महाभारत अध्याय १६: भीमलाई मार्ने दुर्योधनको षडयन्त्र

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
महाभारत अध्याय १६: भीमलाई मार्ने दुर्योधनको षडयन्त्र
 

सम्पूर्ण महाभारत अध्यायहरू


सद्‌गुरु: एकपटक दुर्योधन आफ्ना पिता धृतराष्ट्र समक्ष गएर गुनासो गरे, "मैले भीमलाई मार्न थुप्रै प्रयासहरू गरिसकेँ, तर कुनै न कुनै तरिकाले ऊ उम्किहाल्छ ।" यो सुनेर धृतराष्ट्रले लामो सुस्केरा काडे— दरबारभित्रै उनका छोराले आफ्नो काकाको छोराको हत्या गर्ने योजना बनाइरहेका थिए । त्यसमाथि, दुवैजना भर्खर सोह्र वर्षका मात्रै भएका थिए ।

शकुनिले दुर्योधनलाई कपटी बनाए

दुर्योधन सदैव ईर्ष्या, घृणा र क्रोधले भरिएका हुन्थे, तर उनमा छल र कपट भर्ने काम शकुनिले गरेका थिए ।

एकदिन, शकुनिले दुर्योधनलाई सल्लाह दिए, "यो तरिकाले काम हुँदैन । हामीले उसलाई महलबाहिरै मार्ने योजना बनाउनु राम्रो हुनेछ, किनकि हामी बढी स्वतन्त्र रूपमा आफूले चाहेको कुरा गर्न सक्नेछौँ । महलभित्र हामी एकदमै चलाख र सतर्क बन्नुपर्ने हुन्छ, तर तिम्रो काकाको छोरा यति शक्तिशाली छ कि उसलाई यत्तिकै मार्न निकै कठिन छ ।" शकुनिले अझै थपे, "शब्दको प्रयोग हृदयको भाव व्यक्त गर्न प्रयोग गर्ने होइन, बरु मनमा चलिरहेको कुरालाई लुकाउनको लागि प्रयोग गरिनुपर्छ । भीमसँग मित्रता गाँस । ऊसँग मायालु रूपमा व्यवहार गर । ऊसँग कुस्ती नखेल, बरु अङ्गालो हाल । उसलाई कड्के नजरले नहेर, बरु मुस्कुराऊ । ऊ मूर्ख छ— तिम्रो चालमा फसिहाल्ने छ ।"

यसरी एक बहादुर, निडर अनि सीधा-सीधा सोच्ने दुर्योधन बिस्तारै धोकेबाज र कपटी बन्दै गए । दुर्योधन सदैव ईर्ष्या, घृणा र क्रोधले भरिएका हुन्थे, तर उनमा छल र कपट भर्ने काम शकुनिले गरेका थिए । दुर्योधनले पाँचैजना भाइहरूसँग मित्रता गाँसे, विशेषगरी भीमसँग । उनीहरू सबैलाई अब दुर्योधनको हृदय बदलिएको छ अनि ऊ सबैलाई प्रेम गर्ने भएको छ भन्ने लाग्यो । सहदेव, जो पाँच भाइहरूमध्ये सबैभन्दा बुद्धिमानी थिए, उनले त्यो चाललाई पत्याएनन् र आफूलाई त्यसबाट टाढै राखे ।

सहदेव कसरी ज्ञानी बने ?

सहदेव कसरी ज्ञानी पुरुष बने भन्नेबारे एउटा घटना रहेको छ । एकदिन जङ्गलमा क्यामप–फायरको अगाडि बसिरहेको बेला उनका पिता पाण्डुले आफ्नो छोराहरूसँग भने, “१६ बर्षसम्म म तिमीहरूका आमाहरूबाट टाढा बसेको मात्रै होइन । मैले ब्रम्हचर्य साधना पालना गरेको थिएँ, जसबाट मलाई असाधारण रूपमा भित्री शक्ति तथा प्रचुर मात्रामा दूरदर्शिता, भित्री स्पष्टता अनि ज्ञान प्राप्त भएको छ । तर, म गुरु होइन । त्यसैले, आफूसँग भएका कुराहरूलाई तिमीहरूमा कसरी सञ्चारित गर्ने भनेर जान्दिनँ । तैपनि, मेरो मृत्यु भएपछि, तिमीहरू सबैले मेरो शवबाट अलिकति टुक्रा मासु लिएर खानू । यदि तिमीहरूले मेरो शरीरको अंशलाई आफ्नो शरीरको अंश बनायौ भने, कुनै साधना वा अभ्यास नगरिकनै तिमीहरूले ममा भएको ज्ञान आफूमा आर्जन गर्नेछौ ।"

