महाभारत अध्याय २०: षडयन्त्र, अपमान र प्रतिशोध

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
महाभारत अध्याय २०
 

सम्पूर्ण महाभारत अध्यायहरू


कौरवहरूको षडयन्त्र— लाहा को दरबार

सद्‌गुरु: शकुनिको सहायताले दुर्योधनले पूरै विस्तारमा योजना बनाए । उनीहरूले काशी नजिकै एउटा दरबार बनाएका थिए । यसलाई बाहिरबाट माटोले लिपेर सुन्दर तरिकाले रङ्गरोगन गरिएको थियो, तर भित्री भाग ज्वलनशील पदार्थले भरिएको थियो— विशेषगरि लाहा । यता पाँच पाण्डवहरू पूरै निगरानीमा रहेका थिए । उनीहरूलाई पनि आफ्नो जीवन खतरामा छ भन्ने थाहा थियो । कुन्ती विशेषगरी हिंस्रक बघिनी जस्तै बन्दै गएकी थिइन् । पाण्डवहरू जाने बेला विदुर उनीहरूलाई मूल द्वारसम्म छोड्न आए । साथै कौरवहरू पनि आए, किनकि उनीहरू जतिबेला पनि पाण्डवहरूमाथि निगरानी राख्न चाहन्थे । कौरवहरूको आँखामा आँशु थियो । यतिबेलासम्म उनीहरूले शकुनिबाट नौटङ्की गर्ने कला सिकिसकेका थिए । अलिकति पनि भावनाबिना शकुनि चाहेको बेला रुन सक्दथे, किनकि उनको निम्ति बोली र भावभङ्गी (अनुहारको अभिव्यक्ति) मानिसभित्र रहेको कुरालाई ढाक्ने तरिका थियो ।

विदुरका जासुसहरूले पाण्डवहरूको लागि जाल बिछ्याइएको छ भन्ने कुरा थाहा पाए, तर त्यो खबर पाण्डवहरूसम्म पुऱ्याउने कुनै तरिका थिएन, किनकि उनीहरूमाथि जतिबेला पनि कौरवहरूको निगरानी भइरहन्थ्यो । त्यसैले, विदुरले युधिष्ठिरसँग जनजाति मानिसहरूको भाषामा बोले, जुन दुवैजनाले जान्दथे । "तिमीले यो बुझ्नुपर्छ कि तरबारभन्दा आगो शक्तिशाली अस्त्र हो । मुसाले जाडोबाट बच्न आफूलाई कुनै दुलोभित्र लुकाएझैँ तिमीले पनि त्यस्तै गर्नुपर्छ । हाम्रो एकजना व्यक्ति कनकनलाई तिमीहरूसँगै पठाउँछु ।"

सहदेव एउटा कुनामा बसेर चिन्तन गर्ने थाले । उनले कमिलाबाट छिनेर खाएको त्यो मासुको सानो अंशले उनको लागि गज्जबले काम गरेको थियो । उनले पूरै ठाउँलाई कमिलाले जसरी नियाले । कमिलालाई घरको कुना–काप्चा सबै थाहा हुन्छ, जुन घर मालिकलाई समेत थाहा हुँदैन ।

जब पाण्डवहरू काशी पुगे, उनीहरू दरबारमा बस्न थाले । ज्वलनशील पदार्थको गन्ध हटाउनको लागि भारी मात्रामा बास्नादार बनाइएको थियो । जब युधिष्ठिर दरबारभित्र प्रवेश गरे, उनले दरबार वरिपरि खाल्डो खनिएको देखे । साथै पर्खालबाहिर मात्र नभई भित्र समेत बारहरू लगाइएको थियो । किन त्यसरी पर्खालको भित्री भागमा समेत बारहरू लगाइएको होला भन्ने सोच्दै युधिष्ठिर दरबारभित्र गए । त्यो दृश्य देख्दा दरबारभित्र भएको कोही पनि बाहिर जान नपाऊन् भनेर त्यसरी बनाइएको जस्तो देखिन्थ्यो । पाण्डवहरूलाई केही न केही आउँदैछ भन्ने आभास भएको थियो, तर दुर्योधनको रणनीति के हुनेछ भनेर अचम्मित भएका थिए ।

