सद्‌गुरु: सत्त्व, रजस र तमस नभएको कुनै पनि भौतिक चिज छैन । प्रत्येक अणुमा कम्पन, ऊर्जा र निश्चित स्थिरता हुन्छ । यदि यी तीन तत्त्वहरू नहुने हो भने, तपाईं कुनै पनि चिजलाई थामेर राख्न सक्नुहुन्न । यो सहजै क्षत-विक्षत हुनेछ । यदि तपाईंभित्र सत्त्व मात्रै भयो भने, तपाईं यहाँ एक पलको लागि पनि रहन सक्नुहुन्न— तपाईं यहाँबाट जानुहुनेछ । यदि रजस मात्र भयो भने, त्यसले पनि काम गर्दैन । यदि तमस मात्र भयो मने, तपाईं जतिबेला पनि सुतिरहनु हुन्छ । त्यसैले, यी तीन गुणहरू हरेक चिजमा रहेका हुन्छन् । तपाईं यी चिजहरूलाई के-कति मात्रामा मिलाउनु हुन्छ भन्ने कुरा मात्र प्रश्नको विषय हो ।

तामसी प्रकृतिबाट सात्त्विक प्रकृतितर्फ अघि बढ्नु भनेको आफ्नो भौतिक शरीर, मानसिक शरीर, भावनात्मक शरीर अनि ऊर्जा शरीरलाई शुद्ध गर्नु हो । जब तपाईं यसलाई यस हदसम्म शुद्ध गर्नुहुन्छ, जहाँ यो निकै पारदर्शी बन्दछ, तब तपाईं सृष्टिको स्रोतलाई अनुभव गर्नबाट चुक्नुहुन्न, किनकि त्यो तपाईंभित्रै छ । यतिखेर, यो असाध्यै अपारदर्शी र अस्पष्ट भएकोले तपाईं यसलाई देख्न सकिरहनु भएको छैन । तपाईंको शरीर पर्खाल जस्तै भएको छ, जसले सबैथोक छेकिरहेको छ । जे यति अद्‌भुत छ, अर्थात् सृष्टिको स्रोत यहीँ छ, तथापि यो पर्खालले त्यसलाई रोक्न सक्छ किनकि यो एकदमै अपारदर्शी छ । यसलाई शुद्ध गर्ने समय भएको छ । अन्यथा, तपाईंलाई पर्खालको बारेमा मात्र थाहा हुन्छ— तपाईंले त्यसलाई जान्नुहन्न जो भित्र छ ।