कृष्ण: गुरु दक्षिणा— समुद्री डाँकुहरूको खोज

सम्भवत: कृष्णको युवावस्थाको सबैभन्दा रोचक कथाहरू सायद ती हुन्, जुन सबैभन्दा कम भनिएका छन् । गुरु सन्दीपनीको आश्रममा ब्रह्मचर्य पालन गरिरहेको बेला एकदिन कृष्णले आफ्ना गुरुको पुत्र, पुनर्दत्तलाई समुद्री डाँकुहरूले अपहरण गरेर लगेको कुरा थाहा पाउँछन् । कृष्णले गुरु सन्दीपनीलाई उनको छोरालाई फर्काएर ल्याउने वाचा गर्छन् ।
Krishna’s Guru Dakshina: In Search of Pirates
 

'कृष्णको साधना र गुरु दक्षिणा' श्रृङ्‌खला अन्तर्गत अघिल्लो भागमा कृष्ण १६ वर्षको उमेरमा गुरु सन्दीपनीबाट ब्रह्मचर्यमा दीक्षित भएका अनि ६ वर्षसम्म भिक्षुको रूपमा गल्ली–गल्लीमा घुम्दै भिक्षा माग्दै साधना गरेको कुराहरू उल्लेख गरिएको थियो । यो भागमा हामी कृष्णले आफ्ना गुरुलाई गुरु दक्षिणाको रूपमा दिएको वाचाको रूपमा चर्चा गर्नेछौँ ।


सद्‌गुरु: तेजस्वी व्यक्तित्वका धनी कृष्णले जीवनलाई खेल र उत्सवको रूपमा बिताउँदै हुर्किए । उनले गुरु सन्दीपनीको आश्रममा कठोर ब्रह्मचर्य पालन गरे । ६ वर्षसम्म उनी अन्य केही शिष्यहरूसँग सन्दीपनीको छत्रछायाँमा रहे । त्यहाँ उद्धव र बलराम पनि थिए । बलरामलाई ब्रह्मचर्य पालन गर्न कठिनाइ भयो । उनी मिठोमिठो खाइरहन चाहन्थे, चिच्चाउन मन लाग्यो भने, जोडले चिच्चाउन चाहन्थे, रिस उठ्यो भने, कसैलाई हिर्काउन चाहन्थे ! बलराम जतिबेला पनि झगडा गर्न खोजिरहेका हुन्थे । उनी विशाल कद भएका हट्ठाकट्ठा व्यक्ति थिए । अनि, यदि कम्तीमा हप्ताको एकपटक कसैसँग लड्न पाएनन् भने, उनी साह्रै खल्लो महसुस गर्थे ! जब उनले शिर मुण्डन गरेर ब्रह्मचारी बने, उनी न त झगडा गर्न पाउँथे, न त कसैलाई चिच्याउन वा हकार्न नै । यी सबैकुरा निषेध गरिएको थियो । उनले आफ्नो खानाको लागि भिक्षा माग्नु पर्थ्यो अनि आफ्नो भिक्षा पात्रमा जे–जस्तो खानेकुरा आउँथ्यो, त्यही खानुपर्थ्यो । उनले मन्त्र उच्चारण र पाठ गर्नुपर्थ्यो अनि यस्ता थुप्रै विषयहरूमा छलफल गर्नु पर्थ्यो, जुन उनको सामर्थ्यभन्दा पर थिए । उनको स्वभाव त्यस्तो बिलकुलै थिएन । तर, उनी यो शिक्षा र अनुशासन पालन गर्न बाध्य थिए, किनकि जहाँ कृष्ण हुन्थे, त्यहाँ बलराम पनि सँगै रहन्थे ।

जब दुई व्यक्तिहरूबिच एकदमै निकट र प्यारो सम्बन्ध हुन्छ, उनीहरू केही नाटक गर्न सक्छन् अनि त्यो भद्दा पनि देखिँदैन ।