सहदेव एउटा कुनामा बसेर चिन्तन गर्ने थाले । उनले कमिलाबाट छिनेर खाएको त्यो मासुको सानो अंशले उनको लागि गज्जबले काम गरेको थियो । उनले पूरै ठाउँलाई कमिलाले जसरी नियाले । कमिलालाई घरको कुना–काप्चा सबै थाहा हुन्छ, जुन घर मालिकलाई समेत थाहा हुँदैन । सहदेवले कमिलाले जसरी भित्ता कोतर्न थाले अनि उनले सबैलाई जानकारी दिए, "यो दरबार लाहाले बनेको छ । यदि यहाँ आगो सल्कियो भने, १–२ मिनेटमै हामी सबैजना समाप्त हुनेछौँ ।"

उनीहरू त्यहाँबाट जसरी पनि बाहिर निस्किनुपर्ने थियो । तर, उनीहरू यत्तिकै भाग्न सक्दैनथे, किनकि उनीहरू बाटोमै मारिन सक्थे । त्यसैले, उनीहरूले गोप्य रूपमा कनकनलाई सुरुङ्ग खन्ने काममा लगाए । एक महिनाभित्र उनले नदीको किनारसम्म पुगिने सुरुङ्ग बनाए । यतिबेलासम्म, सुरक्षा गार्डको रूपमा रहेको दुर्योधनको जासुसमा समते चनाखोपन कम हुँदै गएको थियो, किनकि सबैजना राम्रैसँग खाइरहेका थिए, सबैजना एक–आपसमा हाँसखेल गर्ने र कुराकानी गर्ने भइरहेको थियो । पाण्डवहरूले पनि सबैथोक सामान्य भए जसरी काम गर्ने अनि दरबार एकदमै रुचाएको जस्तो देखाउने कला सिकिसकेका थिए ।

कुन्तीको करुणा–शून्य चाल

यता कुन्तीले निषाद जातिकी महिलासँग मित्रता गाँसेकी थिइन्, जसका पाँच छोराहरू थिए । कुन्ती उनीहरूलाई प्राय:जसो महलमा बोलाउँथिन्, उनीहरूलाई राम्रोसँग खुवाउँथिन् अनि राम्रो हेरचाह गर्दथिन् । एकदिन पूर्णिमाको रातमा उनले भोज आयोजना गरिन् । निषाद महिला, उनका पाँच छोराहरू र कौरवहरूले पठाएका जासुसलाई आमन्त्रित गरिन्, अनि सबैलाई भरपूर मदिरा पिलाइन् । सबै पाहुनाहरू लट्ठ भएर निदाएपछि, पाण्डवहरू र आमा कुन्ती सुरुङ्गबाट बाहिर निस्किए अनि महलमा आगो लगाइदिए । जासुस, निषाद महिला र उनका पाँच छोराहरूको जलेर मृत्यु भयो ।

पूरै शहर भेला भएर पाण्डवहरूको तथाकथित मृत्युमा रूँदै–कराउँदै शोक मनाउन थाले । हस्तिनापुरमा धृतराष्ट्रले शोकमग्न भएको नाटक गरे । दुर्योधनले तीन दिनसम्म नखाएको ढोँग गरे, यद्यपि उनी एकान्तमा छुट्टै खाइरहेका हुन्थे । सबैजना शोकमा विलाप गर्न थाले, मृतकहरूको सम्झनामा प्रार्थना समारोह आयोजना गरियो ।

विदुरले पाण्डवहरूलाई भाग्नमा मद्दत गर्नको लागि केही मानिसहरू पठाएका थिए । महाभारतमा एउटा अविश्वसनीय वर्णन छ जसमा भनिएको छ, “उनीहरू डुङ्गामा चढे जहाँ अपरिचित सहयोगी प्रतीक्षा गरिरहेको थियो । भीम डुङ्गा खियाउन दाबिलो खोजिरहेका थिए, तर त्यहाँ केही थिएन । सहयोगीले केही लिवर चलायो अनि डुङ्गाले मौरी भुनभुनाएझैँ आवाज निकाल्दै नदीको धाराको विपरित दिशामा अघि बढ्न थाल्यो ।” उनीहरू सबै छक्क परे ।

