स्वयंसेवाको सारः इच्छुक भई जीवन बाँच्नु

स्वयंसेवा बारे बताउने क्रममा सद्‌गुरु हामीलाई बुझाउँदै हुनुहुन्छ कि यदि हामी इच्छुक भई बाँच्यौ भने, जीवनको हरेक पक्षमा स्वयंसेवक हुन सक्दछौँ । यही इच्छुकताले जीवनलाई आनन्द र तृप्तिले भर्दछ ।
 स्वयंसेवाको सारः इच्छुक भई जीवन बाँच्नु
 

प्रश्नः सद्‌गुरु, तपाईं प्रायः यो कुरामा विशेष जोड दिनुहुन्छ कि हामीले त्यही गर्नुपर्छ, जसको आवश्यकता छ । स्वयंसेवाको सन्दर्भमा यसको अर्थ के हो ?

सद्‌गुरुः कुनै पनि स्थानमा, जब यस्ता मानिसहरू हुन्छन्, जसले अरूको खुसियालीलाई आफ्नोभन्दा माथि राख्दछन्, तब उनीहरूको सेरोफेरोको परिस्थिति स्वतः एकदमै सशक्त एवं सुन्दर बन्दछ । यदि यो संसार त्यस्ता मानिसहरूले भरिएको भए, यो एउटा सुन्दर स्थान हुने थियो । मानिलिनु होस्, यदि कसैको नाक पुछिदिनु छ भने, त्यसलाई ठूलो सेवा वा त्यागको रूपमा नलिई त्यही गर्नु जे आवश्यक छ । यदि नाक पुछिदिन जरूरी छ भने, उनीहरूको निम्ति गरिएको ठूलो सेवा नसम्झिएर त्यही गर्नु जे आवश्यक छ— यो अत्यन्तै महत्त्वपूर्ण छ । यदि तपाईंले नाकको बढी सेवा गर्नु खोज्नुभयो भने, नाक झर्नेछ ! केही मानिसहरू यस्तै कामहरू गरिरहेका हुन्छन् । यदि नाक बगिरहेको छ भने, त्यसलाई पुछिदिनुहोस्— यसलाई कुनै ठूलो विषय नबनाउनु होस् । यदि यो संसार त्यस्ता मानिसहरूले भरिएको भए, निश्चय नै यो संसार हरेक किसिमले उपयुक्त र सानदार स्थान हुने थियो ।

स्वयंसेवकले कुनैपनि काम त्यस ठाउँमा बन्दी भएकोले गरिरहेकौ हुँदैन । ऊ इच्छुक र तत्पर छ, त्यसैले त्यो काम गरिरहेको हुन्छ । ऊ यो सोच्दैन, ″मेरो इच्छा के हो ?″ उसको निम्ति के गर्न आवश्यक छ भन्ने कुराले मात्रै महत्त्व राख्दछ । यस्तो अवस्थामा तपाईं मुक्त हुनुहुनेछ । तपाईंमाथि कर्मको बोझ निकै कम हुन्छ ।

तपाईं आफ्नो जीवनमा पूर्ण रूपमा स्वयंसेवक बन्नुपर्छ । तपाईंले चाहे केही गर्नुहोस् वा केही पनि नगर्नुहोस्, तपाईंको अस्तित्व इच्छापूर्वक हुनुपर्दछ, अनिच्छाले वा विवश भएर होइन । हामीले संसारैभरि यस्ता मानिसहरू तयार गर्न आवश्यक छ ।


प्रश्नः जब मानिसहरू सेवाको बारेमा आफ्नो अनुभव सुनाउँछन्, तीमध्ये अधिकांशको भनाइ यो हुन्छ कि सेवाले उनीहरूलाई भरपूर आनन्द र तृप्ति प्रदान गर्दछ । कृपया यसलाई हाम्रो निम्ति अझ स्पष्ट गर्न सक्नुहुन्छ ?

सद्‌गुरुः संसारमा कसैको निम्ति उपयोगी नबनिकन पनि म आनन्दित रहन सक्दछु । तर, अधिकांश मानिसहरू यसरी रहन सक्दैनन् । उनीहरूमा केही न केही गर्नुपर्ने आवश्यकता हुन्छ, अन्यथा उनीहरू कतै हराए जस्तो वा जीवन व्यर्थ भए जस्तो महसुस गर्छन् । यदि मानिसहरूमा केही पाउने आशामा नभई आफूलाई अभिव्यक्त गर्नको निम्ति काम गर्ने सम्भावना नहुने हो भने, उनीहरू प्रसन्न र आनन्दित रहिरहन सक्दैनन् । अतः आध्यात्मिक प्रक्रियाको एउटा अंशको रूपमा हामीले तपाईंहरूलाई केही गर्ने अवसर प्रदान गरिरहेका छौँ, जहाँ त्यो काम तपाईंसँग सम्बन्धित हुँदैन— तपाईं त्यहि गर्नुहुन्छ, जे जरूरी छ । तपाईं आनन्दित हुनुहुन्छ, त्यसैले केही गर्नुहुन्छ । खुसी खोज्ने प्रयत्नमा वा स्वर्गको टिकट किन्ने मनसायले काम गरिएको होइन । त्यही गर्नुहोस्, जे आवश्यक छ— त्यसबाट के परिणाम निस्कन्छ भन्ने कुराको चिन्ता नगर्नुहोस् । यसले आध्यात्मिक प्रक्रियाको मार्गलाई अनेक रूपमा सिधा र सहज बनाउँछ ।

मैले यस्ता कैयौँ मानिसहरूलाई देखेको छु, जो भाव स्पन्दन जस्तो कार्यक्रममा सहभागीको रूपमा आउँदा आफूलाई पूरै समर्पित गर्न सकेका हुँदैनन् । तर, पछि स्वयंसेवकको रूपमा आउँदा, जब आफूलाई सही अर्थमा समर्पित गर्दछन्, उनीहरूको अनुभवको उडान निकै माथि पुग्छ । कार्यक्रममा उनीहरूले खासै केही अनुभव गर्न नपाए तापनि, उनीहरू सेवा गर्न आउँदा उनीहरूको अनुभव पूर्ण रूपमा बदलिएको हुन्छ ।

तसर्थ, हामी निरन्तर यो कुरामा ध्यान दिइरहेका छौँ कि मानिसहरूभित्र हुने आध्यात्मिक आयामलाई क्रियाकलापमार्फत उजागर गर्ने सम्भावनाहरू सृजना गर्न सकियोस्, ताकि अरू मानिसहरू समेत यो वास्तविकताको आनन्द लिन सकून् ।

Editor’s Note: Interested in becoming a volunteer from your home, in your city, or at one of Isha’s centers? Find out more about volunteering.

A version of this article was originally published in Isha Forest Flower December 2007.