कृष्णले उनको सङ्घर्ष देखे अनि निकै विनम्र र शालीन तरिकाले उनको सहयता गरे । उनलाई बलरामको घमण्डबारे थाहा थियो । यदि उनले बलरामलाई सिधै केही भनिदिएका भए उनको अहम्‌मा ठेस लाग्ने थियो । बौद्धिकताको सन्दर्भमा बलरामभन्दा कृष्ण एकदमै तीक्ष्ण थिए । त्यसैकारण, बलरामले राम्रोसँग सिकून् भन्ने मनशायले कृष्णले थुप्रै जुक्तिहरू लगाउँथे । उनले सधैँ केही न केही बिर्सिएको जस्तो स्वाङ्ग पार्थे अनि बलरामलाई सही कुरा भन्न लगाउँथे । अनि, कुनै न कुनै प्रकारले कृष्णले बलरामलाई त्यो कुरा सम्झिन सहयोग पनि गर्दथे । कृष्णले यो सबैकुरा आफूलाई असहज र अपमानित महसुस नहोस् भन्ने उद्देश्यले गरिरहेका छन् भन्ने कुरा बलरामलाई पनि थाहा थियो, तर उनले पनि त्यो नाटकलाई जारी राखे । जब दुई व्यक्तिहरूबिच एकदमै निकट र प्यारो सम्बन्ध हुन्छ, उनीहरू केही नाटक गर्न सक्छन् अनि त्यो भद्दा पनि देखिँदैन । कृष्ण र बलरामबिच त्यो चलिरह्यो अनि ६ बर्ष बित्यो ।

शिष्यको रूपमा कृष्णको आचरणले गुरु सन्दीपनीमा निकै प्रभाव पारेको थियो । कृष्णले आफूलाई गुरुप्रति पूरै समर्पित गरे । जुन प्रकारले उनी आफ्ना गुरुको सेवा गर्थे अनि उनलाई सिकाउन सकिने सबैथोकप्रति उनी जुन प्रकारले उत्सुक र तत्पर रहन्थे, यसबाट उनका गुरु असाध्यै प्रभावित भए । सन्दीपनीले उनलाई वेद, उपनिषद अनि विभिन्न प्रकारका कला र शिल्पमा दक्ष बनाए । साथै, उनले कृष्णलाई विभिन्न प्रकारका शस्त्र–अस्त्रहरूको प्रयोग गर्न समेत सिकाए ।

एकदिन कृष्णले सन्दीपनीलाई निकै चिन्तित अवस्थामा नदीको किनारामा हिँडिरहेको देखे ।

६ वर्षपछि आफ्नो ब्रह्मचर्य जीवनको अन्तिम चरणतिर एकदिन कृष्णले सन्दीपनीलाई निकै चिन्तित अवस्थामा नदीको किनारामा हिँडिरहेको देखे । कृष्ण बिस्तारै आफ्ना गुरुको नजिक गए अनि उनलाई सोधे, "गुरुदेव, तपाईं यति चिन्तित किन हुनुहुन्छ ?"

सन्दीपनीले कृष्णलाई हेर्दै भने, "तिमी यतिखेर मसँग रहनु उचित होइन । म एकान्त चाहन्छु ।"

आफ्नो गुरुका आँखा रसाएको देखेर कृष्णले पुन: सोधे, "तीन दिनदेखि तपाईं न त राम्रोसँग सुत्नुभएको छ, न राम्रोसँग खानुभएको छ । तपाईं जतिबेला पनि समुद्रपारी हेरिरहनु हुन्छ । तपाईंलाई कुन कुराले यति दु:खी बनाएको छ ?"

