सद्‌गुरु: दक्षिणायन त्यो समय हो, जब सूर्य पृथ्वीको उत्तरी गोलार्धको आकाशमा दक्षिणतर्फ बढ्न थाल्दछ । कुनै पनि किसिमको योग गर्ने हरेक कसैको जीवनमा दक्षिणायनको महत्त्व हुन्छ । सूर्यको उत्तरी चालको समयमा पृथ्वीसँग तपाईंको जुन सम्बन्ध हुन्छ, यो चरणमा त्यो फरक हुन्छ । विशेषगरी, उत्तरी गोलार्धमा रहने मानिसहरूका निम्ति यो एकदमै महत्त्वपूर्ण समय हो, जहाँ सूर्य दक्षिणतर्फ गइरहेको हुन्छ अनि पृथ्वी वामवर्ती दिशामा (घडिको विपरित दिशामा) घुमिरहेको हुन्छ । यी दुवैको मानव शरीरमा एउटा विशेष प्रभाव हुन्छ । हामी जे-जति अभ्यासहरू गर्छौँ, ती सबै यही पक्षलाई मध्यनजर गरी तयार गरिएका हुन् ।

यही समयावधिमा आदियोगी दक्षिणतर्फ फर्किएर दक्षिणमूर्ति बन्नुभयो । उहाँले आफ्ना सातजना शिष्यहरूलाई योग विज्ञानको मूल कुराहरू सञ्चार गर्न सुरु गर्नुभयो । यी सातैजनालाई अहिले सप्तऋषि भनेर चिन्दछौँ र श्रद्धा गर्दछौँ । उहाँले यत्तिकै झोँकमा दक्षिणतर्फ फर्किने निर्णय गर्नुभएको थिएन । उहाँ दक्षिणतर्फ यसकारण फर्किनुभएको हो, किनकि सूर्य दक्षिणतर्फ गइरहेको थियो । सूर्यको दक्षिण चाल महत्त्वपूर्ण बन्न पुग्यो, किनकि यो शिक्षणको पहिलो चरण थियो । यो साधना पद को समय बन्यो, जहाँ उहाँले सप्तऋषिहरूलाई केके गर्नुपर्छ भनेर सिकाउनु भयो । सूर्यको उत्तरी चाल वा उत्तरायण लाई समाधि पद वा कैवल्य पद भनिन्छ । त्यो आत्मज्ञान वा बुद्धत्व प्राप्तिको समय हो ।

 छ महिनाको यो समय साधना पद हो र यो समय अत्यन्तै महत्त्वपूर्ण हुन्छ, किनकि यसबेला तपाईं सही चीजहरू गर्न सक्नुहुन्छ ।

साधना पद सधैँ बढी महत्त्वपूर्ण हुन्छ, किनकि कुनै पनि चीज सम्भव बनाउने प्रक्रियामा सबैभन्दा महत्त्वपूर्ण कुरा यो हुन्छ कि हाम्रो हातमा जे छ, त्यसलाई हामीले सही ढङ्गले गर्नुपर्छ । जे हाम्रो हातमा छैन, त्यसको लागि हामी प्रतीक्षा मात्र गर्न सक्छौँ । साधना यस्तो चीज हो, जुन हाम्रो हातमा हुन्छ— हामी यसमा केही गर्न सक्दछौँ । अर्को आयामको दाँजोमा यो आयाम कम महत्त्वको लाग्न सक्दछ, तर यसले केही फरक पार्दैन किनकि यो हाम्रो हातमा हुन्छ । यो यसकारण महत्त्वपूर्ण छ, किनकि हामी यसलाई साकार बनाउन सक्छौँ ।

कुनै विरुवामा मल-जल गर्नु आवश्यक हुन्छ । यसकै परिणाम स्वरूप फूलहरू फुल्ने छन् । यो हामीले गरेर हुने होइन । यहाँ पनि ठीक त्यस्तै हुन्छ । ६ महिनाको यो समय साधना पद हो र यो समय अत्यन्तै महत्त्वपूर्ण हुन्छ, किनकि यसबेला तपाईं सही चीजहरू गर्न सक्नुहुन्छ । यदि तपाईंले सही चीजहरू गर्नुभयो भने, जब बाली काट्ने समय आउँछ, तब राम्रो किसिमको बाली भित्रिनेछ ।

Editor’s Note: Find out more about Sadhanapada and pre-register for the upcoming batch here.