कर्म के हो र यसले कसरी काम गर्छ?
कर्म के हो? कर्म कति प्रकारका हुन्छन्? यी प्रश्नहरूको उत्तर दिँदै यहाँ सद्गुरु एक आध्यात्मिक जिज्ञासुको जीवनमा कर्मको भूमिकालाई स्पष्ट गर्दै हुनुहुन्छ।

Pre-order Sadhguru's new book - Karma: A Yogi's Guide to Crafting Your Destiny
विषय सूची |
---|
1. कर्म के हो? |
2. कर्मका प्रकारहरू |
2-1. सञ्चित कर्म |
2-2. प्रारब्ध कर्म |
3. कर्मबाट मुक्त हुने उपाय! |
4. आध्यात्मिकता र कर्म |
कर्म के हो?
सद्गुरु: तपाईंले जसलाई “मेरो जीवन” भन्नुहुन्छ, त्यो एक निश्चित मात्राको ऊर्जा हो जसलाई एक निश्चित जानकारीले नियन्त्रित गर्दछ । आजको सन्दर्भमा, यो जानकारीलाई 'सफ्टवेयर' भन्न सकिन्छ । एउटा निश्चित मात्राको जीवन ऊर्जा एक निश्चित जानकारीले भरिएको हुन्छ । यी दुवै मिलेर तपाईं बन्नुहुन्छ । तपाईं भित्र भएको निश्चित किसिमको जानकारीको कारण तपाईं एक निश्चित किसिमको व्यक्ति बन्नुहुन्छ ।तपाईं जन्मिएदेखि अहिलेसम्म, तपाईंको परिवार, घर, साथी, तपाईंले गरेका र नगरेका कामहरू - यी सबै कुराहरुले तपाईंलाई प्रभावित पारिरहेका हुन्छन् । हरेक विचार, भावना र क्रिया, बस् तपाईंको भित्रको पुरानो अनुभवको छापबाट आउँछ । तिनले नै तपाईं अहिले कस्त्तो हुनुहुन्छ भनेर निर्धारण गर्दछ । तपाईंले जस्तो खालको सुचना जम्मा गर्नुभएको छ त्यस्तै खालको तपाईंको सोच्ने, जीवनलाई बुझ्ने र अनुभव गर्ने तरिका हुन्छ ।
जीवनका पूर्वी छापहरु तपाईं जन्मिएको समय भन्दा पनि अगाडी सम्म फैलिएको हुन्छ । तर अहिले तपाईंको अनुभवमा, कम्तीमा तपाईं जन्मेदेखि अहिलेसम्म, तपाईंले कस्तो खालको आमाबुवा, परिवार, शिक्षा, धार्मिक र सामाजिक पृष्ठभूमि, सांस्कृतिक वातावरण पाउनुभयो– त्यही अनुसारको छापहरु छन् । कुनै व्यक्ति अर्को व्यक्तिभन्दा फरक हुन्छ किनभने उसमा भएका जानकारीहरू फरक हुन्छन् । यही नै कर्म हो । पारम्परिक रूपमा यस जानकारीलाई कर्म वा कार्मिक शरीर भनिन्छ- यसकै कारणले जीवन घटित हुन्छ ।
कर्मका प्रकारहरू
यो जानकारी विभिन्न तहहरूमा हुन्छन् । कर्मका चार आयामहरू छन्, जसमध्ये दुईवटा अहिले हाम्रो लागि सान्दर्भिक छैनन् । हाम्रो बुझाइको लागि हामी अर्को दुईबारे कुरा गर्नेछौं ।
सञ्चित कर्म
सञ्चित कर्म एउटा गोदाम जस्तो हो, जसले एक कोशीय जीव र निर्जीव पदार्थ देखि जीवन विकास भएको पूरा इतिहास समेट्छ । यसमा सबै जानकारी हुन्छ । यदि तपाईंले आफ्ना आँखा बन्द गर्नुहुन्छ र पर्याप्त जागरूक बनेर आफु भित्र हेर्नुहुन्छ भने, तपाईंले ब्रह्माण्डको प्रकृति थाहा पाउनुहुनेछ – यो तपाईंले आफ्नो दिमागबाट हेर्नुभएको कारण होइन, बरु बस् यो कारणले किनभने यो जानकारी तपाईंको शरीरको मूलभूत रचनामा रहेको छ । त्यहाँ जानकारीको गोदाम छ जुन सृष्टिमा पुन: गइरहेको हुन्छ ।
यही हो सञ्चित कर्म । तर तपाईंले आफ्नो गोदामबाट सिधै खुद्रा व्यापार गर्न सक्नुहुन्न । तपाईंलाई खुद्रा व्यापार गर्न पसल चाहिन्छ । यस जीवनको लागि बनेको त्यो “खुद्रा पसल” लाई प्रारब्ध भनिन्छ ।
प्रारब्ध कर्म
प्रारब्ध कर्म भनेको यस जन्मको लागि छुट्याइएको निश्चित जानकारीको मात्रा हो । तपाईंको जीवनको जीवन्तताअनुसार, यसले आफूले सम्हाल्न सक्ने जानकारीको मात्रा तय गर्छ । यो सृष्टि निकै नै दयालु छ । यदि त्यसले तपाईंलाई सबै कर्म एकैचोटि दिन्छ भने, तपाईंको मृत्यु हुनेछ । अहिले, मानिसहरु यही जन्मको ३०-४० वर्षमा जम्मा भएको सामान्य स्मृतीहरुबाट पिडित छन् – यदि उनीहरूलाई दश गुणा बढी स्मृतिहरू दिइयो भने, उनीहरू जीवित रहन सक्दैनन् । प्रकृतिले तपाईंलाई सम्हाल्न सक्ने स्मृति मात्र दिन्छ जसलाई हामी प्रारब्ध भन्छौँ ।
कर्मबाट मुक्त हुने उपाय !
तपाईंको कर्म जुनसुकै प्रकारको भएपनि, त्यो एक सीमित सम्भावना हो र त्यसले तपाईंलाई एक सीमित व्यक्ति बनाउँछ । तपाईंले आफु भित्र लिएका अनुभवहरू -चाहे त्यो घृणा होस् वा प्रेम, दुःख वा खुशी- यिनीहरुकै आधारमा तपाईंको व्यक्तित्व निर्धारित भएको हुन्छ । सामान्यतय, हरेक मानिस यी कुराहरुको जटिल मिश्रण हो । यदि तपाईं कर्मको जालोलाई एक निश्चित हद भन्दा माथि बढ्न दिनुहुन्छ भने, स्वतन्त्रता भन्ने जस्तो केही हुँदैन । तपाईंले गर्ने हरेक कुरालाई अतितले प्रभाव पारेको हुन्छ । यदी तपाईं मुक्तिको बाटो तर्फ अघि बढ्न चाहनुहुन्छ भने, सर्वप्रथम गरिनुपर्ने कुरा भनेको तपाईंले कर्मको पकड र साङ्लालाई खुकुलो बनाउनुपर्छ । अन्यथा, कुनै गतिविधि हुनेछैन ।
तपाईंले यो कसरी गर्न सक्नुहुन्छ? यसबाट मुक्त हुन एउटा सरल उपाय भनेको आफ्नो कर्मलाई शारीरिक रूपमा तोड्नु हो । उदाहरणका लागि, यदि तपाईंको कर्म बिहान ८ बजे उठ्ने छ भने, तपाईंले ५ बजेको alarm राख्नुहोस् । तपाईंको शरीरको कर्म यस्तो छ कि यो सुत्न चाहनेछ, तर तपाईंले भन्नुपर्छ, "होइन, म उठ्छु ।" यत्तिमात्र होइन, तपाईं उठ्नुभएता पनि, तपाईंको शरीरले कफी पिउन चाहनेछ, तर तपाईं चिसो पानीले नुहाउनुहोस् । यसरी तपाईंले सचेत रुपमा केही काम गर्दै पुरानो कर्मको प्रक्रियालाई तोड्दै जानुहुन्छ । तपाईंले आफुलाई मनपर्ने कुरा अचेत रुपमा गर्न सक्नुहुन्छ होइन र ? आफुलाई मन नपर्ने कुरा तपाईंले सचेत भएरै गर्नुपर्छ । यो एकमात्र उपाय भने होइन, त्यहाँ अरु सुक्ष्म र अझ धेरै प्रभावकारी तरिकाहरु पनि छन् । म तपाईंलाई सक्दो सरल तरिका बताउँदै छु ।
आध्यात्मिकता र कर्म
जब तपाईं आध्यात्मिक मार्गमा प्रवेश गर्नुहुन्छ, तपाईं घोषणा गर्दै हुनुहुन्छ, "म आफ्नो परम लक्ष्यमा चाँडै पुग्न चाहन्छु ।" तपाईं सयौँ जुनी लिन चाहनुहुन्न र यो एक सय जुनी लिने प्रक्रियामा तपाईंले सायद अर्को हजार जुनी सम्म चलिरहने कर्म बटुल्न सक्नुहुन्छ । तपाईं यसलाई हतारमा गर्न चाहनुहुन्छ । एकपटक जब आध्यात्मिक प्रक्रिया सुरु हुन्छ र यदि दीक्षा निश्चित प्रकारमा प्राप्त भएको हुन्छ भने, त्यसले तपाईंमा त्यस्ता आयामहरू खोल्छ जुन अन्यथा कहिल्यै खुल्ने थिएनन् । यदी तपाईं आध्यात्मिक नभएको भए तपाईं अझ बढी शान्तपूर्ण जीवन जिउनुहुन्थ्यो होला - तर जीवन्तता बिनाको जीवन र जीवन भन्दा मृत्युको नजिक रहेर । तपाईं भित्रको मुलभूत केहि पनि कुरा हल्लिएको छैन भने सायद तपाईं आरामसँग बिताएर जानुहुनेछ ।
यसको मतलब के आध्यात्मिक मार्गमा हिँड्न थालेपछि तपाईंमाथि सबै नकारात्मक कुराहरू आउन थाल्छन् ? यो त्यस्तो होइन । जब जीवन तपाईं वरिपरि भएका अन्य मानिसहरूभन्दा निकै तीव्र गतिमा अघि बढ्न थाल्छ – तपाईंलाई लाग्छ कि कुनै भयानक कुरा भइरहेको छ । वास्तवमा कुनै भयानक कुरा भइरहेको छैन । यो केवल यस्तो हो कि, उनीहरू सामान्य गतिमा अघि बढिरहेका छन् तर तपाईंको जीवन तीव्र गतिमा अघि बढिरहेको छ ।
धेरै मानिसहरूको गलत धारणा छ कि आध्यात्मिक मार्गमा प्रवेश गरेपछि तपाईं शान्त हुनुहुनेछ र सबै कुरा स्पष्ट हुनेछ । यदि तपाईंले सुविधाजनक विश्वास प्रणाली अपनाउनुहुन्छ र एकोहोरो दिमाग बन्नुहुन्छ भने, सबै कुरा स्पष्ट देखिन्छ । तर यदि तपाईं वास्तविक रूपमा आध्यात्मिक मार्गमा हुनुहुन्छ भने, केही पनि स्पष्ट हुनेछैन । सबैकुरा धमिलो हुनेछ । जति छिटो तपाईं यात्रा गर्नुहुन्छ, त्यति नै बढी धमिलो हुन्छ ।
केही वर्ष अघि म जर्मनीमा थिएँ । कार्यक्रम सकाएपछि, मैले फ्रान्ससम्म गाडी कुदाएर जानुपर्ने थियो, जुन लगभग ४४० किलोमिटर टाढा थियो । सामान्यतया यो यात्रालाई पाँच घण्टाको समय लाग्थ्यो । तर मलाई रोडमा पाँच घण्टा बिताउने कुनै इच्छा थिएन । त्यसैले मैले गति बढाएँ र हामीले प्रति घण्टा लगभग २०० किलोमिटरको गतिमा यात्रा गर्यौं । त्यो क्षेत्र अत्यन्त सुन्दर थियो र म त्यसलाई हेर्न चाहन्थेँ । तर मैले आफ्ना आँखा घुमाउन खोज्दा सबै कुरा धमिलो देखियो । मैले एक पल पनि बाटोबाट आँखा हटाउन सकिनँ । त्यो बेला हिउँ परिरहेको थियो र हामी अत्याधिक गतिमा गइरहेका थियौँ ।
जति छिटो तपाईं अघि बढ्नुहुन्छ, सबैकुरा त्यतिनै धमिलो हुन्छ र तपाईंले एक पल पनि आफ्ना आँखा आफुले गरिरहेको कामबाट हटाउन सक्नुहुँदैन । यदि तपाईं वरपरका दृश्यहरू हेर्न चाहनुहुन्छ भने तपाईंले सुस्त र शान्त गतिमा यात्रा गर्नुपर्छ । यदि तपाईं चाँडै नै गन्तव्यमा पुग्न चाहनुहुन्छ भने, तपाईंले गति बढाउनुपर्छ । तब तपाईंले केही पनि देख्न सक्नुहुँदैन । तपाईं बस यात्रा गर्दै हुनुहुन्छ ।
आध्यात्मिक मार्ग पनि त्यस्तै हो । यदि तपाईं साँच्चै आध्यात्मिक मार्गमा हुनुहुन्छ भने, तपाईंको वरपर सबै कुरा अस्तव्यस्त हुन्छ । तर तपाईं अझै पनि अघि बढ्दै हुनुहुन्छ, त्यसैले यो ठीक छ । के यो ठीकै छ ? यदि यो ठीक छैन भने, तपाईं विकासक्रमको गतिमा जान सक्नुहुन्छ । शायद यसमा लाखौँ वर्ष लाग्नेछन्, र तपाईं अन्ततः त्यहाँ पुग्नुहुनेछ ।
जो व्यक्ति हतारमा छन्, उनीहरुका लागि एक किसिमको मार्ग छ । जो व्यक्ति हतारमा छैनन्, उनीहरुका लागि अर्को किसिमको मार्ग छ । तपाईंले आफू के चाहनुहुन्छ, त्यसमा स्पष्ट हुनुपर्छ । यदि तपाईं फास्ट ट्र्याकमा हुनुहुन्छ र सुस्त गतिमा जान खोज्नुहुन्छ भने, तपाईंलाई कसैले ठक्कर दिनेछ । यदि तपाईं सुस्त गतिको बाटोमा हुनुहुन्छ र छिटो जान खोज्नुहुन्छ भने, तपाईंले जरिवाना तिर्नुपर्नेछ । हरेक साधकले सधैं निर्णय गर्नुपर्छ – के ऊ बाटोको आनन्द लिन चाहन्छ वा चाँडै गन्तव्यमा पुग्न चाहन्छ ?