तब, सन्दीपनीले कृष्णसँग आफ्नो मनको कुरा खोले अनि उनलाई आफ्नो व्यथा सुनाए, "केही वर्षअघि, जब म यस ठाउँमा आएको थिएँ, मेरो छोरा पुनर्दत्तलाई पुनर्जन नाम गरेको आदिवासीको समूहले अपहरण गरेर लगेका थिए । ऊ त्यसबेला तिमीभन्दा केवल एक वर्षले जेठो थियो । त्यस समूहको मूखियाको नाम पञ्चजन थियो ।"

पुनर्जन समुद्री डाँकुहरूको समूह थियो, जो लुटपाट र डकैती गर्दथे । उनीहरूले मानव तस्करी समेत गर्दथे । कोही आकर्षक पुरुष वा स्त्री भेट्नेबित्तिकै उनीहरूलाई अपहरण गरेर अर्कै ठाउँमा लगेर बेचिदिन्थे । उनीहरूले सन्दीपनीको छोरालाई अपहरण गरेर फरार भए । सन्दीपनीले उनीहरूलाई पछ्याउन सकेनन्, किनकि कुनै साधन थिएन अनि ती डाकूहरू कहाँ गए भन्नेबारे उनलाई कुनै खबर थिएन । उनी समुद्री मार्गबारे त्यति परिचित थिएनन् ।

कृष्णले भने, "गुरुदेव, तपाईंलाई गुरु दक्षिणको रूपमा म तपाईंको छोरा फिर्ता लिएर आउन चाहन्छु ।"

सन्दीपनीले भने, "मैले त्यस दिनलाई कहिल्यै पनि बिर्सिन सकेको छैन । तिमी अझै युवा नै छौ । त्यसैले, मैले भनेका कुराहरू तिमीले अहिले बुझ्न नसकौला । जब तिम्रो छोरा हुनेछ अनि यदि उसलाई तिमीले गुमायौ भनेमात्र, तिमीले मेरो अहिलेको अवस्था र पीडा बुझ्न सक्नेछौ ।" उनले कृष्णसमक्ष आफ्नो मनको वह पोखिदिए ।

कृष्णले भने, "गुरुदेव, तपाईंलाई गुरु दक्षिणको रूपमा म तपाईंको छोरा फिर्ता लिएर आउन चाहन्छु । कृपया मलाई एक वर्षको लागि ब्रह्मचर्यबाट मुक्त गर्नुहोस् । तपाईंको छोरालाई फिर्ता लिएर आउनको लागि म पूरै प्रयास गर्नेछु ।"

सन्दीपनीले भने, "अब तिमीले के गर्न सक्छौ र ? ऊ समुद्र पारी कतै पुगेको छ, अनि हामीलाई ऊ कहाँ छ भनेर केही पनि थाहा छैन । हामीलाई त यही किनारसम्मको जीवनबारे मात्र थाहा छ । यसको पारी के छ भनेर हामीलाई केही पनि थाहा छैन । अनि, त्यो समुद्री डाँकु एकदमै निर्दयी र क्रुर छ ।"

कृष्णले पुन: भने, "कृपया मलाई ब्रह्मचर्याबाट एक वर्षको लागि छुट्टि दिनुहोस् । म आफ्नोतर्फबाट सम्पूर्ण प्रयास गर्नेछु । तपाईंलाई म यही गुरु दक्षिणा अर्पण गर्न चाहन्छु ।"

सन्दीपनी हिच्किचाउँदै बोले, " मेरो निम्ति तिमीलाई यस्तो जोखिमपूर्ण कार्यमा पठाउन चाहन्नँ । यदि तिमीलाई केही भइहाल्यो भने, म तिम्रा माता–पितालाई के जवाफ दिऊँ ? उनीहरूलाई कसरी मुख देखाउन सकूँला र ? म यसको लागि स्वीकृति दिन सक्दिनँ ।"

कृष्णले आफ्नो हठ त्यागेनन्, "तपाईं त्यसको चिन्ता नलिनुहोस् । उहाँहरूलाई यो थाहा छ कि म मुक्तिदाता र उद्धारक हुँ; म धर्मको रक्षक हुँ । तपाईं उहाँहरूलाई यतिमात्र भनिदिनु होस् कि म धर्म स्थापित गर्न अनि न्याय प्रदान गर्नको लागि गएको छु । उहाँहरूले बुझ्नुहुनेछ ।" सन्दीपनी कृष्णको कुराबाट विश्वस्त भए, साथै उनी आफ्नो छोरालाई देख्न चाहन्थे, त्यसैले अन्तत: उनले कृष्णलाई जाने अनुमति दिए ।

क्रमशः