महाभारत अध्याय १७: कर्ण— जो जन्मबाटै अभागी थिए !

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
महाभारत अध्याय १७
 

सम्पूर्ण महाभारत अध्यायहरू


सद्‌गुरु: बाल्यकालमा एकपटक कुन्तीले दुर्वासा ऋषिको अत्यन्तै राम्रो सत्कार गरेकी थिइन् । यसबाट ऋषि दुर्वासा प्रसन्न भएर आभार स्वरूप कुन्तीलाई एउटा मन्त्र दिएका थिए, जसको प्रयोगले उनी आफूले चाहेको जोसुकै देवतालाई बोलाउन सक्थिन् ।

कर्ण को थिए ?

ती बच्चा कर्णको रूपमा चिनिन थाले, जो असाधारण एवं अद्वितीय थिए । शिशु हुँदै उनको कानमा सुनको कुण्डल अनि उनको छातीमा एक प्रकारको प्राकृतिक कवच थियो । उनी अद्‌भुत देखिन्थे ।

एकदिन कुन्तीको मनमा त्यो मन्त्रलाई प्रयोग गर्ने इच्छा जाग्यो । उनी बाहिर निस्किन् । सूर्य भव्य रूपमा उदाइरहेको देखेर उनले फ्याट्ट बोलिन्, "म सूर्य देवता चाहन्छु ।" सूर्य देवता आए । कुन्ती गर्भवती भइन् अनि उनले एउटा बच्चा जन्माइन् । १४ वर्षकी अविवाहित स्त्री आमा बनेकी हुनाले, यस्तो सामाजिक परिस्थितिलाई कसरी सामना गर्नुपर्छ भन्नेबारे कुन्ती अनजान थिइन् । उनले बच्चालाई काठको बाकसमा राखिन् अनि त्यो बच्चाको नियति के होला भन्नेबारे केही नसोची नदीमा बगाइदिइन् । भलै, यस्तो गर्दा उनीभित्र सङ्घर्ष चलेको भएपनि, उनी दृढ उद्देश्यले काम गर्ने नारी थिइन् । कुनै काम गर्नको लागि आफ्नो मनमा दृढ निश्चय गरेपछि, उनी जस्तोसुकै काम पनि गर्दथिन् । उनको हृदय करूणा-शून्य थियो ।

धृतराष्ट्रको दरबारमा काम गर्ने एकजना सारथि, अधिरथ, सोही समयमा नदी किनारमै थिए । त्यो सुन्दर बाकसमा उनको नजर पर्नेबित्तिकै उनले बाकस उठाए अनि खोलेर हेरे । नवजात शिशुलाई देखेर अधिरथ प्रसन्न भए, किनकि आफ्नो कुनै सन्तान नभएकोले उनले शिशुलाई भगवानको वरदान सम्झिए । बच्चा र बाकस लिएर उनी आफ्नी पत्नी राधा समक्ष गए । दुवैजना आनन्दले विभोर भए । त्यो बाकसको सुन्दरता र सजावट देखेपछि, दुवैलाई त्यो बच्चा कुनै साधारण परिवारको हुन सक्दैन भन्ने लाग्यो । दुवैले कुनै रानी वा राजाले बच्चा त्यागेको हुनुपर्ने ठाने । उनीहरूलाई कसले त्यसरी बच्चा त्यागे भन्ने थाहा थिएन । तथापि, उनीहरू बच्चा पाएर औधी खुसी थिए, किनकि बच्चाको आगमनले उनीहरूले सन्तानबिहीन निरस जीवन पूर्ण बनेको महसुस गरेका थिए ।

