महाभारत अध्याय १८: अर्जुन र एकलव्यको भेट

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
महाभारत अध्याय १८:
 

सम्पूर्ण महाभारत अध्यायहरू


सद्‌गुरु: अर्जुनको जीवनको एकमात्र लक्ष्य संसारकै सबैभन्दा उत्कृष्ट धनुर्धर बन्नु थियो । उनी महान् योद्धा थिए, तर एकदमै घुसघुसे खालका थिए । उनी पूर्ण रूपमा अनुशासित एवं आफ्नो लक्ष्यमा दृढ थिए, तैपनि उनले जीवनभरि असुरक्षित महसुस गरिरहे । अर्जुन सदैव अर्को व्यक्ति आफूभन्दा उत्कृष्ट धनुर्धर बन्ला कि भन्ने चिन्तामा डुबिरहन्थे । त्यसो हुन नदिनको लागि उनले थुप्रै अमानविय कामहरू पनि गरे ।

यदि तपाईं कुशल धनुर्धर बन्न चाहनुहुन्छ भने, त्यहाँ हातलाई राम्रोसँग प्रयोग गरेर मात्रै पुग्दैन, तपाईंका आँखा पनि तेजिलो हुन जरूरी छ— किनकि, तपाईं कुनै पनि कुरालाई कति गहिराइमा नियाल्न सक्नुहुन्छ अनि त्यसमा कतिसम्म ध्यान केन्द्रित गर्न सक्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

एकदिन एकलव्य नाम गरेका केटा द्रोण समक्ष पुगे । उनी आर्य थिएनन्; उनी निषाद जातिका थिए । ग्रन्थहरूमा एकलव्यलाई यसरी वर्णन गरिएको छ— उनको चाल चितुवाको जस्तै थियो, उनी कालो वर्णका थिए, जटा कसेर बाँधिएको हुन्थ्यो । उनी शक्तिशाली एवं सुन्दर व्यक्ति थिए । उनले द्रोणसँग धनुर्विद्या सिक्ने इच्छा व्यक्त गरे । द्रोणले भने, "तिमी क्षेत्रिय होइनौ, त्यसैले म तिमीलाई सिकाउन सक्दिनँ ।" एकलव्यले द्रोणको चरणमा शिर झुकाउँदै अनुरोध गरे, "म सामाजिक तौर–तरिका र नियमहरू बुझ्छु । तपाईंले मलाई आशीर्वाद मात्रै दिए पुग्छ । म तपाईंको आशीर्वाद द्वारा नै सिक्नेछु ।" द्रोणले उनको विनम्रता र इमान्दारीलाई हेरे अनि उनको शिरमा हात राख्दै भने, "म तिमीलाई आशीर्वाद दिन्छु ।” एकलव्य जङ्गलतर्फ गए । उनले नदीबाट माटो लिएर द्रोणको मूर्ति बनाए ।”

यदि तपाईं महान् गायक बन्न चाहनुहुन्छ भने, तपाईंसँग राम्रो आवाज भएर मात्रै पुग्दैन— तपाईंसँग एकदमै राम्रोसँग सुन्ने क्षमता समेत हुनुपर्छ । राम्रोसँग सुन्ने क्षमताले नै तपाईंलाई राम्रो सङ्गीतकार बनाउँछ । त्यसैगरी, यदि तपाईं कुशल धनुर्धर बन्न चाहनुहुन्छ भने, त्यहाँ हातलाई राम्रोसँग प्रयोग गरेर मात्रै पुग्दैन, तपाईंका आँखा पनि तेजिलो हुन जरूरी छ— किनकि, तपाईं कुनै पनि कुरालाई कति गहिराइमा नियाल्न सक्नुहुन्छ अनि त्यसमा कतिसम्म ध्यान केन्द्रित गर्न सक्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

अर्जुनमा यी सबै गुणहरू थिए । एकदिन प्रशिक्षणको क्रममा, द्रोणले पाण्डव र कौरव भाइहरू धनुर्विद्यामा कति कुशल छन् भनेर परीक्षा लिने सोचे । उनले रूखको टुप्पोमा सानो काठको चरा राखे अनि उनीहरूलाई चराको आँखामा निशाना लगाउन भने । कौरव र पाण्डवहरूले एक-एक गरेर निशाना ताके । द्रोणले उनीहरूलाई सोधे, “तिमीहरूले के देखिरहेका छौ ?” उनीहरूले हत्तपत्त जवाफ दिए, “पात, रूख, आँप, चरा, आकाश... ।” यसरी सबैले भिन्न–भिन्न कुराहरू बताए । द्रोणले सबैलाई बेवास्ता गरिदिए । अन्त्यमा, अर्जुनको पालो आयो । द्रोणले अर्जुनलाई सोधे, "तिमीले के देखिरहेका छौ ?" अर्जुनले भने, “म चराको आँखा मात्र देखिरहेको छु ।” द्रोणले भने, “तिमी मात्रै योभन्दा अगाडिको चरणको प्रशिक्षणको लागि तयार छौ ।” त्यसपछि द्रोणले उनलाई धनुर्विद्यामा परिष्कृत कलाहरू सिकाए, जसमा आँखा बन्द गरेर वाण चलाउने, अँध्यारोमा वाण चलाउने, यहाँसम्म कि लक्ष्यलाई नहेरिकनै त्यसमा निशाना लगाउने अभ्यासहरू समावेश थिए । द्रोणले अर्जुनलाई हरेक दिन निस्पट्ट अन्धकार कोठामा खाना खान लगाए । उनले अर्जुनलाई भन्ने गर्थे, "यदि तिमी नहेरिकनै आफ्नो मुखमा खाना हाल्न सक्छौ भने, आफ्नो शत्रुलाई नहेरिकनै तिमी उसको मुटुमा बाँड प्रहार गर्न किन सक्दैनौ ?”

