श्री कृष्णले कस्तो किसिमको साधना गर्दथे ?

श्री कृष्णले कस्तो किसिमको साधना गर्दथे अनि उनी कसरी त्यति चमत्कारिक बन्न सके भन्ने प्रश्नलाई सम्बोधन गर्दै, सद्‌गुरु, कृष्णको मूलभूत साधना अनि जीवनप्रति रहेको सङ्गति (लय) को बारेमा बताउँदै हुनुहुन्छ ।
জন্মাষ্ঠমীর বিশেষ নিবেদন: কৃষ্ণের সাধনা কী ছিল?
 

कृष्ण: गुरु दक्षिणा र साधना

कृष्णको ब्रह्मचर्य र उनको लीला

कृष्ण: गुरु दक्षिणा— समुद्री डाँकुहरूको खोज

कृष्ण: गुरु दक्षिणा— जब समुद्री डाँकुहरू कृष्णबाट मोहित भए

कृष्ण: गुरु दक्षिणा— नाग कन्याहरूको भूमिमा कृष्ण र पुनर्दत्तको मिलन


प्रश्नः नमस्कार सद्‌गुरु । के कृष्णले बुद्धत्त्व (आत्मज्ञान) पाउनुअघि कुनै किसिमको साधना गरेका थिए ? कुन कुराले उनलाई जीवनमा त्यस अवस्थासम्म पुऱ्यायो ?


कृष्ण आनन्द र प्रेमको भावमा मग्न रहन्थे

सद्‌गुरूः कृष्णको साधनाको कुरा गर्नुपर्दा— एउटा मानिसको लागि प्रत्येक दिन उसले बिहान आँखा खोलेदेखि राती ननिदाउन्जेल प्रसन्न र प्रेमपूर्ण भावमा रहिरहनु आफैँमा विशाल साधना हो । मानिसहरू अरू कसैसँग भएको बेलामा त मुस्कुराउँछन् । तर, यदि तपाईंले उनीहरूलाई एक्लै हुँदाको अवस्थामा हेर्नुभयो भने, उनीहरूको अनुहार यति मलिन र उदास हुन्छ कि त्यसले उनीहरूको बारेमा सबैथोक बताउँछ । थुप्रै मानिसहरू एक्लै हुँदा एकदमै अस्तव्यस्त अवस्थामा हुन्छन् । यदि तपाईं एक्लै हुनुहुन्छ अनि तबपनि दु:खी हुनुहुन्छ भने, अवश्य पनि तपाईं गलत सङ्गतमा हुनुहुन्छ ! यदि तपाईं आफैँमा ठीक रहनुभएको भए, एक्लै हुनु उत्तम लाग्ने थियो ।

जीवनको हरेक क्षण आनन्दित र प्रेमले भरिएको अवस्थामा रहनु आफैँमा निकै ठूलो साधना हो ।

मानिसहरूसँग घुलमिल हुनु भनेको प्राय: उत्सव वा पर्व जस्तै हुन्छ । तर, तपाईं एक्लै रहँदा मात्र स्वयंमा स्थित हुन सक्नुहुन्छ । यदि तपाईंले आफूलाई सुन्दर अस्तित्व बनाउनुभयो भने, यहाँ यत्तिकै बस्दामात्रै पनि अद्‌भूत महसुस हुनेछ । जीवनको हरेक क्षण आनन्दित र प्रेमले भरिएको अवस्थामा रहनु आफैँमा निकै ठूलो साधना हो । कुनै विशेष परिस्थितिमा वा कोही विशेष व्यक्तिलाई भेट्दाखेरी मात्र नभई तपाईंको जीवनको प्रत्येक पलमा प्रेममय बन्न सक्नुभयो, यदि तपाईं कुनै पनि चिजलाई भेदभाव नगरिकन यत्तिकै प्रेमको भावमा रहन सक्नुभयो भने, तपाईंभित्रको बुद्धिमत्ता वा प्रज्ञा पूर्णत: छुट्टै रूपमा प्रस्फुरित हुनेछ । जब तपाईं व्यक्ति वा चिज रोज्न थाल्नुहुन्छ, तपाईंको बुद्धिमत्ता पङ्गु बन्दछ । प्रेममय हुनु अरू कसैको निम्ति होइन— यो तपाईं स्वयंको लागि असाध्यै सुन्दर कुरा हो । यो त तपाईंको प्रणालीमा हुने सुखद अनुभव हो, अर्थात् तपाईंका भावनाहरू, मन र शरीर स्वत: प्रसन्न बनेका हुन्छन् । र, आज यो कुरालाई प्रमाणित गर्नको लागि पर्याप्त वैज्ञानिक आधारहरू छन् कि जब तपाईंको प्रणाली सखद अवस्थामा रहन्छ, तबमात्र तपाईंको बुद्धिमत्ताले सर्वश्रेष्ठ रूपमा काम गर्दछ ।

सबैभन्दा उत्तम तालमेल

यदि तपाईं आरामपूर्ण अवस्थामा बस्नुभएको छ भने, तपाईंको मुटु प्रति मिनेट ६० पटक धड्किन्छ अनि त्यसबेला तपाईं पृथ्वीसँग तालमेलमा रहनुहुन्छ । काम गरिरहेको बेला यो तल–माथि जान सक्छ । तर, यदि आराम गरिरहँदा त्यो ६० भन्दा माथि छ भने, तपाईं अलिकति हराएको जस्तो महसुस गर्नुहुन्छ । यदि तपाईंमा कुनै रोग वा सङ्क्रमण छ भने, तपाईंको मुटु ८५–९० पटक धड्किन्छ । अधिकांश मानिसहरूको सन्दर्भमा, स्वस्थ र तन्दुरुस्त रहँदा मुटुको चाल ६५–७५ को बिचमा हुन्छ । यदि तपाईंले केही सरल योग अभ्यास गर्नुभयो, मानौँ कि सूर्य नमस्कार र शाम्भवी महामुद्रा जस्ता क्रियाको अभ्यास गर्नुभयो भने, डेढ वर्षको अभ्यासपछि निश्चय पनि तपाईंको मुटुको चाल ६० हुनेछ । तपाईं सङ्गति वा तालमेलमा रहनुहुन्छ । जब तपाईं लयमा रहनुहुन्छ, त्यसपछि प्रेममय हुनु, आनन्दित हुनु, वा कुनै फूलझैँ फक्रिनु जस्ता कुराहरू स्वत: हुनेछन्— किनकि, तपाईंको रचना सोहीअनुरूप भएको छ । मनुष्य उदास बन्न वा बिरामी हुनको लागि बनेको हुँदैन । मनुष्य परम–प्रकृतिमा प्रस्फृरित हुनको लागि रचिएको हुन्छ ।

यदि तपाईं लयमा हुनुहुन्छ भने, तपाईं प्रसन्न महसुस गर्नुहुन्छ; यदि तपाईं लयमा हुनुहुन्न भने, तपाईं अप्रसन्न महसुस गर्नुहुन्छ— अर्को व्यक्तिले केही गर्नैपर्दैन !

कृष्णको साधना यही थियो— उनी आफ्नो वरपरको जीवनहरूसँग पूर्ण रूपमा तालमेलमा थिए । बाल्यकालमा उनले जस्तोसुकै क्रिडा गरेको किन नहोस्, उनी सदैव पूर्ण तालमेलमा रहेका थिए । उनले मानिसहरूको घरबाट मख्खन चोर्दा अनि अनेक प्रकारको ख्यालठट्टाले उनीहरूलाई दिक्क बनाउँदा पनि उनीहरूले कृष्णलाई औधी माया गर्थे । यसको कारण के हो भने, उनले अरूहरूलाई पनि आफूसँगको तालमेलमा स्थापित गरेका थिए । जब तपाईं कसैसँग तालमेल वा सङ्गतिमा भएको महसुस गर्नुहुन्छ, तबमात्र तपाईंलाई त्यस व्यक्तिको उपस्थिति प्रिय लाग्दछ । जब त्यहाँ लय हुँदैन, उसलाई हेर्दा मात्र पनि तपाईं अप्रिय महसुस गर्नुहुन्छ । तपाईंभित्र प्रिय र अप्रिय अनुभव दुवै उत्पन्न हुन सक्छन् । यदि तपाईं लयमा हुनुहुन्छ भने, तपाईं प्रसन्न महसुस गर्नुहुन्छ; यदि तपाईं लयमा हुनुहुन्न भने, तपाईं अप्रसन्न महसुस गर्नुहुन्छ— अर्को व्यक्तिले केही गर्नैपर्दैन !

गुरु सन्दीपनीले स्मरण गराए कृष्णलाई उनको लक्ष्य

१६ वर्षको उमेरसम्म कृष्णको साधना भनेको आफ्नो वरपरको जीवनहरूसँग तालमेलमा रहनु थियो । पछि, उनका गुरु सन्दीपनी आए अनि उनलाई स्मरण गराए कि उनको जीवन केवल ख्याल–ठट्टाको लागि मात्र होइन, उनको जीवनको विशाल उद्देश्य रहेको छ । यो कुराले कृष्णभित्र अन्तर्द्वन्द्व चल्यो । उनी आफू हुर्किएको र जीवन बिताएको गाउँलाई प्रेम गर्थे, अनि अरू सबैजनाले उनलाई प्रेम गर्थे । उनी आफ्नो सेरोफेरोका पुरुष, महिला, पशुपंक्षी अनि केटाकेटी सबैसँग पूरै संलग्न रहन्थे । कृष्णले सन्दीपनीलाई भने, "मलाई कुनै ठूलो उद्देश्य चाहिँदैन । मलाई यही गाउँमा बस्न मन पर्छ । मलाई गाईहरू मन पर्छ, गोपालाहरू (गोठाला) र गोपीहरू मन पर्छन् । म उनीहरूसँग नाँच्न, गाउन चाहन्छु ।" तर सन्दीपनीले भने, "तिमीले जीवनमा यही लक्ष्य रोज्नुपर्छ, किनकि यही उद्देश्यको लागि तिम्रो जन्म भएको हो । यो हुनु एकदमै जरूरी छ ।"

जब अरू मानिसहरूले कृष्णलाई हेरे, सदाझैँ उनले मुस्कुराउँदै उनीहरूलाई हेरे । तर, यतिखेर कृष्णको आँखामा प्रेमको भाव थिएन— उनको आँखामा दूरदर्शिता थियो ।

कृष्ण गोवर्धन पर्वतमाथि गएर उभिए । जब उनी तल ओर्लिए, उनी पहिलेकै केटा रहेनन् । उनी पर्वतमाथि जाँदा गाउँको चञ्चले केटाको रूपमा गएका थिए, तर फर्किँदा उनमा गुरुत्वले भरिएको आकर्षण थियो । मानिसहरू उनलाई हेरेर चकित परे । उनीहरूले केही अभूतपूर्व कुरा भएको छ भन्ने महसुस गरे । तर, जतिसुकै अभूतपूर्व घटना भएपनि, कृष्ण अब त्यहाँ रहँदैनन् भन्ने कुरा उनीहरूले चाल पाए । जब अरू मानिसहरूले कृष्णलाई हेरे, सदाझैँ उनले मुस्कुराउँदै उनीहरूलाई हेरे । तर, यतिखेर कृष्णको आँखामा प्रेमको भाव थिएन— उनको आँखामा दूरदर्शिता थियो । कृष्ण यस्ता कुराहरू देख्न सकिरहेका थिए, जुन उनीहरूको कल्पनाभन्दा निकै पर थियो ।

सन्दीपनीले स्मरण गराएपछि, कृष्णको पहिलो पराक्रम आफ्ना मामा कंशलाई मारेर यादवहरूमाथि उनको निरंकुश शासन अन्त्य गर्नु थियो । त्यसपश्चात, उनी आफ्ना दाई बलराम र काकाको छोरा उद्धवसँग गुरु सन्दीपनीको आश्रममा गए । त्यहाँ, ६ वर्षसम्म ब्रह्मचारीको रूपमा जीवन बिताए । २२ वर्षको उमेरसम्म उनले प्रखर आध्यात्मिक साधना गरे । उनले शस्त्र–अस्त्रहरूको तालिम पनि लिए अनि कुस्तीको महान् योद्धा बने ।

कृष्णको साधना— फरक आयाम, फरक प्रकृति

कृष्ण कोमल र मधुर रहिरहे, किनभने उनको साधनाको प्रकृति र आयाम बिलकुलै फरक थियो । सन्दीपनीले साधनालाई यसरी तयार गरेका थिए कि त्यो भित्री आयाममा केन्द्रित थियो । किनकि, कृष्ण द्वापर युगका जस्ता थिएनन्— उनको जीवन र क्रियाकलापहरू सत्य युगको जस्तो प्रतीत हुन्थ्यो । सबैथोक मनको स्तरमा मात्रै भयो । केही कुरा भन्नको लागि सन्दीपनीले मुख खोल्नै परेन । सबैकुरा मनको स्तरमा बताइन्थ्यो, सबैकुरा मनको स्तरमा ग्रहण गरिन्थ्यो अनि मनको स्तरमै सबैथोक सिद्ध हुन्थ्यो ।

उनको साधना विशुद्ध रूपमा भित्री आयाममा केन्द्रित थियो । पछि, उनले आफ्नो जीवनमा त्यो कुरालाई लाखौँ तरिकाले प्रदर्शन गरेका थिए ।

जब उनीहरूको साधना समापन भयो, कृष्ण र बलरामबिच स्पष्ट भिन्नता देख्न सकिन्थ्यो । बलराम शारीरिक रूपमा हृष्टपुष्ट र भीमकाय देखिन्थे, जबकि कृष्ण पहिलेकै जस्तो रहिरहे । बलरामले उनलाई चिढ्याउँथे, "तिमीले केही पनि गरेनौँ कि क्या हो ? मैले त एकदमै मिहिनेत गरेको छु । म बलियो योद्धा भएको छु । तर, तिमी चाहिँ उस्तै ख्याउटे नै छौ ।"

तथापि, कुनै पनि कुस्ती वा धनुर्वाण प्रतियोगितामा कृष्णलाई कसैले पनि हराउन सक्दैनथ्यो । तरबार चलाउने सन्दर्भमा उनीसँग कसैको तुलना नै गर्न सकिँदैनथ्यो । तर, उनी कहिल्यै हृष्टपुष्ट देखिएनन्, किनकि उनको साधना विशुद्ध रूपमा भित्री आयाममा केन्द्रित थियो । पछि, उनले आफ्नो जीवनमा त्यो कुरालाई लाखौँ तरिकाले प्रदर्शन गरेका थिए ।

Editor’s Note: Watch the Leela series, where Sadhguru explores the life and path of Krishna.

A version of this article was originally published in Isha Forest Flower March 2016. Download as PDF on a “name your price, no minimum” basis or subscribe to the print version.