योगको शुरुवात कसरी भयो ?

सद्‌गुरु, आदियोगी अर्थात् पहिलो योगीको बारेमा बताउँदै हुनुहुन्छ, जसले मानवतालाई योगसँग परिचय गराएका थिए । ′पहिलो योगी′ एवं ′पहिलो गुरुको′ जन्मको बारेमा बताउँदै, उहाँ हामीलाई योगको शुरुवातको बारेमा व्याख्या गर्दै हुनुहुन्छ ।
योगको शुरुवात कसरी भयो ?
 

सद्‌गुरु: योग-विद्याअनुसार, १५,००० वर्षभन्दा पनि पहिले, हिमालयको माथिल्लो भूभागमा एक योगी प्रकट भए । कसैलाई पनि ती योगी कताबाट आएका हुन् अनि उनका पूर्वजहरू को हुन् भन्नेबारे केही थाहा थिएन । उनी यत्तिकै बसिरहन्थे; पूर्णतया स्थिर भएर बसिरहन्थे । महिनौँसम्म उनमा जीवनको सूचक नै हुँदनथ्यो; यहाँ सम्म कि उनी श्वास फेरिरहेका छन् वा छैनन् भनेर देख्न समेत सकिँदैनथ्यो । बेला मौकामा उनको आँखाबाट बगेका परम–आनन्दको आँशुले नै उनमा अझै जीवन छ भन्ने कुरा सूचित गर्थ्यो । परम-आनन्दको अवस्थामा रहँदा, उनी पूरै उन्मादमा नाच्थे । जब त्यो पराकाष्ठामा पुगेर चाल स्थिर हुन्थ्यो, उनी पूर्णतः निश्चल (स्थिर) रहन्थे ।

मानिसहरूले जुन चमत्कारको अपेक्षा गरिरहेका थिए, त्यस्तो केही पनि भएन— उनीहरू यो बुझ्न सकिरहेका थिएनन् कि कोही व्यक्ति यत्तिकै स्थिर बसिरहन सक्नु आफैँमा एउटा चमत्कार हो !

विशाल मात्रामा मानिसहरूको हुल जम्मा हुन थाल्यो, किनकि उनको उपस्थिति निकै असाधारण थियो । उनीहरू कुनै चमत्कारको प्रतीक्षामा त्यहाँ झुम्मिरहे, तर ती योगीलाई उनीहरूप्रति कुनै चासो थिएन । मानिसहरूले जुन चमत्कारको अपेक्षा गरिरहेका थिए, त्यस्तो केही पनि भएन— उनीहरू यो बुझ्न सकिरहेका थिएनन् कि कोही व्यक्ति यत्तिकै स्थिर बसिरहन सक्नु आफैँमा एउटा चमत्कार हो ! यता ती योगी भने आफू वरपरका मानिसहरूको उपस्थितिबारे पूरै बेखबर थिए । आफ्नो सेरोफेरोमा भइरहेका गतिविधिहरूलाई पूरै बेवास्ता गर्दै उनी कि त ताण्डव नृत्य गरिरहेका हुन्थे वा पूर्णतः स्थिर बसिरहन्थे । मानिसहरू केही समय पर्खिए अनि चाँडै दिक्क मानेर फर्किए...

केवल सातजना पर्खिरहे ।

सातजना शिष्यहरू

यी सातजना हठी थिए । उनीहरू त्यहीँ पर्खिरहे । जब यी सातजनामाथि ती योगीको नजर पऱ्यो, उनीहरूले अनुनय-विनय गरे, "तपाईंले जे अनुभव गरिरहनु भएको छ, त्यसलाई हामी पनि जान्न चाहन्छौँ ।" आदियोगीले उनीहरूलाई उपेक्षा गर्दै भने, "यो मनोरञ्जन खोजिरहने मानिसहरूका निम्ति होइन । यसको लागि निकै ठूलो मात्रामा तयारी आवश्यक हुन्छ । यो ख्याल-ठट्टाको विषय होइन ।" तर, उनीहरू त्यहीँ बसिरहे । उनीहरूको दृढता देखेर योगीले भने, "ल ठीक छ ! म तयारीको लागि केही साधनाहरू दिन्छु । केही समयसम्म गर्नू । त्यसपछि, हेरौँला ।" अतः उनीहरूले तयारी शुरु गरे । दिन, हप्ता, महिना, वर्ष गर्दै समय बितिरह्यो— उनीहरूले तयारी गरिरहे । तर, योगीले उनीहरूप्रति कुनै चासो राखेनन् ।

