# १ कृतज्ञता व्यक्त गर्ने दृढ विचार उत्पन्न गर्नुहोस्

सद्‌गुरु: दुर्भाग्यवश, हामी सबैथोक आलोचनाबाटै सुल्झाउन सकिन्छ भनेर सोच्छौँ । यो मानसिकता हट्नै पर्छ । थुप्रै मानिसहरूले अहिले जे-जति अद्‌भुत कामहरू गरिरहनु भएको छ, हामी सबैले उहाँहरूका कामहरूप्रति आभार व्यक्त गर्नुपर्छ । उदाहारणको लागि, जब तपाईं कुनै सवारी साधनमा यात्रा गर्नुहुन्छ, तपाईंहरूमध्ये कति जनाले चालक र सह-चालकलाई हेरेर "धन्यवाद" भन्नुहुन्छ वा कम्तीमा पनि नमस्कार गर्नुहुन्छ ? अधिकांश मानिसहरूमा यो भाव छँदै छैन । विगतलाई हेर्ने हो भने हाम्रो यस्तो संस्कार थियो, जहाँ हामी जतिसुकै सानो चीज पाउँदाखेरि पनि सधैँ एक-अर्कालाई झुकेर नमन गर्थ्यौँ । तर, दुर्भाग्यवश अहिले त्यो हराइसकेको छ ।

यतिखेर, थुप्रै चिकित्सकहरू, सुरक्षाकर्मीहरू साथै अत्यावश्यक सेवाहरू व्यवस्थापन गरिरहनु भएका अन्य मानिसहरूले आफ्नै जीवन अनि आफ्नो परिवारको जीवनलाई जोखिमपूर्ण बनाउनु भएको छ । उहाँहरू अस्पतालमा काम गर्नुहुन्छ, अनि जब घर फर्किनुहुन्छ, सायद उहाँहरू मृत्यु बोकेर घर जानुभएको हुन सक्दछ । जब उहाँहरूले यस हदसम्मको सेवा गरिरहनु भएको छ, हामी उहाँहरूप्रति कृतज्ञ नहुनु भनेको ठूलो बिडम्बना हो ।

आउनुहोस्, कम्तीमा पनि अर्को ६ महिनासम्म यो नजाउन्जेल हामी सबैले यसो गरौँ: प्रत्येक बिहान जब तपाईं ब्यूँझिनुहुन्छ, तपाईं आफ्नो मनमा एउटा दृढ विचार उत्पन्न गर्नुहोस्, “म उहाँहरू सबैप्रति साँच्चिकै आभारी छु, जसले हाम्रो निम्ति आफ्नै जीवनलाई जोखिमपूर्ण बनाइरहनु भएको छ ।“

 

# २ घरमै "सिंह क्रिया" अभ्यास गरी आफ्नो श्वास-प्रश्वास प्रणाली जाँच्नुहोस् 

"सिंह क्रिया" एउटा सरल अभ्यास हो । तपाईंहरूमध्ये जसले "शक्ति चलन क्रिया" जस्तो शक्तिशाली प्रक्रिया सिक्नुभएको छैन, यो अभ्यासले मद्दत गर्नेछ । यसले तपाईंको फोक्सोको क्षमतालाई बढाउँछ, साथै तपाईंको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । एउटा महत्त्वपूर्ण कुरा के हो भने, यदि तपाईंले अर्को पाँच दिनसम्म यो अभ्यास गर्न सक्नुभयो अनि अचानक एकदिन अभ्यास गर्न सक्नुभएन भने, अवश्य नै तपाईंलाई श्वास-प्रश्वास सम्बन्धी कुनै समस्या छ भनेर बुझ्न सकिन्छ । त्यो कोरोना-भाइरस नहुन सक्छ, तर अरू केही समस्या भएको हुन सक्दछ । चाहे जेसुकै समस्या भएको भएपनि, यदि तपाईंले एक्कासि कुनै दिन क्रिया गर्न सक्नुभएन भने तपाईंले आफूलाई जँचाउनु पर्छ । विशेषगरी, चिकित्सकहरू, सुरक्षाकर्मीहरू वा यस्तै अन्य सेवामा आवद्ध व्यक्तिहरू, जो सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा रहिरहनु पर्ने हुन्छ, कृपया तपाईंहरूले यो क्रियाको अभ्यास अवश्य गर्नुहोस् । यसले तपाईंलाई ठूलो फरक पार्नेछ ।

