सम्पूर्ण महाभारत अध्यायहरू


द्रोणको प्रतिशोध

सद्‌गुरु: द्रोणले आफूमाथि द्रुपदले गरेको अपमानको प्रतिशोध लिने प्रण गरेका थिए । यसको लागि द्रोणले परशुरामबाट अस्त्रहरू लिए, हस्तिनापुरमा आए अनि कौरव र पाण्डवहरूलाई विविध किसिमका युद्ध कलाहरू सिकाउन थाले । जब कौरव र पाण्डवहरू विशेष रूपमा दक्ष बने, उनीहरू आफ्ना गुरुलाई गुरुदक्षिणा दिन उत्सुक भए । द्रोणले सबैभन्दा पहिला द्रुपदलाई समातेर त्यहाँ उपस्थित गराउन भने । कुनै कारणबिनै कौरव र पाण्डव राजकुमारहरू गए अनि पाञ्चल राज्यको राजधानी कम्पिल्यमा आक्रमण गरे ।

कौरव भाइहरूले पूरै जोशमा त्यहाँ आक्रमण गरे, जबकि पाण्डवहरू चाहिँ पछाडि उभिएर हेरिरहे । द्रुपदको सेना कुनै तयारी नगरिकनै त्यहाँ पुगेको थियो । त्यस राज्यका मानिसहरू अचानक यी केटाहरू आएर केही कारणबिनै किन यसरी जाइलागेका छन् भन्ने कुरा बुझ्न सकिरहेका थिएनन् । आफूहरूमाथि आक्रमण भइरहेको छ भन्ने कुरा बुझेपछि सर्व–साधारणहरू आ–आफ्नो घरबाट चक्कु, डाडु, लट्ठी अनि जे–जे हात पऱ्यो त्यही बोकेर प्रतिकारमा उत्रिए । उनीहरू कौरवहरूसँग लडे अनि तिनलाई पराजित गरिदिए । सर्व–साधारण मानिसहरूबाट पराजित भएपछि कौरवहरू लज्जित हुँदै फर्किए । त्यसपछि, द्रोणले अर्जुनलाई भने, "वास्तवमा, तिमीले मलाई गुरुदक्षिणा अर्पण गर्नुपर्ने हो । तिमीले जसरी पनि द्रुपदलाई लिएर आउनुपर्छ ।"

द्रुपदको अपमान

त्यसबेला, क्षेत्रियको लागि तपाईंले गर्न सक्ने सबैभन्दा अपमानजनक काम भनेको उसलाई पराजित गरेर जीवित छोडिदिने हुन्थ्यो ।

त्यसपछि भीम र अर्जुन गए । उनीहरू चुपचाप शहरभित्र पसे, द्रुपदलाई अपहरण गरेर बाँधे, सँगै लिएर गए अनि द्रोणको चरणमा छोडिदिए । जुन क्षण द्रुपदले द्रोणलाई देखे, उनले बुझिहाले कि द्रोणले नै यी युवकहरूलाई पठाएका थिए । एउटा महान् योद्धा कैदीको रूपमा द्रोणको चरणमा पल्टिरहेका थिए । द्रोणले भने, “अब हामी बाँड्ने कुरा गर्न सक्दैनौँ, किनकि अब हाम्रो स्तर बराबर छैन । तिमी मेरो अगाडि दास जसरी पल्टिरहेका छौ । मेरा केटाहरूले गुरु दक्षिणा स्वरूप तिमीलाई यहाँ ल्याएका छन् । म तिमीसँग जे चाह्यो त्यही गर्न सक्छु । तर, म कुनैबेला तिम्रो साथी थिएँ, त्यसैले तिमीलाई जीवित छोडिदिन्छु ।"

त्यसबेला, क्षेत्रियको लागि तपाईंले गर्न सक्ने सबैभन्दा अपमानजनक काम भनेको उसलाई पराजित गरेर जीवित छोडिदिने हुन्थ्यो । द्रोण त्यही चाहन्थे । उनी यो जान्दथे कि द्रुपदलाई प्राण दान गर्नु उनको निम्ति सबैभन्दा कठोर व्यवहार हुनेथियो— त्यसमाथि ब्राम्हणबाट पाइएको क्षमा ! द्रोणले भने, “तिम्रो आधा राज्य अब मेरो हो । साथीको नाताले, म तिमीलाई बाँकी राज्य दिनेछु । जाऊ गएर बाँकी आधा राज्य सम्हाल, अर्को आधा राज्य म सम्हाल्छु ।” अपमान, क्रोध र घृणाले जल्दै द्रुपद बचेको आधा राज्यमा फर्किए । यति ठूलो अपमानपछि उनी जनताहरू समक्ष मुख देखाउन सकिरहेका थिएनन् । उनका प्रजाहरूले यो स्वीकार्ने कुरै भएन । उनी क्रुद्ध बनिरहेका थिए ।