कुनै दाबिलो प्रयोग नभइकन, त्यसरी भुनभुन आवाज निकाल्दै नदीको धारको विपरित दिशमा गइरहेको डुङ्गाको वर्णन कुनै मोटरबोट (मोटरबाट चल्ने डुङ्गा) जस्तै प्रतीत हुन्छ । हामीलाई यो थाहा छैन कि त्यो कल्पना थियो, वा उनीहरूसँग साँच्चिकै मोटरबोट थियो, उनीहरूले अन्तै कतैबाट आयात गरेका थिए वा कसैसँग त्यस हदसम्मको दुरदृष्टि थियो कि पाँच हजार वर्षपछि मोटरबोट हुनेछ भनेर पहिल्यै देखेका थिए । जेसुकै भएपनि, उनीहरू नदीको धारको विपरित दिशामा गए अनि घना जङ्गलभित्र प्रवेश गरे ।

जब दरबार पूरै जल्यो, तब पूरै शहर भेला भएर पाण्डवहरूको तथाकथित मृत्युमा रूँदै–कराउँदै शोक मनाउन थाले । हस्तिनापुरमा धृतराष्ट्रले शोकमग्न भएको नाटक गरे । दुर्योधनले तीन दिनसम्म नखाएको ढोँग गरे, यद्यपि उनी एकान्तमा छुट्टै खाइरहेका हुन्थे । सबैजना शोकमा विलाप गर्न थाले, मृतकहरूको सम्झनामा प्रार्थना समारोह आयोजना गरियो । पाण्डवहरू र कुन्तीले त्यसलाई दुर्घटना जस्तो देखाउन सम्भव भएसम्म सबैथोक गरेका थिए । कौरव र तिनका साथीहरूलाई आफ्ना शत्रुहरू अझै जीवित छन् भन्ने थाहा थिएन । निषाद महिला र उनको पाँचजना छोराहरूको जलेको शव देख्दा कुन्ती र पाण्डवहरूको मृत्यु भएको जस्तो देखिन्थ्यो । जब सुरुङ्ग खन्ने व्यक्ति कनकनले निषाद महिला र उनका पाँच छोराहरूको डढेको लाश देखे, उनले सोचे— के कुन्ती र पाण्डवहरू यो जघन्य अपराधबाट कहिल्यै दोषमुक्त हुन सक्लान् ? यदि कौरवहरूले त्यहाँ शवहरू भेटेनन् भने, उनीहरूलाई पाण्डवहरू भागे भन्ने लाग्नेछ अनि जसरी पनि खोजि गर्नेछन् भन्ने आँकलन गरेर आफ्नो स्वार्थको लागि कुन्तीले त्यसरी ६ वटा शवहरू देखाउने योजना बनाइन्, जसको बारेमा उनलाई अलिकति पनि पश्चाताप थिएन ।

घटोत्कच को जन्म

हिडिम्बा भीमसँग एक वर्षसम्म सँगै बसिन् अनि एउटा बच्चा जन्माइन् । जन्मिँदैखेरि बच्चाको टाउकोमा अलिकति पनि कपाल थिएन अनि टाउको पनि घैँटो जस्तो थियो । बच्चाको नाम घटोत्कच राखियो ।

उनीहरूले आफ्ना सबै निशानहरू मेटाए अनि जङ्गलतर्फ अघि बढे । त्यहाँ थुप्रै घटनाहरू भए । तीमध्ये एउटा महत्त्वपूर्ण घटना यो थियो: एकदिन मान्छे खाने भयानक राक्षस (नरभक्षी) त्यहाँ आइपुग्यो अनि पाँच भाइहरू र उनीहरूको आमालाई देखेपछि सबैलाई खान चाह्यो । तर, त्यसो हुनुको सट्टा भीमले उसलाई भयङ्कर लडाइँमा मारिदिए । त्यस राक्षसकी बहिनी थिई, हिडिम्बा । हिडिम्बा भीमप्रति आकर्षित भई अनि उनीसँग प्रेम गर्न थाली । ऊ जङ्गलमा बस्ने प्राणी थिई । भीमले उसलाई अलिकति सभ्य बनाए, उसको कपाल मिलाएर काटिदिए अनि उसलाई आकर्षक देखिने बनाए । त्यसपछि, बिस्तारै भीमले पनि प्रेम गर्ने थाले अनि बिहे गर्न चाहे । भीम जसरी पनि हिडिम्बालाई पाउन चाहन्थे, तर उनलाई केही ग्लानी मससुस भइरहेको थियो, किनकि उनका जेठो दाजुले अझै बिहे गरेका थिएनन् ।

युधिष्ठिरले उनलाई त्यो ग्लानिको भावबाट मुक्त गरिदिए । उनले भने, “हो, चलन अनुसार पहिला जेठोले बिहे गर्नुपर्ने हुन्छ, तर हृदयले परम्पराको कुरा मान्दैन र हामी हृदयको कुरालाई नमन गर्दछौँ । तिमी हिडिम्बासँग विवाह गर्न सक्छौँ ।” अरू कसैलाई पनि हिडिम्बाप्रति चासो थिएन । हिडिम्बा भीमसँग एक वर्षसम्म सँगै बसिन् अनि एउटा बच्चा जन्माइन् । जन्मिँदैखेरि बच्चाको टाउकोमा अलिकति पनि कपाल थिएन अनि टाउको पनि घैँटो जस्तो थियो । बच्चाको नाम घटोत्कच राखियो, जसको अर्थ हो घैटो जस्तो टाउको भएको र कपाल नभएको । बच्चाको शरीर निकै ठूलो थियो । पछि, उनी युद्धमा निकै उपयोगी बने, किनकि उनी एकदमै बलशाली योद्धा बनेका थिए ।

कुन्तीलाई भीम अलि बढी नै घरायसी बन्दै गएको आभास भयो । यदि भीम आफ्नी पत्नीसँगै बसिरहे भने, कुनै न कुनैबेला सबै भाइहरू छुट्टिनेछन् भन्ने कुरा कुन्तीले राम्रोसँग जानेकी थिइन् । र, यदि भाइहरू अलग–अलग भए भने, उनीहरूले कहिल्यै पनि राज्य फिर्ता पाउन सक्दैनथे । त्यसैले, उनले निर्णय सुनाइन्, “तिमी यो राक्षस स्त्रीसँग बस्न पाउँदैनौ, किनकि यो आर्य होइन ।” त्यसपछि, उनले भीम र अरू चार भाइहरूलाई जङ्गलबाट सानो नगरमा लिएर गइन्, जसको नाम थियो एकचक्र ।

बकासुर को मृत्यु

कुन्ती र पाण्डवहरू एकचक्रमा बसिरहेका बेला, बकासुर नाम गरेको नरभक्षी (मान्छे खाने राक्षस) त्यही नगरमा बसोबास गर्न थाल्यो । उसले त्यस नगरको विनाश शुरु गऱ्यो । ऊ मानिसहरू, जनावरहरू, आफ्नो बाटोमा आएको जो–कसैलाई उठाएर लैजान्थ्यो अनि सबैलाई खान्थ्यो । त्यसपछि, नगर परिषदले ऊसँग यो सम्झौता गऱ्यो कि हप्तामा एकपटक उसलाई एउटा ठेला–गाडाभरि खाना, दुईवटा साँढे अनि एकजना व्यक्ति पठाइनेछ । यसको बदलामा त्यस नरभक्षीले नगरमा आक्रमण नगर्ने अनि अरू मानिसहरूलाई पनि नखाने सम्झौता गऱ्यो । यता शहरभित्र हरेक हप्ता एउटा परिवारले एक ठेलागाडा खाना, दुईवटा साँढे र उनीहरूको परिवारबाट एकजना सदस्य पठाउनुपर्ने व्यवस्था गरियो । तर, जति गरे पनि बकासुरको भोक अतृप्त रहन्थ्यो । एकदिन भीमले आफू त्यहाँ जाने निर्णय गरे । दुवैजनाको बिचमा भयानक लडाइँ भयो, जसमा भीमले बकासुरलाई परातिज गरे अनि मारिदिए ।

पाण्डवहरूलाई गन्धर्वको उपहार

जब गन्धर्व होशमा आए, उनले कृतज्ञ भाव व्यक्त गर्दै अर्जुनलाई थुप्रै उपहारहरू दिए— एक सय घोडाहरू अनि क्षत्रियहरूको लागि काम लाग्ने अन्य थुप्रै कुराहरू दिए । साथै, उनले एक सयवटा ज्ञानपूर्ण कथाहरू पनि सुनाए ।

कौरवहरूले दिएको लाहाको दरबार जलेको लगभग एक वर्षपछि, पाण्डवहरूलाई आफूहरू बसिरहेको त्यस अज्ञात ठाउँबाट बाहिर निस्किनुपर्छ भन्ने लागेको थियो । उनीहरूलाई मृत ठानिएको थियो, जसकारण जोसुकैले उनीहरूलाई सजिलै मार्न सक्दथे साथै कसैमाथि शंका नै हुने थिएन । तसर्थ, उनीहरूले एकदमै सावधानीपूर्वक फर्किने योजना बनाउनुपर्ने थियो ।