हिन्दीमा डब गरिएको भिडियो

 

# ३ मृत्यु सम्बन्धी लेखिएको "डेथ" पुस्तक एक बसाइमै पढ्नुहोस्

अहिले वास्तवमा भन्नुपर्दा, विश्वभरि नै मानिसहरूलाई आफ्नो नश्वर प्रकृतिको गहिरो सम्झना भइरहेको छ । तर, यथार्थमा नश्वरता सधैँभरिको सहयात्री हो । तसर्थ, यो पुस्तक ती सबैका निम्ति हो, जो एकदिन मर्नु पर्नेछ— ताकि, हामी आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष अर्थात् 'मृत्यु' लाई यसको वास्तविक रूपमा बुझ्न सकौँ । सामान्यतया, जब कसैको मृत्यु हुन्छ, अरू मानिसहरू भन्ने गर्छन् कि अब ती व्यक्ति स्वर्गमा बास गर्नेछन्— यो अवास्तविक हो; बनावटी हो । तपाईंले मृत्युलाई पनि जीवनको एउटा अंशको रूपमा स्वीकार्दै होशपूर्वक मर्नुपर्छ, तर स्वर्गमा जानेछु भन्ने विचार लिएर त्यसलाई निमन्त्रणा गरेर होइन । यदि तपाईं स्वर्गमा पुग्नेछु भनेर सोच्न थाल्नुभयो भने, तपाईं मृत्युप्रति उत्साहित बन्नुहुनेछ; यो राम्रो होइन । उत्साह, जीवनको निम्ति हो । मृत्युको सन्दर्भमा हामीले यसलाई कुनै पनि भावनाबिनै हेर्नुपर्छ ।

यो पुस्तकलाई यसरी तयार गरिएको छ कि यसमा मृत्यु र मृत्युका विभिन्न आयामहरूलाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ । मानिसहरूले पुस्तक पढेर अन्तिम पानामा आइपुगुन्जेल, मृत्युप्रति केही हदसम्म वैराग्य हुनुपर्छ ।

death-book

यो यस्तो प्रकारको पुस्तक हो, जुन तपाईंले ३० दिन लगाएर आधा-अधुरो पढ्नुभयो भने, तपाईंले यो पुस्तकलाई अनुभव गर्न सक्नुहुन्न । सम्भव भएसम्म एक बसाइमै जति सकिन्छ त्यति धेरै पानाहरू पढ्नुभयो भने, यो तपाईंभित्र घुस्छ अनि एउटा ढिक्का बनेर रहन्छ; त्यसपछि तपाईं यसलाई विस्तारै पचाउन सक्नुहुन्छ । यत्तिकै बसरे पढ्नको लागि यति लामो समय तपाईंले पछि कहिले पो पाउनुहोला र ? यो पुस्तक पढ्नको लागि अहिले एकदमै राम्रो समय हो । यतिखेर 'नश्वरता' ले हामीलाई पछ्याइरहेको छ ।

भर्खरै, हामीले मृत्यु सम्बन्धी ब्लगहरू प्रकाशित गरेका थियौँ । यो ब्लगमा ती सबै ब्लगहरू समावेश गरिएका छन्:

'मृत्यु' सम्बन्धी पुस्तक— ती सबैका निम्ति, जो एकदिन मर्नु पर्नेछ !

 

#४ जिम्मेवार भएर सामाजिक सञ्जालहरू प्रयोग गर्नुहोस्

अहिले लकडाउनको समयमा हामीले सामाजिक सञ्जालहरूलाई एक-अर्कालाई दोषारोपण र विरोध गर्न मात्र नभई अझ बढी जिम्मेवार ढङ्गले प्रयोग गर्न सिक्न सक्छौँ । यति त तपाईंले अवश्य गर्न सक्नुहुन्छ, किनभने भाइरसले नै हामीलाई मारिरहेको अवस्थामा तपाईंले जतिबेला पनि अरूमाथि छुरा प्रहार गर्नु उचित होइन । यो अवधिभरि, शारीरिक रूपमा नजिक नभइकन अन्य जे-जति माध्यमले हामी अरूसँग सम्पर्कमा रहन सक्छौँ, त्यसलाई आफ्नो प्रेम, करुणा, सौहार्दता अनि आफ्नो मानवता व्यक्त गर्नको लागि प्रयोग गरौँ । सिङ्गो राष्ट्रको स्तरमा हेर्दा, धेरै मानिसहरू चिकित्सा प्रणाली, सरकार र प्रशासनमा त्रुटिहरू मात्र पत्ता लगाउन व्यस्त हुन्छन् । हो, यी सबै चीजहरू महत्त्वपूर्ण छन्, तर अहिले त्यसो गर्ने समय होइन । अहिलेको समयमा जे-जति भइरहेको छ, हामी सबैले त्यसको स्वागत र सम्मान गर्नुपर्छ ।

 

# ५ घरमा बस्दा पनि दुरी कायम राख्नुहोस्

अहिलेको समयमा हामी सबैजना जिम्मेवार भई व्यवहार गर्नुपर्छ साथै व्यक्ति-व्यक्ति बीचको दूरी कायम राख्नुपर्छ । यसको अर्थ बाहिरी संसारसँग सामाजिक दूरी राख्ने, तर आफ्नो कोठा वा घरमा चाहिँ भोजभतेर गर्ने भन्ने पक्कै होइन । हामी अर्को मानिसबाट शारीरिक रूपमा टाढा रहनुपर्छ । विशेषगरी, हाम्रो समाजमा, घर-परिवारमा जो व्यक्तिहरू यसप्रति बढी संवेदनशील हुनुहुन्छ— हाम्रा आमाबुबा, हजुरबा-हजुरआमा— हामीले यसमा विशेष ध्यान दिनुपर्छ कि जो-कोही उहाँहरू रहनुभएको ठाउँबाट ६ फिट टाढै रहनुपर्छ । यदि तपाईंले यसो गर्नुभयो भने, हामीले न्यूनतम क्षति व्यहोरेर अहिलेको परिस्थितिलाई पार गर्नेछौँ ।

 

# ६ तपाईंको रोग-प्रतिरोधात्मक क्षमता बढाउनुहोस्

अहिले, हामीले रोगसँग लड्ने क्षमतालाई जसरी भएपनि बलियो पार्न जरूरी छ । किनभने, यो भाइरस प्राण-घातक बनेर तपाईंमा गम्भीर क्षति पुऱ्याउनेछ वा हल्का लक्षण देखाएर जानेछ भन्ने कुरा तपाईंको प्रतिरक्षा प्रणाली कति बलियो छ भन्ने कुरामा निहीत हुन्छ । प्रतिरक्षा क्षमता बलियो पार्नको लागि तपाईं यी तरिकाहरू अपनाउन सक्नुहुन्छ ।

रोगसँग लड्ने (प्रतिरक्षा) क्षमता बढाउने ८ तरिकाहरू

 

