुन्छ, तर भौतिक सुविधामा केन्द्रित हुन्छन् । यी तीन दिनहरू देवी लक्ष्मीमा समर्पित हुन्छन् । अनि, अन्तिम तीन दिनहरू सत्त्व प्रकृतिका हुन्छन्, जुन देवी सरस्वतीमा समर्पित हुन्छन् । सत्त्व प्रकृति, ज्ञान र बुद्धत्व (आत्मज्ञान) सँग सम्बन्धित हुन्छ । दसौँ दिन, विजयादशमीले जीवनका यी तीनै पक्षहरूमाथिको विजयलाई सङ्केत गर्दछ ।

विजयादशमी— विजयको दिन

यी तीनवटै आयामहरूमध्ये तपाईंको झुकाव जेप्रति हुन्छ, त्यसले तपाईंको जीवनलाई एउटा दिशा दिन्छ । यदि तपाईंको झुकाव तमस प्रकृतितर्फ छ भने, तपाईं एक किसिमले शक्तिशाली बन्नुहुनेछ । यदि तपाईंको झुकाव रजस प्रकृतितर्फ छ भने, तपाईं अर्को किसिमले शक्तिशाली बन्नुहुनेछ । तर, यदि तपाईं सत्त्व प्रकृतितर्फ जानुभयो भने, यसले तपाईंलाई पूर्णतया फरक प्रकारले शक्तिशाली बनाउनेछ । तथापि, यदि तपाईं यी सबैभन्दा पर जानुभयो भने, यो शक्ति-आर्जनसँग सम्बन्धित हुँदैन; यो मुक्ति वा मोक्षसँग सम्बन्धित हुन्छ ।

नवरात्रि पछिको दशौँ र अन्तिम दिन विजयादशमी हो । यसको अर्थ के हो भने, तपाईंले यी तीनवटै गुणहरूमाथि विजय प्राप्त गर्नुभयो । तपाईं ती तीनवटै गुणहरू— तमस, रजस, सत्त्व— को अगाडि झुक्नुभएन । तपाईंले यी सबैलाई हेर्नुभयो, तीनवटैमा सहभागी हुनुभयो, तर तपाईं यीमध्ये कुनैसित पनि कुनै तरिकाले बाँधिनु भएन, अल्झिनु भएन; तपाईंले यी तीनवटै गुणहरूमाथि विजय प्राप्त गर्नुभयो । यहि विजयादशमी हो— विजयको दिन ! विजयादशमीले यो सन्देश बोकेर आउँछ कि हाम्रो जीवनलाई सहज बनाउने हरेक चीजप्रति कृतज्ञ र श्रद्धा भाव राख्दा हामी सफलता र विजयतर्फ अघि बढ्छौँ ।

दशैँ— भक्ति र श्रद्धाको पर्व

हामी जे-जति चीजहरूको सम्पर्कमा छौँ वा जे-जति चीजहरूले हाम्रो जीवनलाई सहज बनाइरहेका छन्, आफ्नो सफलताको लागि हामीले प्रयोग गर्ने दुईवटा सबैभन्दा महत्त्वपूर्ण साधन भनेको आफ्नै शरीर र मन हो । तपाईं जुन धर्तीमाथि हिँड्नुहुन्छ, तपाईं जुन वायुमा श्वास फेर्नुहुन्छ, तपाईंले पिउने पानी, तपाईंले खाने खाना, तपाईंले सम्बन्ध गाँस्नु भएका ती सबै व्यक्तिहरू, अनि तपाईंले प्रयोग गर्ने साधनहरू— यहाँ सम्म कि आफ्नै शरीर र मन— प्रति कृतज्ञ रहनुभयो भने, तपाईं जुन रूपमा बाँचिरहनु भएको छ, यसले तपाईंलाई एउटा फरक सम्भावनातर्फ डोहोऱ्याउँछ । यी सम्पूर्ण पक्षहरूप्रति भक्ति र श्रद्धाको भावमा रहनाले, हाम्रो जीवनका हरेक प्रयासमा सफलता प्राप्त गर्न सघाउँछ ।

प्रेम र आनन्दपूर्वक दशैँ मनाउनुहोस्

नवरात्रिको नौ दिनप्रति वा जीवनको हरेक पक्षप्रति उत्सव र उमङ्गको दृष्टि हुनु अनि यसलाई उत्सवको रूपमा मनाउनु सबैभन्दा महत्त्वपूर्ण छ । यदि तपाईंले जीवनको हरेक पक्षलाई एउटा उत्सवको रूपमा लिनुभयो भने, गम्भीर नभइकनै पूर्ण रूपमा संलग्न हुन सिक्नुहुनेछ । अधिकांश मानिसहरूको सन्दर्भमा समस्या के हो भने, उनीहरू जुन चीजलाई महत्त्वपूर्ण ठान्छन्, त्यसप्रति निकै गम्भीर हुन्छन् । अनि, उनीहरूको निम्ति कुनै चीजले खासै महत्त्व राखेन भने, त्यसलाई पूरै बेवास्ता गर्छन्, त्यसमा सहभागी हुँदैनन् । जीवनको रहस्य सदैव यही रहेको छ— गम्भीर नभइकनै पूर्ण रूपमा संलग्न हुनु, केवल खेलको रूपमा !

परम्परा देखि नै नवरात्रिको पर्वलाई पूरै हर्षोल्लासका साथ नाचगान गरी, भेटघाट गरी, एक-आपसमा मिलेर उत्सवको रूपमा मनाइन्थ्यो । यो एकदमै जीवन्त पर्व हुने गर्थ्यो । तर, यो अहिले हराउँदै गएको छ । हामीले यसलाई पहिलेकै स्वरूपमा फर्काउनु पर्छ । दशैँ वा विजयादशमी पर्वको साँस्कृतिक रूपमा निकै ठूलो महत्त्व रहेको छ— मानिसहरूको जात, वर्ग वा धर्म जेसुकै भएपनि । त्यसैले, यसलाई पूरै उल्लास र प्रेमपूर्ण भावले मनाइनु पर्छ ।

मेरो कामना र आशीर्वाद यही छ कि तपाईंहरू सबैले दशैँलाई पूरै संलग्न भएर साथै हर्ष र प्रेमले मनाउनु होस् ।