ती बच्चा कर्णको रूपमा चिनिन थाले, जो असाधारण एवं अद्वितीय थिए । शिशु हुँदै उनको कानमा सुनको कुण्डल अनि उनको छातीमा एक प्रकारको प्राकृतिक कवच थियो । उनी अद्‌भुत देखिन्थे । राधाले असाध्यै प्रेमपृर्वक कर्णलाई पालन-पोषण गरिन् । आफू सारथि भएको हुनाले, अधिरथ कर्णलाई रथ चलाउने कला सिकाउन चाहन्थे, तर कर्ण चाहिँ धनुर्धर बन्नको लागि व्यग्र थिए । त्यस समयमा, क्षेत्रियहरूलाई मात्र शस्त्र र युद्धकलाको शिक्षा प्राप्त गर्ने अधिकार थियो । यो राजाको शक्ति र सत्तालाई सुरक्षित राख्ने सरल तरिका थियो । किनकि, यदि सबैजनाले शस्त्रको प्रयोग गर्न सिके भने, सबैले जथाभावी शस्त्र प्रयोग गर्ने अनि त्यसलाई नियन्त्रण गर्न नसकिने सम्भावना हुने थियो । क्षेत्रिय नभएको हुनाले, कर्णलाई कुनै पनि गुरुले स्वीकार गरेनन् ।

द्रोण पुगे हस्तिनापुर

उनलाई सम्पूर्ण धर्म, शास्त्र, नियम र ग्रन्थहरूको बारेमा ज्ञान थियो । तथापि, उनमा अलिकति पनि नैतिक सङ्कोच थिएन । उनी महान् गुरु भए तापनि धूर्त एवं लोभी व्यक्ति थिए ।

परशुराम असाध्यै कुशल र प्रवीण योद्धा थिए । उनी द्रोणका गुरु समेत थिए । द्रोणलाई आफ्नो अस्त्र सुम्पिनुअघि परशुरामले एउटा सर्त राखेका थिए— द्रोणले कहिल्यै क्षत्रियलाई शक्तिशाली अस्त्रहरूको बारेमा केही पनि सिकाउन हुँदैन । द्रोणले वचन त दिए, तर उनी सिधै हस्तिनापुर गए अनि क्षत्रियहरूलाई शस्त्र चलाउने कला सिकाउन राजदरबारमा काम गर्न थाले । यहि उनको गुण थियो — महत्वाकाङ्क्षी व्यक्ति; आदर्शवादी तर घात गर्ने । उनलाई सम्पूर्ण धर्म, शास्त्र, नियम र ग्रन्थहरूको बारेमा ज्ञान थियो । तथापि, उनमा अलिकति पनि नैतिक सङ्कोच थिएन । उनी महान् गुरु भए तापनि धूर्त एवं लोभी व्यक्ति थिए ।

हस्तिनापुरमा द्रोण आउनुअघि, पाण्डव र कौरव भाइहरूलाई कृपाचार्यले युद्ध-कौशल सिकाइरहेका थिए । एकदिन सबैजना बल खेलिरहेका थिए । ती समयमा रबर, प्लास्टिक वा छालाको बल हुँदैनथ्यो । प्राय:जसो घाँस वा भुसलाई कसेर बाँधिन्थ्यो अनि बल बनाइन्थ्यो । खेल्ने क्रममा गल्तीले बल कुवामा खस्यो । सबैले बल कुवामा तैरिरहेको देखे, तर कसैलाई पनि बल निकाल्ने युक्ति सुझेन, किनकि कुवा गहिरो थियो अनि त्यहाँ भऱ्याङहरू पनि थिएनन् ।

द्रोण त्यही बाटो हुँदै जाँदै थिए । उनले त्यो स्थिति देखे अनि सोधे, "के तिमीहरू क्षत्रिय होइनौ ?" सबैले भने, "हजुर, हामी क्षत्रिय हौँ ।"

"त्यसोभए, के तिमीहरूमध्ये कसैलाई पनि धनुर्विद्या आउँदैन ?"

अर्जुनले भने, "आउँछ, म धनुर्धर हुँ । म विश्वको महान् धनुर्धर बन्न चाहन्छु ।"

द्रोणले उनलाई माथिदेखि तलसम्म हेरे अनि भने, "यदि तिमी धनुर्धर हौ भने, किन तिमी यो बल बाहिर निकाल्न सकिरहेका छैनौँ ?"