एकलव्यको अविचलित ध्यान

एउटा धनुर्धरमा हुनुपर्ने गुण यही हो— उसको दृष्टिबाट कुनै पनि कुरा छुट्नु हुँदैन । जो व्यक्तिले कुनै चिजलाई हेर्दा त्यसको स–साना अंशहरूमा ध्यान दिँदैन, उसले निश्चय नै निशाना लगाउँदा ती कुराहरू छुटाउँछ ।

अर्जुनले उच्च स्तरको धनुर्विद्यामा प्रशिक्षण लिए । उनले आफूलाई संसारकै महान् धर्नुधर ठान्न थाले । यता एकलव्य द्रोणको आशीर्वाद लिएर जङ्गलमा गएका थिए । जब एकलव्यले द्रोणलाई भेटे, उनले द्रोणको बारेमा सानाभन्दा साना कुराहरूमा पनि ध्यान दिएका थिए । एउटा धनुर्धरमा हुनुपर्ने गुण यही हो— उसको दृष्टिबाट कुनै पनि कुरा छुट्नु हुँदैन । जो व्यक्तिले कुनै चिजलाई हेर्दा त्यसको स–साना अंशहरूमा ध्यान दिँदैन, उसले निश्चय नै निशाना लगाउँदा ती कुराहरू छुटाउँछ । एकलव्यले आफूभित्र स्पष्ट रूपमा द्रोणको छवि कोरेका थिए, त्यसैले जङ्गलमा गएपछि उनले द्रोणको मूर्ति बनाए । उनी त्यही मूर्तिलाई ढोगेर आफ्नो अभ्यास गर्दथे ।

एकदिन पाण्डव र कौरवहरू जङ्गलमा शिकार गर्न गए । उनीहरूको शिकारी कुकुर उनीहरूभन्दा अगाडि गयो । एउटा ठाउँमा पुगेपछि कुकुर भुक्न थाल्यो । कुकुरले कुनै शिकार भेट्टायो होला भन्ने ठानेर उनीहरू त्यतैतर्फ पछ्याउँदै गए । अचानक कुकुर शान्त भयो । उनीहरूले सोचे कि सायद भालु वा बाघले कुकुरलाई माऱ्यो । उनीहरू कुकुरको खोजीमा छिटोछिटो अघि बढे । त्यसैबेला, कुकुर फर्किएर आयो । उसको मुखमा ६ वटा वाण लागेको थियो । वाण यसरी लागेको थियो कि उसको मुख बन्द भएको थियो अनि ऊ भुक्न सकिरहेको थिएन ।

उनीहरूले त्यो दृश्य देख्नेबित्तिकै, शुरुमा भीमले कतै द्रोण जङ्गलमा छन् कि भन्ने जिज्ञासा राखे । किनकि, अरू कसैले पनि यस्तो गर्न सक्दैन थियो— यहाँसम्म कि अर्जुनले समेत सक्दैन थिए । कुकुरको मुखलाई त्यसरी बन्द गर्नको लागि ६ वटा वाणहरू क्षणभरमै प्रहार गर्नुपर्ने हुन्छ । उनीहरू सबैजना खोज्दै अघि बढे । उनीहरूले एउटा हृष्टपुस्ट युवक भेटे, जो चितुवा जस्तै देखिन्थे, कालो वर्णका, जटा कसेर बाँधिएको । एकलव्यले अर्जुनको टाउकोमा निशाना लगाए, किनकि पाँच पाण्डवहरूलाई देख्नेबित्तिकै उनले अर्जुन धनुधर्र हुन् भन्ने थाहा पाइहाले । अर्जुनले एकलव्यलाई हेरेपछि उनको मुटु चिसो भयो, किनकि उनी यी आँखाहरू राम्ररी चिन्दथे । यस्तो स्थिर एकाग्रता भएको व्यक्ति आफ्नो निशानाबाट चुक्दैन भन्ने कुरा अर्जुनलाई थाहा थियो । उनले यो जानिहाले कि यिनै युवकले वाणहरू प्रहार गरी कुकुरको मुख बन्द गरेका थिए । आफूभन्दा पनि राम्रो धनुर्धर देखेर अर्जुन निराश भए ।

द्रोणलाई एकलव्यको गुरु दक्षिणा

अर्जुनले सोधे, “तिमी को हौ ? यो सबै तिमीले कहाँबाट सिक्यौ ? तिमी त क्षेत्रिय पनि होइनौ ।” युवकले जवाफ दिए, “म एकलव्य हुँ । मेरा गुरु द्रोण हुनुहुन्छ ।” अर्जुन त्यहाँबाट सिधै द्रोण समक्ष पुगे अनि बिलौना गरे, “तपाईंले मलाई सबैभन्दा महान् धनुर्धर बनाउने वचन दिनुभएको थियो । तर, तपाईंले अर्कैलाई मभन्दा सर्वश्रेष्ठ बनाइदिनु भएको छ । यो उचित होइन ।” द्रोणले भने, “तिमी यो के बोलिरहेका छौ ?” अर्जुनले भने, “जङ्गलमा एकजना युवक छ, जो मभन्दा उत्कृष्ट छ । उसले यो भन्दै थियो कि तपाईं उसको गुरु हो । उसले तपाईंको मूर्ति स्थापना गरी धनुर्विद्याको अभ्यास गरिरहेको छ ।”

द्रोणले भने, “हो, मैले तिमीलाई सर्वश्रेष्ठ धनुर्धर बनाउने वचन दिएको थिएँ । तिमी यो राज्यको लागि निकै महत्त्वपूर्ण छौ, अनि यदि तिमी सर्वश्रेष्ठ बनेनौँ भने, मैले आफ्नो दक्षिणा पाउने छैन । म यसलाई सुल्झाउने छु ।” उनी जङ्गलमा गएर एकलव्यलाई भेटे । एकलव्य द्रोणलाई आफ्नो गुरु मान्दथे, यद्यपि द्रोणले उनलाई केही पनि सिकाएका थिएनन् । एकलव्यले द्रोणको चरणमा दण्डवत् गरे । चरम आनन्दले विभोर भएर उनले फल र फूलहरूले द्रोणको स्वागत गरे । तर, द्रोणको दिमागमा चाहिँ अरू नै केही चलिरहेको थियो । उनले भने, “यो निकै राम्रो कुरा हो कि तिमी उत्कृष्ट धनुर्धर बनेका छौ । तर, मेरो गुरु दक्षिणा खोइ त ?” त्यस समयमा यस्तो परम्परा थियो कि गुरुलाई दक्षिणा नदिइकन शिष्यले आफ्नो शिक्षाको प्रयोग गर्न पाउँदैनथ्यो ।

जब एकलव्यले आफ्नो कर्तव्य पालना गर्दै बुढी औँला काट्न छुरा निकाले, तब द्रोणले एक पलको लागि रोकिन भने अनि कतै अर्जुनको मन पग्लियो कि भनेर उनीतर्फ हेरे । तर, अर्जुन कुरुणा–शून्य बनेर हेरिरहेका थिए ।

एकलव्यले भने, “गुरुदेव, तपाईं जेसुकै माग्न सक्नुहुन्छ ।” त्यसपछि द्रोणले भने, “म तिम्रो दायाँ हातको बुढी औँला चाहन्छु ।” परम्परागत धनुर्विद्यामा वाणलाई दायाँ बुढी औँलाले तानेर प्रहार गरिन्थ्यो । दायाँ बुढी औँलाबिना तपाईं धनुर्धर बन्न सक्नुहुँदैन थियो । ती दिनहरूमा धनुर्धरहरूलाई निकै महत्त्व दिइन्थ्यो, किनकि तरबार र भाला चलाउने मानिसहरूको तुलनामा वाण चलाउनेहरूले टाढैबाट प्रहार गरी मार्न सक्थे । उनीहरूले आफ्नो जीवन जोखिमपूर्ण नबनाइकनै अरूलाई मार्न सक्थे । यही कारणले गर्दा उनीहरू अधिक महत्त्वपूर्ण र सक्षम बन्दथे ।

जब एकलव्यले आफ्नो कर्तव्य पालना गर्दै बुढी औँला काट्न छुरा निकाले, तब द्रोणले एक पलको लागि रोकिन भने अनि कतै अर्जुनको मन पग्लियो कि भनेर उनीतर्फ हेरे । तर, अर्जुन कुरुणा–शून्य बनेर हेरिरहेका थिए, मानौँ कि त्यो पूरा गरिनै पर्ने कार्य हो । भलै, अर्जुनमा थुप्रै सानदार गुणहरू भए तापनि, उनलाई सधैँभरी असुरक्षाको डरले गाँजिरह्यो । उनी सर्वश्रेष्ठ धनुर्धर बन्न चाहन्थे— एकलव्यको औँला काटिएपछि, एकपटक पुन: अर्जुन सर्वश्रेष्ठ धनुर्धर बने ।

क्रमशः

 

सम्पूर्ण महाभारत अध्यायहरू