महाभारत अध्याय १९: कर्ण कसरी कौरवहरूको मित्र बने ?

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
महाभारत अध्याय १९
 

सम्पूर्ण महाभारत अध्यायहरू


सद्‌गुरु: जब कर्ण आएर आफ्नो कला देखाउन थाले, अर्जुनले तत्कालै बिचमै रोक्दै बोले, "यो व्यक्ति क्षेत्रिय होइन । तँ को होस् ? यो प्रतियोगितामा बिचमै घुस्ने तेरो हिम्मत कसरी भयो ?" भीम जुरूक्क उठे अनि कड्किए, "तँ कसको छोरा होस् ? अहिल्यै भनिहाल् ।" अचानक, असाध्यै आत्मविश्वासी एवं अर्जुनभन्दा पनि उत्कृष्ट धनुर्धर कर्णको आत्मविश्वास डगमगायो । उनीहरूले सोधे, "तेरो बुबा को हो ?" कर्ण बोले, "मेरो बुबा अधिरथ हुनुहुन्छ ।" तब उनीहरूले भने, "ए, तँ सुतपुत्र (सारथिको छोरा) पो होस् ! अनि, यो मैदानभित्र घुस्ने तेरो त्यत्रो हिम्मत । तुरुन्तै निस्किहाल् ! यो मैदान क्षेत्रियहरूको निम्ति हो ।"

दुर्योधन कुनैदिन भीमलाई पराजित गर्न सक्छु भन्नेमा विश्वस्त थिए, आफ्ना केही भाइहरूले नकुल र सहदेवलाई मार्नेछन् भन्नेमा विश्वस्त थिए, साथै युधिष्ठिरलाई धर्मको बारेमा प्रवचन दिएकै भरमा हराउन सकिन्छ भन्नेमा विश्वस्त थिए ।

दुर्योधनले आफू सामुन्ने जीवनकै विशाल अवसर देखे अनि कुनै पनि हालतमा यसलाई खेर फाल्न चाहँदैनथे । उनको सबैभन्दा ठूलो चिन्ताको विषय यो थियो कि कौरव भाइहरूमा कोही पनि धनुर्धर थिएनन् । दुर्योधन कुनैदिन भीमलाई पराजित गर्न सक्छु भन्नेमा विश्वस्त थिए, आफ्ना केही भाइहरूले नकुल र सहदेवलाई मार्नेछन् भन्नेमा विश्वस्त थिए, साथै युधिष्ठिरलाई धर्मको बारेमा प्रवचन दिएकै भरमा हराउन सकिन्छ भन्नेमा विश्वस्त थिए । तर, उनलाई अर्जुनसँग डर थियो, किनकि अर्जुनलाई टक्कर दिन सक्ने धनुर्धर कोही पनि थिएनन् । तसर्थ, जब उनले कर्णको क्षमता र कुशलता देखे, तुरुन्तै कर्णलाई आफ्नो पोल्टामा पारिहाले । उनी उठे र कर्णको तर्फबाट राजासँग अनुरोध गरे, "बुबा, यस्तो कसरी हुन सक्छ ? शास्त्रमा बताइए अनुसार एउटा व्यक्ति तीन तरिकाहरूले राजा बन्न सक्छ— कि त ऊ राजाको छोरा हुनुपर्छ, वा उसले आफ्नो क्षमता र साहसले कुनै राजालाई परास्त गरेको हुनुपर्छ वा आफैँले कुनै राज्य स्थापना गरेको हुनुपर्छ ।"

"कर्ण यतिखेर यहीँ छन् । कर्ण राजा नभएको कारण देखाएर अर्जुनले उनीसँग प्रतिस्पर्धा गर्न नचाहेको हो भने, म भर्खरै उनलाई राजा बनाउँछु । टाढा कतै हाम्रो एउटा सानो राज्य छ, जसलाई अङ्ग भनिन्छ । म कर्णलाई अङ्ग देशको राजा घोषणा गर्छु ।" दुर्योधनले पुजारीलाई डाके अनि त्यहीँ कर्णको राज्याभिषेक सम्पन्न भयो ।" कर्ण अङ्गराज हुन् । अर्जुनले कसैको जन्मलाई बहाना बनाएर आफू उम्किन पाउँदैनन् । कर्णको बुबा को हुन् भन्नेबारे मलाई कुनै चासो छैन । म उनलाई आफ्नो मित्र स्वीकार गर्छु ।" दुर्योधनले कर्णलाई अँगालो हाल्दै भने, "तिमी मेरो भाइ हौ, र अब तिमी राजा हौ ।"

आम मानिसहरू पनि कि त कौरव वा पाण्डवहरूको पक्ष लिइरहेका थिए । दरबारमा तथा सहरभरी मानिसहरू कसको पक्षमा छन् भन्ने कुरा तय हुँदैथियो । पूरै सहर दुई पक्षमा विभाजित भएको थियो ।

कर्ण अभिभूत भए, किनकि उनले सम्पूर्ण जीवनभरी तथाकथित तल्लो जातिको नाममा भेदभाव र अपमान खेपेका थिए । तर यहाँ, स्वयं राजाको छोरा उनको पक्षमा उभिए, अँगालो हाले अनि उनलाई राजा बनाइदिए । कर्णको निष्ठा र बफादारीले उनलाई जीवनभरको लागि बाँधिदियो । तपाईंले महाभारतमा देख्नुहुनेछ कि कुनै कारण बिनाको यो बफादारीले समयको अन्तरालमा कैयौँ पटक भयानक मोड लिनेछ । यो प्रतियोगितापछि दुर्योधनको मित्र एवं राजाको रूपमा कर्ण साथै शकुनिको साथ भएपछि कौरवहरू अझ बढी शक्तिशाली बने । कर्णको बुद्धि र कुशलताको मद्दतले उनीहरू अधिक सक्षम र दृढ बनेका थिए । दुर्योधनलाई लाग्यो कि पाँच पाण्डवहरूलाई समाप्त गर्ने सही समय यही हो ।

आम मानिसहरू पनि कि त कौरव वा पाण्डवहरूको पक्ष लिइरहेका थिए । दरबारमा तथा सहरभरी मानिसहरू कसको पक्षमा छन् भन्ने कुरा तय हुँदैथियो । पूरै सहर दुई पक्षमा विभाजित भएको थियो । यता धृतराष्ट्रलाई भने यो स्थितिलाई नरोक्ने हो भने गृह–युद्धको अवस्था निम्तिनेछ भन्ने लाग्न थाल्यो । कुनै एक पक्षले पराजय भोग्नै पर्ने थियो— अवश्य नै आफ्ना सन्तानहरू हुने त कुरै भएन ! धृतराष्ट्रलाई पाण्डवहरूले दरबार छोड्नुपर्छ भन्ने लागेपनि त्यसलाई सिधै भन्न सकेका थिएनन् । भीष्मले सम्पूर्ण परिस्थितिलाई ध्यानपूर्वक नियालिरहेका थिए, किनकि उनको निष्ठा केवल राज्यप्रति थियो । गृहयुद्ध सडकमा शुरु भइसकेको त थिएन, तर जो कोही दिल र दिमागबाट युद्धको लागि प्रतिबद्ध थिए । धृतराष्ट्रले सबै कुटिल सल्लाहकारहरूसँग सल्लाह लिए अनि सबैले पाण्डवहरूलाई सिध्याउने सही समय यही हो भन्ने सुझाव दिए ।

भीष्मले गृहयुद्ध शुरु हुने सङ्केत पाइसकेका थिए, तर उनीसँग पाण्डवहरूको रक्षा गर्न तथा कौरवहरूलाई रोक्नको निम्ति कुनै उपाय थिएन ।

शकुनिले योजना बुने । उनले भने, "यिनीहरूलाई कुनै तिर्थस्थानमा पठाइदिनु उत्तम हुनेछ ।" तपाईंलाई थाहै छ कि यस संस्कृतिमा विभिन्न तिर्थस्थानहरू छन्, तर सबैभन्दा पवित्र तिर्थस्थान काशी रहेको छ । शकुनि राजा समक्ष गए अनि पाण्डवहरूलाई तिर्थस्थानको लागि काशी पठाइनुपर्छ भन्ने सुझाव दिए । धृतराष्ट्रले युधिष्ठिरलाई बोलाए अनि भने, "तिमीले आफ्नो बुबा गुमाएका छौ, साथसाथै सानै उमेरदेखि यति धेरै समस्याहरू झेलिरहेका छौ । त्यसैले, मेरो विचारमा तिमी कुनै तिर्थस्थानमा जानु उचित हुनेछ । म चाहन्छु कि तिमी काशी जाऊ अनि एक वर्षसम्म शिवको पशुपति रूपको आराधना गर । एक वर्षसम्म उनको आराधना गरेपछि फर्किएर आऊ । त्यसबेला, तिमी राजा हुन योग्य बन्नेछौ । युधिष्ठिर युवराज घोषित भइसकेका थिए, जसको अर्थ उनी राजा बन्ने वाला थिए ।

युधिष्ठिर भीष्म समक्ष पुगे अनि भने, "हाम्रो काका चाहनुहुन्छ कि हामीले शिवको पशुपति रूपको आशीर्वाद लिएर आउनुपर्छ । उहाँले हामीलाई तिर्थयात्राको लागि काशी जाने सुझाव दिनुभएको छ, जुन हामीले आफ्नो वृद्धावस्थामा यसैपनि गर्नैपर्नेछ । तर, उहाँ हामीलाई यति प्रेम गर्नुहुन्छ कि यस्तो शुभ कार्यमा हामीबाट ढिला होस् भन्ने चाहनुहुन्न । उहाँ हामीलाई अहिल्यै तिर्थयात्रामा गएको हेर्न चाहनुहुन्छ ।" भीष्मले व्यङ्ग्य बुझिहाले, तैपनि त्यसलाई बेवास्ता गरे । किनकि, उनको सरोकार केवल राष्ट्रको बारेमा थियो । भीष्मले गृहयुद्ध शुरु हुने सङ्केत पाइसकेका थिए, तर उनीसँग पाण्डवहरूको रक्षा गर्न तथा कौरवहरूलाई रोक्नको निम्ति कुनै उपाय थिएन । कहीँकतै, उनले समेत यो स्वीकार गरेका थिए कि पाण्डवहरू त्यहाँबाट अन्त जानु नै उनीहरूको निम्ति सबैभन्दा राम्रो कुरा हुनेछ ।

क्रमशः

 

सम्पूर्ण महाभारत अध्यायहरू