#७ यत्तिकै रहन सिक्नुहोस्

अब, हामी यो कुरामा स्पष्ट हुनुपर्छ कि हामी मनुष्य हौँ वा केवल प्राणी ? यदि हामी मनुष्य हौँ भने, यहाँ कसरी रहने भनेर हामीले जान्नुपर्छ । यदि हामीले यत्तिकै कसरी रहने भनेर जान्यौँ भने, यो भाइरसलाई दोश्रो व्यक्तिमा सर्न नदिनको लागि साधारण नियमहरू पालना गर्न धेरै सहज हुन्छ । यदि तपाईंले यहाँ यत्तिकै कसरी रहने जान्नुभयो भने, जमघट र भेटघाट जस्ता क्रियाकलापहरू हाम्रो लागि विकल्प बन्नेछन् । अर्थात्, यो आवश्यक नभएको बेला तपाईं यहाँ यत्तिकै रहन सक्नुहुन्छ । आफूले केही नगरिकनै विश्वको लागि महत्त्वपूर्ण योगदान गरेको कुराले तपाईं अत्यन्तै सन्तुष्ट बन्न सक्नुहुन्छ ।

योगको आठवटा अङ्गहरूमध्ये एउटा अङ्ग प्रत्याहार हो, अर्थात् आफ्ना इन्द्रियहरूलाई बाहिरी संसारमा संलग्न नगराएर आफूभित्र फर्काउनु । यो प्रयोग गर्नका लागि अहिले राम्रो समय हो । यसमा तपाईंलाई कुनै प्रशिक्षण चाहिँदैन । आँखा बन्द गरेर यत्तिकै बस्नुहोस् । जति घण्टासम्म सक्नुहुन्छ, बाहिरी संसारसँग संलग्न नरहनुहोस् । सुरु गर्दाखेरि तपाईंको मन जताततै जान सक्छ । ठीकै छ, यसलाई नियन्त्रण गर्ने कोसिस नगर्नुहोस्; यो जहाँजहाँ जान्छ, जान दिनुहोस् । तपाईं आफ्ना आँखा बन्द राखिरहनु होस्, केही पनि नहेर्नुहोस् । सुरुमा एक घण्टा बस्नुहोस् अनि यसलाई बढाउँदै लगेर दिनमा ६ देखि १२ घण्टासम्म यत्तिकै बस्नुहोस् ।  उच्चतम सम्भावनासम्म पुग्नको लागि तपाईंसँग आवश्यक ऊर्जाहरू अनुभव गर्नुहुनेछ ।

 

#८ प्रत्येक दिन आफूलाई थोरै-थोरै सुधार्नुहोस्

अर्को केही हप्तासम्म आफ्नो शरीरको लागि स-साना लक्ष्यहरू तय गर्नुहोस् । जब तपाईं १८ वर्षको हुनुहुन्थ्यो, तपाईं निहुरिँदा कति तलसम्म जान सक्नुहुन्थ्यो ? त्यतिखेर, सायद तपाईंका हत्केलाहरूले भुईंलाई छुन्थे, तर आज, सायद घुँडासम्म मात्र पुग्छन् होला । अहिलेको भन्दा ६ इन्च बढी तल कसरी जान सकिन्छ भनेर प्रयास गर्नुहोस् ।

तपाईं १८ वर्षको हुँदा कति चाँडो भऱ्याङ चढ्नुहुन्थ्यो, तर आज तपाईं सकिनसकि घिस्रिँदै भऱ्याङ चढ्नु परेको छ । अर्को दुई हप्तामा १०-२० प्रतिशतले मात्र भएपनि यसलाई सुधार्न सकिन्छ कि भनेर हेर्नुहोस् ।

आफू १८ वर्ष वा सोभन्दा कम उमेर हुँदाको तस्विर छ भने हेर्नुहोस्, तपाईं कति सिधा बस्न सक्नुहुन्थ्यो, अनि यदि अहिले तपाईं कुप्रो परेर बस्नुहुन्छ भने, आफ्नो ढाडलाई अलिकति भएपनि सिधा राखेर बस्नुहोस् ।

अझ पछाडि जानुहोस्— तपाईं ६, ८ वा १० वर्षको हुँदा तपाईंको अनुहारमा जुन प्रकारको मुस्कान हुन्थ्यो, अहिले कम्तीमा पनि त्यसको पचास प्रतिशत फिर्ता ल्याउन सकिन्छ कि भनेर हेर्नुहोस् । यत्तिकै जबर्जस्ती बनावटी रूपमा हाँसेर होइन, बरु त्यो बाल्यकालको उल्लास ल्याउनुहोस् ।

यदि तपाईं कुनै अद्‌भुत काम गर्न सक्नुहुन्न भने, कम्तीमा पनि तपाईं यस धरतीमा प्रसन्न एवं सुखी जीवन भएर रहनैपर्छ । तपाईंले आफ्नो निम्ति अनि आफू वरपर रहनेहरूका लागि यति त गर्नैपर्छ । यसको लागि तपाईंले आफ्नै लक्ष्यहरू तय गर्न सक्नुहुन्छ । यो गाह्रो छैन, यसतर्फ अलिकति ध्यान दिनुपर्ने भएको छ ।

 

#९ तपाईंको समुदायमा रहेका कम्तीमा दुई विपन्न व्यक्तिहरूलाई सहयोग गर्नुहोस्

अहिले लकडाउनको बेलामा मुख्य चिन्ता भनेको सबैभन्दा गरिब व्यक्तिहरूको हो, जो दैनिक ज्यालादारी गरेर छाक टार्नुहुन्छ । कम्तीमा पनि हामीले यो हिस्साको जनसङ्ख्यालाई भोकमरीतर्फ जान दिनुहुँदैन ।

यद्यपि, केही मानिसहरू गरिबीको चपेटामा पर्नुभएको हुन सक्छ । यस्तो अवस्थामा, उहाँहरूलाई सहयोग गर्नका लागि समुदायले मात्र महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । म सबैसँग आग्रह गर्दछु: हामी सबैले यो प्रतिज्ञा गर्नैपर्छ कि हामी कसैलाई पनि भोकमरीको कारणले पीडा र मृत्युको शिकार हुनदिने छैनौँ । यदि हामीले कोही त्यस दिशातर्फ धकेलिएको देख्यौँ भने, हामीले आफ्नै क्षमताले वा त्यसमा अरू कसैको ध्यानाकर्षण गराएर कसरी उहाँहरूलाई सहयोग गर्न सकिन्छ भनेर हेर्नुपर्छ । म सबै स्वयंसेवकहरूसँग यो अनुरोध गर्छु कि यदि त्यस्तो परिस्थिति आयो भने, कम्तीमा दुई जना व्यक्तिको ख्याल राख्नुहोस् । जसैजसै हप्ताहरू बित्दै जान्छन्, केहीले वास्तवमै दुःख-कष्ट भोग्ने अवस्था आउन सक्दछ । हामीले उहाँहरूको ख्याल राख्न जरूरी छ ।

 

#१० आनन्दित रहनुहोस्, उदास होइन

कोरोना-भाइरसले तपाईंको जीवन कति नाजुक र क्षीण छ भन्ने कुरा एकदमै प्रष्ट पारेको छ । जाबो भाइरसले नै हाम्रो जीवन समाप्त गर्न सक्छ, साथै हामीले बनाएका सबैथोक डामाडोल पार्न सक्छ । बाहिर नै पर्याप्त समस्याहरू छन्, हामी आफ्नो जीवनलाई पनि कष्टपूर्ण नबनाऔँ । हामी समस्याको स्रोत नबनौँ । आनन्दित र उल्लासमय रहनु अनि आफ्नो वरपर रहेकाहरूका निम्ति सहयोग गर्नु नै अहिले सबैभन्दा महत्त्पूर्ण कुरा हो ।

जीवनमा कसरी खुसी हुने ?

 

Editor’s Note: Watch Sadhguru every day at 6 PM, from now until 14 April, in a series of talks aptly called, “With Sadhguru in Challenging Times.”