८४ वर्षको लामो साधनापश्चात, ग्रीष्म सङ्क्रान्ति सकिएर शरद सङ्क्रान्ति शुरु भएपछि अर्थात् सूर्य उत्तरायण बाट दक्षिणायन मा प्रवेश गरेपछिको पहिलो पूर्णिमाको दिन ती योगीले सातैजनालाई ध्यानपूर्वक हेरे— यी सबैजना साधनाले निखारिएर तेजस्वी पात्र बनेका थिए । अब भने उनले आफ्ना शिष्यहरूलाई उपेक्षा गरिरहन सकेनन् । अन्ततः उनीहरूले योगीको ध्यान आफूतर्फ आकर्षित गरे । कसैलाई पनि ती योगीको नाम थाहा नभएकोले उनलाई आदियोगी भनियो— आदियोगी अर्थात् पहिलो योगी ।

'गुरु' को जन्म

आदियोगीले आफूलाई आदिगुरुमा रुपान्तरित गरे । त्यसदिन पहिलो गुरुको जन्म भयो; सोही दिनलाई हामीले गुरु पूर्णिमाको दिनको रूपमा लिन थालेका हौँ ।

आदियोगीले अर्को २८ दिनसम्म उनीहरूलाई नजिकबाट नियाले । अनि, पूर्णिमामा उनी दक्षिणतर्फ फर्किएर ती शिष्यहरूको गुरुको रूपमा त्यहाँ बसे । यस प्रकारले आदियोगीले आफूलाई आदिगुरुमा रुपान्तरित गरे । त्यसदिन पहिलो गुरुको जन्म भयो; सोही दिनलाई हामीले गुरु पूर्णिमाको दिनको रूपमा लिन थालेका हौँ । केदारनाथबाट केही माथि रहेको कान्ति सरोवर तालको तटमा, मानवजातिमाथि आफ्नो कृपा बर्साउनको निम्ति उनी दक्षिणतर्फ फर्किएर बसे— अनि, आदियोगीले यी सातजनालाई योग–विज्ञान सञ्चार गर्न शुरु गरे ।

योग विज्ञान, आफ्नो शरीरलाई मोड्ने वा बङ्ग्याउने अभ्यास होइन— जुन प्रत्येक नवजात शिशुले जान्दछ । साथै, यो कसरी श्वास रोक्ने भनेर सिकाइने अभ्यास होइन— जुन जन्मिन बाँकी प्रत्येक शिशुले जानेको हुन्छ । योग, पूरै मानव प्रणालीले कसरी काम गर्दछ भनेर जान्ने र बुझ्ने विज्ञान हो ।

सप्तऋषिहरू आदियोगीको अङ्ग बने अनि आफूसँग त्यो विज्ञान र तकनिकी बोकेर गए— यस्तो विज्ञान र तकनिकी, जसबाट मनुष्य हालका आफ्ना सीमितता र बाध्यात्मक प्रवृत्तिहरूबाट माथि उठ्न सक्दछ, जसले मनुष्यलाई यहाँ स्वयं सृष्टिकर्ता जसरी रहने सामर्थ्य प्रदान गर्दछ ।

योग परम्परामा गुरु पूर्णिमा महत्त्वपूर्ण दिन हो, किनकि यसदिन पहिलो पटक मनुष्य कसरी सचेत भई आफ्नो परम प्रकृतिमा प्रस्फुरित हुन सक्छ भन्ने विज्ञानलाई सातजना शिष्यहरूमाझ सञ्चारित गरिएको थियो । थुप्रै वर्षहरूपछि, जब योग विज्ञानको सञ्चार पूरा भयो, सातैजना पूर्ण रूपमा प्रबुद्ध भए । यी सातजना तपस्वीहरूलाई यस संस्कृतिमा सप्तऋषि भनेर चिनिन्छ, पुजिन्छ र श्रद्धा गरिन्छ । आदियोगीले योगका विभिन्न आयामहरूलाई यी सातैजनामाझ बाँडे, अनि अन्ततः यिनै आयामहरू योगका सातवटा मूल आयामहरू बने । आजसम्म पनि योगमा यी सातवटा पृथक रूपहरू रहिरहेका छन् ।

