सद्‌गुरु: पृथ्वी, सूर्य र चन्द्रमासँग हाम्रो शरीरको निर्माण निकै गहिरो स्तरमा जोडिएको हुन्छ । यीमध्ये पृथ्वी वा धरती तमस प्रकृतिको हुन्छ । सूर्यको प्रकृति रजस हो । चन्द्रमाको प्रकृति सत्त्व हो । पृथ्वी अनि तपाईंको जन्मको प्रकृति तमस हो । तपाईं जन्मिनेबित्तिकै गतिविधि शुरु हुन्छ, अर्थात् रजस शुरु हुन्छ । रजस शुरु भएपछि, तपाईं केही गर्न चाहनुहुन्छ । जब तपाईं केही गर्न थाल्नुहुन्छ, यदि तपाईंले त्यसलाई जागरूकतामा साथै सचेत भएर गर्नुभएन भने— जबसम्म तपाईंसँग सबैथोक ठीकठाक चलिरहेको हुन्छ, रजस राम्रो हुन्छ । तर, जब परिस्थिति बिग्रिन थाल्छ, रजस अन्यन्तै खराब हुनेछ ।

जब तपाईं पूर्ण रूपमा इच्छुक भएर कुनै काम गर्नुहुन्छ, त्यो काम सुन्दर हुन्छ अनि त्यसले तपाईंलाई आनन्दित बनाउँछ । जब तपाईं अनिच्छुक बन्नुहुन्छ वा नचाहेरै कुनै काम गर्नुहुन्छ, त्यो कामले तपाईंमा कष्ट उत्पन्न गर्दछ ।

रजस प्रकृति भएको व्यक्तिमा प्रचुर मात्रामा ऊर्जा हुन्छ । कुरा यत्ति हो कि त्यो ऊर्जालाई सही दिशा दिनुपर्ने हुन्छ । तपाईंको प्रत्येक काम कि त मुक्तिको प्रक्रिया बन्न सक्छ, वा तपाईंलाई बन्धनमा पार्ने प्रक्रिया बन्न सक्छ । जब तपाईं पूर्ण रूपमा इच्छुक भएर कुनै काम गर्नुहुन्छ, त्यो काम सुन्दर हुन्छ अनि त्यसले तपाईंलाई आनन्दित बनाउँछ । जब तपाईं अनिच्छुक बन्नुहुन्छ वा नचाहेरै कुनै काम गर्नुहुन्छ, त्यो कामले तपाईंमा कष्ट उत्पन्न गर्दछ । चाहे तपाईं जेसुकै गर्नुहोस्— यहाँसम्म कि भुईंमा बडार्नु परे तापनि, त्यसमा आफूलाई पूर्णतया समर्पित गरी तन-मनले त्यो काम गर्नुहोस् । वास्तवमा गर्नुपर्ने त्यति नै हो ।

जब तपाईं कुनै पनि काममा आफूलाई पूरै समर्पित गर्नुहुन्छ अनि त्यसमा मग्न रहनुहुन्छ, तपाईंको लागि अरू कुनै पनि कुराको अस्तित्व रहँदैन । मग्न हुनु भनेको "पुरुष वा स्त्री" प्रतिको भाव होइन; मग्न हुनु अर्थात् कुनै सङ्कोच बिनै जुनसुकै कुरामा पूर्णतया संलग्न र सहभागी हुनु । कार्य जेसुकै हुन सक्छ— तपाईं मग्न भएर गाउन सक्नुहुन्छ, मग्न भएर नाच्न सक्नुहुन्छ वा मग्न भएर यत्तिकै हिँड्न सक्नुहुन्छ । तपाईं अहिले जे–जति चिजको सम्पर्कमा हुनुहुन्छ, तपाईं त्यसमा पूरै मग्न र संलग्न रहनुहोस् । मग्न भएर श्वास फेर्नुहोस्, मग्न भएर हिँड्नुहोस्, मग्न भएर बाँच्नुहोस् । तपाईंको अस्तित्व नै सबैथोकसँग पूर्णतया संलग्न रहेको हुनुपर्छ ।