जब पाण्डुको मृत्युपछि उनको दाहसंस्कार गरिँदै थियो, बुबाको निधनमा भाव–विह्वल भएर लगभग सबैजसोले त्यो कुरा बिर्सिए । त्यसैबेला, कमिलाले पाण्डुको शरीरबाट मासुको सानो अंश लैजाँदै गएको दृश्य देख्नेबित्तिकै सबैभन्दा कान्छो एवं विवेकी सहदेवले आफ्नो बुबाले भनेको कुरा सम्झिहाले । उनले कमिलाबाट मासुको टुक्रा खोसे अनि खाए । त्यसपछि, उसको ज्ञान र शक्तिमा वृद्धि भयो ।

उनी राजाहरूको बिचमा ऋषि जसरी बाँच्न सक्थे । तथापि, कृष्णले सहदेवको यो ज्ञान नियतिको धारामा बाधक बन्ने देखेपछि उनले सहदेवलाई भने, ”यो मेरो आदेश हो— कहिल्यै पनि आफ्नो ज्ञान व्यक्त नगर्नू । यदि कसैले तिमीसँग प्रश्न सोध्यो भने, जहिल्यै पनि अर्को प्रश्नको रूपमा त्यसको जवाफ दिनू ।”

त्यसपश्चात, सहदेवले प्रश्नको जवाफ दिँदा अर्को प्रश्न सोध्ने गर्थे, जसलाई निकै थोरै मानिसहरूले मात्र बुझ्न सक्थे । त्यसलाई बुझ्ने मानिसहरूले सहदेवको ज्ञान र विवेकलाई बुझेका थिए । त्यसलाई बुझ्न नसक्ने मानिसहरूले सहदेव हरेक कुरामा अस्पष्टता र भ्रम सृजना गर्न खोजिरहेका छन् भन्ने ठान्दथे । 'सहदेव–ज्ञान' भन्ने पूरै शास्त्र यसैबाट जन्मिएको हो । आज पनि यदि कोही बढी चलाख बन्न खोज्यो भने, ऊ सहदेव जस्तो बन्न खोजिरहेको छ भन्ने गरिन्छ । मानिसहरूले सहदेव प्रश्नहरूको रूपमा जवाफ दिएर चतूर बन्न खोज्दैछन् भन्ने ठान्थे । तर, वास्तवमा उनी कृष्णको आदेशको पालन गरिरहेका थिए, जसलाई बुद्धिमानी मानिसहरूले मात्र बुझ्न सक्दथे ।

जब पाण्डवहरू दुर्योधनको चालमा फसे

सहदेवले मात्र दुर्योधनको हृदयमा के छ भनेर देखेका थिए, अनि उनले त्यहाँ केवल विष देखे । अरू चार भाइहरू दुर्योधनको जालमा फसिसकेका थिए । दुर्योधनले उनीहरूमाथि विभिन्न उपहारहरूको बर्षात गरिदिए । भीमलाई विशेषगरी एउटा उपहारप्रति बढी नै चासो थियो— त्यो थियो भोजन । दुर्योधनले भीमलाई भरपेट खुवाउँथे । भीम यति खन्चुवा थिए कि आफ्नो अगाडि खाना आउनेबित्तिकै उनी अरू सबैथोक बिर्सिन्थे । जसले उनलाई खाना दिन्थ्यो, ऊ प्यारो साथी बनिहाल्थ्यो । उनलाई जतिबेला पनि भोक लागिरहने हुनाले उनले खाइरहे अनि खाइरहे र झन् भन्दा झन् बढी विशालकाय बन्दै गए ।

एकदिन दुर्योधनले वनभोज जाने प्रस्ताव राखे । शकुनिले निकै चतुऱ्याईंपूर्वक योजना बनाए । उनीहरूले प्रमनकोटी भन्ने ठाउँमा रहेको नदीको किनारमा एउटा मण्डप बनाए । सबैजना त्यहाँ गए अनि अधिक मात्रामा विभिन्न व्यञ्जनहरू पस्किइयो । दुर्योधनले खुबै राम्रोसँग आयोजकको भूमिका निभाए । उनी सबै पाण्डव भाइहरू समक्ष गए अनि आफ्नै हातले उनीहरूलाई पस्किए । अरू भाइहरूको भागमा जति खाना थियो, त्यति पूरै खाना भीमलाई पस्किइएको थियो । सबैजनाले आफ्नो ठाँटबाँट देखाए । मूर्खहरू दुर्योधनको यो व्यवहारबाट अति मुग्ध भएका थिए— केवल सहदेव एउटा कुनामा बसेर सबैथोक चुपचाप नियालिरहेका थिए ।

छल–कपटको तरिका यही हो, जहाँ अति गर्ने कोशिस गरिन्छ ।

खानापछि जब मिठाईको पालो आयो, भीमलाई प्लेटभरि दिइयो । त्यसमा बिस्तारै असर गर्ने खास किसिमको विष मिसाइएको थियो । भीमले प्लेटभरि खाए । त्यसपछि, सबैजना नदीतर्फ गए । उनीहरूले पौडी खेले अनि रमाइलो गरे । केही बेर खेलेपछि भीम पानीबाट बाहिर निस्किए अनि नदीको किनारमा पल्टिए । बाँकी सबैजना मण्डपमा फर्किए अनि रमाइलो गर्दै कथाहरू सुनाउन थाले । केही समयपछि, दुर्योधन नदी किनारमा गए अनि भीमलाई अर्धचेत (आधा बेहोश) अवस्थामा देखे । उनले भीमका हातखुट्टा बाँधेर नदीमा गुल्टाइदिए । भीम नदीमा डुबेर तल पुगे, जहाँ थुप्रै विषालु सर्पहरू थिए ।

विषलाई विषले नै ठीक गर्दछ

भीमलाई सर्पहरूले सयौँ पटक टोके । उनीहरूको विषले उनको शरीरमा भएको विषको विरूद्ध विषनाशकको रूपमा काम गऱ्यो । यो सिद्ध वैद्य चिकित्सा प्रणालीमा सामान्य कुरा हो, जहाँ विषको उपचारको लागि विष नै प्रयोग गरिन्छ । यही विज्ञानमा आधारित रहेर आधुनिक चिकित्सामा खोप (भ्याक्सिन) हरू तयार गरिएका हुन् । जब विषनाशकले काम गर्न थाल्यो, बिस्तारै उनी होशमा आउन थाले । जब सर्पहरूले यो दृष्य देखे, उनीहरूले भीमलाई आफ्नै सदस्य जसरी स्वीकार गरे । तब नागराजले वायुपुत्र भीमलाई एकातिर लगेर भने, "हेर, तिमीलाई विष दिइएको थियो । सौभाग्यले तिनले तिमीलाई नदीभित्र गुल्ट्याइदिए । यदि तिमीलाई नदीको किनारमा यत्तिकै छोडिदिएको भए, यतिखेर सम्म तिमी मरिसक्ने थियौ ।"

छल–कपटको तरिका यही हो, जहाँ अति गर्ने कोशिस गरिन्छ । भीमलाई यत्तिकै मर्नको लागि नदीको किनारमा छोडिदिन सक्दथे । तर, दुर्योधन कुनै मौका छोड्न चाहँदैनथे, जसकारण भीमलाई नदीमा धकेलिदए, तर ठीक उल्टो नतिजा आयो । नागहरूले भीमलाई भने, "हामी तिमीलाई यस्तो औषधि दिनेछौँ, जसको जानकारी यस क्षेत्रमा रहनेहरूलाई मात्र थाहा छ ।" उनीहरूले विभिन्न प्रकारका विष, पारा (मर्करी) अनि विशेष किसिमका जडिबुटिहरू प्रयोग गरी एउटा मिश्रण तयार पारे । यसलाई नव पाषाण वा नौवटा घातक विषहरू भनेर चिनिन्छ अनि आज पनि केही क्षेत्रहरूमा यसलाई औषधिको रूपमा प्रयोग गरिन्छ ।

नव पाषाणलाई असाध्यै बढी सावधान भएर तयार गरिनुपर्ने हुन्छ— कुनै कुरा एक थोपा मात्र बढी वा एक थोपा मात्र कम भयो भनेपनि, मानिसको मृत्यु हुन सक्छ । नागहरूले एकदमै होसियार भएर त्यो औषधि तयार पारे अनि भीमलाई दिए । त्यो सेवन गरेपछि भीमभित्र असाधारण शक्ति जागृत भयो ।

पाण्डवहरूले दुर्योधनको चाल बुझे

सोही समयमा अरू चार भाइहरूले भीम हराएको चाल पाए अनि विक्षिप्त बने । बल्ल उनीहरूले आफूहरूमाथि घात गरिएको महसुस गरे । तैपनि, उनीहरू खुलेर अभिव्यक्त गर्न सकिरहेका थिएनन्, किनकि यता दुर्योधन पनि निकै दुःखी भएको स्वाङ्ग पारिरहेका थिए । भीमलाई खोजे जस्तो नाटक पारी यताउती हिँडिरहेका थिए अनि रुँदै भनिरहेका थिए, “मेरो प्रिय भाइ भीम, मेरो एकमात्र साथी, तिमी कहाँ छौ ?"

सहदेवले आफ्ना भाइहरूलाई भने, "तिनीहरूले भीमलाई समाप्त गरिसके ।" चारैजना भाइहरूलाई यो बोध भएको थियो कि मिष्ठान्न भोजन र उपहारहरूको प्रलोभनमा फसेको हुनाले उनीहरूले आफ्नो भाइ गुमाए । उनीहरू पूरै लज्जित हुँदै घर फर्किए ।

उनीहरूले आमा कुन्तीलाई सबै घटना बताए । कुन्ती ध्यानमा बसिन् अनि तीन दिनसम्म गहिरो ध्यानमा डुबिन् । ध्यानबाट बहिर आएपछि उनले भनिन्, “मेरो छोरा भीम मरेको छैन् । उसलाई खोज्न जाऊ ।” चारैजना भाइहरू आफ्ना साथीहरूसँगै भीमलाई खोज्न जङ्गलमा यत्रतत्र खोजे, नदीमा भित्रसम्म खोजे— जताततै खोज्दा समेत उनीहरूले कहीँकतै पत्ता लगाउन सकेनन् । अन्ततः उनीहरू हार मान्दै फर्किए । कुन्तीलाई पनि आफ्नो दिव्य–दृष्टिप्रति सन्देह भयो । उनीहरूले भीमको लागि मृत्युपछिको १४ दिनको संस्कारको तयारी गरे । दुर्योधनले भीमको स्मृतिमा भव्य समारोह आयोजना गरे । उनीहरूले १४ दिनको शोक समाप्तिको लागि विशाल भोज आयोजना गरे । भित्र मनमनै दुर्योधन खुसी थिए, तर बाहिर भने शोकाकुल भएको ढोँग गरिरहेका थिए ।

जब भीम फर्किए...

त्यसैबेला भीम दरबारमा फर्किए । आमा र चार भाइहरूमा हर्षको सीमा रहेन । दुर्योधन र उनका भाइहरूले यो पत्याउनै सकिरहेका थिएनन् । शकुनि भयभीत थिए— उनले यो बुझ्नै सकेनन् कि आफूसामु उभिएको वास्तवमै भीम हो वा भीमको भूत हो ! भीम आक्रोशित भएर तहस–नहस गर्नै लागेका थिए, ठीक त्यसैबेला विदुरले उनलाई सम्झाए, "अहिले आफ्नो दुश्मनी व्यक्त गर्ने समय होइन । अझैसम्म उनीहरू लुकिछिपी यी सबैथोक गरिरहेका छन्, जसको अर्थ तिमी अझै सुरक्षित छौ । यदि तिमीले क्रोध व्यक्त गऱ्यौ भने, उनीहरूले दरबारमै तिमीलाई मारिदिने छन् । तिमीहरू जम्मा पाँचजना छौ, जबकि उनीहरू सयजना । साथै, उनीहरूसँग सेनाहरूको पूरै फौज छ ।"

पाँच भाइहरू बढी सावधान हुन थाले अनि आफ्नो सुरक्षा घेरा बनाउन शुरु गरे । उनीहरूले विश्वासिला मानिसहरूलाई दरबारमा ल्याउन थाले ।

भीम र उनका भाइहरूले आफ्नो आक्रोश दबाए । नागालोकमा १४ दिन बसेपछि त्यो औषधिले भीमलाई अत्यन्तै शक्तिशाली त बनाएको थियो, तर साथसाथै उनी असाध्यै भोकाएका पनि थिए । उनले दरबारमा विशाल भोजको तयारी भइरहेको देखे । तर, मरेको भनेर ठानिएको व्यक्तिलाई जीवित देखेर सबैजना अक्क न बक्क भएर काम यत्तिकै छाडेका थिए । भीमले काटेर राखिएका सबै तरकारीहरूलाई एकैसाथ मिसाएर ठूलो भाँडामा हाले अनि पकाउन थाले । आर्य संस्कृतिमा यस्तो चलन छ जहाँ केही निश्चित किसिमका तरकारीहरू मिसाउनु हुँदैन । तर, भीमले सबैथोक मिसाएर एउटा व्यञ्जन तयार गरे । यो व्यञ्जन दक्षिण भारतका केही क्षेत्रहरूमा आज पनि लोकप्रिय छ, जसलाई अवियल भनिन्छ, जसको अर्थ हो मिश्रण ।

दुवै पक्षहरूबिच वैरभाव बढ्दै गयो । पाँच भाइहरू बढी सावधान हुन थाले अनि आफ्नो सुरक्षा घेरा बनाउन शुरु गरे । उनीहरूले विश्वासिला मानिसहरूलाई दरबारमा ल्याउन थाले । त्यस बेलासम्म उनीहरू दरबारमा हुने षडयन्त्रहरूको बारेमा जानकार थिएनन्— उनीहरू अपरिपक्व केटाहरू जस्तै व्यवहार गरिरहेका थिए । तर, अब चाहिँ उनीहरू राज्यको निम्ति गम्भिर सङ्घर्षमा प्रवेश गरिसकेका थिए ।

क्रमशः

 

सम्पूर्ण महाभारत अध्यायहरू