महाभारत भाग २२: किन द्रौपदीले पाँच पाण्डवसँग विवाह गरिन् ?

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
महाभारत भाग २२: किन द्रौपदीले पाँच पाण्डवसँग विवाह गरिन् ?
 

सम्पूर्ण महाभारत अध्यायहरू

महाभारत

भारतम् महाभारतम्

धर्म, अधर्म, संघर्षणम्

पक्षी, प्राणी, मानव च देव

धर्म अधर्म पाञ्चालिका

ज्ञान प्रभासित दिव्य जीवम्

सर्वे सर्व महाअमृतम्

भारतम्

 

द्रौपदीको विवाहको लागि स्वयंवर

सद्‌गुरु: द्रुपदले आफ्नी छोरी द्रौपदीको लागि स्वयंवर घोषणा गरे, जसमा एउटा प्रतियोगिता राखियो ताकि सर्वश्रेष्ठ योद्धा छानिन सकियोस् । पाँच पाण्डवहरूले यो स्वयंवरको बारेमा सुने । साथै, भारतवर्षका सबै क्षत्रियहरूलाई पनि यसबारे थाहा भयो । उनीहरूले सम्भव भएसम्म सबैजसो योग्य उम्मेदवारहरूलाई आमन्त्रित गरे, ताकि बहादुर र कुशल योद्धा द्रुपदको ज्वाइँ बन्न सकून् । आखिर, यो विवाहको उद्देश्य द्रोण र कुरुवंशसँग बदला लिनु थियो ।

जब स्वयंवरको समय आयो, सबै योद्धाहरू त्यहाँ उपस्थित भए— दुर्योधन, कर्ण र अरू कौरवहरू, साथै पाण्डवहरू पनि जो अझै नक्कली भेषमा थिए । उनीहरू जीवितै छन् भन्ने कुरा कृष्णबाहेक अरू कसैलाई पनि थाहा थिएन, किनकि कृष्णले आफ्ना गुप्तचर मार्फत आगोमा जलेर कुन्ती र पाण्डव भाइहरूको नभई निषाद महिला र उनका पाँच बच्चाहरूको मृत्यु भएको खबर थाहा पाइसकेका थिए । उनलाई पाण्डवहरू कहाँ छन् भन्ने थाहा थिएन, तर उनको मनमा यसबारे कुनै सन्देह थिएन कि प्रतियोगिताको खबर सुन्नेबित्तिकै उनीहरू आफूलाई रोक्न सक्ने छैनन्— उनीहरू प्रतियोगितामा अवश्य सहभागी हुनेछन् ।

सबैजना द्रौपदीको हात चाहन्थे । यसको एउटा कारण भनेको द्रौपदी असाध्यै सुन्दर नारी थिइन्; अर्को कारण यो थियो कि द्रुपद एकदमै शक्तिशाली राजा थिए ।

कृष्णका यादव योद्धाहरू स्वयंवरको स्थानमा चारैतिर फैलिए, ताकि कुनै समस्या परेको खण्डमा हस्तक्षेप गर्न सकियोस् । सबैजना द्रौपदीको हात चाहन्थे । यसको एउटा कारण भनेको द्रौपदी असाध्यै सुन्दर नारी थिइन्; अर्को कारण यो थियो कि द्रुपद एकदमै शक्तिशाली राजा थिए । उनको साम्राज्य निकै विशाल थियो, जसले गर्दा जो–कोही उनीसँग सम्बन्ध बनाउन चाहन्थे ।

प्रतियोगिताको दिन निकै चहलपहल थियो । हरेक उम्मेद्वार त्यहाँ आएर एकएक गरी आफ्नो भाग्यको परिक्षा दिए । तर, तीमध्ये थुप्रैलाई त्यस विशेष धनुषमा कसरी ताँदो (धनुषका दुवै टुप्पामा बाँधेर तान्ने डोरी) बाँधिन्छ भन्नेसमेत थाहा थिएन । जो–जसले जसोतसो ताँदो लगाए, उनीहरूले घुमिरहेको माछाको छायाँ हेरेर वाण सिधा चलाउन सकेनन् ।

दुर्योधन चुपचाप बाहिरिए

दुर्योधन त्यहाँ गएर स्वयं चुनौती जित्न चाहन्थे, तर उनी मौका गुमाउन चाहँदैनथे । त्यसैले, उनले आफ्नो भाइ दुःशासनलाई केवल भाग लिन तर नजित्नको लागि प्रतियोगितामा सहभागी हुन पठाए । दुःशासन अभिमानी र साहसी योद्धा थिए । उनी मञ्चमा गए अनि धनुषमा ताँदो लगाउने कोशिस गरे, तर सकेनन् । आफ्नो भाइले गर्न नसकेको देखेपछि, असफलताको डरबाट पन्छिन दुर्योधनले भाग लिएनन् ।