योग विज्ञानको सञ्चार

त्यस विज्ञानलाई अरू मानिसहरूसम्म पुऱ्याउनको लागि, आदियोगीले सप्तऋषिहरूलाई विश्वका सातवटा भिन्न-भिन्न भूभागहरूमा पठाए । सप्तऋषिहरू आदियोगीको अङ्ग बने अनि आफूसँग त्यो विज्ञान र तकनिकी बोकेर गए— यस्तो विज्ञान र तकनिकी, जसबाट मनुष्य हालका आफ्ना सीमितता र बाध्यात्मक प्रवृत्तिहरूबाट माथि उठ्न सक्दछ, जसले मनुष्यलाई यहाँ स्वयं सृष्टिकर्ता जसरी रहने सामर्थ्य प्रदान गर्दछ ।

एकजनालाई उनले मध्य एशिया पठाए । अर्कालाई उतर अफ्रिकी क्षेत्रतर्फ पठाए, अर्कालाई दक्षिण अमेरिका पठाए अनि अर्कालाई सूदुर पूर्वी एशिया पठाए । एकजना त्यहीँ आदियोगीसँगै बसे । एकजना हिमालयको तल्लो भूभागमा गए । अर्कालाई उनले दक्षिण भारत पठाए । उनी अगस्त्यमुनि हुन्, जसलाई दक्षिणी आध्यात्मिकताको पिताको रूपमा चिनिन्छ । कुनै शिक्षा, दर्शन वा धर्मको रूपमा नभई आध्यत्मिक प्रक्रियालाई जो-कसैका लागि पनि जीवनयापनको सहज प्रक्रिया बनाउने उद्देश्यले अगस्त्यमुनिले घर–घरमा आध्यात्मिक प्रक्रिया पुऱ्याएका थिए । यी सप्तऋषिहरूले योगको सातवटा फरक–फरक आयामको प्रचार गरे । समयसँगै थुप्रै चिजहरू नष्ट भएका छन् । तर, यदि ती क्षेत्रका संस्कृतिहरूलाई ध्यानपूर्वक हेर्ने हो भने, हामीले उनीहरूका योगदानलाई आजसम्म पनि जीवित देख्न सक्छौँ । यसले विविध रूपहरू लिएको छ, यसको स्वरूपमा अनेकौँ परिवर्तनहरू भएका छन्, तथापि ती कामहरूको प्रभाव अझैसम्म देख्न सकिन्छ ।

शरीरमा रहेर पनि कहिल्यै शरीर नहुने तरिका छ । आफ्नो मनलाई सम्भव भएसम्मकै सर्वोच्च रूपमा प्रयोग गर्न सकिन्छ, अनि तबपनि मनका पीडाहरूबाट अछुतो रहन सकिन्छ ।

आदियोगीले मानवताको निम्ति यो सम्भावना प्रदान गरेका थिए कि मनुष्य प्रकृतिद्वारा निर्धारित सीमाभित्रै रहिरहन जरूरी छैन । सांसारिकतामा भइरहँदा समेत यसबाट अछुतो रहने तरिका छ । शरीरमा रहेर पनि कहिल्यै शरीर नहुने तरिका छ । आफ्नो मनलाई सम्भव भएसम्मकै सर्वोच्च रूपमा प्रयोग गर्न सकिन्छ, अनि तबपनि मनका पीडाहरूबाट अछुतो रहन सकिन्छ । यतिखेर, तपाईं अस्तित्वको जस्तोसुकै आयाममा हुनुभए तापनि, त्यसबाट माथि उठ्न सक्नुहुन्छ— अर्थात्, जीवनलाई अर्को तरिकाले बाँच्न सकिन्छ । आदियोगीले भनेका थिए, "हामीले आफूमाथि आवश्यक काम गर्ने हो भने, हामी अहिलेका सीमाहरूबाट माथि उठ्न सक्छौँ ।" आदियोगी हाम्रा निम्ति महत्त्वपूर्ण हुनुको कारण यही हो ।

Editor’s Note: Isha Hatha Yoga programs are an extensive exploration of classical hatha yoga, which revive various dimensions of this ancient science that are largely absent in the world today. These programs offer an unparalleled opportunity to explore Upa-yoga, Angamardana, Surya Kriya, Surya Shakti, Yogasanas and Bhuta Shuddhi, among other potent yogic practices.