उत्तरायण— कृपा र ज्ञान प्राप्तिको समय

उत्तरायणको समयलाई परम्परादेखि नै शुभ मानिएको छ । सद्‌गुरु, उत्तरायणको महत्त्वको बारेमा बताउँदै हुनुहुन्छ ।
The Significance of Uttarayan
 

सद्‌गुरुः हाम्रो संस्कृतिमा अनि संसारमा लगभग हरेक संस्कृतिमा (मिश्र, युनान, ग्रिक), वर्षमा हुने यी चार घटनाहरू— अयनान्त – सम्पात – अयनान्त – सम्पात— मा आधारित हुन्छन् । योग परम्परामा यो निकै महत्त्वपूर्ण पक्ष हो । अहिले हामी उत्तरायणको सँघारमा छौँ, जब पृथ्वीको स्थिति अनुसार सूर्यको गति दक्षिणबाट उत्तरतर्फ जान्छ— अर्थात् दक्षिणायन बाट उत्तरायण  मा । वास्तवमा हेर्ने हो भने, सूर्य कहीँ गएको हुँदैन । ब्रह्माण्डीय व्यवस्थाको सन्दर्भमा के भइरहेको हुन्छ भने, २२ डिसेम्बरमा हुने अयनान्तमा सूर्य मकर रेखामा हुन्छ । त्यसदिनदेखि यदि तपाईंले सूर्योदयलाई हेर्नुभयो अनि सूर्यको गतिलाई नियाल्नु भयो भने, यो देख्नुहुनेछ कि बिस्तारै-बिस्तारै त्यो उत्तरतर्फ गइरहको हुनेछ ।

मनुष्य अछुतो रहन सक्दैन

मनुष्य पृथ्वीमा हुने कुनै पनि घटनाबाट अछुतो रहन सक्दैन । म यो कुरा पर्यावरणको दृष्टिले मात्रै भनिरहेको छैन । किनकि, तपाईं जसलाई 'म' भन्नुहुन्छ, त्यो वास्तवमा यही धरतीको अंश मात्र हो, जुन धरतीभन्दा कैयौँ बढी संवेदनशील र अत्यधिक ग्रहणशील छ ।

आध्यात्मिक रूपमा जाग्रत व्यक्तिहरूले यो सङ्क्रान्तिलाई मानव चेतनामा प्रस्फुरित हुने सम्भावनाको रूपमा पहिचान गरेका छन् । विशेषगरी यसको पहिलो आधा भाग—सम्पातसम्म— यस्तो समय हो, जब बढीभन्दा बढी कृपा उपलब्ध हुन्छ ।

यस्तो अवस्थामा यस ग्रहमा जे-जति हुन्छन्, मानव प्रणालीमा त्यसको हजार गुणा बढी प्रभाव पर्दछ । यसलाई अनुभव र प्रयोग गर्नका लागि तपाईंभित्र अलिकति संवेदनशीलता र ग्रहणशीलता हुन जरूरी छ । कैयौँ मानिसहरू नजानेरै यसको प्रयोग गरिरहेका हुन्छन्, उनीहरूलाई यो थाहै हुँदैन कि उनीहरू के गरिरहेका छन् । नजानीकनै, मानिसहरू कुनै दिन एक किसिमको व्यवहार गर्छन् । हरेक व्यक्ति, जति नै ठूलो किन नहोस्, चाहे प्रसिद्ध खेलाडी होस्, कलाकार होस्, संगीतकार होस्, नेता होस् वा बुद्धिजीवि, कुनैदिन केही अज्ञात कारणले एकदमै राम्रोसँग प्रस्तुत हुन्छन् । अनि, त्यही व्यक्ति कुनै अज्ञात कारणले अर्को दिन त्यही रूपमा प्रस्तुत हुँदैनन् । यसको कारण तपाईं मात्र होइन । वास्तवमा, यो ग्रह र यसको पूरै प्रणालीको परिक्रमाले तपाईंलाई प्रभावित गर्दछ ।