कर्णको अपमान

अनि, कर्ण अगाडि बढे— प्रतियोगीतामा सहभागी हुने योद्धाहरूको पङ्क्तिमा उनी अन्तिम थिए । उनी छाती फुलाउँदै त्यहाँ पुगे, सजिलै धनुषमा ताँदो लगाए अनि वाण हान्न तयार भए । उनलाई हेरेपछि कर्णले माछाको आँखामा वाण हान्न सक्छन् भन्ने कुरा अर्जुनले बुझिहाले । तर, अर्जुनलाई यो पनि थाहा थियो कि भलै दुर्योधनले कर्णलाई राजा बनाएर आफ्नो समूहको हिस्सा बनाएको भएपनि, कर्णलाई सूतपुत्र (सारथीको छोरा) को रूपमा हेरिन्थ्यो । साथै, कर्ण प्रतियोगितामा आउने कुरा आफ्नो योजना अन्तर्गत नभएको चाल पाएका कृष्णले यस भयङ्कर योद्धामा प्रतियोगिता जित्ने योग्यता भएको महसुस गरेका थिए ।

जब कर्ण नजिक आए, द्रौपदीले आफ्नो भाइसँग कर्णले पनि सुन्न सक्ने गरी जोडसँग भनिन्, “म सूतसँग विवाह गर्न चाहँदिनँ ।”

हरेक पटक नयाँ योद्धा आउँदा द्रौपदीले कृष्णतर्फ हेर्थिन् । उक्त वर आफ्नो लागि उपयुक्त हो वा होइन भनेर जान्न उनी कृष्णको सङ्केत पर्खिन्थिन् । त्यतिबेलासम्म, कृष्ण मुस्कुराउँदै पुरै तमाशाको आनन्द लिइरहेका थिए । उनले कृष्णको मुस्कानबाटै त्यो वर उपयुक्त होइन भनेर जान्थिन् । यसैपनि, थुप्रै योद्धाहरूले धनुषमा ताँदो समेत लगाउन सकेका थिएनन्, माछाको आँखामा निशाना लगाउनु त टाढाको कुरा थियो । तर, उनीहरूले प्रतियोगिता हारेपनि, द्रौपदीले चाहेको खण्डमा उनीहरूमध्ये एकजनलई रोज्न सक्थिन् ।

जब कर्ण आए, कृष्णले आँखा बन्द गरे अनि द्रौपदीलाई भने, “मलाई तिम्रो लागि डर लागिरहेको छ, किनकि यो मेरो योजनामा थिएन । उनी यसमा सफल हुनेछन् ।” द्रौपदी त्यहाँ आफ्नो हातमा वरमाला लिएर उभिएकी थिइन् अनि उनको भाइ धृष्टद्युम्न छेउमै उभिएका थिए । जब कर्ण नजिक आए, उनले आफ्नो भाइसँग कर्णले पनि सुन्न सक्ने गरी जोडसँग भनिन्, “म सूतसँग विवाह गर्न चाहँदिनँ ।” उनले "सूतपुत्र" पनि नभनी "सूत" मात्र भनिन् ।

धृष्टद्युम्नले घोषणा गरे, “मेरी बहिनी सूतसँग विवाह गर्न चाहँदिनन् । त्यसैले, प्रयास गर्ने कष्ट नगर्दा हुन्छ ।” पूरै सभाको अगाडि लज्जित हुँदै कर्णले आफ्नो शिर झुकाए, तर द्रौपदीलाई प्रतिशोधपूर्ण नजरले हेर्दै भने, “जब मेरो समय आउनेछ, म तिमीलाई छोड्ने छैन ।” उनी अपमानले जल्दै त्यहाँबाट गए ।

त्यसपछि, ब्राम्हण युवकको भेष धारण गरेका अर्जुन अगाडि आए अनि भने, "कुनै पनि क्षत्रियले यो प्रतियोगिता जित्न नसकेको हुँदा, के म कोशिस गर्न सक्छु ?" धृष्टद्युम्न दुबिधामा परे । उनले ब्राम्हणलाई प्रतियोगीतामा भाग लिने अनुमति दिनुहुन्छ वा दिनुहुँदैन भनेर निर्णय लिन सकिरहेका थिएनन् । उनले कृष्णतर्फ हेरे । कृष्णले केही चीज खसाले अनि त्यसलाई उठाउन तल झुके, जसको अर्थ हुन्छ भन्ने थियो । धृष्टद्युम्नले भने, "हुन्छ, यदि तपाईं भाग लिन चाहनुहुन्छ भने, ठीक छ । तर, सबै योद्धाहरू असफल भइसके । तपाईंले कसरी गर्न सक्नुहोला र ?"