जब उनीहरू जङ्गलबाट जाँदै थिए, उनीहरू तलाउको छेउमा पुगे । उनीहरूले त्यही तलाउबाट पानी पिउने सोचे । तर, त्यहाँ अङ्गारपर्ण नाम गरेका एकजना गन्धर्व थिए अनि उनी त्यस तलाउलाई आफ्नो भनेर दाबी गर्दथे । अर्जुन एक महान् धनुर्धर हुन् भन्नेबारे जानकार रहेरै उनले अर्जुनलाई चुनौती दिँदै भने, "मेरो तलाउबाट पानी पिउनुअघि तिमीले मसँग कुस्ती लड्नुपर्छ ।" भयानक घम्साघम्सी भएपछि गन्धर्व पराजित भएर बेहोश भए । योद्धाको धर्म अनुसार, अर्जुनले उनलाई मार्नुपर्ने हुन्थ्यो, किनकि कसैलाई पराजित गरेर यत्तिकै छोडिदिनु उसलाई अपमान वा बेइज्जत गरेको मानिन्थ्यो । प्राय: क्षेत्रिय एकपटक पराजित भइसकेपछि बाँच्न चाहँदैनथ्यो— ऊ मर्न उत्तम ठान्दथ्यो ।

अर्जुनले उनको शिर काट्नै लागेका थिए, तर अङ्गारपर्णकी श्रीमती आएर विन्ति गरिन्, “उहाँ क्षेत्रिय होइन, उहाँलाई हारेपछि पनि जीवित रहनुमा कुनै समस्या छैन । उहाँको पत्नीको रूपमा म तपाईंसँग उहाँको प्राणको भीख माग्दछु । तपाईंहरू दुवैजनाको धर्म फरक–फरक छ । त्यसैले, उहाँलाई मार्न जरूरी छैन ।” अर्जुनले उनलाई छोडिदिए । जब गन्धर्व होशमा आए, उनले कृतज्ञ भाव व्यक्त गर्दै अर्जुनलाई थुप्रै उपहारहरू दिए— एक सय घोडाहरू अनि क्षत्रियहरूको लागि काम लाग्ने अन्य थुप्रै कुराहरू दिए । साथै, उनले एक सयवटा ज्ञानपूर्ण कथाहरू पनि सुनाए । यी कथाहरूमध्ये, हामी एउटा खास कथाको बारेमा चर्चा गर्नेछौँ, जुन विशेषगरी पाण्डव र उनीहरूको भविष्यको लागि महत्त्वपूर्ण थियो ।

अङ्गारपर्ण ले सुनाए शक्ति ऋषिको कथा

अङ्गारपर्णले पाण्डवहरूको हृदयमा आक्रोश र घृणा भरिएको देखेर यो कथा सुनाएका थिए ।

अङ्गारपर्णले महान् ऋषि वशिष्ठका छोरा 'शक्ति' को बारेमा कथा सुनाए । एकपटक शक्ति जङ्गलको बाटो हुँदै गरिरहेका थिए अनि केही अगाडि पुगेपछि खोला नजिक पुगे, जहाँ एउटा साँघुरो पुल थियो । जब उनी पुलमा चढ्नै लागेका थिए, उनले पुलको अर्को छेउबाट राजा कल्माषपद आइरहेका देखे । एकजनाले बाटो छोड्नुपर्ने थियो । राजाले शक्तिलाई भने, “म पहिला पुलभित्र चढेको हुँ, मेरो लागि बाटो छोड !” आफ्नो बुबाको प्रतिष्ठामा अंहकारले चुलिएका शक्तिले भने, “तिमी बाटो खाली गर ! म ब्राम्हण हुँ, म तिमीभन्दा ठूलो हुँ ।” रिसको झोँकमा उनले कल्माषपदलाई 'राक्षस बन्नू' भनेर श्राप दिए । राजा एकाएक नरभक्षी राक्षस बने अनि तत्कालै शक्तिलाई खाइदिए ।

आफ्नो छोरा गुमाउनु परेकोमा वशिष्ठ असाध्यै निराश थिए, किनकि खासमा उनैले आफ्नो छोरालाई वरदान र श्राप दिन सक्ने सामर्थ्य प्रदान गरेका थिए । शक्तिले गलत व्यक्तिलाई गलत श्राप दिन पुगे अनि स्वयं त्यसको शिकार भए ।

शक्तिका छोरा पराशर आफ्ना हजुरबुबा वशिष्ठको रेखदेखमा हुर्किँदै गए । युवक भएपछि जब उनले आफ्नो बुबासँग भएको घटना थाहा पाए, उनमा प्रतिशोधको भावना जाग्यो । उनले यस्तो यज्ञ गर्ने योजना बनाए, जसले सम्पूर्ण नरभक्षी आदिवासीको विनाश गर्ने थियो । वशिष्ठले उनलाई त्यस्तो कार्यलाई दिमागबाट हटाउन भन्दै यसरी उपदेश दिए: “तिम्रो बुबाले कसैलाई श्राप दिएको थियो, अनि त्यही श्रापले उसैलाई माऱ्यो । यदि तिमीले अहिले त्यसको बदला लिन चाह्यौ भने, यो कहिल्यै नटुङ्गिने प्रतिशोधको शृङ्खला बन्नेछ । तिमी राक्षसको बारेमा नसोच, बरु त्यसको खोजी गर जुन तिम्रो लागि महत्त्वपूर्ण छ ।” पराशरले उनको उपदेश माने अनि पछि महान् ऋषि बने । ऋषि पराशर व्यासका पिता हुन्— पुरै महाभारत कथामा महर्षि व्यासको महत्त्वपूर्ण भुमिका रहेको छ । अङ्गारपर्णले पाण्डवहरूको हृदयमा आक्रोश र घृणा भरिएको देखेर यो कथा सुनाएका थिए ।

उनीहरूले विभिन्न रूपहरूमा पटक–पटक धोका पाएका थिए । त्योभन्दा पनि बढी उनीहरूको जीवन लिने थुप्रै कोशिसहरू भएका थिए । काशीको घटनामा त पाँचैजना भाइहरू र आमालाई समेत समाप्त गर्ने खुल्लम खुल्ला षडयन्त्र रचिएको थियो । उनीहरू त्यसको बदला लिन आतुर थिए । त्यो कथा सुनाएपछि, अङ्गारपर्णले उनीहरूलाई सुझाव दिए, “आफ्नो समय र ऊर्जा प्रतिशोध लिनमा खेर नफाल्नुहोस् । तपाईंहरू राजा बन्न सक्नुहुन्छ । त्यसैले, पहिला एकजना ब्राम्हण खोज्नुहोस्, अनि विवाह गर्नुहोस्, बसोबास गर्ने ठाउँ खोज्नुहोस्, आफ्नै राज्य बनाउनुहोस् अनि राजा बन्नुहोस् । बदलाको बाटोमा नहिँड्नुहोस् ।”

यो कथा सुनेपछि, उनीहरू बदला लिने बारेमा अलिकति बढी सतर्क त भए, तर उनीहरूको हृदयबाट त्यो पूरै हटिसकेको थिएन । उनीहरूले पहिला एकजना पुजारी खोजे । उनीहरू देवला मुनिको कान्छो भाइ धौम्य समक्ष गए, जो नजिकैको आश्रममा बस्दथे । उनलाई पारिवारिक पुरोहित बन्न आग्रह गरियो । द्वापर युगमा पारिवारिक पुरोहित हुनु अत्यन्तै जरूरी थियो, किनकि हरेक अवसरमा शक्तिशाली यज्ञ गर्ने चलन थियो । उनीहरूले धौम्यको रूपमा योग्य र प्रभावशाली पुजारी पाए, जो त्यस क्षणपश्चात सदैव उनीहरूको पक्षमा उभिए ।

द्रोण र द्रुपद को टकराव

मित्रता बराबरीको हैसियतमा हुन्छ । एउटा राजा र एउटा भिखारीबिच मित्रता हुन सक्दैन । तिमी केवल दान लिन सक्छौ । यदि केही चाहिएको हो भने, गाई लैजाऊ— नत्रभने यहाँबाट निस्किएर जाऊ ।