अर्जुनले सोधे, "तिरको प्रयोग गरेर कसरी कुवाबाट बल निकाल्न सकिन्छ र ?"

द्रोणले भने, "म देखाउँछु ।"

द्रोणले घाँसको कडा पत्ता लिए अनि बलमा प्रहार गरे । त्यो घाँस बलमा गढ्यो । त्यसपछि, द्रोणले एकपछि अर्को गर्दै घाँसका पातहरूलाई तिरको रूपमा चलाए, जसकारण त्यो तार जस्तो बन्यो अनि त्यसको सहाराले द्रोणले बल निकाले । द्रोणको कला देखेर केटाहरू चकित परे, किनकि त्यो चमत्कार जस्तै थियो । उनीहरूले द्रोणसँग त्यो कला सिकाउन अनुरोध गरे । आफूलाई गुरुको रूपमा स्वीकार नगरुन्जेल द्रोणले उनीहरूलाई शिष्यको रूपमा स्वीकार्न नसक्ने बताएपछि, उनीहरूले द्रोणलाई भीष्म पितामह समक्ष लिएर गए । भीष्मले तुरुन्तै द्रोणलाई चिनिहाले— भीष्मलाई द्रोण को हुन् भन्ने राम्रोसँग थाहा भएकोले उनको प्रतिभाको प्रशंसा समते गरे । भीष्मले उनलाई राजगुरुको रूपमा दरबारमा नियुक्त गरे । राजगुरु अर्थात् भावी राजाहरूको गुरु ।

त्यसपछि, द्रोणाचार्यको रेखदेखमा प्रशिक्षण शुरु भयो । साथै, पाण्डव र कौरवहरूको बिचमा प्रतिस्पर्धा बढ्दै गयो । केही वर्षको प्रशिक्षणपछि उनीहरू सबै महान् योद्धा बने । भाला प्रयोग गरेर युद्ध लड्नमा युधिष्ठिर सबैभन्दा माहिर थिए । गदा युद्धमा भीम र दुर्योधन बराबर थिए । उनीहरू दुबैजना लड्दा–लड्दै थाक्दथे, तर एकले अर्कोलाई हराउन सक्दैनथे । अर्जुन सबैभन्दा उत्कृष्ट धनुर्धर थिए । तरबारको प्रयोग अनि घोडा सवारीमा नकुल र सहदेव प्रवीण थिए ।

द्रोणले कर्णलाई अस्वीकार गरे

महान् धनुर्धर बन्ने इच्छा बोकेर कर्ण द्रोण समक्ष पुगे । तर, द्रोणले उनलाई सूतपुत्र भनी अस्वीकार गरिदिए । सूतपुत्र भनेको सारथीको छोरा हो, जसबाट द्रोणले कर्ण तल्लो जातिमा जन्मिएको भन्ने कुरा इशारा गरिरहेका थिए । यो अपमानले कर्णलाई गहिरो ठेस पुऱ्यायो । निरन्तर रूपमा भेदभाव र अपमान सहनु परेकोले एकदमै इमानदार र निश्छल व्यक्ति अत्यन्तै कठोर र क्रोधी बन्दै गए । हरेक पटक जब उनले आफूलाई सूतपुत्र भनी बोलाएको सुन्दा, उनको आक्रोश चुलिएर त्यस हदसम्म पुग्थ्यो, जुन उनको वास्तविक स्वभावभन्दा निकै भिन्न हुने गर्थ्यो । क्षत्रिय नभएको भनी द्रोणले उनलाई अस्विकार गरेपछि, कर्णले परशुराम समक्ष जाने निर्णय गरे— परशुराम युद्ध कलाका महान् शिक्षक थिए ।

ब्राह्मणको झुटो रूपमा कर्णको छल

परशुरामले ब्राह्मणलाई मात्रै शिष्यको रूपमा स्वीकार्छन् भन्ने कुरा कर्णले जानेका थिए । केही सिक्ने गहिरो चाहना बोकेर उनले नक्कली जनै धारण गरे अनि ब्राह्मणको रूपमा परशुराम समक्ष गए ।

ती समयहरूमा युद्ध कलामा कुस्ती मात्रै हुँदैनथ्यो; सबैथरीका हतियारहरूमा प्रशिक्षण दिइन्थ्यो, विशेषगरी धनुर्विद्यामा । परशुरामले ब्राह्मणलाई मात्रै शिष्यको रूपमा स्वीकार्छन् भन्ने कुरा कर्णले जानेका थिए । केही सिक्ने गहिरो चाहना बोकेर उनले नक्कली जनै धारण गरे अनि ब्राह्मणको रूपमा परशुराम समक्ष गए । परशुरामले कर्णलाई आफ्नो शिष्य बनाए अनि आफूले जानेको सबैकुरा उनलाई सिकाए । कर्णले अत्यन्तै छिटो सिके । अरू कोही पनि शिष्यसँग त्यस स्तरको नैसर्गिक कला र क्षमता थिएन । परशुराम उनीबाट निकै प्रभावित भएका थिए ।

परशुराम बूढा भइसकेका थिए । एकदिन, जङ्गलमा प्रशिक्षण दिइरहेको बेला उनले असाध्यै थकान महसुस गरे । उनले कर्णलाई आफू पल्टिएर आराम गर्न चाहेको कुरा बताए । कर्ण त्यहीँ बसे, अनि परशुरामले कर्णको काखमाथि टाउको राखेर पल्टिए र भुसुक्क निदाए । त्यसैबेला, रगत चुस्ने किरा घिस्रिँदै कर्णको काखमा पुग्यो अनि तिघ्राबाट रगत चुस्न थाल्यो । उनलाई असह्य दुखिरहेको थियो अनि तिघ्राबाट रगत पनि बगिरहेको थियो । तर, उनी किरा हटाउन सक्दैनथे, किनकि त्यसबाट गुरुको निद्रा भङ्ग हुनेथियो र उनी त्यो चाहँदैनथे । बिस्तारै रगत परशुरामको कानसम्म पुग्यो अनि यसबाट उनी ब्युँझिए । परशुरामले आँखा खोलेर हेर्दा पूरै रगतले भरिएको देखे ।

जब परशुरामले कर्णको वास्तविकता थाहा पाए

उनले सोधे, "यो रगत कहाँबाट आयो ?" कर्णले भने, "यो मेरो रगत हो ।" परशुरामले कर्णको तिघ्रामा आलो घाउ देखे । किरा मासुभित्रै सम्म पुगेर अझै टोकिरहेको थियो । तैपनि, उनी हलचल नगरी बसिरहेका थिए । परशुरामले कर्णतर्फ हेरे अनि भने, “तिमी ब्राम्हण हुन सक्दैनौँ— ब्राह्मण भएको भए तिमी चिच्याउनेथ्यौ । यस हदसम्मको दुखाइ सहेर पनि नचलिकन चूपचाप बस्नको लागि पक्कै पनि तिमी क्षेत्रिय हुनुपर्छ ।"

कर्णले भने, "हजुर, म ब्राम्हण होइन । कृपया मसँग नरिसाउनुहोस् ।" परशुराम रिसले आगो भए, “तँलाई मूर्ख ! तैँले यो जाली जनै लगाएर यहाँ आइस्, मलाई छल गरिस् अनि अझ मबाट सबैथोक सिक्न सक्छु भन्ने सोचेको छस् ? म तँलाई श्राप दिनेछु ।” कर्णले विन्ती गरे, “कृपया त्यसो नगर्नुहोस् । म ब्राम्हण होइन, तर म क्षत्रिय पनि होइन । म सूतपुत्र हुँ । मैले केवल आधा झुट बोलेको थिएँ ।”

परशुरामले कर्णलाई श्राप दिए

उनी आँखा बन्द गरेरै कुनै पनि कुरामा निशाना लगाउन सक्दथे, तर आफ्नो कला–कौशल देखाउने अवसर कहीँकतै पाएनन् । उनले आफ्नो जीवनमा चाहेको एउटै कुरा ख्याति थियो, तर त्यसैबाट उनी बञ्चित थिए ।

परशुरामले उनको कुरा सुनेनन् । उनले त्यो स्थिति देख्नेबित्तिकै कर्ण क्षत्रिय हुन् भन्ने अनुमान लगाए । उनले भने, “तैँले मलाई धोका दिइस् । मैले जे–जति सिकाएँ, त्यसबाट लाभ लिन सक्नेछस्, तर जुनबेला तँलाई यसको वास्तवमै आवश्यकता पर्नेछ, त्यसबेला तैँले आफूलाई चाहिने मन्त्र बिर्सिनेछस् अनि त्यही तेरो अन्त्य बन्नेछ ।” कर्ण उनको खुट्टा समाउँदै दयाको भिख मागे, “कृपया यसो नगर्नुहोस् । म क्षत्रिय होइन, ममा तपाईंसँग छल गर्ने मनशाय थिएन । यथार्थ के हो भने म केही सिक्नको लागि असाध्यै छटपटिएको थिएँ, तर कसैले पनि मलाई सिकाउन चाहनुभएन । तपाईं मात्र यस्तो गुरु हुनुहुन्छ, जसले क्षत्रियबाहेक अरूलाई समेत सिक्ने अवसर दिनुहुन्छ ।”

परशुरामको रिस अलिकति शान्त भयो । उनले भने, “तैपनि, तिमीले मसँग झुट बोल्यौ । तिमीले पहिल्यै मलाई आफ्नो अवस्थाबारे बताउनु पर्थ्यो । तिमीले मसँग कुरा गर्नुपर्थ्यो, तर मसँग छल गर्नु हुँदैनथ्यो । मैले दिएको श्राप फिर्ता लिन सक्दिनँ । तर, मैले यो देखेको छु कि तिमीमा धर्नुधर बन्ने वा राज्य जित्ने वा शक्तिशाली बन्ने महत्त्वकाङ्क्षा छैन— तिमीभित्र रहेको यो व्यग्र चाहना तेजस्वी बन्नको लागि हो । तिमी ख्याति चाहन्छौँ, र त्यो तिमीले पाउने छौ । मानिसहरूले सदैव तिमीलाई तेजस्वी योद्धाको रूपमा सम्झिने छन् । तर, तिमीसँग कहिल्यै पनि शक्ति वा साम्राज्य हुनेछैन, साथै तिमी महान् धनुर्धरको रूपमा चिनिने छैनौँ । तर, तिम्रो ख्याति सधैँभरी रहनेछ अनि तिमीले यथार्थमा चाहेको पनि त्यही नै हो ।"

यो श्राप बोकेर कर्ण यताउती भौँतारिए । आफूले पाएको प्रशिक्षण अनि आफ्नो प्रतिभाप्रति उनी एकदमै खुसी त थिए, तर यसलाई कहाँ प्रदर्शन गर्ने ? युद्ध र प्रतिस्पर्धामा क्षेत्रियहरू मात्र प्रवेश गर्न पाउँथे । उनी आँखा बन्द गरेरै कुनै पनि कुरामा निशाना लगाउन सक्दथे, तर आफ्नो कला–कौशल देखाउने अवसर कहीँकतै पाएनन् । उनले आफ्नो जीवनमा चाहेको एउटै कुरा ख्याति थियो, तर त्यसैबाट उनी बञ्चित थिए । एकदमै निराश हुँदै उनी दक्षिण-पूर्वतर्फ गए अनि समुद्रको किनारमा बसे ।

कर्णले पाए अर्को श्राप

आर्य संस्कृतिमा गौहत्या सबैभन्दा खराब काम हुने गर्थ्यो । डराइ–डराइ उनले गाईतिर हेरे, अनि गाईले पनि कोमल नजरले उनलाई हेरिन् अनि सधैँको लागि आँखा बन्द गरिन् । उनी पूरै छटपटिए ।

