सद्‌गुरुः ′स्त्रैण′ वा ′स्त्री प्रकृति′ भनेको स्त्री वा नारी हुने बारेमा होइन । स्त्री हुनु भनेको शरीरसँग मात्रै सम्बन्धित कुरा हो । तर, स्त्रैण शरीरसँग सम्बन्धित हुँदैन, यो त्यसभन्दा निकै माथि हुन्छ । यस संस्कृतिमा स्त्रियोचित गुणलाई निकै प्रशंसा र सम्मान गरिएको छ । तर, दुर्भाग्यवश यही संस्कृतिमा स्त्रैणको भयावह शोषण समेत भएको छ । स्त्रैणको गुणगान र प्रशंसाबाटै यो संस्कृति हुर्किएको थियो, तर बिस्तारै यही संस्कृतिले स्त्रैणको शोषण गर्दै गएको छ ।

′स्त्रैण′ लाई व्याख्या गर्नको लागि प्रयोग गरिएको मूल शब्द ′री′ हो । 'री' शब्दले अस्तित्वको देवी मातालाई जनाउँछ, साथै 'स्त्री' शब्दको मूल आधार ′री′ हो । 'स्त्री' शब्दको अर्थ महिला हो । 'री' शब्दको अर्थ गति, सम्भावना वा उर्जा हो ।

सर्वप्रथम, सृष्टिमा स्त्रैण (स्त्री प्रकृति) को जन्म कसरी भयो ? कथा यसरी सुरु हुन्छः जब अस्तित्व आफ्नो सुरुको अवस्थामा थियो, तब अस्तित्वको लागि हानिकारक शक्तिहरू सक्रिय भए अनि अस्तित्वमाथि नै धावा बोल्न थाले । यसबाट चिन्तित भई तीन प्रमुख देवताहरू ब्रह्मा, विष्णु र महेश्वर मिले । यी तीनै देवताहरू भिन्न-भिन्न गुणहरूका प्रतीक हुन् । आधुनिक विज्ञानको अनुसार, आज हामीमाझ यो प्रष्ट भएको छ कि प्रोटोन, न्यूट्रोन र इलेक्ट्रोन अस्तित्वको मूलभूत आधार हुन् । यिनीहरू एक निश्चित स्थानमा छन्, र साथै गतिशील छन् । यी तीनवटै शक्तिहरूभन्दा पर रहेको विद्युतीय चार्जले तिनलाई गतिशील बनाउँछ । त्यो विद्युतीय चार्ज बिना यी क्रियाशील हुन सक्दैनन् । अनि, यदि यी तीनवटै क्रियाशील नहुने हो भने, सृष्टि सम्भव नै हुन सक्दैन ।

माथिको कथाले, विज्ञानको यही पक्षलाई तार्किक रूपमा प्रस्तुत गरेको हो । कथा अनुसार तीनैजना देवताहरू मिले, किनकि विध्वंसक शक्तिहरू हावी भएका थिए । त्यो शक्तिलाई कसरी सम्हाल्ने भनेर उनीहरूलाई थाहा थिएन । उनीहरूमा तीनवटा प्रमुख गुणहरू थिए, तर उनीहरूले यो पत्ता लगाए कि यी तीनवटै गुणहरू समेत पर्याप्त छैनन् । तब, उनीहरूले तीनवटै गुणहरूको संयोजन जरूरी भएको बुझे । अतः तीनैजनाले आफ्नो पूरै शक्तिले श्वास छोडे अनि आफूभित्रको असल गुण बाहिर निकाले । यी तीनै शक्तिहरूबाट निस्किएको श्वास मिलेर एक भयो, अनि स्त्रैण वा देवीमा रूपान्तरित भयो । 'देवी' शब्दको मूल शब्द 'देव' हो । 'देव' को अर्थ हो 'आकाश' । तसर्थ, देवी कुनै कण होइनन्— उनी त्यो अन्तरिक्ष वा आकाश हुन्, जसले तीनवटै मूलभूत शक्तिहरूलाई अस्तित्वमा थामेर राख्छिन् । यही शक्तिलाई हामी 'दे-वी' भन्दछौँ ।