पाण्डवहरूले यो थाहा पाए कि पाञ्चाल देशको राजा द्रुपदले आफ्नी छोरीको लागि स्वयंवर आयोजना गरेका छन्, जसको मतलब राजाकुमारीले आफ्नो हुने वाला पति रोज्न पाउँथिन् । सानो छँदा द्रोण र द्रुपद दुवैले द्रोणका पिता ऋषि भारद्वाजको छत्रछायाँमा अध्ययन गरेका थिए । द्रुपद र द्रोण मिल्ने साथी बनेका थिए । १३ वर्षको उमेरमा दुवैले एकअर्कासँग वचन दिए, “हामीले चाहे जतिसुकै धन–सम्पत्ति जम्मा गरेपनि वा जीवनमा जेसुकै उपलब्धि प्राप्त गरेपनि, हामी त्यसलाई एक–आपसमा बाँड्नेछौँ ।”

शिक्षा पूरा भएपछि द्रुपद पाञ्चाल फर्किए अनि राजा बने । द्रोणले आफ्नो छुट्टै जीवन बिताउन थाले अनि कृपाचार्यकी बहिनी कृपासँग विवाह गरे । उनीहरूमार्फत जन्मिए सन्तानको नाम अश्वत्थामा थियो । जन्मको समयमा कुनै अश्व अर्थात् घोडा जसरी हाँसेको हुनाले उनको नाम अश्वत्थामा हुन पुग्यो । त्यसबेलाको कृषि प्रधान समाजमा दूध मुख्य भोजन हुने गर्थ्यो । तर, द्रोणको परिवार निकै गरिब थियो, किनकि उनीहरूसँग न त जमिन थियो, न गाईवस्तु । त्यसैले, अश्वत्थामाले कहिल्यै दूध देखेका थिएनन् । एकपटक शहर गएको बेला, उनले अरू केटाहरूले दूध पिइरहेको देखे अनि उनीहरूसँग यो के हो भनेर सोधे । अश्वत्थामाले कहिल्यै दूध देखेका छैनन् भन्ने कुरा जानेपछि, उनीहरूले पानीमा अलिकति चामलको पिठो मिसाए अनि उनलाई पिउन दिए । उनले त्यो दूध हो भन्ने ठानेर खुसी हुँदै पिए ।

अश्वत्थामालाई दूध के हो भन्ने समेत थाहा नभएको देखेर अरू केटाहरूले उनको मजाक उडाए । जब द्रोणलाई यो घटनाको बारेमा थाहा भयो, उनी निकै रिसाए र उत्तेजित भए । तब उनले आफ्नो साथी द्रुपदलाई सम्झिए, जो अहिले ठूलो राजा बनेका थिए— सानो छँदा उनले आफूसँग भएको सबैथोक बाँड्ने वचन दिएका थिए । उनी द्रुपदको सभामा गए अनि भने, “हामीले एकअर्कासँग गरेको वचनको बारेमा याद छ । तिमीले मलाई आफ्नो आधा राज्य दिनुपर्छ ।”

दुवै जनाले वचन गरेको थुप्रै वर्ष बितेको थियो । द्रुपदले द्रोणतिर हेर्दै भने, “तिमी गरीब ब्राम्हण हौ । तिमी आफ्नो छोराको बेइज्जत भएका कारणले उत्तेजित भएका छौ । म तिमीलाई गाई दिनेछु । यही लिएर जाऊ । यदि तिमीलाई बढी चाहियो भने, म दुईवटा गाई दिनेछु । तर, एउटा ब्राम्हणको हैसियतले तिमी यहाँ आएर कसरी मसँग आधा राज्य माग्न सक्छौ ?” द्रोणले भने, “म तिमीसँग आधा राज्य मागिरहेको छु, गाई होइन । मलाई तिम्रो दान चाहिँदैन । म यहाँ यसकारण आएको हुँ, किनकि हामी साथी थियौँ ।” त्यसपछि द्रुपदले भने, “मित्रता बराबरीको हैसियतमा हुन्छ । एउटा राजा र एउटा भिखारीबिच मित्रता हुन सक्दैन । तिमी केवल दान लिन सक्छौ । यदि केही चाहिएको हो भने, गाई लैजाऊ— नत्रभने यहाँबाट निस्किएर जाऊ ।” रिसले आगो हुँदै द्रोण निस्किए अनि यो अपमानको प्रतिशोध लिने प्रण गरे ।”

क्रमशः

 

सम्पूर्ण महाभारत अध्यायहरू