त्यसपछि, उनले शिवको प्रार्थना गरे अनि भने, “म एउटा सन्तान चाहन्छु जसले मेरो सट्टामा बदला लिनेछ ।” द्रुपद एकपटक युद्धमा पराजित भइसकेकाले द्रोणलाई युद्धको लागि बोलाउने अधिकार पनि गुमाइसकेका थिए । बच्चाको जन्म भयो, तर छोरीको रूपमा । द्रुपद छाँगाबाट खसे जस्तै भए । उनले शिवसँग गुनासो गरे, “मलाई प्रतिशोध लिन बच्चा चाहिएको थियो । छोरीले कसरी बदला लिन सक्छे ?” अरू कसैलाई पनि घरमा छोरी जन्मिएकी छे भन्ने कुरा थाहा नहोस् भन्ने मनशायले उनले पहिलो दिनदेखि नै आफ्नो छोरीलाई केटा जसरी राख्न थाले । छोरीलाई केटालाई जसरी युद्धकला सिकाउन थालियो । ती कन्या अम्बाको पुनर्जन्म थिइन्, जसलाई शिखण्डी भनेर चिनिन थालियो ।

द्रुपद द्रोणसँग मात्र नभई पूरै कुरुवंशसँग बदला लिन चाहन्थे, किनकि तिनै युवकहरूले द्रोणलाई बन्दी बनाएका थिए । उनी सबैलाई समाप्त गर्न चाहन्थे । भीष्म कुरुवंशको खम्बा थिए । त्यसैले, भीष्मलाई समाप्त गरिदिने हो भने, पूरै कुरुवंश नष्ट हुनेछ भन्ने कुरा द्रुपदले जानेका थिए । १४ वर्षको उमेरमा शिखण्डी घरबाट भागिन् । सबैजना निकै विक्षिप्त भए अनि जताततै खोज्न थाले, तर उनलाई कहीँकतै फेला पार्न सकेनन् । खासमा शिखण्डी किशोर अवस्थामा पुगेकी थिइन् । उनी आफ्नो शारीरिक विकासलाई लुकाउन चाहन्थिन्, किनकि आफू कन्या भएको कुरा अरू मानिसहरूलाई थाहा नहोस् भन्ने चाहन्थिन् । तसर्थ, उनी जङ्गलमा बसेर आफैँ युद्ध कला सिक्न थालिन् । जङ्गलमा स्तुनकर्ण नामक यक्षले शिखण्डीको यस्तो अवस्था देखेर सहायताको भावले भन्यो, “म तिमीलाई पुरूषत्व प्रदान गर्छु ।” आफ्नो चमत्कारिक शक्तिको प्रयोग गरेर स्तुनकर्णले शिखण्डीलाई पुरूष बनाइदियो । उसले भन्यो, “तिमी सामाजिक रूपमा पुरुष मानिनेछौ, तर भित्र रूपमा स्त्री नै रहनेछौ ।”

यज्ञबाट भएको जन्म

विशाल यज्ञ समापन भएपछि, यज्ञको आगोबाट एउटा छोरा र एउटी छोरीको जन्म भयो— धृष्टद्युम्न र द्रौपदी ।

द्रुपदको जीवनको एकमात्र लक्ष्य भनेको द्रोणलाई बेइज्जत गर्नु र कुरुवंशको विनाश गर्नु थियो । उनी आफ्नो लागि यज्ञ गरिदिने व्यक्तिको खोजीमा थिए । यज्ञको माध्यमले उनी द्रोण र कुरुवंशलाई पराजित गर्न सक्ने सन्तान प्राप्त गर्न चाहन्थे । उनले यज र उपयज नाम गरेका दुईजना तान्त्रिक फेला पारे, जसले उनको पुत्रकर्म यज्ञ गरिदिने भए । द्रुपदले प्रार्थना गरे, “म एउटा छोरा चाहन्छु जसले द्रोणलाई मार्नेछ, अनि एउटी छोरी चाहन्छु जसले कुरुवंशलाई अलग–अलग गर्नेछे । विशाल यज्ञ समापन भएपछि, यज्ञको आगोबाट एउटा छोरा र एउटी छोरीको जन्म भयो— धृष्टद्युम्न र द्रौपदी ।

यी दुवैजना कुनै पुरूष र महिलाको समागमबाट जन्मिएका थिएनन् । उनीहरू आगोबाट जन्मिएका थिए । धृष्टद्युम्न र द्रौपदीको जीवनको एकमात्र उद्देश्य थियो— प्रतिशोध । शुरुदेखि नै द्रुपदले उनीहरूको दिमागमा यो कुरा भरिरहे कि उनीहरूको जीवनको एकमात्र लक्ष्य भनेको द्रोण र कुरुवंशसँग बदला लिनु हो । अर्थात्, जब कुरुवंश एकआपसमा लडिरहेको थियो, त्यसैबेला छिमेकमा भयानक शत्रु निर्माण हुँदै थियो ।

द्रुपद महान् धनुर्धर र योद्धासँग आफ्नी छोरीको विवाह गरिदिन चाहन्थे, ताकि उनीहरू बदला लिन सकून् । उनले उपयुक्त वर खोजे, तर उनले द्रोणलाई हराउन सक्ने खालको कोही पनि भेटेनन् । त्यसैबेला, उनले यस्ता थुप्रै युद्धहरूको बारेमा सुने, जहाँ कृष्ण विजयी भएका थिए ।

जरासन्ध र उनका सेनाले मथुरामा सत्रौँ पटक आक्रमण गरेका थिए । यादव सेना आकारमा जरासन्धको सेनाभन्दा १० गुणा कम भएपनि, कृष्ण र बलरामले हरेक पटक उनीहरूलाई चतुऱ्याईं र बहादुरीले पराजित गरे । अठारौँ आक्रमणको लागि जरासन्धले उत्तर पश्चिमी क्षेत्रमा अन्य केही राजाहरू भेला गरे । सबैजना आ–आफ्नो सेनाको फौज लिएर सबै दिशाबाट मथुरालाई घेरे । जब कृष्णले विशाल सेनाहरूको फौजबाट मथुरा घेरिएको कुरा थाहा पाए, तिनको प्रतिकारमा उत्रिँदा यादवहरूको समूल नाश हुने देखेपछि उनले पूरै आबादीलाई मथुरा छोडेर १३०० किलोमिटर टाढा गुजरातको द्वारकामा बसाइँ–सराइ गर्न फकाए । यो सामुहिक निर्वासनको क्रममा राजस्थानको मरूभुमीमा सयौँ मानिसहरूले ज्यान गुमाए ।

द्वारकामा बसाइँ–सराइ

जहाँ कब्जा आवश्यक थियो, त्यहाँ उनले युद्ध गरेर विजय प्राप्त गरे । जहाँ कूटनीतिक सम्बन्ध बनाएर काम चलाउन सकिन्थ्यो, त्यहाँ शान्ति स्थापित गर्नको लागि कृष्णले एउटी राजकुमारीसँग विवाह गरे ।

पहिले उनीहरूले नयाँ शहर निर्माण गर्ने योजना बनाएका थिए । तर, जब उनीहरू द्वारका पुगे, उनीहरूले सानो टापुमा निकै राम्रोसँग बनाइएको शहर देखे । कृष्णलाई टापुमा बनेको त्यो शहर रणनीतिक दृष्टिले सबैभन्दा राम्रो ठाउँ लाग्यो । राजा रेवतले त्यो शहरमा शासन गर्दथे । राजा रेवतकी एउटी छोरी थिइन्, जसको नाम रेवती थियो । एउटा रणनीतिक गठबन्धन गरेर कृष्णले रेवती र बलरामको विवाह गराइदिए अनि उनीहरूले द्वारकामा शासन गर्न थाले । यादवहरू द्वारकामा प्रवेश गरे, अनि कृष्णले सहजै सेरोफेरोका सानातिना राज्यहरूमा घेरा हालेर आफ्नो राज्यमा गाभे । जहाँ कब्जा आवश्यक थियो, त्यहाँ उनले युद्ध गरेर विजय प्राप्त गरे । जहाँ कूटनीतिक सम्बन्ध बनाएर काम चलाउन सकिन्थ्यो, त्यहाँ शान्ति स्थापित गर्नको लागि कृष्णले एउटी राजकुमारीसँग विवाह गरे ।

त्यस समयमा पारिवारिक सम्बन्धहरू निकै महत्त्वपूर्ण हुन्थे, अनि कैयौँ पटक कुटनीतिक विवाहरू विरोधीसँग मेलमिलाप गर्ने एकमात्र तरिका हुने गर्थ्यो । तपाईंले जोसँग आफ्नी छोरीको विवाह गरिदिनु हुन्थ्यो, ती व्यक्तिको विरुद्ध युद्ध लड्न पाउनु हुँदैनथ्यो । कृष्णले रूक्मिणीलाई पनि अपहरण गरेका थिए, अनि उनको ठूलो दाइ रूक्मी महान योद्धा भएपनि कृष्णद्वारा पराजित भएका थिए । साथै, चेदीको साँढे भनेर चिनिने शिशुपाललाई पनि परास्त गरेका थिए । कृष्णले एकपटक जरासन्धलाई द्वन्द्व युद्धमा समेत बेइज्जत गरेका थिए । उनका यी सब साहसिक कार्यहरूले गर्दा योद्धाका रूपमा उनको विरता र कुशलताको चर्चा टाढा–टाढासम्म फैलिएको थियो ।

कृष्ण र द्रौपदीको विवाह प्रस्ताव

द्रुपदलाई आफ्नी छोरीको लागि कृष्ण सबैभन्दा उपयुक्त वर हुन् भन्ने लाग्यो । उनले कृष्ण समक्ष विवाहको प्रस्ताव पठाए । कृष्ण यसबाट पन्छिन चाहन्थे...

द्रुपदलाई आफ्नी छोरीको लागि कृष्ण सबैभन्दा उपयुक्त वर हुन् भन्ने लाग्यो । उनले कृष्ण समक्ष विवाहको प्रस्ताव पठाए । कृष्ण यसबाट पन्छिन चाहन्थे, तर समस्या यो थियो कि सिधै अस्वीकार गर्दा यसलाई अपमान मानेर द्रुपदले युद्ध घोषणा गर्न सक्दथे । द्रौपदीसँग विवाह गर्न नचाहेको हुनाले कृष्णले चतुऱ्याईंपूर्वक यस स्थितिबाट पन्छिनको लागि भने, "म त केवल गोठालो हुँ । म द्रौपदीसँग कसरी विवाह गर्न सक्छु होला र ? उनी रानी हुन् ।"

कृष्णले अन्य थुप्रै रानीहरूसँग विवाह गरेका थिए, तर द्रौपदी सबैभन्दा भिन्न थिइन् । कथाहरूमा उनलाई धरतीकै सबैभन्दा सुन्दर नारीको रूपमा वर्णन गरिएको छ । उनको रूपरङ्ग गाढा र मखमली जस्तो थियो । यस्तो पनि भनिएको छ कि यदि नारी यति सुन्दर हुने हो भने, समस्याहरू उत्पन्न हुन्छन् ! मानिसहरू निश्चित रूपमा उनको लागि लड्नेछन् । देशहरू विभाजित हुनेछन्, भाइहरू लड्नेछन्, अशुभ घटनाहरू हुनेछन् ।

कृष्णले द्रुपदलाई स्वयंवर आयोजना गर्नको लागि सम्झाउने कोशिस गरे । शुरुमा द्रुपदले सामर्थ्य भएका योद्धाहरू नभएको भनेर अस्वीकार गरे । तर कृष्णले भने, “द्रौपदी जस्ती तेजस्वी नारीले स्वयं आफ्नो वर रोज्नुपर्छ । उसको लागि तपाईंले रोजिदिन हुँदैन ।” उनले स्वयंवरमा प्रतियोगिता आयोजना गर्ने सुझाव दिए, जसकारण विजयीलाई द्रौपदीले वरको रूपमा रोज्न सक्थिन् । कृष्णका गुरु सन्दीपनी आफैँले प्रतियोगिताको खाका तयार गरे । उनले एउटा मत्स्य यन्त्र बनाए, जुन साधारण मेसिन थियो अनि त्यसको टुप्पोमा घुमिरहेको काठको माछा थियो । त्यसको छेउमा तेलको कुण्ड थियो ।

धनुर्धरले तेलमा माछाको बिम्ब हेरेर त्यसको आखाँमा निशाना लगाउनुपर्ने थियो । सही ठाउँमा निशाना लगाउनेलाई राजकुमारीसँग विवाह गर्ने अवसर मिल्न सक्थ्यो— राजकुमारीले रोजेको खण्डमा । कृष्णसँग निकै बहस गरेपछि द्रुपद यसको लागि तयार भए अनि स्वयंवर घोषणा गरे ।

क्रमशः

 

सम्पूर्ण महाभारत अध्यायहरू