कर्णले तपस्या शुरु गरे अनि कैयौँ दिनसम्म ध्यानमै बसिरहे । त्यहाँ खानको लागि केही पनि थिएन, तथापि उनी बसिरहे अनि ध्यान गरिरहे । एकदमै भोकाएको बेला उनी गङ्गटा समातेर खान्थे । यसबाट पोषण प्राप्त भयो, तर भोक भने अझ बढ्दै गयो । केही हप्ताको साधनापछि, उनलाई भोकले असाध्यै सतायो । यो अवस्थामा ध्यानमा बसिरहँदा, उनलाई झाडी पछाडि कुनै प्राणी चलमलाएको आभास भयो । त्यो पक्कै पनि हरिण हुनुपर्छ भन्ने ठानेर उनले आफ्नो धनु र वाण निकाले, अन्दाजको भरमा प्रहार गरे । उनले आफ्नो तिर निशानामै लागेको चाल पाए । मनमनै मासुले आफ्नो भोक शान्त पारेको कल्पना गर्दै झाडीतर्फ गए । तर, झाडी पछाडि पुगेपछि उनी भयभीत भए, किनकि एउटी गाई उनको शिकार भएकी थिइन् ।

आर्य संस्कृतिमा गौहत्या सबैभन्दा खराब काम हुने गर्थ्यो । डराइ–डराइ उनले गाईतिर हेरे, अनि गाईले पनि कोमल नजरले उनलाई हेरिन् अनि सधैँको लागि आँखा बन्द गरिन् । उनी पूरै छटपटिए । उनलाई के गर्ने, कसो गर्ने भयो । त्यसैबेला, एकजना ब्राम्हण त्यहाँ आइपुगे, गाईलाई मृत अवस्थामा देखे अनि विलाप गर्न थाले । उनले भने, “तैँले मेरो गाई मारिस् । म तँलाई श्राप दिन्छु । तँ योद्धा जस्तो देखिन्छस्, यसैकारण म तँलाई श्राप दिन्छु कि जब तँ युद्ध मैदानमा एकदमै कठिन परिस्थितिमा हुनेछस्, त्यतिबेला तेरो रथ जमिनमा यति गहिरो धस्सिनेछ कि तैँले निकाल्न सक्ने छैनस् । अनि, तँ असाह्य भएको अवस्थामा मारिनेछस्, किनकि तैँले असाह्य गाईको हत्या गरेको छस् ।"

कर्णले उनको खुट्टा समाउँदै विन्ती गरे, “कृपया, क्षमा गर्नुहोस् । म असाध्यै भोकाएको थिएँ । मलाई त्यहाँ गाई छिन् भन्ने थाहा थिएन । बरु, म तपाईंलाई यसको बदलामा सयवटा अरू गाईहरू दिनेछु ।” ब्राम्हण पुन: कड्किए, “यो गाई मेरो लागि जनावर मात्र थिइन । ऊ मेरो लागि सबैभन्दा प्रिय थिई । यो अपूरणीय क्षतिलाई भरपाइ गर्ने खोज्ने तेरो यो छुद्र प्रस्तावको लागि म तँलाई अझै श्राप दिनेछु ।"

यसरी दुईवटा श्राप बोकेर कर्ण भौँतारिरहे । उनलाई कहाँ जाने भन्ने थाहा थिएन । उनी आफ्नो वाणले धुलोको कणमा पनि निशाना लगाउन सक्दथे, तर त्यसको के अर्थ ? उनी क्षेत्रिय थिएनन्— यहाँसम्म कि उनलाई प्रतियोगितामा पनि भाग लिन दिँइदैनथ्यो, युद्ध त परको कुरा । कुनै लक्ष्यबिनै कर्ण यत्तिकै भट्किरहे ।

क्रमशः

 

सम्पूर्ण महाभारत अध्यायहरू