उत्तरायण— बुद्धत्व प्राप्त गर्ने समय

आध्यात्मिक रूपमा जाग्रत व्यक्तिहरूले यो सङ्क्रान्तिलाई मानव चेतनामा प्रस्फुरित हुने सम्भावनाको रूपमा पहिचान गरेका छन् । विशेषगरी यसको पहिलो आधा भाग—सम्पातसम्म— यस्तो समय हो, जब बढीभन्दा बढी कृपा उपलब्ध हुन्छ । अरू समयको तुलनामा, यो समयमा मानव प्रणाली कृपा पाउनको लागि बढी ग्रहणशील हुन्छ । इतिहासले हामीलाई प्रस्ट रूपमा बताएको छ कि उत्तरी गोलार्धमा सूर्यको यो पक्षमा अधिकांश मानिसहरूले आत्मज्ञान वा बुद्धत्व प्राप्त गरेका छन् ।

उत्तरायण बुद्धत्व प्राप्त गर्ने समय हो । यो ग्रहणशील हुने, कृपा पाउने, परमलाई प्राप्त गर्ने समय हो ।

सर्वाधिक प्रसिद्ध कथाहरू मध्ये एउटा कथा भीष्मको हो, जसले कैयौँ हप्ताहरूसम्म बाणहरूको शैय्यामा मृत्युको प्रतीक्षा गर्नुभएको थियो । एकदमै गम्भीर रूपमा घाइते हुँदा पनि उहाँले उत्तरायणसम्म आफ्नो प्राण थामेर राख्नुभएको थियो, किनकि आफ्नो शरीर छोड्ने समयमा उहाँ प्रकृतिको यो सङ्क्रान्ति कालको लाभ लिन चाहनुहुन्थ्यो । गौतम बुद्धले पनि उत्तरायण पछिको तेस्रो पूर्णिमामा बुद्धत्व प्राप्त गर्नुभएको थियो । र, दक्षिण भारतमा यस्ता थुप्रै ऋषि, साधु, सिद्ध र योगीहरूका अनेकन उदाहरणहरू छन्, जसले यही समयमा आफ्नो शरीर त्यागेका थिए ।

 

सूर्यको गति दक्षिणतर्फ हुँदा, अनाहत चक्रको तल्लो भागमा सहजै शुद्धिकरण गर्न सकिन्छ । सूर्यको गति उत्तरतर्फ हुँदा, अनाहत चक्रको माथिल्लो भागमा निकै सजिलोसँग काम गर्न सकिन्छ । त्यसैकारण, साधनाको सन्दर्भमा हेर्ने हो भने, दक्षिणायन शुद्धिकरणको समय हो, जबकि उत्तरायण बुद्धत्व प्राप्त गर्ने समय हो । यो ग्रहणशील हुने, कृपा पाउने, बुद्धत्व प्राप्त गर्ने समय हो ।

यदि तपाईंले मानव प्रणालीमा हुने चक्रहरूलाई हेर्नुभयो भने, यिनका दुई फरक आयामहरू हुन्छन् । अनाहतको तल्लो भागमा मणिपूरक, स्वाधिष्ठान र मूलाधार चक्रहरू हुन्छन्, जसले शरीरमा सन्तुलन कायम राख्नुको साथै स्थिरता ल्याउँछन् । यही पृथ्वीको गुण धर्म पनि हो । यिनले तपाईंलाई पृथ्वीतर्फ तान्दछन्, किनकि यही यिनको प्रकृति हो । तपाईं आफ्नो उर्जा जति बढी यसमा केन्द्रित गर्नुहुन्छ, त्यति नै बढी तपाईंको गुण-धर्म पृथ्वीको जस्तै हुँदै जानेछ अनि तपाईं त्यति नै बढी प्रकृतिको अधीनमा रहनुहुनेछ । जबकि, अनाहतभन्दा माथि विशुद्धि, आज्ञा र सहस्रार चक्रहरू हुन्छन्, जसले तपाईंलाई माथितर्फ उठाउँछन् । यदि तपाईंको उर्जा यी केन्द्रहरूमा प्रबल भयो भने, यसले तपाईंलाई पृथ्वीबाट टाढा लैजान्छ । यी तीनवटै केन्द्रहरूले तपाईंलाई एउटा अर्को शक्तिसँग जोड्छन्, जसलाई कृपा भनिन्छ । कृपाले तपाईंलाई सधैँ पृथ्वीबाट माथि उकास्ने कोसिस गर्दछ । तलका तीन चक्रहरू र माथिका तीन केन्द्रहरूको बीचमा अनाहत चक्र हुन्छ । अतः तलका तीन चक्रहरूले तपाईंलाई पृथ्वीतर्फ तान्दछन्, जबकि माथिका तीन चक्रहरूले तपाईंलाई पृथ्वीबाट माथि उठाउँछन् । अनाहत चक्रले यी दुवैबीच सन्तुलन कायम गर्दछ ।

उत्तरायण बाली काट्ने समय पनि हो । यही लाभलाई ध्यानमा राख्दै खेतहरूमा बाली काट्न सुरु गरिन्छ । सङ्क्रान्ति बाली भित्र्याउने पर्व हो । तर, यो अन्न भित्र्याउने समय मात्र नभई, मनुष्यमा हुने क्षमता र सामर्थ्यहरूलाई आर्जन गर्ने समय पनि हो ।

साधनाको सन्दर्भमा हेर्ने हो भने, दक्षिणायन शुद्धिकरणको समय हो, जबकि उत्तरायण बुद्धत्व प्राप्त गर्ने समय हो ।

यदि मानवीय शरीरलाई एक विशेष स्तरसम्म तीव्र र संवेदनशील बनाइने हो भने, त्यो आफैँमा ब्रह्माण्ड बन्दछ । बाहिरी जगत्‌मा ‌ जे-जति हुन्छ, त्यो सूक्ष्म रूपमा शरीरमा प्रकट हुन्छ । यो हरेक व्यक्तिमा भइरहेको हुन्छ, यद्यपि अधिकांश मानिसहरू यसलाई महसुस गर्दैनन् । यदि व्यक्ति आफूबाहिर हुने घटनाहरू र गतिविधिहरूप्रति चेतन हुने हो, साथै आफूभित्र भइरहेका गतिविधिहरूलाई त्यसको तालमेलमा ल्याउने हो भने, यो मानवीय प्रणालीलाई विशेष प्रयोजनको निम्ति अझ बढी व्यवस्थित ढङ्गले सुगठित गर्न सकिन्छ । यदि तपाईं हाड-मासुको यो शरीरलाई ब्रह्माण्डीय शरीरको प्रकृतिलाई आत्मसात गर्ने बनाउन चाहनुहुन्छ भने, दक्षिणायण र उत्तरायणको गतिविधिहरू बुझ्नु अनि तीसँग लयमा रहनु अत्यन्तै आवश्यक हुन्छ ।

उत्तरायण र दक्षिणायन बीचको भिन्नता

पृथ्वीको उत्तरी गोलार्द्धमा उत्तरायणको समय तृप्ति र पूर्णताको निम्ति हो, जबकि दक्षिणायन ग्रहणशील हुने समय हो । यसलाई यसरी पनि बुझ्न सकिन्छः उत्तरायणको समयलाई पौरुष (पुरुष प्रकृति) मानिन्छ, जबकि दक्षिणायनको समयलाई स्त्रैण (स्त्री प्रकृति) मानिन्छ । जब पृथ्वीको लक्षण पौरुषबाट स्त्रैणमा बदलिन्छ, तब त्यो समय साधकहरूका निम्ति निकै राम्रो मानिन्छ, किनकि यो समयमा हामी साधना पदमा प्रवेश गर्दछौँ । त्यसैले, मनुष्यको प्रणाली र उसका कार्यहरूमा उत्तरायण र दक्षिणायनको विशेष प्रभाव हुन्छ । आध्यात्मिक साधक सोही अनुरूप आफ्नो साधना गर्दछन् । जब सूर्य उत्तरतर्फ हुन्छ, तब साधकहरू एक प्रकारको साधना गर्छन्, अनि जब सूर्य दक्षिणतर्फ हुन्छ, तब अर्को किसिमको साधना गर्छन् ।

उत्तरायणको सुरुवात देखि दक्षिणायनको सुरुवात सम्मको यो समयावधिलाई ज्ञान पद भनिन्छ । अनि, दक्षिणायनको सुरुवातदेखि पुनः उत्तरायणको सुरुवातासम्मको समयावधिलाई साधना पद भनिन्छ ।

 

Editor's Note: