मनको स्वरूप
हाम्रो मन विपरित भावनाहरू, विपरित विचारहरू अनि विपरित संवेगहरूबीच कहिले यता त कहिले उता गरिरहन्छ । मन किन अनायासै यताउती चलमलाउँछ ? यो अवस्थाबाट कसरी बाहिर निस्किन सकिन्छ ? यसलाई सम्बोधन गर्दै, सद्गुरु भन्नुहुन्छ, ″मानव मनको सबैभन्दा अद्भुत पक्ष यो हो, कि यो कुनै पनि क्षण जुनसुकै रूपमा बदलिन सक्दछ । यो तबमात्र समस्या बन्दछ, जब तपाईं आकारलाई दिशा ठान्ने भुल गर्नुहुन्छ ।
मा निसहरू किन एक क्षण आनन्दले भरिन्छन् अनि अर्को क्षणमै पूर्णतः दुःखमा डुब्छन् ? तपाईं जुन चीजलाई ज्यादै चाहिरहनु भएको हुन्छ, त्यो एक क्षणको लागि एकदमै नजिक जस्तो लाग्दछ, अनि अर्को क्षणमै त्यो अत्यन्तै टाढा जस्तो लाग्दछ । आखिर किन ? यो यसकारण हो, किनकि आज विश्वमा आफ्नो मनलाई ठीकसँग सञ्चालन गर्नेतर्फ कुनै काम भएको छैन । क,ख,ग... १,२,३ गर्दै E=MC2 सम्म हाम्रो शिक्षा प्रणालीमा आफ्नो दिमागमा जानकारीहरू थोपर्न मात्रै सिकाइन्छ । यदि अरूको दाँजोमा तपाईंसँग केही चीज अलिकति बढी छ भने, मानिसहरू तपाईंलाई स्मार्ट वा चलाख ठान्छन् । यदि तपाईं अनावश्यक रूपमा आफ्नो टाउकोमा अनेक चीजहरू बोकिरहनु भएको छ भने, सामान्यतया मानिसहरूले तपाईंलाई मूर्ख ठान्नु पर्ने हो । तर, यस सन्दर्भमा उनीहरू तपाईंलाई स्मार्ट ठान्छन् । आजको विश्वमा, तपाईंले आफ्नो फोनमा जानकारीहरू खोजेर बाटोमा हिँडिरहेका बटुवाहरूलाई ब्रह्माण्डको बारेमा केही बताइदिए पुग्छ— उनीहरूले भन्नेछन्, ″ओहो ! तपाईंमा त विलक्षण प्रतिभा रहेछ ।″ तर, दुर्भाग्यवश वास्तवमा तपाईंको फोनमा चाहिँ विलक्षण प्रतिभा हुन्छ ।
अचेल, जानकारीहरू सङ्ग्रहित गर्नुलाई प्रतिभा भनिन्छ— वास्तवमा, कुनै पनि मूर्खले जानकारीहरू थुपार्न सक्दछ । तपाईं किताब खोलेर पढ्न सक्नुहुन्छ । लामो समयसम्म मानिसहरूले किताब पढ्नुलाई समेत धर्म ठान्दथे— अहिले पनि धेरै त्यस्तो सोच्छन् । जो साक्षर छ, उसले पढ्न सक्दछ । जब साक्षरताको दर निकै कम थियो, पूरै गाउँमा एकजनाले मात्रै लेखपढ गर्न सक्थ्यो । त्यस व्यक्तिले किताब हेरेकै भरमा यति धेरै कुराहरू बताउन सकिरहेको देखेर अरू मानिसहरू दङ्ग पर्दथे । जबकि, उनीहरूले किताब हेरे तापनि, केही बुझ्न सक्थेनन् । उनीहरूलाई यो अनौठो लाग्थ्यो । जब तपाईंमा ज्ञान र अनुभव हुँदैन, तब तपाईंलाई सबैथोक अद्भुत र अनौठो लाग्छ । अहिलेको परिस्थितिलाई हेर्ने हो भने, आज हाम्रो शिक्षा व्यवस्थामा एउटा चीजको अभाव खड्किएको छ— मनको प्रकृति कस्तो हुन्छ, यसलाई हामीले कसरी सम्हाल्नुपर्छ, के-कस्ता मूलभूत अनुशासनहरू आफूभित्र ल्याउनुपर्छ जस्ता विषयहरूमा अहिलेको शिक्षा प्रणालीले ध्यान नै दिएको छैन । यसैकारण, तपाईं जुन चीजको पछि दौडिरहनु भएको हुन्छ, त्यो यस क्षणमा नजिक र वास्तविक लाग्छ, तर फेरी अर्को क्षणमै खोक्रो वाचा जस्तो लाग्दछ ।
आफ्नो जीवनको दिशा आफैँले तय गर्नुहोस्
तपाईंले आफ्नो मनमाथि आवश्यक काम गर्नैपर्छ, अन्यथा जीवन खेर जानेछ । हरेक क्षण तपाईंका विचारहरू यताबाट उता भट्किन्छन्, किनकि मनको कुनै आकार हुँदैन । मनको सुन्दरता भनेकै यही होः तपाईं यसलाई आफूले चाहे अनुसार आकार दिन सक्नुहुन्छ वा तपाईं यसलाई बेवास्ता गर्न सक्नुहुन्छ । तपाईंको शरीरको एउटा आकार छ । तर, मनको कुनै आकार हुँदैन— तपाईं आफ्नो मनसँग आफूले चाहेको जेसुकै गर्न सक्नुहुन्छ । यो मनको सबैभन्दा असाधारण पक्ष हो, तथापि यही चीजबाट अधिकांश मानिसहरू पीडित छन् । समस्या के हो भने तपाईंको मनले तपाईंबाट निर्देशन लिँदैन— यसले आफ्नै आकार लिइरहन्छ । तपाईंले आफ्नो मनलाई तयार गर्नैपर्छ । आज राम्रो दिन हो । तपाईं एक्लै बस्नुहोस् अनि एउटा निर्णय लिनुहोस्— तपाईं जीवनलाई कुन दिशामा लैजान चाहनुहुन्छ ? निर्णय लिइसकेपछि, तपाईं यसलाई बाँकी जीवनको लागि नबदल्नुहोस् । चाहे जेसुकै रोज्नुहोस्, त्यसमा मेरो सहमति छ, मलाई त्यसमा कुनै आपत्ति छैन । यदि तपाईंले आफ्नो जीवनको दिशा तय नगर्ने हो भने, हरेक दिन तपाईंको मनले स्वरूपहरू फेरिरहन्छ अनि तपाईंलाई यो लाग्दछ कि तपाईंले आफ्नो जीवनको दिशा परिवर्तन गर्न जरूरी छ ।
यदि तपाईं वर्षायामको समयमा ईशा योग केन्द्रमा आउनुभएको छ भने, तपाईंले बादलहरूले हरेक क्षण आफ्नो आकार बदलिरहेको देख्नुभएको हुनुपर्छ । बादलहरूले आकार बदल्नु कुनै समस्या होइन । तर, यदि हावाले दिशा परिवर्तन गऱ्यो अनि बादलहरू जानुपर्ने दिशामा नगएर अन्यत्रै जान थाले भने, तब समस्या सृजना हुन्छ । यही चीज तपाईंमा समेत लागू हुन्छ । तपाईंको मनले आकार बदल्नु कुनै समस्या होइन— समस्या यो हो कि यसले आफ्नो दिशा बदलिरहन्छ । आफ्नो जीवनको दिशा पूर्ण रूपमा आफैँ तय गर्नुहोस् । म तपाईंलाई कुनै पनि किसिमले प्रभावित गर्ने छैन । मैले आफ्नो जीवनको दिशा निर्धारित गरेँ अनि यसले अद्भुत रूपमा काम गऱ्यो । चाहे दिशा जेसुकै किन नहोस्, तपाईंले आफ्नो दिशा निर्धारण गर्नुपर्छ । त्यस उपरान्त, यसलाई हरेक दिन परिवर्तन गरिरहनु हुँदैन । यत्रतत्र देखिने हरेक छिद्र चीजहरूको पछि लागिरहनु— यो मनुष्यले आफ्नो जीवन जिउने तरिका होइन । यसले केही फरक पार्दैन कि तपाईंलाई आफूले निर्धारित गरेको दिशाले काम गर्छ जस्तो लाग्छ वा लाग्दैन । आफ्नो जीवनको दिशा यस्तो समयमा तय गर्नुहोस्, जब तपाईं आनन्दित, स्वस्थ र स्पष्ट हनुहुन्छ । त्यसपछि, तपाईंले जे तय गर्नुभएको छ, त्यसमा परिवर्तन हुनुहुँदैन ।
यदि तपाईंका भावनाहरूले दिशा बदलिँदा तपाईंमा यो विचार आउँछ कि ″मैले खोजेको यो होइन″, तब तपाईं त्यसलाई नसुन्नुहोस् । यदि तपाईंले आफ्नो नैराश्यता, गुनासो र कुण्ठाको कुरा सुन्नुभयो भने, तपाईंले समय अगावै आफूलाई खाल्डोमा पुर्नुहुनेछ । अरू कसैले तपाईंको निम्ति खाल्डो खन्नुपर्छ, अनि त्यो पनि तपाईंको मृत्युपछि मात्र । आफ्नो लागि आफैँले किन खाल्डो खन्ने ? यो खाल्डो खन्ने समय होइन; बरु, उडानको समय हो । मानव मनको सबैभन्दा अद्भुत पक्ष के हो भने, यो कुनै पनि क्षण जुनसुकै रूपमा परिवर्तन हुन सक्दछ । यो तबमात्रै समस्या बन्दछ, जब तपाईं यसको आकारलाई दिशा ठान्ने भुल गर्नुहुन्छ । मानिसहरूको जीवनमा वास्तवमा यही भइरहेको छ । यदि तपाईंले आफ्नो जीवनको दिशा निर्धारण गर्नुभयो भने, कुनै समस्या बिनै तपाईंले मनलाई आफ्नो आकार बदल्ने छुट दिन सक्नुहुन्छ । दिशा निर्धारित भइसकेपछि, मनको आकारमा हुने बदलावले तपाईंलाई सृजनशील र रचनात्मक बनाउँदछ, न कि डिप्रेशन वा नैराश्यतातर्फ धकेल्ने ।
यस्तो मन, जसले हरेक क्षणको आवश्यकता अनुसार चेतन भई जस्तोसुकै आकार लिन सक्दछ, त्यस्तो मन बुद्धत्व वा ज्ञान प्राप्तिको लागि सोपान हो । एक आकारहीन मन जसको दिशा निर्धारित छ वा त्यसमै ध्यान केन्द्रित छ, त्यस्तो मन अथाह ज्ञानको निम्ति उत्तम साधन हो ।