अर्जुनको जित

हरेक योद्धालाई माछाको आँखामा वाण हान्न पाँचचोटि मौका दिइएको थियो । अर्जुनले पाँचैचोटि यति छिटो वाण प्रहार गरे कि माछाको आँखामा लगातार वाण लागेर माछा भुँइमा खस्यो ।

ब्राम्हण युवक अगाडी आए । उनले धनुषलाई तीन पटक प्रदक्षिणा (परिक्रमा) गरे, शाष्टाङ्ग दण्डवत् गरे, मानौँ त्यहि उनको भाग्यको चरम परिणति भएजस्तै । त्यसपछि, उनले धनुष उठाए, सजिलैसँग त्यसमा ताँदो लगाए अनि छाँयामा हेरेर वाण प्रहार गरे । हरेक योद्धालाई माछाको आँखामा वाण हान्न पाँचचोटि मौका दिइएको थियो । उनले पाँचैचोटि यति छिटो वाण प्रहार गरे कि माछाको आँखामा लगातार वाण लागेर माछा भुँइमा खस्यो ।

प्रतियोगिता हेर्न आएका अन्य ब्राम्हणहरू र गैर–क्षेत्रिय जातिका मानिसहरूबाट जोडले ताली वर्षियो । क्षत्रियहरू चाहिँ रिसले आगो हुँदै रन्किए, “यो उचित होइन । राजकुमारीले कसरी ब्राम्हणसँग विवाह गर्न मिल्छ ? अब, ब्राम्हणले प्रतियोगिता जितेको हुनाले आर्य धर्मअनुसार हामीले ब्राम्हणलाई मार्न मिल्दैन । तर, धृष्टद्युम्नले उसलाई भाग लिन दिएको हुनाले धृष्टद्युम्नलाई मारौँ ।” उनीहरू सबैले आ-आफ्नो तरबार निकाले ।

तरुन्तै, भीम, नकुल, सहदेव र अर्जुन उभिएर लड्नका लागि तयार भए । भीमले एउटा रूख उखेले अनि धृष्टद्युम्नतर्फ गइरहेको व्यक्तिलाई त्यही रूखले कडा प्रहार गरे । अर्जुनले धनुष उठाए अनि उनको वरपर विध्वंस मच्चाइदिए । अनि, यादवहरू उनीहरूलाई साथ दिन वरिपरिबाट घेरे । उनीहरू सबैजना मिलेर परिस्थितिलाई आफ्नो हातमा लिन सफल भए ।

आमा कुन्तीको आदेश

द्रौपदीले अर्जुनलाई माला लगाइदिइन् । अर्जुन र उनका चार भाइहरूले द्रौपदीलाई आमा समक्ष लिएर गए । कुन्ती खाना पकाउँदै थिइन् । उनीहरूले ब्राम्हणको भेषमा भिक्षा मागेर फर्किएपछि, हरेक चोटि आफूले ल्याएको कुरा आमाको चरणमा राखिदिन्थे । त्यसलाई बाँड्ने जिम्मा उनको हुन्थ्यो । उनले सदैव दुई भाग लगाउँथिन्— एउटा भीमको लागि, अर्को बाँकी चार भाइहरूका लागि ।

उनीहरू भित्र प्रवेश गरे अनि भने, “आमा, हेर्नुहोस् आज हामीले के लिएर आएका छौँ ।” उनीहरूतर्फ नहेरिकनै उनले भनिन्, “जेसुकै ल्याएको भएपनि एकआपसमा बाँड ।” आत्तिँदै उनीहरूले भने, “आमा, उनी राजकुमारी हुन् ।” कुन्ती फर्किन् अनि द्रौपदीलाई हेरिन्, जो उनले अहिलेसम्म देखेका मध्ये सबैभन्दा सुन्दर र आकर्षक नारी थिइन् । तब उनले भनिन्, “केही फरक पर्दैन । मैले बाँड भनिसकेँ । त्यही गर ।“

उनीहरू जिल्ल परे; द्रौपदी स्तब्ध भइन् । एक बहादुर योद्धाले प्रतियोगितामा आफूलाई जितेकोमा उनी खुसी थिइन्, तर यहाँ आमाले एकआपसमा बाँड्नु भन्ने कुरा चाहिँ सोचेअनुरूप थिएन । भाइहरूलाई अब के गर्ने भनेर थाहा थिएन । उनीहरू द्रुपदको दरबारमा फर्किए । कृष्ण र व्यास पनि त्यहीँ उपस्थित थिए ।

पाँच पतिहरू

"पाँचजना पुरूषहरूले एउटी नारीसँग कसरी विवाह गर्न मिल्छ ?" भन्ने विषयमा विवाद उत्पन्न भयो । पाण्डव भाइहरूले द्रुपदसँग भने, “हाम्री आमाले जे चाहनुहुन्छ, त्यो जेसुकै भएपनि हामीले पूरा गर्नैपर्ने हुन्छ । अर्जुन एक्लैले उनीसँग विवाह गर्न सक्दैनन् । कि त हामी पाँचैजनाले उनीसँग विवाह गर्नुपर्छ, अन्यथा तपाईं आफ्नी छोरीलाई फिर्ता लैजान सक्नुहुन्छ ।”

सबैले सल्लाहको लागि कृष्णलाई आग्रह गरे, तर उनी भने जानीजानी चुपचाप बसेर, ठूलो मुस्कान सहित माथि छततिर हेरिरहेका थिए ।

स्वयंवर भइसकेपछि आफ्नी छोरीलाई फिर्ता गरिदिनु द्रुपदको लागि पूर्ण रूपमा अपमानजनक हुनेथियो । तैपनि, उनलाई अब के गर्ने भनेर थाहा भएन । सबैले सल्लाहको लागि कृष्णलाई आग्रह गरे, तर उनी भने जानीजानी चुपचाप बसेर, ठूलो मुस्कान सहित माथि छततिर हेरिरहेका थिए ।

द्रौपदी व्यासको चरणमा पुगिन् र भनिन्, “तपाईं ज्ञानी पुरुष हुनुहुन्छ । तपाईं नै भन्नुहोस् कि उनीहरू कसरी मलाई यस्तो परिस्थितीमा फसाउन सक्छन, जहाँ म पाँचजना पुरूषसँग विवाह गरूँ ? यो धर्म होइन, म यो गर्दिनँ ।” व्यासले भने, “तिमीसामु तिनवटा विकल्पहरू छन् । तिमी अहिले केवल अर्जुनसँग विवाह गर्न सक्छ्यौ, उनले तिमीलाई कतै टाढा लैजाने छन्, उनी तिमीसँग प्रेममा मग्न हुनेछन्, तर केही समयपछि उनलाई तिम्रो लागि आफ्ना भाइहरू र आमालाई छाडेकोमा ग्लानि हुनेछ । ग्लानि विस्तारै तिक्तता बन्नेछ अनि केही समयपछि घृणामा बदलिनेछ ।

उनले थपे, “अधिकांश दम्पतिहरू यसरी नै बाँचिरहेका छन् ।” शुरुवातमा, त्यो विशाल प्रेम सम्बन्ध हुन्छ । तर, यदि आमा, दाजुभाइहरू र आफ्नो वंशबाट अलग हुनको लागि कसैले जिद्दी गर्दछ भने, त्यो प्रेम सम्बन्ध समय बित्दै जाँदा द्वेष र आक्रोश बन्दछ । विशेषगरी, अर्जुनको सन्दर्भमा यो पूर्णतया सत्य साबित हुनेथियो ।

तिमी यी पाँच भाइहरूसँग विवाह गर्न सक्छ्यौ । यदि यी भाइहरू सँगै रहे भने, उनीहरूले आफ्नो नियति आफैँ रच्नेछन् अनि संसारमा राज गर्नेछन् । अनि, तिमी एउटी साझा पत्नीको रूपमा उनीहरूलाई एकजुट राख्न सकेकोमा गर्व गर्ने सक्नेछ्यौ ।

“तिमीसँग यिनै विकल्पहरू छन्— तिमी आफ्नो पतिसँग छोटो समयको लागि प्रेम सम्बन्धको आनन्द लिन सक्छ्यौ, तर केही समयपछि उनलाई आफ्ना भाइहरू र आमासँग छुट्टिनु परेकोमा ग्लानि हुनेछ अनि त्यसको लागि तिमीलाई जिम्मेवार ठहऱ्याउने छन् । वा, तिमी यो विवाहलाई अस्वीकार गरेर आफ्ना बुबा समक्ष जान सक्छ्यौ । तर त्यसपछि, कुनै पनि महान् योद्धा तिमीसँग विवाह गर्नको लागि आउने छैनन्, किनकि तब तिमी कुनै प्रतियोगितामा जितिएकी पुरस्कार रहनेछैनौ । तिमी जिन्दगीभर अविवाहित रहेर आफ्नो बुबाको घरमा रहन सक्छौ, जुन तिम्रा भाइहरूले केही समयपछि रुचाउने छैनन् ।

अथवा, तिमी यी पाँच भाइहरूसँग विवाह गर्न सक्छ्यौ । यदि यी भाइहरू सँगै रहे भने, उनीहरूले आफ्नो नियति आफैँ रच्नेछन् अनि संसारमा राज गर्नेछन् । अनि, तिमी एउटी साझा पत्नीको रूपमा उनीहरूलाई एकजुट राख्न सकेकोमा गर्व गर्ने सक्नेछ्यौ । तिमीसामु यिनै तीन विकल्पहरू छन् । जुन उपयुक्त लाग्छ, त्यही रोज ।“

यी विकल्पहरूबाट अत्तालिएर द्रौपदी बेहोश भइन् । अरू मानिसहरूले उनलाई होशमा ल्याए । त्यसैबेला, महर्षि व्यास अघि बढे अनि द्रौपदीलाई पूर्वजन्ममा उनी नल र दमयन्तीकी छोरी भएको देखाए । नल विदर्भका राजा थिए, साथै किंवदन्ती अनुसार संसारको उत्कृष्ट भान्छे थिए । नल र दमयन्तीको प्रेम सम्बन्ध प्रसिद्ध छ ।

द्रौपदीलाई याद भयो अघिल्लो जन्मको घटना

जब द्रौपदीले आफ्नो पुर्वजन्मको झल्को पाइन्, उनलाई थाहा भयो कि यो उनकै कर्म थियो ।

त्यस जन्ममा द्रौपदी जवान हुँदा उनले शिवसँग प्रार्थना गरेकी थिइन् । उनको तपस्या देखेर शिव प्रकट भए । शिवमा अलिकति मादकता थियो अनि उदार मनोभावमा थिए । द्रौपदीले भनिन्, “हे महादेव ! म न्यायप्रिय पति चाहन्छु । म शक्तिशाली पति चाहन्छु । म साहसी पति चाहन्छु । म बुद्धिमानी पति चाहन्छु । म एकदमै सुन्दर पति चाहन्छु ।” शिवले भने, “हुन्छ, हुन्छ, हुन्छ, हुन्छ, हुन्छ”— पाँच पटक ! जब द्रौपदीले आफ्नो पुर्वजन्मको झल्को पाइन्, उनलाई थाहा भयो कि यो उनकै कर्म थियो । खासमा, उनले यी सबै गुणहरू भएको एकजना पति चाहेकी थिइन्, तर उनले अन्जानमै पाँच पतिहरू मागेकी थिइन् । र, शिवले उनको इच्छा पूरा गरिदिएका थिए । अत: उनले पाँच पाण्डवसँग विवाह गरिन् ।

तब, त्यस परिस्थितिमा कृष्णले हस्तक्षेप गरे अनि द्रौपदी र पाँच पतिहरूबिच वैवाहिक सम्झौता गर्न सुझाव दिए । उनले द्रौपदीलाई भने, “प्रत्येक भाइसँग एक वर्षको लागि बस । यदि त्यो एक वर्षमा अर्को भाइ तिम्रो सुत्ने कोठमा अनजानमै प्रवेश गऱ्यो भनेपनि, उसले एक वर्षको लागि जङ्गल जानु पर्नेछ ।“

उनीहरूलाई यो व्यवस्थाभन्दा बाहिर अन्य पत्नीहरू राख्न छुट थियो, तर ती पत्नीहरूलाई दरबारमा ल्याउने अनुमति थिएन । द्रौपदी पाँच पाण्डवहरूलाई एकजुट बनाएर राख्ने शक्ति बनिन् । यो कुराले उनीहरूलाई आफ्नो नियति पूरा गर्न समर्थ बनायो— त्यस देशमा राज्य गर्ने । अर्को कुरा, द्रुपदसँग सम्बन्ध जोडिएको हुँदा उनीहरू अझ शक्तिशाली बने । अनि, उनीहरू हस्तिनापुर फर्किए ।

क्रमशः

 

सम्पूर्ण महाभारत अध्यायहरू