'नमस्कार' वा 'नमस्ते' को अर्थ के हो ?

नमस्कार गर्नु हाम्रो संस्कृति मात्रै होइन, यसको पछाडि पूरै विज्ञान रहेको छ । जब तपाईं आफ्ना दुवै हत्केलाहरू जोड्नु हुन्छ, त्यसबाट एउटा विशेष उर्जा निस्किन्छ । मानव-प्रणालीको गहिरो बुझाइबाट यो प्रक्रियाको जन्म भएको कुरा उल्लेख गर्दै, सद्‌गुरु, 'नमस्कार' को विज्ञान र महत्त्वको बारेमा बताउँदै हुनुहुन्छ ।
namaskar
 

सद्‌गुरुः दुवै हातका हत्केलाहरू जोडी शिर झुकाएर नमस्कार गर्ने तरिका हाम्रो संस्कृतिको अहम हिस्सा रहेको छ। यस किसिमको प्रक्रिया निश्चय पनि मानव प्रणालीको गहिरो बुझाइबाट अभिव्यक्त भएको हो ।

नमस्कार किन गरिन्छ ?

जब तपाईं कसैलाई देख्नुहुन्छ— चाहे बाटोमा होस्, कार्यालयमा, घरमा वा जतासुकै— मानव बुद्धिको प्रकृति यस्तो हुन्छ कि केही देख्नेबित्तिकै यसले धारणा बनाइहाल्छ । “यो व्यक्तिमा यो कुरा ठिक छ, त्यो व्यक्तिमा त्यो कुरा ठिक छैन, ऊ असल छ, ऊ खराब छ, ऊ सुन्दर छ, ऊ कुरूप छ ।” यस्ता अनेकौँ प्रकारका धारणाहरू बनाउनु हुन्छ । तपाईंले सचेत भई सोच्न समेत पर्दैन । क्षणभरमै मूल्याङ्कन गरिन्छ, धारणा बनाइन्छ । र, तपाईंका धारणाहरू पूर्णतया गलत हुन सक्छन्, किनकि ती सबै जीवनको विगतको अनुभवबाट आएका हुन्छन् । ती अनुभवहरूले तपाईंलाई आफ्नो अगाडि जे छ वा जो छन्, तिनलाई वास्तविक रूपमा अनुभव गर्न दिँदैनन्, जुन निकै महत्त्वपूर्ण छ । यदि तपाईं कुनै पनि क्षेत्रमा प्रभावकारी ढङ्गले काम गर्न चाहनुहुन्छ भने, सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, जब कोही तपाईंको सामुन्ने आउँछन्, उनीहरू त्यस क्षणमा जस्तो छन्, सोहीअनुरूप उनीहरूलाई बुझ्न सक्नुपर्छ । उनीहरू हिजो कस्ता थिए भन्ने कुराले कुनै अर्थ राख्दैन । उनीहरू यस क्षणमा कस्ता छन् भन्ने कुरा निकै महत्त्वपूर्ण हुन्छ । तसर्थ, पहिलो काम तपाईं आफ्नो शिर निहुराउनु होस् । एकपटक जब तपाईं झुक्नुहुन्छ, तपाईंका रुचि र अरुचिहरू मत्थर हुँदै जान्छन्, ती शक्तिशाली रहँदैनन् । शिर निहुराउनुको कारण के हो भने, तपाईं आफ्नो अगाडि रहेको व्यक्तिभित्र पनि सृष्टिको स्रोत उपस्थित छन् भन्ने कुरा पहिचान गर्नुहुन्छ । नमस्कार गर्नु पछाडिको आशय यही हो ।

सृष्टिकर्ताको उपस्थिति

सृष्टिको कुनै पनि अंश यस्तो छैन, जसमा सृष्टिकर्ता क्रियाशील भएको नहोऊन् । प्रत्येक कोषिका र परमाणुभित्र सृष्टिको स्रोत क्रियाशील छन् । त्यसैकारण, यस संस्कृतिमा हामीलाई यो सिकाइएको थियो कि जब तपाईं माथि आकाशतर्फ हेर्नुहुन्छ, तपाईं शिर निहुराउनु होस्; जब तल धर्तीमा हेर्नुहुन्छ, तब शिर निहुराउनु होस् । तपाईंले कुनै पुरुष, स्त्री, बच्चा, काग, रूख वा जेसुकै चीज देख्नुभए तापनि, झुकेर नमन गर्नुहोस् । यो प्रकियाले निरन्तर यो स्मरण गराउँछ कि तपाईंभित्र पनि सृष्टिको स्रोत उपस्थित छन् । यदि तपाईंले यो पहिचान गर्नुभयो भने, हरेक पटक नमस्कार गर्दा तपाईं आफ्नो परम प्रकृतिको दिशातर्फ एउटा पाइला चाल्नुहुन्छ ।

यसको अर्को पक्ष पनि छ । तपाईंका हत्केलाहरूमा थुप्रै बिन्दुहरू हुन्छन्, जसले चिसो, तातो, दुखाइ जस्ता संवेदनाहरू तपाईंको दिमागमा पुऱ्याउँछन्— यो कुरालाई अहिले चिकित्सा विज्ञानले समेत स्वीकार गरेको छ । वास्तवमा, तपाईंको जिब्रो र आवाजको तुलनामा तपाईंका हत्केलाहरूले बढी कुरा भन्छन् । योगमा, विभिन्न मुद्राहरूको बारेमा समग्र विज्ञान रहेको छ । तपाईंले आफ्ना हातहरूलाई एक निश्चित मुद्रामा राख्नुभयो भने, तपाईंले आफ्नो पूरै प्रणालीलाई फरक तरिकाले काम गर्नको लागि तयार गर्न सक्नुहुन्छ । तपाईंले आफ्ना हत्केलाहरू जोड्नेबित्तिकै— तपाईंका रुचि र अरुचिहरू, तपाईंका आसक्ति र विरक्तिहरू— सबै द्वैतहरू समान वा बराबार हुन्छन् । तपाईं जो हो, त्यसमा एकत्वको भाव जागृत हुन्छ । सबै उर्जाहरू एक भएर काम गर्छन् ।

जब तपाईं झुकेर नमस्कार गर्नुहुन्छ, तपाईंका रुचि र अरुचिहरू मत्थर हुँदै जान्छन्, ती शक्तिशाली रहँदैनन् । शिर निहुराउनुको कारण के हो भने, तपाईं आफ्नो अगाडि रहेको व्यक्तिभित्र पनि सृष्टिको स्रोत उपस्थित छन् भन्ने कुरा पहिचान गर्नुहुन्छ । नमस्कार गर्नु पछाडिको आशय यही हो ।

स्वयंलाई अर्पण गर्न प्रक्रिया

त्यसैले, नमस्कार सांस्कृतिक पक्ष मात्रै होइन । यसमा पूरै विज्ञान रहेको छ । यदि तपाईं साधना गरिरहनु भएको छ भने, जबजब तपाईं हत्केलाहरू जोड्नुहुन्छ, त्यहाँ उर्जाको प्रस्फुटन हुन्छ । तपाईंको जीवन-उर्जाको स्तरमा हेर्ने हो भने, तपाईं केही दिइरहनु भएको हुन्छ, वा भनौँ तपाईं अर्को व्यक्ति समक्ष आफूलाई अर्पण गरिरहनु भएको हुन्छ । यस प्रक्रियामा तपाईं अर्को व्यक्तिलाई यस्तो जीवन बनाउनुहुन्छ, जसले तपाईंलाई सहायता गर्नेछन् । यदि तपाईं अर्पणको अवस्थामा हुनुहुन्छ भनेमात्र, तपाईंको वरपरका परिस्थितिहरूले तपाईंको निम्ति काम गर्नेछन् । प्रत्येक जीवनको सन्दर्भमा यही लागू हुन्छ । यदि यो जीवनले आफ्नो वरपरको जीवनको साथ र सहयोग पायो भनेमात्र, यो जीवन समृद्ध बन्नेछ ।

Editor’s Note: